काठमाडौँ ३० बैशाख २०८३- याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) बुधबार बाँडफाँड गरिएको छ।
कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बुधबार बिहान आफ्नै कार्यालयमा गोलाप्रथामार्फत शेयर बाँडफाँड गरेको हो।
कम्पनीले वैशाख १६ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। उक्त आईपीओमा लगानीकर्ताको अत्यधिक आकर्षण देखिएको छ।
मुक्तिनाथ क्यापिटलका अनुसार कुल २९ लाख ८२ हजार ४९८ जनाले आवेदन दिएका थिए। तीमध्ये २९ लाख ३८ हजार ८२ जनाको आवेदन योग्य ठहरिएको थियो।
मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो। जसअनुसार १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी झन्डै २७ लाखभन्दा बढी आवेदक भने शेयर नपाई खाली हात फर्किएका छन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत फागुन १७ गते आईपीओ निष्कासनको अनुमति दिएको थियो।
याम्बालिङ्ग हाइड्रोपावरले सिन्धुपाल्चोक जिल्लामा ७.२७१ मेगावाट क्षमताको याम्बलिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० फागुन ८ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु गरिसकेको छ।











तपाईको प्रतिक्रिया