काठमाडौं ४ चैत २०८२
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने परम्परागत घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रम गरी विशेष उत्साहका साथ मनाइँदैछ । यो पर्व काठमाडौँ उपत्यकाको प्राचीन जात्राहरूमध्ये एक हो र यस अवसरमा सरकारले उपत्यकाभर सार्वजनिक बिदा दिएको छ ।
जनविश्वास अनुसार, टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नामक राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीहरूले विभिन्न उपाय अपनाएर त्यसलाई संहार गरे पनि राक्षसको प्रेतात्माले फेरि बालबालिकामाथि अनिष्ट गर्न सक्ने डर रहिरह्यो । यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी घोडाको टापले गुरुमापाको आत्मालाई कुल्चाएर दबाउने गरिन्छ । साथै, बालबालिकामाथि कुनै खतरा नपुगोस् भनी राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा चढाउने चलन छ । यसो गर्दा वर्षभरि बालबालिकालाई सुरक्षित रहने विश्वास काठमाडौँवासीमा छ ।
नेपाली सेनाको आयोजनामा आज टुँडिखेलमा विशेष प्रदर्शन हुन्छ । जसमा अश्वकला (घोडचढी कौशल), मोटरसाइकल प्रदर्शन, शारीरिक व्यायाम, युद्धकला तथा अन्य रोमाञ्चक कार्यक्रम समावेश हुन्छन् । हजारौँ दर्शकहरूले यो प्रदर्शन हेर्न टुँडिखेलमा पुग्ने गर्छन् ।
यसैगरी, ललितपुरमा पनि परम्परागत रूपमा एउटा कानो (आँखा नदेख्ने) घोडा दौडाएर घोडेजात्रा मनाउने चलन छ । यो जात्रा काठमाडौँ उपत्यकाको सांस्कृतिक धरोहरको रूपमा रहेको छ र यसले स्थानीय जनजीवनमा विशेष महत्व राख्छ ।











तपाईको प्रतिक्रिया