सहकारी दर्शनको उज्यालोमा नयाँ यात्रा

Bizness Post बिजनेस पोष्ट
|
७ महिना अगाडि
        
–तोमनाथ उप्रेती

सहकारी संस्था केवल आर्थिक लेनदेनको साधन होइन, यो मानवीय आत्मा र सामाजिक चेतनाको जीवित प्रतीक हो, जहाँ व्यक्तिगत स्वार्थ र सामूहिक हितको समन्वय एकैसाथ प्रवाहित हुन्छ। सहकारी त्यस्तो आध्यात्मिक मञ्च हो, जहाँ ‘स्व’ र ‘अपर’ को विभाजन पग्लिन्छ, ‘म’ र ‘तिमी’ को दूरी मेटिन्छ, र ‘हामी’ को सामूहिक अनुभूति उत्पन्न हुन्छ। यो जीवनको त्यो धार हो, जसले एउटा सानो बिन्दुमा जम्मा भएका प्रयास र सपना सागरजस्तै विशाल सामूहिक समृद्धिमा परिणत गर्ने सामर्थ्य राख्छ। यहाँ सदस्यहरूले आफूलाई केवल उपभोक्ता होइन, दायित्वबोधले भरिएको सहयात्रीको रूपमा अनुभूति गर्छन्, जहाँ एक अर्काको पीडा, सपना र आशाका धागाहरू मिलेर साझा वस्त्र बन्छ। सहकारी अस्तित्वले हामीलाई केवल आर्थिक रूपले सशक्त बनाउँदैन, यो हामीलाई नैतिकताको मार्गमा उभ्याउँछ, सामाजिक उत्तरदायित्वमा सचेत बनाउँछ, र आध्यात्मिक रुपमा हाम्रो आन्तरिक चेतनालाई स्पर्श गर्छ। सहकारी संस्था हाम्रो सामूहिक जीवनको नैतिक अभ्यास, साझा समर्पण र सहअस्तित्वको उज्यालो यात्रा बन्न पुग्छ।
सहकारीता वास्तवमा ुबहुजन हितायु को गहिरो आध्यात्मिक सूत्र हो, जुन केवल आर्थिक व्यवहारमा सीमित नरही मानव आत्माको उत्थानसँग जोडिएको हुन्छ। सहकारी संस्था संसारिक मोह(मायाभन्दा माथि उठेर आत्मीयता, सद्भाव र दायित्वबोधको एउटा पवित्र स्थल हो, जहाँ सदस्यहरूबीचको विश्वास र सहयोगको उज्यालोले जीवनलाई प्रफुल्ल बनाउँछ। यो संस्था जीवनको त्यो अदृश्य सूत्र हो, जसले फरक(फरक धागाहरुलाई एउटै वस्त्रमा बुन्छ र व्यक्तिगत स्वार्थका सीमाभन्दा पर सामूहिक समृद्धिको उज्यालो यात्रामा अघि बढाउँछ। यहाँ सबै सदस्यहरू अङ्ग, हृदय र आत्माका रूपमा एक अर्कामा निर्भर रहन्छन्, एक अर्कामा विश्वास राख्छन् र सहयोगका हातहरू फैलाउँदै अघि बढ्छन्। सहकारी संस्था यस्तो आध्यात्मिक समुदाय हो, जहाँ व्यक्तिगत लाभभन्दा पनि सामूहिक उत्थानलाई प्राथमिकता दिइन्छ, र सबैको स्वार्थ, अधिकार र दायित्वको सम्मान गर्दै एकताको धागोमा समाज बाँधिन्छ। यो जीवनको सामाजिक ध्यान हो, जसले मानिसलाई पारस्परिक जिम्मेवारी र आदर्शमा आधारित साझा सपनाको दिशामा लैजान्छ। यहाँ सहकार्यको शुद्धताको बास हुन्छ, जसले स्वार्थका पर्खालहरू भत्काउँदै सबैका लागि साझा समृद्धिको बाटो खोलिदिन्छ।
हाल सहकारी क्षेत्र गम्भीर र जटिल संकटहरूको चपेटामा छ, जसले यसको आध्यात्मिक र दार्शनिक जगलाई नै हल्लाइरहेको छ। यो संकट केवल आर्थिक नीतिगत अव्यवस्थामा मात्र सीमित छैन, यसले सहकारी संस्थाहरुको नैतिकता, पारदर्शिता र मूल दर्शनमा गहिरो प्रहार गरिरहेको छ। सहकारीमा जम्मा भएको पैसा एउटा पवित्र जलाशयजस्तै हो, जहाँ असङ्ख्य गरिब, श्रमिक र सीमान्त वर्गका परिवारहरूको सपना, पसिना र आशाहरू थुप्रिएका हुन्छन्। तर कहिलेकाहीं यो जलाशयमा विषाक्त पानी मिसिन्छ, जब केही व्यक्तिहरूको लोभ, शक्ति मोह र स्वार्थपरक निर्णयहरूले यसको पवित्रतालाई मलिन तुल्याउँछ। अनि त्यो विषाक्तता बिस्तारै फैलिन्छ, सानो पोखरीमा मात्र नभई समुद्रसम्म पुगेर सम्पूर्ण सहकारी प्रणालीको पानीलाई दूषित पार्छ। यसरी सहकारीको आर्थिक संकट केवल रकमको ह्रास नभई, त्यो समुदायको सपना र विश्वासमाथिको चोट हो, जसले आर्थिक मात्र होइन, सामाजिक र आध्यात्मिक संकट पनि निम्त्याउँछ।
सहकारी संस्थाहरुमा ूनिरापराधीले दण्ड पाउनु हुँदैनू भन्ने न्यायको आधारभूत सिद्धान्त लागू हुन सकेको छैन। यहाँ दोषी र निर्दोषबीचको छुट्याउने रेखा धमिलो हुन्छ, जसले गर्दा सदस्यहरूको निष्कलुष विश्वास पनि दोषको भारीमा थिचिन्छ। न्यायका आँखाहरू यहाँ सधैं खुला रहँदैनन्, कहिलेकाहीं उनीहरू अन्धा बन्न बाध्य पारिन्छन् र कहिलेकाहीं धन र शक्तिका आँखामा बाँधिन्छन्। परिणामस्वरूप, आर्थिक र कानुनी संरचनाको कमजोरीका कारण निर्दोष सदस्यहरू पनि संकटमा फस्ने र आफ्नो पसिनाले कमाएको पैसाबाट वञ्चित हुने अवस्थामा पुग्छन्।
अर्कोतर्फ, ुसहकारी नाफा कमाउने संस्था होु भन्ने गलत धारणा समाजमा मौलाउँदै गएको छ, जसले सहकारीको मुल उद्देश्य र अस्तित्वलाई विकृत तुल्याइरहेको छ। सहकारी नाफा कमाउने माध्यम होइन, यो सामूहिक समृद्धि र साझेदारीमा आधारित विकासको साधन हो। तर वर्तमानमा सहकारीका नेतृत्व तहका केही व्यक्तिहरूले यसलाई व्यक्तिगत धन आर्जन र सत्ताको साधन बनाइरहेका छन्। दार्शनिक दृष्टिकोणले हेर्दा, यो एक गहिरो विचलन हो, जसले सहकारीको शुद्ध उद्देश्यलाई रङहीन बनाउँदैछ र यसको मूल आत्मालाई कमजोर तुल्याउँदैछ।
आजको सहकारी क्षेत्रमा स्वार्थ र सहयोगबीचको गहिरो द्वन्द्व देखा परिरहेको छ। एकातिर, सहकारीले सामूहिक विकास र गरिबी निवारणमा टेवा पुर्‍याउने उद्देश्य लिएको छ भने अर्कोतिर, केही व्यक्तिहरूको स्वार्थ र लोभका कारण त्यस उद्देश्यमाथि प्रश्न उठिरहेको छ। सहकारी आफैंमा एक आध्यात्मिक र सामाजिक आन्दोलन हो, तर जब यसको नेतृत्वमा रहेका व्यक्तिहरू आफ्नो निजी स्वार्थमा डुब्छन्, तब सहकारी संस्थाहरू आफूलाई निजी स्वार्थका धनीहरूको सानो समूहमा सीमित गर्दै जान्छन्। यसले सहकारीको आदर्शविहीनता, असमानता र क्षरणलाई जन्म दिन्छ।
वास्तवमा सहकारी क्षेत्रमा देखा परिरहेको यो संकट केवल आर्थिक र नीतिगत कमजोरीका कारण होइन, यो हाम्रो समाजको नैतिक मूल्य, दायित्वबोध र आध्यात्मिक चेतनाको ह्राससँग पनि गाँसिएको छ। जबसम्म सहकारी संस्थाहरूमा पारदर्शिता, जिम्मेवारी र स्वार्थभन्दा माथि उठेर सामूहिक हितलाई प्राथमिकता दिने संस्कृति विकास हुँदैन, तबसम्म सहकारी क्षेत्रले आफ्नो आध्यात्मिक र सामाजिक दायित्व पूरा गर्न सक्दैन। यसले हामीलाई चेतना दिन्छ कि सहकारी केवल संस्था होइन, यो हाम्रो समाजको नैतिकता र आत्माको प्रतिबिम्ब पनि हो, जसको संरक्षण र शुद्धिकरणमा सबैले मिलेर लाग्नु नै आजको आवश्यकता हो।
सहकारीले हामीलाई जीवनको गहिरो अर्थ सिकाउँछ कि वास्तविक सफलता कहिल्यै एकल हुँदैन, बरु सह(अस्तित्व, साझेदारी र पारस्परिक विश्वासमा आधारित हुन्छ। जीवन त्यो साझा अनुभूति हो, जहाँ ‘म’ र ‘तिमी’ बीचको दूरी पग्लिन्छ र हाम्रो हृदयले सँगसँगै धड्कन थाल्छ। सहकारी संस्था त्यस्तो मञ्च हो, जहाँ सदस्यहरूले आफ्नो आत्मालाई अरूसँग बाँड्दै साझा उज्यालोमा जीवन जिउने शिक्षा पाउँछन्। यहाँ सहयोगले प्रतिस्पर्धालाई जित्छ र प्रेमले स्वार्थलाई परास्त गर्छ। सहकारीमा सदस्यहरू एक अर्काका पूरक बन्छन्, जहाँ सबैको सानो प्रयासले ठूलो उपलब्धिहरू सँगै सिर्जना हुन्छ। सहकारी संस्थाहरू समाजका धार्मिक प्रवाहहरू जस्तै हुन्, जहाँ सबैले आफ्नो हिस्साको पानी झरनाजस्तै साझा गर्छन्, र ती साना प्रवाहहरू एकजुट भई सागरजस्तो विशाल सामाजिक समृद्धिको धारा बन्न पुग्छन्। सहकारीले हामीलाई सिकाउँछ कि साँचो समृद्धि सामूहिक समर्पण, सहयोग र दायित्वबोधमा छ, र जब यो चेतना हामीमा जग्छ, तब हाम्रो समाजमा दिगोपन र न्यायको बिरुवा पलाउँछ।
तर सहकारी क्षेत्रको यो चेतनात्मक र आध्यात्मिक यात्रा राज्यको नीतिगत व्यवहारमा अझै पूर्णरूपमा प्रतिबिम्बित हुन सकेको छैन। सरकारले सहकारी संस्थाहरूलाई केवल नियमनको दृष्टिले मात्र नहेरी, तिनलाई सशक्त बनाउने र संरक्षण गर्ने जिम्मेवारी पनि बोक्नु पर्दछ। नीति, योजना र बजेट बनाउनु मात्र पर्याप्त होइनस ती योजनाहरू व्यवहारमा कार्यान्वयन भएर सहकारीका हरेक तहसम्म जीवन्त हुनुपर्छ। सहकारी राज्यको अर्थनीतिको एउटा महत्वपूर्ण स्तम्भ हो, जसले आर्थिक स्थिरता र दिगोपनको लागि बलियो खम्बा खडा गर्दछ। तर अहिलेको वास्तविकतामा सहकारीहरूलाई आवश्यक प्राथमिकता, संरक्षण र प्रवर्द्धन दिइएको देखिदैन, जसले गर्दा सहकारी क्षेत्रमा अविवेक, अभाव र असमानताको अन्धकार मौलाउँदै गएको छ। राज्यको कर्तव्य हो सहकारी क्षेत्रमा पारदर्शिता, नैतिकता र दायित्वबोधको संस्कार विकास गर्नु, जसले गर्दा सहकारीमा पलाइरहेको अविश्वास हटोस् र यो क्षेत्रले पुनः समाजमा भरोसा र आर्थिक विश्वास जगाओस्। सहकारी क्षेत्रको पुनरुत्थान मात्र अर्थतन्त्रको सुदृढीकरण नभई समाजमा न्याय, समानता र समृद्धिको आधार निर्माण गर्ने आध्यात्मिक अभियान पनि हो, जुन राज्य, नेतृत्व र नागरिकको संयुक्त उत्तरदायित्वमा साकार हुनेछ।
सहकारी संस्थाहरूको सफलताको आधार कुनै भौतिक संरचनामा सीमित नरही, सदस्यहरूको सचेत सक्रियता, आत्मअनुशासन र नेतृत्वको आध्यात्मिक उचाइमा आधारित हुन्छ। सहकारी केवल ‘उपभोक्ता’को समूह नभई, समाजको एउटा जिउँदो ‘आत्मा’ हो, जहाँ प्रत्येक सदस्य आफूलाई जिम्मेवार ‘अंग’का रूपमा महसुस गर्छ। जब सदस्यहरूले आफ्नो भूमिकालाई कर्तव्य, सेवा र समर्पणको रूपमा लिन्छन्, तब सहकारी संकटको गहिरो खोँचबाट माथि उठेर समृद्धिको उज्यालोतिर अघि बढ्छ। सहकारी संस्था एक साधन मात्र होइन, यो जीवनशैली हो, जहाँ पारस्परिक सहयोग, नैतिकता र सामाजिक न्यायको सिद्धान्त व्यवहारमा उतारिन्छ। जब सदस्यहरूले दैनिक कारोबारलाई मात्र उद्देश्य नराखी, त्यसलाई समाज सुधार र आत्मशुद्धिको एउटा माध्यमका रूपमा स्वीकार गर्छन्, तब सहकारी संस्थाहरू भित्र प्रेम, एकता र विश्वासको बोट पलाउँछ। यस्तो दार्शनिक बोधले सहकारीलाई आर्थिक संकटको उचाइमा समृद्धिको सन्देश दिन सक्षम बनाउँछ, किनकि यसको मूलमा आत्मीयता र समर्पणको आधार रहन्छ।
सहकारी नेतृत्वले आफूलाई ‘सेवक’को भूमिकामा राख्न सक्नुपर्छ, जसले आफ्नो स्वार्थभन्दा माथि उठेर संस्थालाई समर्पित रुपमा अघि बढाउँछ। सहकारी नेतृत्व एउटा आध्यात्मिक ध्यानको अभ्यास हो, जहाँ लोभ, अहंकार र सत्ता मोहलाई त्यागेर, सेवाको मार्गमा आत्मसमर्पण गरिन्छ। नेतृत्वले जब पारदर्शिता, न्याय र सहभागितालाई प्राथमिकता दिन्छ, तब सहकारी संस्था समाजमा भरोसा र प्रेरणाको केन्द्र बन्छ। सहकारी जीवनको त्यो धार्मिक यात्रा हो, जहाँ सबै सदस्यहरूले साझा मार्गमा मिलेर हिँड्दा सेवा, सद्भाव र साझा प्रयासका फूलहरू फुल्छन्। संकट आफैंमा नयाँ आरम्भको निम्तो हो, जसलाई ध्यान, संयम र विवेकका साथ पार गर्न सकिन्छ। जब सहकारी क्षेत्रका सबै सरोकारवालाले गहिरो दार्शनिक चिन्तन, आध्यात्मिक आत्मावलोकन र सामाजिक उत्तरदायित्वका साथ अघि बढ्छन्, तब मात्र सहकारी सिद्धान्तको सच्चा प्रकाश समाजमा फैलिन्छ। सहकारी संस्थाले संकट मात्र होइन, समाधान पनि जन्माउँछ, जसले समुदायमा नैतिक र आध्यात्मिक पुनर्जागरण ल्याएर साझा समृद्धिको स्थायी आधार तयार पार्दछ।

प्रकासित मिति २०८२-३-२५

तपाईको प्रतिक्रिया