उत्तरदायित्वको उत्सवस् जब प्रश्नहरू शून्यमा हराउँछन्

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

तोमनाथ उप्रेती

उत्तरदायित्वको उत्सव आज शासनको शृङ्गार बनेर शिखरमा टाँगिएको छ। यसको मुटुमा मौनताको महाभारत मच्चिएको छ। प्रश्नहरू जनताको शिरबाट उठेर आकाशतिर उड्छन्। शून्यको श्मशानमा पुगेर हराउँछन्। उत्तरदायित्व भनिएको यो उत्सव वास्तवमा भाषणको बधाई, प्रतिवेदनको प्रदर्शनी र प्रतिश्रुतिको पर्दा मात्रै हो, जसले शासनका गहिरा गल्लीहरूमा बसिरहेको अकर्मण्यतालाई अलिकति पनि तर्साउँदैन। पारदर्शिताको पर्दामा टाँगिएका प्रतिबिम्बहरू बुलेटप्रूफ झ्यालभित्रका छायाहरूजस्ता हुन्, जहाँ जनताको आँखा टक्क अडिन्छ, तर छुनै सक्दैन। लोकतन्त्रको ललना बनेर हिँड्ने उत्तरदायित्व आज शक्ति र स्रोतको संग्रहीत सन्दूकको पहरेदार बन्नुका सट्टा, स्वार्थको सत्तोहरणमा मौन रहेको महाकाव्य बन्न पुगेको छ।
यस उत्सवको अर्कै विडम्बना के छ भने, प्रश्नहरू पन्छाउने प्रशासनिक पाखण्डलाई ‘उत्तरदायित्वको अभ्यास’ भनेर पूजा गरिन्छ। सूचना प्रवाहको समुद्रको स्वरुपमा देखाइए पनि यो बास्नाहीन पानीको चित्र मात्रै हो, जसले जनताको प्यास मेटाउँदैन। उत्तरदायित्वको उत्सव लोकतन्त्रको घाटमा हरेक वर्ष जलपानका रूपमा देखाइने शोभायात्रा हो, जहाँ नेताहरू भाषणका पुष्पवर्षा गर्छन्, तर जवाफको बीउ रोप्दैनन्। पारदर्शिताको प्रकाश हुनुपर्ने उत्तरदायित्व, आज गुम्सिएको गल्लीमा गुम्सिएको गगन हो, जसमा न निर्णयको दिग्दर्शन छ, न नैतिकताको नक्सा।
उत्तरदायित्वको उज्यालो उषा स् लोकतन्त्रको दीपमालिकामा
सार्वजनिक उत्तरदायित्व लोकतन्त्रको दीपमालिकामा टाँगिएको एउटा अमर दियो हो, जसको प्रकाशले शासनको छायाँलाई उजागर गर्दछ र सत्ताको शिरमाथि नागरिक चेतनाको सूर्य उदाउँछ। उत्तरदायित्व जनताले शासकसँग सोध्ने सत्यको सङ्केतक प्रश्न हो, जहाँ सत्ता सत्ताले होइन, सत्यमार्गले चल्छ। उत्तरदायित्व रहित शासन, बिनातारा अन्धकारमय आकाशजस्तो हो, जसमा न त गन्तव्य देखिन्छ, न त गति पाइन्छ। लोकतन्त्रलाई जीवित राख्ने शुद्ध प्राणवायु उत्तरदायित्वले नै दिन्छ, जसले शासनमा जमेको भ्रष्टाचार र अकर्मण्यताको मैलो पखाली, पारदर्शिताको शुद्ध धारामा रूपान्तरण गर्छ।” राजा विलियमबाट आरम्भ भएको हिसाबको हिसाबको धरोहर ‘डोम्सडे बुक’ले हामीलाई सम्झाउँछ– शक्ति र स्रोत स्वेच्छाचारीताको खिलमा टाँग्ने होइन, जनताको अनुमोदनमा चलाउने हो। जनताका आँखा नै लोक शासनका पहरेदार हुन्, जसलाई उत्तरदायित्वको दीपले झलमल्ल पार्नुपर्छ, ताकि अधिकार र शक्तिको प्रयोग हरेक जनताको अनुहारजस्तो स्पष्ट र स्वच्छ देखियोस्।
जवाफदेहिताको जलपानस् शासन र प्रशासनको शुद्धीकरण
सार्वजनिक उत्तरदायित्व शासन र प्रशासनको शुद्धीकरण गर्ने आध्यात्मिक जलपान हो, जसले भ्रष्टाचारका विषाक्त बीजहरूलाई सुकाउँछ र सुशासनका हरियाली अंकुरहरूलाई उमार्छ। शासकीय शक्ति जनताको सेवा हो, स्वार्थको साधन होइन, भन्ने चेतना उत्तरदायित्वले जागृत गर्छ। जवाफदेहिताको अभ्यास शासनका गहिरा खोँचमा न्याय र नैतिकताको झरना बगाउने उदात्त प्रयास हो। सार्वजनिक पदाधिकारीहरूमा व्याप्त ‘सर्वेसर्वा’को अहंकारलाई नागरिकताको असली साक्षात्कारी स्वरले चिर्ने र जिम्मेवारीको बाटोमा उभ्याउने शक्ति उत्तरदायित्वमै निहित छ। जवाफदेहिताको अनुपस्थिति भनेको लोकतन्त्रको आँगनमा उभिएको ओढार हो, जसबाट अधकारको सर्पहरू निस्कन्छन् र जनताको अधिकारका फूलहरू सुकाउँछन्। तर जब जवाफदेहिताका सिद्धान्तहरू कडाइका साथ पालना हुन्छन्, तब लोकशासनको काँचो माटो न्याय र नैतिकताको घाममा पक्दै जान्छ।
सूचनाको संग्राम स् पारदर्शिताको पहरेदारी
सूचनाको हक सार्वजनिक उत्तरदायित्वको शिरमौर मुकुट हो, जुन पारदर्शिताको पहरेदारी गर्छ र सत्ता स्वेच्छाचारीतालाई अवरोध गर्छ। सूचनाको हक नागरिकको आँखाको ज्योति हो, जसले सरकारी कार्यको कोठरीमा छिर्न नसकेको उज्यालोलाई भित्र पुर्‍याउँछ। गोप्यताको शपथका पछि लुकेर बस्ने अपारदर्शी शासन प्रवृत्तिहरूलाई उत्तरदायित्वको आँधीले उडाएर लग्नुपर्छ। जनताको नाममा भइरहेका कार्यहरूको प्रत्येक गतिविधि जनतालाई जानकारी गराउनु भनेको लोकतन्त्रको वाचा पूरा गर्नु हो। सूचनाको हकले शासनको आकृतिलाई जनताको क्यानभासमा कोर्छ, जसबाट उनीहरूले आफ्नो अधिकार र कर्तव्यको रङ भर्न सक्छन्। सूचना नपाउनु भनेको शासनका आँखा बाँधेर हिंड्नु हो, तर सूचना प्राप्त भएपछि जनताले शासनलाई सही बाटोमा हिँडाउन सक्छन्। उत्तरदायित्व व्यवस्थाको प्रवाहमा सूचना एउटा नदी हो, जसले शक्ति र स्रोतको प्रयोग कहाँ र कसरी भइरहेको छ भन्ने कुरा जनतासम्म पुर्‍याउँछ।
नीति, नैतिकता र नागरिकता स् उत्तरदायित्वको त्रिशक्ति
नीति, नैतिकता र नागरिकता उत्तरदायित्वको त्रिशक्ति हुन्, जसको मिलनले लोकतान्त्रिक शासनलाई अडिग बनाउँछ। नीति मार्गदर्शन हो, नैतिकता आन्तरिक आत्मशक्तिको चेतना हो, र नागरिकता उत्तरदायित्व माग्ने साहसिक स्वर हो। जब यो त्रिशक्ति एकजुट हुन्छ, तब भ्रष्टाचार र अनियमितताका तुषारापातहरू पग्लन्छन् र लोकतन्त्रको उषाकालको सङ्केत हुन्छ। नीति र योजना कागजका पानामा सीमित रहँदैन, तर नागरिक सहभागिताको श्वासले यसलाई जीवन्त बनाउँछ। सार्वजनिक उत्तरदायित्वको बलियो अभ्यासले सुशासनका गगनचुम्बी महलहरू निर्माण गर्छ, जसमा न्याय, पारदर्शिता, र जवाफदेहिताका गहिरा स्तम्भहरू अडिएका हुन्छन्। जब पदाधिकारीहरूले आफ्नो कामको स्पष्टीकरण जनतालाई दिन्छन्, तब जनताको विश्वासको बगैँचामा विश्वासका फूलहरू फुल्छन्। उत्तरदायित्व निश्चय नै एक परिष्कृत संस्कृति हो, जसले कर्मचारी र जनप्रतिनिधिहरूमा ईमानदारी, पारदर्शिता र कर्मशीलताको बीउ रोप्छ।
उत्तरदायित्वको उज्यालोबाट समृद्धिको सिँढी
उत्तरदायित्वको उज्यालोले दिगो विकासको सिँढी चढ्न मद्दत गर्दछ। जब सार्वजनिक वित्त, स्रोत र साधनको प्रयोग उत्तरदायित्वका सिद्धान्तहरूबाट निर्देशित हुन्छ, तब भ्रष्टाचारका कंकालहरू ध्वस्त हुन्छन् र समृद्धिको महल निर्माण हुन्छ। उत्तरदायित्वले पारदर्शिताको पर्दा खोल्छ, जसबाट नागरिकले शासनको अनुहार हेर्न पाउँछन् र आफ्नो भोटको कदर महसुस गर्छन्। जब जनताले प्रश्न गर्छन् र सरकार जवाफ दिन्छ, तब लोकतन्त्रको मुटुमा धड्किरहेको जनताको विश्वास अझ बलियो हुन्छ। उत्तरदायित्वरहित शासन भनेको आवाजविहीन लोकतन्त्र हो, तर उत्तरदायित्वयुक्त शासन भनेको जनताको आवाजमा सत्ता कम्पन हुने अवस्था हो। उत्तरदायित्वको संस्कृति विकास गर्नका लागि समयसापेक्ष नीति, प्राविधिक सुदृढीकरण, प्रभावकारी अनुगमन, र नागरिक चेतनाको विस्तार अपरिहार्य हुन्छ। यसले शासनयन्त्रलाई जनमुखी, पारदर्शी र जवाफदेही बनाउन मद्दत गर्छ। यसरी उत्तरदायित्व लोकतन्त्रको हड्डी हो, जसले शासनलाई दिगो, समृद्ध र लोकहितकारी बनाउँछ।
प्रकासित मिति २०८२- १६

तपाईको प्रतिक्रिया