गण्डकी प्रदेशका उत्कृष्ट अभिकर्तालाई नेशनल लाइफको सम्मान

Bizness Post बिजनेस पोष्ट
|
३२ सेकेन्ड अगाडि

काठमाडौँ १३ मंसिर, २०८३।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेशबाट ‘सिइओ क्लब’मा छनोट हुन सफल अभिकर्ताहरूलाई सम्मान गरेको छ । शुक्रबार पोखरास्थित होटल पोखरा ग्राण्डमा आयोजित प्रदेशस्तरीय कार्यक्रममा करिब १ सय ५० जना अभिकर्ताको सहभागिता रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे । समारोहमा सिइओ क्लबमा छनोट भएका अभिकर्ताहरूलाई सदस्यता वितरण तथा सम्मान गरिनुका साथै नेशनल रत्न र नेशनल स्टार विधाका विजेतालाई सम्मानपत्र र चाँदीको मेडल प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले जीवन बीमा अभिकर्ताको भूमिका पोलिसी बिक्रीमा मात्र सीमित नरही आम नागरिकको आर्थिक भविष्य सुरक्षित गर्ने महत्वपूर्ण जिम्मेवारी रहेको बताए । सिइओ क्लबमा स्थान बनाउन सफल अभिकर्ताहरूले आगामी दिनमा अझ उच्च लक्ष्य निर्धारण गर्दै चेयरपर्सन क्लब तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘एमडिआरटी’ हासिल गर्ने दिशामा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

सोही अवसरमा व्यक्तिगत कोड तथा अभिकर्ता सञ्जालमार्फत गण्डकी प्रदेशबाट उत्कृष्ट तीन स्थान हासिल गर्ने अभिकर्ताहरूलाई समेत विशेष सम्मान गरिएको थियो । उपकार्यकारी प्रमुख स्मृतीराज कँडेलले स्वागत मन्तव्य राख्दै सिइओ क्लबमा छनोट हुनु अभिकर्ताहरूको व्यावसायिक उत्कृष्टता र समर्पणको उपलब्धि भएको बताए ।

सम्मान समारोहसँगै अभिकर्ताहरूको कार्यसम्पादन र क्षमता विकास गर्ने उद्देश्यले उत्प्रेरणात्मक तथा व्यावसायिक तालिमसमेत सञ्चालन गरिएको थियो । प्रशिक्षक डा. रविन कटुवालले सहजीकरण गरेको उक्त तालिमले अभिकर्ताहरूलाई आगामी दिनमा थप ऊर्जा र आत्मविश्वासका साथ उच्च लक्ष्य हासिल गर्न प्रेरित गर्ने कम्पनीको विश्वास छ ।

सुशील प्रताप राणाले सञ्चालन गरेको कार्यक्रमको अन्त्यमा प्रमुख प्रबन्धक सुस्मिता राणाले उपस्थित अतिथि, अभिकर्ता तथा प्रशिक्षकप्रति धन्यवाद ज्ञापन गरिन् । समारोहमा गण्डकी प्रदेश प्रमुख तथा प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया