काठमाडौं २९ श्रावण २०८३।
हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफामा उल्लेख्य सुधार गरेको छ। बैंकले समीक्षा अवधिमा १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको हो। यो अघिल्लो आर्थिक वर्षको १२ करोड ९७ लाख २६ हजार रुपैयाँको तुलनामा १ हजार ४१ प्रतिशतले बढी हो।
बैंकको नाफामा आएको ठूलो वृद्धिको मुख्य कारण प्रोभिजनिङ घट्नु देखिएको छ। अघिल्लो आर्थिक वर्ष ३ अर्ब ७५ करोड ६० लाख ३८ हजार रुपैयाँ प्रोभिजनिङ गरेको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८९ करोड ६४ लाख ९८ हजार रुपैयाँ मात्रै प्रोभिजनिङ गरेको छ।
यता, बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी भने घटेको छ। गत असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १५.७३ प्रतिशतले घटेर ८ अर्ब ८१ करोड १ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १० अर्ब ४५ करोड ५६ लाख २६ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिसन आम्दानीबाट १ अर्ब ६ करोड २१ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ। बैंकको कुल सञ्चालन आम्दानी ११ अर्ब १६ करोड १ लाख ४२ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ६२ करोड ६० लाख ७७ हजार रुपैयाँ रहेको छ।
नाफा बढे पनि बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड १ लाख ४९ हजार रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणले देखाएको छ।
बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ अर्ब ८० करोड ९१ लाख ३४ हजार रुपैयाँ सञ्चित छ।
व्यवसाय विस्तारतर्फ भने बैंकको निक्षेप बढेको छ। गत असारसम्म बैंकले ३ खर्ब ५१ अर्ब ५७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.७२ प्रतिशत बढी हो। यता, कर्जा लगानी भने १.२३ प्रतिशतले घटेर २ खर्ब २७ अर्ब ७७ करोड ९९ लाख रुपैयाँमा झरेको छ। बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७२.७४ प्रतिशत कायम छ।
बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्ष ०.६० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा बढेर ६.५६ रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १७७.४८ रुपैयाँ र मूल्य–आम्दानी अनुपात २९.६७ गुणा रहेको छ।
बैंकले खराब कर्जा अनुपातमा सामान्य सुधार गरेको छ। अघिल्लो वर्ष ७.९७ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ७.९६ प्रतिशतमा झरेको हो।











तपाईको प्रतिक्रिया