नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजार बढी दर्शक, ४८ नयाँ मोडल सार्वजनिक

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाडौं २६ श्रावण २०८३,।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण भव्य रूपमा सुरु भएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको एक्स्पोको मंगलबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

नेपाल प्रहरी क्लबस्थित ब्लु प्याभिलियन अडिटोरियम हलमा आयोजित उद्घाटन कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधन किनबेच गर्ने थलो मात्रै नभई नेपालको समग्र मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा जोड्ने अवसर भएको बताइन् ।

उनले पटक–पटक परिवर्तन हुने नीतिगत व्यवस्थाले व्यवसायीमा अनिश्चितता बढाएको भन्दै निजी क्षेत्र र सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्रै नीति परिवर्तन गर्न सरकारलाई आग्रह गरिन् ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक कार्कीले सवारीसाधन बिक्रीमा मात्र केन्द्रित नभई सडक सुरक्षा र सामाजिक उत्तरदायित्वमा समेत ध्यान दिन व्यवसायीलाई आग्रह गरे । उनले बिक्रीपछिको सेवामा ब्रान्डहरूले विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई राजस्व उठाउने माध्यमका रूपमा मात्र हेर्न नहुने बताए । उनले अटोमोबाइललाई विलासी वस्तु नभई आवश्यकताको क्षेत्रका रूपमा लिनुपर्ने धारणा राख्दै विद्युतीय सवारीसाधनका लागि समेत स्थिर नीति आवश्यक रहेको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई उल्लेख्य राजस्व दिने क्षेत्र भएकाले उच्च प्राथमिकताका साथ विकास गर्नुपर्ने बताए । यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी यातायातमा मात्र सीमित नभई आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको बताए । उनका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको छ ।

पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शक

एक्स्पोको पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । आयोजकका अनुसार पहिलो दिन मात्रै २९ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन् । एक्स्पो अवधिभर करिब डेढ लाख दर्शक पुग्ने अपेक्षा गरिएको छ ।

पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing-Fuel for Economic Growth’ विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको थियो । पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष रितु सिंह वैद्य सहभागी थिए ।

पहिलो दिनको Learning Session मा मात्रै ३ सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा Learning Sessions, Policy Dialogues र Industry Interactions सञ्चालन हुनेछन् ।

यस्तै, ग्रान्डी इन्टरनेसनल हस्पिटलले ‘Basic Life Support and Immediate Care After Road Traffic Accidents’ विषयमा सडक दुर्घटनापछिको प्राथमिक उपचार र जीवनरक्षासम्बन्धी जानकारीमूलक प्रस्तुति दिएको थियो ।

विद्युतीय सवारी र नयाँ ब्रान्ड मुख्य आकर्षण

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म ६ दिन सञ्चालन हुनेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता छ । नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्ड, नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन दर्शकका मुख्य आकर्षण बनेका छन् ।

सवारी खरिदलाई सहज बनाउन एक्स्पोमा सहभागी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले विभिन्न विशेष अफर तथा सहुलियत कर्जा योजनासमेत सार्वजनिक गरेका छन् ।

एक्स्पोको को–स्पोन्सर ग्लोबल आइएमई बैंक रहेको छ भने रेडबुल पावर्ड बाईका रूपमा रहेको छ । एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनर तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स पार्टनरका रूपमा सहभागी छन् ।

त्यस्तै, बोस्च टेक्नोलोजी पार्टनर, ग्लोबल कलेज र एम्बार्क कलेज एजुकेसन पार्टनर, अग्नि इनर्जी र अजायल इन्जिनियरिङ सोलुसन्स चार्जिङ पार्टनर तथा पठाओ नेपाल राइड पार्टनरका रूपमा रहेका छन् ।

एक्स्पोमा विभिन्न बैंक, बीमा, प्रविधि, चार्जिङ, स्वास्थ्य, आतिथ्य, सुरक्षा, डिजिटल तथा सञ्चार क्षेत्रका संस्थाहरूको समेत साझेदारी रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Advertisement