बिजनेस पोष्ट

काठमाण्डौ ९ चैत्र २०८१।
चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्मको ८ महिनामा स्मार्ट फोन आयात बढेसँगै राजस्व सङ्कलनमा पनि उल्लेख्य वृद्धि भएको छ।
भन्सार विभागका अनुसार यो अवधिमा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख ७ हजार ७८ थान स्मार्ट फोन आयात भएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो परिमाण र मूल्य दुवैमा वृद्धि हो। गत वर्ष १९ अर्ब ३७ करोड ७७ लाख ६८ हजार रुपैयाँ बराबरको १२ लाख ४९ हजार ४८१ थान स्मार्ट फोन आयात भएको थियो।
स्मार्ट फोन आयातबाट सङ्कलित राजस्व पनि बढेको छ। गत वर्षको यसै अवधिमा ३ अर्ब ६० करोड ७५ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने चालु वर्षको सोही अवधिमा ४ अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ सङ्कलन भएको छ। यो वृद्धिले स्मार्ट फोनको बढ्दो माग र आयातमा आएको तेजीलाई सङ्केत गर्छ।
यसैगरी, अन्य टेलिफोन सेटको आयात पनि उल्लेख्य रहेको छ। सो अवधिमा १ अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरको १६ लाख ९ हजार ९७ थान टेलिफोन सेट आयात भएको छ। यसबाट २८ करोड ३८ लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा स्मार्ट फोन र अन्य टेलिफोन सेटको आयातबाट कुल २१ अर्बभन्दा बढीको कारोबार भएको छ। आयातमा भएको यो वृद्धिले मुलुकको अर्थतन्त्रमा स्मार्ट फोनको महत्त्व र यसबाट प्राप्त हुने राजस्वको योगदानलाई प्रस्ट पार्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया