काठमाडौं १९ श्रावण २०८३
सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो खुद नाफा, आम्दानी र व्यवसाय विस्तारमा सन्तुलित प्रगति हासिल गरेको जनाएको छ। सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ३६ करोड ६५ लाख रुपैयाँको तुलनामा ४ दशमलव ५४ प्रतिशतले बढी हो।
बैंकको मुख्य कारोबारबाट हुने आम्दानीमा पनि उत्साहजनक वृद्धि देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ८ अर्ब ४३ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर यस पटक ९ अर्ब ५ करोड ११ लाख रुपैयाँ पुगेको छ। यसैगरी, बैंकको फि तथा कमिसन आम्दानी १ अर्ब ५८ करोड रुपैयाँबाट बढेर १ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ कायम भएको छ भने समग्र सञ्चालन नाफा पनि अघिल्लो वर्षको ४ अर्ब ९७ करोड रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड २७ लाख रुपैयाँमा पुगेको छ।
नेपाल राष्ट्र बैंकको नियमअनुसार नियमनकारी समायोजन र साविकको सञ्चित नाफा समायोजन पश्चात् बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब ७० करोड ५६ लाख ७१ हजार रुपैयाँ रहेको छ। यस आधारमा साधारण शेयरधनीहरूका लागि बैंकको प्रतिशेयर वितरणयोग्य नाफा ११ रुपैयाँ ५३ पैसा कायम भएको छ भने क्यापिटल एड्जस्टमेन्ट रिजर्भ समायोजन गर्दा यस्तो क्षमता २६ रुपैयाँ १५ पैसा पुग्ने विवरणमा उल्लेख गरिएको छ।
वित्तीय विवरणअनुसार बैंकको वासलातको आकार ३ खर्ब ८९ अर्ब रुपैयाँ नाघेको छ। बैंकको साधारण चुक्ता पूँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार र अविमोच्य असञ्चिति अग्राधिकार शेयर ३ अर्ब ५० करोड रुपैयाँ गरी कुल चुक्ता पूँजी १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चित नाफा र अन्य जगेडा कोषसहित बैंकको कुल कोष १८ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ रहेको छ।
व्यवसाय विस्तारका क्रममा ग्राहकहरूको निक्षेप र कर्जा प्रवाह दुवैमा महत्त्वपूर्ण छलाङ आएको छ। गत वर्षको अन्त्यसम्ममा २ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर ३ खर्ब २७ अर्ब १ करोड रुपैयाँ पुगेको छ भने २ खर्ब १४ अर्ब ४५ करोड रुपैयाँ रहेको कर्जा प्रवाह बढेर २ खर्ब ३३ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ। यी समग्र कारोबारहरूको वृद्धिसँगै बैंकको कुल सम्पत्ति पनि ३ खर्ब ३८ अर्ब ८१ करोड रुपैयाँबाट बढेर ३ खर्ब ८९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।












तपाईको प्रतिक्रिया