धनबहादुर मगर
काठमाडौं १० मंसिर, २०८३-
काठमाडौंको पुतली सडकस्थित ग्रीनलिफ कटेजमा नेपाल बाल साहित्य समजको आयोजनामा एकैपटक पाँच कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कृति विमोचन कार्यक्रमका प्रमुख बंगलादेशी साहित्यकार रतनचन्द्र पालले बाल साहित्य भागलिन आएको अवसरमा कृति विमोचन समारोहको प्रमुख अतिथ्य बनाई नेपालीहरुको माझ आफूलाई चिनाउँनु पाउँदा आफूलाई गौरवको महशुस भएको बताउनु भयो ।
पालले नेपाल र बंगलादेशको परिवेश उस्तै उस्तै रहेको बताउँदै भविष्यमा यस्ता साहित्यले नेपाल र बंगलादेश बिचमा पुल बन्न सहयोग पु¥याउने बताए ।
देवी उपन्यास
बालसाहित्य सर्जक विजयराज आचार्यले देवकुमार सुनुवारको जीवनसंघर्षमा आधारित रही लेखेको उपन्यास ‘‘देवी’’ सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सुनुवारको जीवनभोगाई समेटिएको उपन्याससहित पाँच पुस्तक विमोचन गरिएको उक्त कृतिमाथि विभिन्न लेखकहरुबाट समीक्षा तथा टिप्पणी गरेका थिए ।
उपन्यास ‘‘देवी’’मा देवकुमारको बाल्यकाल, किशोरावस्था, पारिवारिक परिवेश र जीवनमा आइपरेका संघर्षलाई समेटिएको छ ।
पुस्तकमाथि टिप्पणी गर्दै लेखक तथा सामाजिक अध्येता कैलाश राईले सरल भाषामा लेखिएको उपन्यासमा संघर्षले खारिएको मानिसको जीवनकथा समेटिएको बताइन् । पारिवारिक जटिलताबीच पर्याप्त माया र हेरचाह नपाएका देवकुमारले शिक्षा तथा सीप विकासका लागि गरेको संघर्ष उपन्यासमा आएको उनको भनाई थियो ।
‘‘शिल्प, कल्पना र विषयवस्तुका हिसाबले उपन्यास निकै माथि उठेको छ । यसमा हाम्रै वरपर संघर्ष गरेर अघि बढेका मानिसको कथा छ,’’ राईले भने, ‘‘सामान्य जीवनका भोगाइलाई पनि उपन्यास र कृतिका रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने यसले देखाएको छ ।’’
वरिष्ठ बालसाहित्य सर्जक तथा इतिहासकार प्रमोद प्रधानले देवकुमारले उपन्यासमा वर्णन गरिएभन्दा पनि कठिन जीवन बाँचेको बताए । देवकुमारको गाउँमा बालसाहित्यिक कार्यक्रम र अभियानका क्रममा उनीसित नजिकिँदा उनका संघर्ष र कर्मबारे थाहा पाएको उनले बताए । आत्मकथामा मानिसले आफूलाई राम्रो देखाउने प्रवृत्ति रहेपनि ‘‘देवी’’मा उनले जीवनमा जे भोगेका थिए, त्यही प्रस्तुत गरिएको उनको टिप्पणी थियो ।
बाल्यकालमा बिरामी परी बाँच्ने आशासमेत मारिएको अवस्थाबाट संघर्ष गर्दै अघि बढेका देवकुमारको जीवनले किशोरहरूलाई प्रेरणा दिने प्रधानले बताए । दुई बुबासँग बाल्यकाल बिताएका देवकुमारले किशोरकालमा सहरमा काम गर्दै अंग्रेजी भाषा र ड्राइभिङलगायत सीप सिकेको प्रसंगले दुःख र पीडा पार गरेर अघि बढ्न चाहनेलाई प्रेरित गर्ने उनको भनाइ थियो । उनले देवकुमारको जीवनभोगाई आत्मकथाका रूपमा पनि आउनुपर्ने बताए ।
सञ्चारकर्मी जगत दोङ तामाङले देवकुमारको जीवनकथा सुन्दा आफू भावुक भएको स्मरण गर्दै उपन्यासले पाठकलाई पनि त्यस्तै अनुभूति गराउने विश्वास व्यक्त गरे ।
‘‘देवी’’ उपन्यासलाई क्रान्ति पाण्डेले सम्पादन गरेका हुन् भने भाषा सम्पादन प्रमोद प्रधानले गरेका हुन् । उपन्यासमा रविन्द्र मानन्धरका चित्र छन् भने बियोन्ड स्टोरीज प्रकाशनले छापेको हो ।
नीलो साइकल, रातको पाहुना
कार्यक्रममा ‘नीलो साइकल’, ‘रातको पाहुना’, ‘विष्णु केसीको बालसाहित्यकारिता ः विश्लेषण र मूल्याङ्कन’ र ‘सारस र मानिस’ पनि विमोचन गरिएका थिए ।
नेपाल बालसाहित्य समाजका महासचिव विष्णु केसीले ‘‘नीलो साइकल’’ र ‘‘रातको पाहुना’’को समीक्षा गर्दै ती पुस्तकले बंगलादेशको कथा र संस्कृति नेपाली पाठकसमक्ष ल्याएको बताए । ‘‘नीलो साइकल’’ बंगलादेशकी १३ वर्षीया शराना ताज्रियनले लेखेकी हुन् । ‘‘रातको पाहुना’’ शरानासहित उनका बुबा प्रा.डा.मिजानुर रहमान कल्लोल र आमा डा.वनाइजा रहमान कल्लोलको संयुक्त कथा संग्रह हो । दुबै पुस्तकको अनुवाद विजयराज आचार्यले गरेका हुन् भने चित्र रविन्द्र मानन्धरले बनाएका छन् ।
विवेक सिर्जनशील प्रकाशनले यी पुस्तक बजारमा ल्याएको हो ।
विष्णु केसीको बालसाहित्यकारिता ः विश्लेषण र मूल्याङ्कन
त्यसैगरी तीर्थकुमारी लामा (रोजिना) ले लेखेको ‘‘विष्णु केसीको बालसाहित्यकारिता ः विश्लेषण र मूल्याङ्कन’’ पुस्तकमा केसीको बालसाहित्यिक योगदान र सिर्जनामाथिको अध्ययन समेटिएको छ । बालसाहित्यकारमाथि गरिएको अनुसन्धानलाई पुस्तकका रूपमा प्रकाशन गर्ने अभ्यास कम रहेको उल्लेख गर्दै प्रमोद प्रधानले दुई दशकदेखि बालसाहित्यमा सक्रिय केसीको कामबारे पुस्तकले जानकारी दिने बताए ।
सारस र मानिस
‘‘सारस र मानिस’’मा विजयराज आचार्यका नेपाली बालकथालाई ओडिया भाषामा अनुवाद गरी समेटिएको छ । भारतीय साहित्यकार अजित पात्रले अनुवाद गरेको पुस्तक ओडिशाबाट प्रकाशित भएको हो । नेपाली र ओडिया समाजको संस्कृति, माटो र कलाबीच समानता रहेकाले नेपाली कथा ओडिया भाषाका पाठकसम्म पुग्दा लाभ हुनेमा आफू आशावादी रहेको पात्रले बताए । पुस्तकमा समेटिएका केही कथा प्रकाशन हुनुअघि पत्रिकामा छापिँदा पाठकबाट सकारात्मक प्रतिक्रिया पाएको पनि उनले सुनाए । पुस्तक प्रकाशित भएपछि झन् धेरै प्रतिक्रिया आउनेमा आफू आशावादी रहेको उनले सुनाए ।
मंसीर ११ र १२ गते ३१औं तौलिहवामा बालसाहित्य सम्मेलन
कार्यक्रममा आगामी मंसीर ११ र १२ गते कपिलवस्तुको तौलिहवामा हुने ३१औं बालसाहित्य सम्मेलनमा सहभागी हुन नेपाल आएका बंगलादेशी साहित्यकार प्रा.डा.मिजानुर रहमान कल्लोल र डा. वनाइजा रहमान कल्लोलले मन्तव्य राखेका थिए । बारम्बार नेपाल आइरहन पाउँदा खुसी लागेको मिजानुरले बताए । वनाइजाले छोरी शरानाको कथाले नेपाली भाषामा नयाँ घर पाएकोमा आफू खुसी भएकी बताईन् । शरानाले आफ्नो पुस्तक नेपालीमा प्रकाशित भएकोमा खुसी व्यक्त गर्दै पठाएको भिडियो सन्देश पनि कार्यक्रममा देखाइएका थिए ।
सम्मेलनमा सहभागी हुन दक्षिण कोरियाबाट आएका साहित्यकार मुन चाङ–गिलले साहित्यको कुनै भौगोलिक सीमा नहुने बताए ।
नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यले यही मंसीर ११ र १२ गते हुन गइरहेको अन्तर्राष्ट्रियस्तरको बाल साहित्यिक सम्मेलनको अवसरमा ति कृतिहरुको विमोचन गर्नु पाउँदा संस्थागत रुपमा उचाई थपेको बताउनु भयो ।
विजयराज आचार्य ४ दशकभन्दा लामो बाल साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएका व्यक्ति, साहित्यिक सर्जक हुनुहुन्छ ।
कार्यक्रमको अध्यक्षता वरिष्ठ पत्रकार तथा इण्डिजिनियस टेलिभिजनका सम्पादक कुमार यात्रुले विभिन्न भाषामा पाँच पुस्तक एकैसाथ प्रकाशन र विमोचन हुनु अन्तर्राष्ट्रिय साहित्यिक सहकार्यको उदाहरण भएको बताए ।
कार्यक्रमको सञ्चालन इन्डिजिनियस टेलिभिजनकी समाचार सम्पादक तीर्थकुमारी लामा (रोजिना)ले गरेकी थिइन् ।












तपाईको प्रतिक्रिया