एभरेष्ट बैंकको नाफा १ अर्ब २५ करोड, खराब कर्जा घटेर ०.५० प्रतिशतमा

Bizness Post बिजनेस पोष्ट
|
३ हप्ता अगाडि

काठमाडौँ १६ कार्तिक, २०८३, ।

एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा बढाउन सफल भएको छ। बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२२ प्रतिशतले खुद नाफा वृद्धि गर्दै १ अर्ब २५ करोड २७ लाख १९ हजार रुपैयाँ पुर्‍याएको हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब १७ करोड ९२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। पछिल्लो वित्तीय विवरणअनुसार ब्याज आम्दानीमा सामान्य संकुचन देखिए पनि शुल्क तथा कमिसन आम्दानी र सञ्चालन गतिविधिमा भएको सुधारले नाफा वृद्धिमा सहयोग पुगेको देखिन्छ।

चालु आवको पहिलो तीन महिनामा बैंकको खुद ब्याज आम्दानी १.३५ प्रतिशतले घटेको छ। गत वर्षको असोज मसान्तसम्म २ अर्ब ४० करोड ३८ लाख ९७ हजार रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष २ अर्ब ३७ करोड १४ लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ।

यद्यपि, बैंकले खुद शुल्क तथा कमिसन आम्दानीबाट ६० करोड २९ लाख ८ हजार रुपैयाँ प्राप्त गरेको छ। यस अवधिमा कुल सञ्चालन आम्दानी ३ अर्ब २२ करोड ९५ लाख ५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ७८ करोड ९७ लाख ७३ हजार रुपैयाँ कायम भएको छ।

बैंकले व्यवसाय विस्तारलाई पनि निरन्तरता दिएको छ। असोज मसान्तसम्म बैंकको निक्षेप संकलन ६.५२ प्रतिशतले बढेर ३ खर्ब ३६ अर्ब ६२ करोड ८० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह ३.८६ प्रतिशतले वृद्धि भई २ खर्ब ४४ अर्ब ६१ करोड ५ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको निक्षेप ३ खर्ब १६ अर्ब १ करोड ८५ लाख रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ३५ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ रहेको थियो। बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७५.४३ प्रतिशत कायम भएको छ।

यसैगरी, बैंकको सम्पत्तिको गुणस्तरमा समेत सुधार देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा ०.७४ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) घटेर चालु आवको समीक्षा अवधिमा ०.५० प्रतिशतमा झरेको छ। खराब कर्जामा आएको यो गिरावटले बैंकको कर्जा व्यवस्थापनमा सकारात्मक संकेत गरेको छ।

एभरेष्ट बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड ७४ लाख ४५ हजार रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा १६ अर्ब ४९ करोड ४६ लाख ८३ हजार रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड ८ लाख ५३ हजार रुपैयाँ पुगेको छ। यसअनुसार बैंकको लाभांश वितरण क्षमता ४०.७७ प्रतिशत रहेको छ।

यता, बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) भने घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ रुपैयाँ ४४ पैसा रहेको ईपीएस चालु आवको समीक्षा अवधिमा ३४ रुपैयाँ ७८ पैसामा झरेको हो।

बैंकको प्रतिशेयर नेटवर्थ २४३ रुपैयाँ १ पैसा र मूल्य आम्दानी अनुपात (पीई रेसियो) २०.६७ गुणा रहेको छ।

तपाईको प्रतिक्रिया