करिब ९० करोड कित्ता सेयर डिम्याटमा आएनन्

Bizness Post बिजनेस पोष्ट
|
२ महिना अगाडि

काठमाडौं १६ आश्विन २०८३- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत करिब ९० करोड कित्ता सेयर अझै डिम्याट खातामा अद्यावधिक भएका छैनन् । पुराना कम्पनीका सेयरधनी तथा जलविद्युत आयोजनाका स्थानीय बासिन्दाले खरिद गरेका सेयर ठूलो परिमाणमा अझै भौतिक रुपमै रहेको छ । 

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार हाल नेप्सेमा २० अर्ब ४३ करोड ५५ लाख कित्ता सेयर सूचीकृत छन् । तीमध्ये १९ अर्ब ५४ करोड ५३ लाख ८१ हजार कित्ता मात्र डिम्याट खातामा अद्यावधिक भएका छन् । बाँकी ८९ करोड २ लाख कित्ता सेयर अर्थात् कुल सूचीकृत सेयरको ४.३५ प्रतिशत अझै डिम्याट प्रणालीमा आएका छैनन् ।

यसले विगतमा प्रमाणपत्रका रुपमा खरिद गरिएका धेरै सेयर अझै डिजिटल प्रणालीमा रुपान्तरण नभएको देखाउँछ । विशेषगरी जलविद्युत कम्पनीका स्थानीय बासिन्दालाई वितरण गरिएका सेयर, लामो समयअघि खरिद गरिएका तथा बजारबाट टाढिएका लगानीकर्ताको स्वामित्वमा रहेका सेयरमध्ये ठूलो हिस्सा अझै डिम्याटमा नआएको अनुमान गरिएको छ ।

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार डिम्याट नभएका सेयरको मुख्य हिस्सा पुराना भौतिक सेयर हुन् । “झन्डै ५ प्रतिशत हाराहारीका सेयर डिम्याट भएको देखिँदैन । त्यसका विभिन्न कारण हुन सक्छन् । पुराना सेयर हराएका हुन सक्छन्, केही लगानीकर्ताले डिम्याट गर्न नचाहेका हुन सक्छन्, केहीको नामसारी नभएको हुन सक्छ,” उनले भने।

उनले डिम्याट नभएका सेयर पुराना भौतिक सेयर रहेको बताए ।

यता, डिम्याट अद्यावधिक नहुँदा कम्पनीहरुले वितरण गरेको लाभांश सेयरधनीसम्म पुग्न सकेको छैन । सूचीकृत कम्पनीहरुले वर्षौंदेखि नबुझेको लाभांश वितरणका लागि बारम्बार सूचना जारी गरिरहेका छन् । अधिकांश सूचनामा डिम्याट खाता अद्यावधिक गर्न, बैंक खाता लिंक गर्न तथा बाँकी लाभांश बुझ्न आग्रह गरिएको हुन्छ ।

तर धेरै लगानीकर्तासम्म यस्ता सूचना पुग्न सकेका छैनन् । विशेषगरी बैंक तथा वित्तीय संस्थाको मर्जर र प्राप्तिपछि धेरै लगानीकर्ताले आफूले खरिद गरेको कम्पनी अहिले कुन संस्थामा समाहित भएको छ भन्ने जानकारीसमेत राखेका छैनन् ।

बजार जानकारहरुका अनुसार सक्रिय लगानीकर्ताले अधिकांश सेयर डिम्याट गरिसकेका छन् । तर लामो समयदेखि बजारबाट बाहिरिएका, सेयर बिर्सिएका वा स्थानीय सेयरधनीका रुपमा आयोजना प्रभावित क्षेत्रबाट सेयर खरिद गरेका धेरै लगानीकर्ताले अझै सेयर अद्यावधिक नगरेको अवस्था छ ।

कतिपय लगानीकर्ताको मृत्यु भइसकेको, नामसारी प्रक्रिया पूरा नभएको, ठेगाना परिवर्तन भएको वा सेयर प्रमाणपत्र हराएको कारण पनि डिम्याट प्रक्रिया अघि बढ्न नसकेको हुन सक्ने जानकारहरु बताउँछन् । यसले गर्दा लाभांशसमेत रोकिएको छ।

सेयर बजारका जानकार रविन्द्र भट्टराईले सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई आफूले हाल तथा विगतमा लगानी गरेका सबै कम्पनीको नबुझेको लाभांश खोज्न आग्रह गरेका छन् । उनका अनुसार लगानीकर्ताले पहिला आफूले हाल वा विगतमा सेयर राखेका कम्पनीको सूची तयार गर्नुपर्छ ।

त्यसपछि सम्बन्धित कम्पनीको वेबसाइटमा ‘अनक्लेम्ड डिभिडेन्ड’ वा ‘अनकलेक्टेड डिभिडेन्ड’ सम्बन्धी सूचना खोज्न सकिन्छ । सूचीमा आफ्नो नाम भेटिएमा सम्बन्धित कम्पनीको सेयर रजिस्ट्रारसँग सम्पर्क गरेर बाँकी लाभांशको विवरण लिन सकिने उनले बताएका छन् ।

नाम नदेखिए पनि पुरानो लगानी रहेको शंका भए कम्पनी वा सेयर रजिस्ट्रारलाई सिधै सम्पर्क गर्न उनले सुझाव दिएका छन् । भट्टराईका अनुसार लाभांश रोकिएको कारण बैंक खाता नमिलेको, डिम्याट विवरण अद्यावधिक नभएको, पुरानो भौतिक सेयर, खाता फ्रिज भएको वा अन्य प्राविधिक समस्या हुन सक्छ । आवश्यक कागजात बुझाएर लाभांश प्राप्त गर्न सकिने भएकाले पुराना लगानी एकपटक खोज्नुपर्ने उनको सुझाव छ ।

विशेषगरी परिवारका सदस्य, बुबाआमा वा श्रीमान्–श्रीमतीका नाममा रहेका पुराना सेयर समेत खोजी गर्दा वर्षौंदेखि नबुझेको लाभांश फेला पर्न सक्ने जानकारहरु बताउँछन् । अहिले र विगतमा लगानी गरेका कम्पनी एक–एक गरेर खोजी गरेमा आफ्नो हकको लाभांश प्राप्त गर्न सकिने उनीहरुको भनाइ छ।

तपाईको प्रतिक्रिया