ग्यास बिक्री : उपभोक्ता ठग्ने र कृत्रिम अभाव सिर्जना गर्ने डिलरलाई कारबाहीको चेतावनी

Bizness Post बिजनेस पोष्ट
|
२ महिना अगाडि

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको बिक्री वितरण प्रणालीलाई व्यवस्थित, सुरक्षित, पारदर्शी र भरपर्दो बनाउन देशभरका ग्यास बिक्रेता तथा डिलरहरूका लागि नयाँ निर्देशन जारी गरेको छ। निगमले परिपत्र जारी गर्दै तोकिएको मूल्य तथा मापदण्ड पूर्ण रूपमा पालना गर्न सम्पूर्ण व्यवसायीहरूलाई सचेत गराएको छ।

बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, निगमले निर्धारण गरेको भन्दा बढी मूल्य असुल्ने वा नियमविपरीत गतिविधि गर्नेलाई प्रचलित कानुन र निगमको विनियमावलीअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ

निगमको निर्देशनअनुसार ग्यास कारोबार गर्ने फर्म वाणिज्य विभाग वा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुनुका साथै अनिवार्य रूपमा प्यान वा भ्याटमा दर्ता भई आयकर दर्ता प्रमाणपत्र लिएको हुनुपर्नेछ। यसका साथै डिलर रहेको स्थानसम्म साना लोड सवारीसाधन सहजै आउजाउ गर्न सक्ने बाटो हुनुपर्नेछ।

सबैले देख्ने गरी ४ फिट लम्बाइ तथा साढे २ फिट चौडाइको स्पष्ट साइनबोर्डसमेत राख्नुपर्ने व्यवस्था गरिएको छ। ग्यास बिक्रेताले तोकिएका न्यूनतम पूर्वाधार पूरा गरेपछि मात्र कारोबार गर्न पाउनेछन्।

उद्योगबाट ग्यास सिलिन्डर प्राप्त गर्दा सिल र तौल अनिवार्य रूपमा जाँच गर्नुपर्ने जिम्मेवारी डिलरलाई दिइएको छ। बिक्रीस्थलमा तौल मेसिन राखेर उपभोक्ताले चाहेको खण्डमा सिलिन्डरको तौल तुरुन्तै जाँच गराइदिनुपर्ने व्यवस्था लागू गरिएको छ।

१४.२ केजीभन्दा कम तौल भएको, ग्यास चुहिएको (लिकेज), क्षतिग्रस्त वा पानी तथा फोहोर मिसिएको सिलिन्डर बिक्री वितरण गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

प्रत्येक डिलरले दैनिक स्टक रजिष्टर अद्यावधिक गरी बिहानको सुरु मौज्दात, दिनभर भएको बिक्री र अन्तिम मौज्दात स्पष्ट खुलाउनुपर्नेछ। यसबाहेक ग्यास खरिद गर्ने उपभोक्ताको नाम, घर नम्बर, ठेगाना र फोन नम्बरसमेत विवरण रजिष्टरमा राख्नुपर्नेछ।

निगमले अनुगमनका क्रममा मौज्दात, ग्यासको गुणस्तर तथा आवश्यक कागजात जुनसुकै समयमा जाँच गर्न सक्ने जनाएको छ। तोकिएको मापदण्ड पूरा नगरेको वा अनियमितता फेला परे कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने निगमले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया

Advertisement