बाढीपीडितका लागि नाडाद्वारा नुवाकोटमा राहत सामग्री हस्तान्तरण

Bizness Post बिजनेस पोष्ट
|
२ महिना अगाडि

काठमाडौं ४ आश्विन २०८३

नुवाकोट, टिमुरे तथा रसुवामा गएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले उपलब्ध गराएको विभिन्न राहत सामग्री नुवाकोटमा हस्तान्तरण गरिएको छ।

नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठकको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले २०८३ असोज ३ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई राहत सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने विभिन्न सामग्री नाडाले उपलब्ध गराएको जनाएको छ। राहत सामग्री हस्तान्तरणका क्रममा स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउने विषयमा समेत छलफल भएको थियो।

यसअघि नाडाले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराइसकेको छ। २०८३ भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको थियो। 

नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिमा परेका नागरिकलाई विगतदेखि नै आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। पछिल्लो राहत सहयोग पनि बाढीबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले गरिएको नाडाको भनाइ छ।


तपाईको प्रतिक्रिया

Advertisement