काठमाडौं ३ आश्विन २०८३।
नेपालको सार्वजनिक यातायातलाई पारदर्शी र प्रविधिमैत्री बनाउन साझा यातायातले डिजिटल टिकटिङ प्रणाली सुरु गरेको छ। यस अभियानमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले साझा यातायातको भुक्तानी साझेदार बैंकका रूपमा सहकार्य गरेको हो।
यस सहकार्यपछि साझा बसमा यात्रा गर्ने यात्रुले अब कार्ड तथा अन्य डिजिटल माध्यमबाट सहज र सुरक्षित रूपमा भाडा भुक्तानी गर्न सक्नेछन्। टिकट जारी गर्न बैंकले आफ्ना ‘पोस’ मेसिनहरू प्रयोगमा ल्याउने व्यवस्था मिलाएको छ।
डिजिटल रूपान्तरणअन्तर्गत साझा यातायातले आधुनिक कमान्ड एन्ड कन्ट्रोल सेन्टरसमेत सञ्चालनमा ल्याएको जनाएको छ। सार्वजनिक यातायातमा नगदरहित कारोबारलाई प्रवर्द्धन गर्दै विभिन्न भुक्तानी माध्यमलाई यस प्रणालीमा समेटिएको छ।
सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्न यो कदम महत्त्वपूर्ण हुने बैंकले जनाएको छ। यस पहलले भुक्तानी प्रक्रियामा पारदर्शिता ल्याउनुका साथै यात्रु सेवाको आधुनिकीकरणमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।











तपाईको प्रतिक्रिया