असोजमा पनि घट्यो बैंकको निक्षेप ब्याजदर, प्रभुको व्यक्तिगततर्फ सबैभन्दा बढी

Bizness Post बिजनेस पोष्ट
|
२ महिना अगाडि

काठमाडौं ३१ भाद्र २०८३।

नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी असोज २०८३ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता (लगानीयोग्य रकम) रहे पनि कर्जाको मागमा अपेक्षाअनुसार सुधार हुन नसकेपछि भदौको तुलनामा असोजमा पनि निक्षेपको औसत ब्याजदर घटेको छ।

असोज महिनाका लागि २० वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशत कायम भएको छ। यो भदौको ४.१३६ प्रतिशतको तुलनामा ०.०४६५ प्रतिशतविन्दुले कम हो।

त्यस्तै, संस्थागत निक्षेपको औसत ब्याजदर पनि घटेको छ। भदौमा ३.०८१ प्रतिशत रहेको संस्थागत निक्षेपको औसत ब्याजदर असोजमा ०.०१४५ प्रतिशतविन्दुले घटेर ३.०६६५ प्रतिशतमा झरेको छ।

असोजमा ब्याजदर घटाउनेमध्ये एभरेष्ट बैंक अगाडि देखिएको छ। बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.५५ प्रतिशतविन्दुले घटाएर ३.५ प्रतिशतमा झारेको छ। संस्थागत निक्षेपतर्फ पनि ०.२५ प्रतिशतविन्दुले कटौती गर्दै ब्याजदर ३.२५ प्रतिशत कायम गरेको छ।

नबिल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.३ प्रतिशतविन्दुले घटाएर ४.२५ प्रतिशत कायम गरेको छ। यद्यपि, संस्थागत निक्षेपतर्फको ब्याजदर भने ३.०१ प्रतिशतमै यथावत राखेको छ।

त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.०५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशतमा सीमित गरेको छ। कुमारी बैंकले पनि व्यक्तिगततर्फको ब्याजदर ०.०३ प्रतिशतविन्दुले घटाउँदै ३.७३ प्रतिशत कायम गरेको छ। सिटिजन्स बैंकले भने संस्थागत निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएर २.७५ प्रतिशतमा झारेको छ।

अर्कोतर्फ, सानिमा बैंकले संस्थागत निक्षेपको ब्याजदर भने बढाएको छ। बैंकले संस्थागततर्फको ब्याजदर ०.२१ प्रतिशतविन्दुले बढाएर ३.५१ प्रतिशत पुर्‍याएको छ। व्यक्तिगत निक्षेपतर्फ भने बैंकले ४.५ प्रतिशतकै ब्याजदरलाई निरन्तरता दिएको छ।

असोज महिनामा व्यक्तिगत निक्षेपतर्फ सबैभन्दा बढी ब्याजदर दिने बैंकमा प्रभु बैंक रहेको छ। बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ।

यसैगरी, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकसहित १५ वटा वाणिज्य बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। ती बैंकहरूले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

समग्रमा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहे पनि कर्जाको मागमा अपेक्षित सुधार नहुँदा बैंकहरूबीच निक्षेप तान्न ब्याजदर बढाउने दबाब कमजोर देखिएको छ। यही कारण असोजमा पनि वाणिज्य बैंकहरूको औसत निक्षेप ब्याजदर केही घटेको देखिन्छ।

तपाईको प्रतिक्रिया

Advertisement