तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार

मानव सभ्यताको वास्तविक उन्नति संकटको समयमा मानिसले अर्को मानिसप्रति देखाउने करुणा, सहयोग, त्याग, उत्तरदायित्व र निःस्वार्थ सेवाले सभ्यताको वास्तविक स्तर निर्धारण गर्छ।
नेपालले अहिले भोगिरहेको रसुवा नुवाकोट केन्द्रित विनाशकारी बाढीले यस सत्यलाई अझ मार्मिक रूपमा उजागर गरेको छ। १० भाद्र २०८३मा रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको आकस्मिक बाढीले नदी किनारका बस्ती, सडक, पुल, ऊर्जा संरचना तथा अन्य पूर्वाधारमा गम्भीर क्षति पुर्याएको छ। यसको प्रभाव नुवाकोट, धादिङ, गोरखा तथा अन्य तल्लो तटीय क्षेत्रमा समेत परेको छ। सरकारी विवरणले उद्धार, खोज तथा राहत कार्य तत्काल सुरु गरिएको र प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरणसँगै दीर्घकालीन पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ।
यस घटनाको प्रारम्भिक वैज्ञानिक तथा संस्थागत आकलनले हिमाली क्षेत्रमा भएको हिम–चट्टानजन्य घटना, नदी अवरोध तथा त्यसपछि आएको आकस्मिक जलप्रवाहजस्ता परस्पर सम्बन्धित प्रक्रियाले विपद्को स्वरूपलाई जटिल बनाएको संकेत गर्छ। घटनाको पूर्ण कारण र प्रभावबारे अध्ययन अझै जारी छ।
विपद् व्यवस्थापनलाई विपद् घटिसकेपछिको उद्धार र राहतका रूपमा मात्र बुझ्नु आधुनिक दृष्टिकोण होइन। विपद् व्यवस्थापन एउटा निरन्तर चक्र हो, जसमा जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य, पुनर्स्थापना र पुनर्निर्माण एकअर्कासँग अन्तरसम्बन्धित हुन्छन्।
यस चक्रको पहिलो चरण जोखिम न्यूनीकरण हो। बाढी, पहिरो, भूकम्प वा हिमताल विस्फोटलाई पूर्ण रूपमा रोक्न नसकिए पनि त्यसबाट हुने क्षति घटाउन सकिन्छ। जोखिमयुक्त बस्तीको पहिचान, भू–उपयोग योजना, नदी तथा जलाधार संरक्षण, सुरक्षित पूर्वाधार, वैज्ञानिक भूगर्भीय अध्ययन, जलवायु जोखिम मूल्याङ्कन र पूर्वसूचना प्रणाली जोखिम न्यूनीकरणका आधारभूत उपाय हुन्।
रसुवा र नुवाकोटको वर्तमान घटनाले यही पक्षलाई अझ गम्भीरतापूर्वक लिनुपर्ने देखाएको छ। अध्ययनले रसुवा र नुवाकोटमा बाढी, माटो तथा चट्टानी बहावबाट प्रभावित क्षेत्रको उल्लेखनीय विस्तार देखाएको छ। यस्ता तथ्यले जोखिमको वैज्ञानिक नक्साङ्कन र संवेदनशील भूभागमा भविष्यको विकास योजना निर्माणको आवश्यकता स्पष्ट पार्छ।
पूर्वतयारी स् विपद् आउनुअघि गरिने मानवतापूर्ण सेवा
विपद् व्यवस्थापनको दोस्रो महत्वपूर्ण पक्ष पूर्वतयारी हो। पूर्वतयारीको अर्थ केवल उद्धार टोली तयार राख्नु मात्र होइनस समुदायलाई जोखिमबारे सचेत बनाउनु, पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनु, सुरक्षित स्थान पहिचान गर्नु, आपत्कालीन सञ्चार व्यवस्था कायम गर्नु र स्थानीय तहदेखि राष्ट्रिय तहसम्म समन्वयको अभ्यास गर्नु हो।
विपद्को समयमा केही मिनेटको पूर्वसूचनाले पनि जीवन र मृत्युबीचको अन्तर सिर्जना गर्न सक्छ। त्यसैले नदीको जलस्तर, हिमताल, हिमपहिरो, पहिरो र आकस्मिक जलप्रवाहको जोखिम भएका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित बहुजोखिम पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक छ।
तर प्रविधि मात्र पर्याप्त हुँदैन। पूर्वसूचना नागरिकसम्म बुझिने भाषामा, समयमै र विश्वसनीय माध्यमबाट पुग्नुपर्छ। समुदायले सूचनालाई विश्वास गर्न र त्यसअनुसार व्यवहार गर्न सक्ने गरी नियमित अभ्यास आवश्यक हुन्छ। यसमा विद्यालय, स्थानीय समुदाय, स्वयंसेवी संस्था, सञ्चारमाध्यम, सुरक्षा निकाय र स्थानीय सरकारको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।
विपद् चक्रको प्रतिकार्य चरणमा निःस्वार्थ भावनाको वास्तविक परीक्षा हुन्छ। मानिसको ज्यान बचाउने, घाइतेको उपचार गर्ने, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुर्याउने, खाद्यान्न तथा पानी उपलब्ध गराउने, अस्थायी आश्रय निर्माण गर्ने र हराइरहेका व्यक्तिको खोजी गर्ने कार्य तत्कालीन मानवीय प्राथमिकता हुन्।
विपद्को समयमा निःस्वार्थ भावनाको सबैभन्दा सुन्दर पक्ष मानिसको चेतनामा आउने परिवर्तन हो। सामान्य अवस्थामा ‘मेरो घर’, ‘मेरो परिवार’, ‘मेरो सम्पत्ति’ भन्ने सोच प्रधान हुन सक्छ। तर विपद्ले ‘हाम्रो बस्ती’, ‘हाम्रो नदी’, ‘हाम्रो समुदाय’ र ‘हाम्रो साझा भविष्य’को भावना जन्माउँछ।
रसुवा वा नुवाकोटमा भएको विपद् केवल त्यहाँका नागरिकको समस्या होइन। नदी प्रणाली, सडक सञ्जाल, ऊर्जा उत्पादन, व्यापार, पर्यटन, आपूर्ति व्यवस्था र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएका कारण यसको प्रभाव व्यापक हुन्छ। त्यसैले एउटा जिल्लाको विपद्लाई अर्को जिल्लाले बेवास्ता गर्न सक्दैन। यही परस्पर निर्भरता आधुनिक विपद् व्यवस्थापनको मूल दर्शन हो।
विपद् सकिएको घोषणा भएपछि पीडितको समस्या सकिँदैन। वास्तवमा दीर्घकालीन चुनौती त्यहीँबाट सुरु हुन्छ। घर गुमाएका परिवारलाई सुरक्षित आवास, जीविकोपार्जन गुमाएका नागरिकलाई आयआर्जनको अवसर, विद्यालय क्षतिग्रस्त भएका बालबालिकालाई निरन्तर शिक्षा, स्वास्थ्य संस्था क्षतिग्रस्त भएको क्षेत्रमा स्वास्थ्य सेवा तथा विस्थापित परिवारलाई सामाजिक र मनोसामाजिक सहयोग आवश्यक हुन्छ।
विश्व स्वास्थ्य संगठनले रसुवा बाढीपछिको स्वास्थ्य प्रतिकार्यमा घाइतेको उपचार, रोग निगरानी, स्वास्थ्य सेवाको निरन्तरता तथा स्वास्थ्य संस्थाको पुनर्स्थापनालाई प्राथमिकता दिएको जनाएको छ।
यसले विपद् पुनर्स्थापना मानिसको मनमा परेको आघात, परिवारको विछोड, प्रियजनको मृत्यु, जीविकाको क्षति र भविष्यप्रतिको अनिश्चिततालाई पनि पुनर्स्थापना प्रक्रियामा समेटिनुपर्छ।
विपद् व्यवस्थापनको अन्तिम उद्देश्य पहिलेभन्दा सुरक्षित, सबल र उत्थानशील संरचना निर्माण गर्ने हुनुपर्छ। सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, जलविद्युत्, खानेपानी र आवास निर्माण गर्दा भविष्यको जलवायु जोखिम, नदीको प्राकृतिक बहाव, पहिरोको सम्भावना र भू–भौतिक अवस्थालाई समेटिनुपर्छ।यसका लागि प्राविधिक अध्ययन, स्थानीय ज्ञान र समुदायको सहभागिता तीनै पक्षलाई समान महत्त्व दिनुपर्छ। विकासको गति र सुरक्षाबीच सन्तुलन कायम गर्नु आजको प्रमुख नीतिगत आवश्यकता हो।
विपद् व्यवस्थापनमा नेतृत्वको गुणले परिणाममा ठूलो प्रभाव पार्छ। संकटको समयमा नेतृत्व आदेश दिने भन्दा सुन्ने, समन्वय गर्ने, जोखिम स्वीकार गर्ने र नागरिकसँग प्रत्यक्ष संवाद गर्ने हुनुपर्छ।
निःस्वार्थ नेतृत्वले विपद्लाई राजनीतिक प्रचार वा व्यक्तिगत प्रतिष्ठाको अवसरका रूपमा होइन, सार्वजनिक उत्तरदायित्वका रूपमा बुझ्छ। यसले राहत वितरणमा पारदर्शिता, स्रोत परिचालनमा जवाफदेहिता र पुनर्निर्माणमा संस्थागत अनुशासन सुनिश्चित गर्न सहयोग गर्छ।
विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय अत्यन्त महत्वपूर्ण हुन्छ। सुरक्षा निकाय, स्वास्थ्य क्षेत्र, स्थानीय समुदाय, गैरसरकारी संस्था, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच स्पष्ट कार्यविभाजन र सूचना आदानप्रदान आवश्यक हुन्छ। निःस्वार्थ भावनाले यस्ता संस्थागत सीमाभन्दा माथि उठेर साझा उद्देश्यतर्फ काम गर्ने वातावरण निर्माण गर्छ।
वर्तमान विपद्ले प्रकृतिप्रति हाम्रो दृष्टिकोणमाथि पनि पुनर्विचार गर्न बाध्य बनाएको छ। हिमाल, नदी, वन, जलाधार र भू–बनोटको आफ्नै प्राकृतिक प्रक्रिया र सीमा हुन्छ।
प्रकृतिलाई जित्ने विकासको अवधारणाभन्दा प्रकृतिसँग सहअस्तित्व कायम गर्ने विकासको अवधारणा आज आवश्यक छ। नदीको प्राकृतिक बहाव क्षेत्र, जलाधार, पहिरो सम्भावित क्षेत्र र हिमाली संवेदनशीलतालाई बेवास्ता गरेर गरिने विकास दीर्घकालीन रूपमा सुरक्षित नहुन सक्छ।
यस अर्थमा प्रकृतिप्रतिको नम्रता पनि निःस्वार्थ भावनाको एउटा रूप हो। हामीले वर्तमान पुस्ताको सुविधाका लागि मात्र होइन, भावी पुस्ताको सुरक्षाका लागि पनि प्राकृतिक प्रणालीको संरक्षण गर्नुपर्छ।
हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जना गर्न सक्ने जोखिमलाई नेपालले विशेष संवेदनशीलताका साथ सम्बोधन गर्नुपर्छ। वर्तमान घटनाको पूर्ण कारणबारे वैज्ञानिक अध्ययन जारी रहे पनि हिमाली क्षेत्रमा हिम–चट्टानजन्य घटना, हिमताल र आकस्मिक बाढीका जोखिमलाई जलवायु परिवर्तनको व्यापक सन्दर्भबाट अलग राखेर हेर्न सकिँदैन। वैज्ञानिकहरूले पनि हिमाली तापक्रम वृद्धि र यस्ता जोखिमबीचको सम्बन्धबारे थप अध्ययन तथा पूर्वतयारीको आवश्यकता औँल्याएका छन्।
नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष आफ्नो जलवायु न्यायको आवाज अझ सशक्त बनाउनुपर्छ। न्यून उत्सर्जन गर्ने पर्वतीय देशले उच्च जलवायु जोखिमको भार वहन गर्नुपरेको अवस्थाले जलवायु वित्त, अनुकूलन, प्रविधि हस्तान्तरण, पूर्वसूचना प्रणाली तथा क्षति र नोक्सानीसम्बन्धी अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता देखाउँछ।
विपद्ले भौगोलिक सीमाको अर्थ पनि पुनःपरिभाषित गर्छ। रसुवाको हिमाली क्षेत्रमा सुरु भएको घटनाको प्रभाव तल्लो तटीय क्षेत्रमा फैलिन सक्छ। नदीले राजनीतिक सीमा चिन्दैनस त्यसैले विपद् व्यवस्थापन पनि प्रशासनिक सीमाभित्र सीमित रहन सक्दैन।
नेपाल–चीन सीमावर्ती क्षेत्रमा सुरु भएको वर्तमान घटनाले सीमापार सूचना आदानप्रदान, हिमाली जोखिमको संयुक्त अध्ययन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा क्षेत्रीय सहकार्यको महत्त्व देखाएको छ। विपद् व्यवस्थापनमा वैज्ञानिक तथ्य र मानवीय सहकार्यलाई प्राथमिकता दिनु आवश्यक छ।
विश्व समुदायले पनि नेपालजस्ता जलवायुसंवेदनशील पर्वतीय राष्ट्रलाई जोखिम न्यूनीकरण र दीर्घकालीन उत्थानशीलता निर्माणमा साझेदार बन्न आवश्यक छ।
पूर्वीय दर्शनले निःस्वार्थ कर्म, करुणा र सेवा भावलाई उच्च नैतिक आदर्शका रूपमा स्वीकार गरेको छ। भगवद्गीताको निष्काम कर्मको अवधारणाले कर्मलाई व्यक्तिगत लाभको अपेक्षाभन्दा माथि उठाएर कर्तव्य र लोककल्याणसँग जोड्छ। बौद्ध दर्शनले करुणा र मैत्रीलाई मानव मुक्ति र सामाजिक सद्भावका आधारका रूपमा ग्रहण गर्छ।
“आत्मवत् सर्वभूतेषु” भन्ने आदर्शले अरूको पीडालाई आफ्नै पीडाको रूपमा अनुभूति गर्ने नैतिक चेतनातर्फ संकेत गर्छ। विपद्को समयमा अपरिचित व्यक्तिलाई पनि आफ्नै नागरिकजस्तै सहयोग गर्नु, पीडित परिवारलाई आफ्नै परिवारजस्तै सम्झनु र सामूहिक जीवनको सुरक्षालाई व्यक्तिगत सुविधाभन्दा माथि राख्नु यही चेतना व्यवहारमा रूपान्तरण हुन्छ।
रसुवा र नुवाकोटमा देखिएको वर्तमान विपद् नेपालका लागि हाम्रो विपद् व्यवस्थापन प्रणाली, विकास पद्धति, वातावरणीय नीति, पूर्वसूचना क्षमता, संस्थागत समन्वय र सामाजिक चेतनाको गम्भीर परीक्षण पनि हो।
यस विपद्ले हामीलाई तीनवटा महत्वपूर्ण पाठ दिएको छ। पहिलो, विपद् आएपछि मात्र सक्रिय हुने होइन, जोखिम न्यूनीकरण र पूर्वतयारीलाई विकासको अभिन्न अंग बनाउनुपर्छ। दोस्रो, उद्धार र राहतलाई मानवीय गरिमा, निष्पक्षता र पारदर्शितासँग जोड्नुपर्छ। तेस्रो, पुनर्स्थापना र पुनर्निर्माणलाई पहिलेको अवस्था फर्काउने काममा सीमित नराखी भविष्यका जोखिम घटाउने अवसरका रूपमा उपयोग गर्नुपर्छ।
विपद् चक्रको प्रत्येक चरणमा निःस्वार्थ भावनाको आफ्नै भूमिका हुन्छ। जोखिम न्यूनीकरणमा भावी पुस्ताप्रतिको उत्तरदायित्व, पूर्वतयारीमा सामुदायिक चेतना, प्रतिकार्यमा सेवाभाव, पुनर्स्थापनामा करुणा र पुनर्निर्माणमा न्याय तथा दीर्घकालीन दृष्टिकोण आवश्यक हुन्छ। निःस्वार्थता विपद् उत्थानशील समाज निर्माण गर्ने संस्थागत मूल्य पनि बन्न सक्छ।
विपद्ले घर भत्काउन सक्छ, तर मानवताको घर भत्किन दिनु हुँदैन। बाढीले पुल बगाउन सक्छ, तर मानिसबीचको सहकार्यको पुल बग्न दिनु हुँदैन। पहिरोले बाटो अवरुद्ध गर्न सक्छ, तर आशा र पुनर्निर्माणको बाटो रोक्न दिनु हुँदैन।
आज रसुवा, नुवाकोट र प्रभावित अन्य क्षेत्रका पीडित नागरिकप्रति हाम्रो पहिलो कर्तव्य संवेदना मात्र होइन सम्मानसहितको सहयोग, सुरक्षित पुनर्स्थापना र न्यायपूर्ण पुनर्निर्माण हो। विपद्को अँध्यारोमा राज्यको संवेदनशीलता, नागरिकको निःस्वार्थ सेवा र समाजको सामूहिक करुणा एकसाथ प्रज्वलित भए त्यसबाट नयाँ आशाको उज्यालो जन्मिन सक्छ।
प्रकासित मिति २०८३-५-१४










तपाईको प्रतिक्रिया