काठमाडौं, १२ भदौ २०८३
रसुवाबाट सुरु भएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४६९ पुगेको छ। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (नेपाल आपत्कालीन कार्यसञ्चालन केन्द्र) ले शुक्रबार बिहान ७:३० बजे सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार ९७७ जना अझै बेपत्ता छन्।
फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको शव भेटिएको छ। अन्य जिल्लाहरूमा नवलपरासी पूर्वमा ११०, गोरखामा ४४ (विभिन्न मानव अङ्गसहित), नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेका छन्।
विपद्मा परी ७३ जना घाइते भएका छन्, जसमध्ये रसुवामा मात्रै ४३ जना रहेका छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ३ हजार २ सय ५३ जनाको जीवितै उद्धार गरिएको छ।
सम्पर्कविहीन रहेका ९७७ जनामध्ये विदेशी नागरिक र सुरक्षाकर्मीको सङ्ख्या पनि ठूलो छ।
बेपत्ता हुनेहरूमा ५१७ जना विदेशी नागरिक, नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ जना नेपाली, ४५ जना नेपाली सेना, २८ जना नेपाल प्रहरी र १३ जना सशस्त्र प्रहरी बलका जवान रहेका छन्। यसैगरी रसुवाबाट १६१ र मकवानपुरबाट ६६ जना स्थानीय तथा भन्सार कार्यालयका १५ र अध्यागमनका ४ जना कर्मचारी बेपत्ता छन्।
विपद् प्रतिकार्य तथा उद्धारका लागि देशभर ९ हजार ४ सय ५ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ४ हजार २ सय ४३, नेपाल प्रहरीका ३ हजार ३ सय १८ र सशस्त्र प्रहरी बलका १ हजार ८ सय ४४ जना खटिएका छन्।
उद्धार कार्यका लागि नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी जम्मा १५ वटा हेलिकप्टर प्रयोग भइरहेको छ।










तपाईको प्रतिक्रिया