काठमाडौं,११ भदौ २०८३
भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका कारण प्रभावित नागरिकको राहत र उद्धारका लागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। नाडाले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। विपद्मा परी ज्यान गुमाएकाहरूप्रति नाडाले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ।
विपद्का बेला राज्यसँगै उभिने प्रतिबद्धता
विपद्को चुनौतीपूर्ण घडीमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारी संयन्त्रले देखाएको तत्परताप्रति नाडाले आभार व्यक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गर्दै राहत समन्वयमा देखाएको सक्रियताको संस्थाले प्रशंसा गरेको छ।
सरकारको आह्वानअनुरूप उद्धार, राहत र पुनरुत्थानका कार्यमा नाडा सधैं राज्यको साथमा उभिने प्रतिबद्धता जनाएको छ। नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई एकबद्ध भई उद्धार र राहतमा सघाउन अपिल गरेका छन्।
नाडा अटो शो निरन्तर सञ्चालन हुने
काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ निरन्तर सञ्चालनमा रहने नाडाले स्पष्ट पारेको छ। महाविपद्का बीच आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने भएकाले शो निरन्तर चलाउने निर्णय लिइएको हो।
आर्थिक वृद्धिलाई निरन्तरता दिँदै सबै क्षेत्रबाट हातेमालो गरेर यो विपद्को सामना गर्नुपर्ने नाडाको भनाइ छ। सरकार, निजी क्षेत्र र नागरिक समाजको सामूहिक प्रयासबाट मात्र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने संस्थाको विश्वास छ।










तपाईको प्रतिक्रिया