काठमाडौं २३ असार २०८३– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र जारी गर्ने भएको छ। ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ङ’ नाम दिइएको उक्त ऋणपत्रका लागि मंगलबार बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल आह्वान गरिएको हो।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने यसको साँवा २०८४ असार २३ गते भुक्तानी गरिनेछ। ऋणपत्रमा अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने व्यवस्था गरिएको छ।
बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड रुपैयाँ र त्यसपछि ५ करोड रुपैयाँकै गुणकमा कुल निष्कासन रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।
राष्ट्र बैंकले न्यूनतम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकताका आधारमा ऋणपत्र बाँडफाँट गर्ने जनाएको छ।
चालु आर्थिक वर्षको अन्तिम चरणमा बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले पछिल्ला दिनमा निरन्तर रूपमा ऋणपत्र निष्कासन गर्दै आएको छ। यसअघि पनि निक्षेप संकलन उपकरण र राष्ट्र बैंक ऋणपत्रमार्फत बजारबाट तरलता प्रशोचन गर्दै आएको थियो।











तपाईको प्रतिक्रिया