क्यान्जिन गुम्बामा बल्यो केन्द्रीय प्रसारणको बिजुली

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

काठमाडौँ १ असार २०८३। 

रसुवाको प्रसिद्ध पर्यटकीय स्थल लाङटाङको क्यान्जिन गुम्बालगायत स्थानमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ। गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङको क्यान्जिन गुम्बा र आसपासका क्षेत्रमा केन्द्रीय प्रसारण लाइन जोडिएसँगै नियमित रुपमा बिजुली बल्न थालेको हो।

प्राधिकरणको रसुवा वितरण केन्द्रका प्रमुख गुञ्जमान तामाङले गोसाइँकुण्ड र लाङटाङलगायत पर्यटकीय क्षेत्रमा विद्युत् उपलब्ध गराउन ९ करोड रुपैयाँ बराबरको लगानी गरिएको बताए। केन्द्रीय प्रसारण लाइन जोडिएपछि लाङटाङ क्षेत्रका करिब २ सय घरधुरीमा बिजुली पुगेको छ।

उद्योग र होटल व्यवसायीलाई राहत

विद्युत् सेवा सहज भएसँगै स्थानीय क्यान्जिन भ्यालीमा सञ्चालनमा रहेका चिज उद्योग, बेकरी उद्योग तथा साना घरेलु उद्योगलाई ठूलो टेवा पुगेको छ। यसबाट पर्यटक, स्थानीय बासिन्द र ठूला होटल व्यवसायीहरूमा खुसियाली छाएको केन्द्र प्रमुख तामाङले उल्लेख गरे।

समुद्री सतहबाट करिब ३ हजार ८ सय ७० मिटर उचाइमा रहेको क्यान्जिन गुम्बा लाङटाङ पदयात्राको प्रमुख गन्तव्य हो। प्राधिकरणले विद्युत् सेवा नपुगेका पर्यटकीय क्षेत्रमा बिजुली उपलब्ध गराउने अभियान तीव्र पारेको छ।

लघु जलविद्युत् आयोजनालाई सिङ्क्रोनाइज गरिने
यसअघि सो स्थानमा कादुरी फाउण्डेसनले निर्माण गरेको १ सय किलोवाट क्षमताको च्योहा खोला लघु जलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध थियो। उक्त विद्युत् गृहमा समस्या आएपछि मर्मतमा लामो समय लाग्ने भएर वडा कार्यालयको समन्वयमा प्राधिकरणको लाइन जोडिएको वडाअध्यक्ष डिण्डु लामा जाङ्वा तामाङले बताए।

हाल बिग्रिएको लघुजलविद्युत् आयोजनालाई मर्मत गरी प्राधिकरणकै प्रसारण लाइनमा ‘सिङ्क्रोनाइज’ गर्ने व्यवस्था मिलाइने वडाअध्यक्ष तामाङको भनाइ छ। प्राधिकरणले गत वर्ष मात्रै रसुवाकै अर्को पर्यटकीय स्थल गोसाइँकुण्डमा पनि केन्द्रीय प्रसारणको बिजुली पुर्‍याएको थियो।

तपाईको प्रतिक्रिया

Advertisement