अर्थमन्त्री वाग्लेको स्पष्ट सन्देश: ‘हल्ला होइन, निजी क्षेत्र सरकारको साझेदार हो’

Bizness Post बिजनेस पोष्ट
|
१ घण्टा अगाडि

काठमाडौँ २६ बैशाख २०८३, 

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई लक्षित गरेर धरपकड हुने भन्दै फैलिएको हल्ला आधारहीन भएको स्पष्ट पारेका छन्। शुक्रबार साँझ काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र निजी क्षेत्रबीचको सम्बन्धलाई ‘साझेदारी’ का रूपमा बुझ्न आग्रह गरे।

उनका अनुसार व्यवसायीलाई पक्राउ गर्ने वा सूची तयार गर्ने कुनै पनि सरकारी योजना छैन। “निजी क्षेत्रलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची छैन। हल्लाको पछि नलाग्नुस्, तपाईंहरू हाम्रो साझेदार हुनुहुन्छ,” वाग्लेले भने।

उनले सरकारको दीर्घकालीन आर्थिक लक्ष्यतर्फ संकेत गर्दै नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्र बनाउने योजनामा निजी क्षेत्रको भूमिका निर्णायक हुने बताए ।

वाग्लेले सरकारका पाँच मुख्य प्राथमिकता पनि सार्वजनिक गरे। उनका अनुसार:

पहिलो: सुशासन
दोस्रो: अर्थतन्त्र पुनरुत्थान
तेस्रो: आन्तरिक तथा बाह्य कनेक्टिभिटी विस्तार
चौथो: सामाजिक लगानी
पाँचौँ: पर्यटन, संस्कृति र इतिहासमार्फत ‘सफ्ट पावर’ विस्तार

उनले अहिलेको चरणलाई अर्थतन्त्रको दिशा बदल्ने अवसरका रूपमा व्याख्या गर्दै आगामी बजेटसम्म धैर्य गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरे।

भारतसँग तुलना गर्दै विकासको सम्भावना

वाग्लेले आर्थिक सुधार र राजनीतिक स्थायित्व भएमा नेपालले पनि तीव्र प्रगति गर्न सक्ने भन्दै भारतको उदाहरण दिए। उनले प्रधानमन्त्री नरेन्द्र मोदी ले सन् २०१४/१५ मा सत्ता सम्हाल्दा भारतका केही आर्थिक सूचक नेपालसँग मिल्दोजुल्दो रहेको उल्लेख गरे। तर पछिल्ला १२ वर्षमा भारतले ठूलो आर्थिक फड्को मारेको भन्दै उनले नेपाल पनि सही नीति र इमानदार कार्यान्वयनमा अघि बढे समान गति समात्न सक्ने दाबी गरे।

“हामी पनि त्यही दिशामा जाने बेला आएको छ,” उनले भने।

तपाईको प्रतिक्रिया