निर्वाचनमा आचारसंहिता : लोकतान्त्रिक चेतना र सामाजिक मूल्य

Bizness Post बिजनेस पोष्ट
|
२ महिना अगाडि

तोमनाथ उप्रेती

नेपाल आज प्रतिनिधि सभा निर्वाचनको महत्वपूर्ण चरणतर्फ अग्रसर छ। आगामी फागुन २१ गते मुलुकमा प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ। सडक, टोल, घर, सञ्चार माध्यम र सामाजिक सञ्जाल सबै राजनीतिक बहसले भरिन थालेका छन्। तर यस निर्वाचनको महत्व लोकतन्त्रको परीक्षा, नागरिक चेतनाको मूल्याङ्कन र भविष्य निर्माण गर्ने अवसर हो।आचारसंहिता पालनले निष्पक्ष, पारदर्शी र स्वच्छ निर्वाचन सुनिश्चित गर्छ। झुठो प्रचार, डर, प्रलोभन र विभाजनकारी गतिविधि रोक्न आवश्यक छ। सामाजिक सञ्जाल र डिजिटल माध्यमको जिम्मेवार प्रयोग महत्वपूर्ण छ। इमान्दार, योग्य र समावेशी नेतृत्व रोज्नु नागरिकको कर्तव्य हो। लोकतन्त्र स्थायित्व, विकास र राष्ट्रिय सम्मानको आधार हो। सचेत नागरिकले मात्र राष्ट्रको भविष्य सुनिश्चित गर्न सक्छ।
प्रतिनिधि सभा निर्वाचनका लागि १६५ क्षेत्रीय उम्मेदवार दर्ता भइसकेका छन्। चुनाव चिन्ह पाइसकेका उम्मेदवार प्रचार(प्रसारमा सक्रिय छन्। घरदैलो भ्रमण, जुलुस, र्याली, झण्डा, ब्यानर, टोपी, टीशर्ट र डिजिटल अभियान तीव्र बन्दै गएका छन्। यस्ता गतिविधिले सामाजिक खर्च, प्रदूषण र असहजता निम्त्याउँछन्।
विकसित लोकतन्त्रहरूमा चुनाव सरल र विचारमुखी हुन्छ। जर्मनी र नर्वेमा उम्मेदवार एक्लै प्रचारमा निस्कन्छन्। जापानमा ध्वनि नियन्त्रण कडा छ। क्यानडामा खर्च सीमा र विचार प्रतिस्पर्धामा जोड दिइन्छ। नेपालले पनि यही अभ्यास सिक्नुपर्छ। चुनाव धन, शक्ति र प्रदर्शनमा होइन, नीति, योजना र दृष्टिकोणमा आधारित हुनुपर्छ।
निर्वाचन आचारसंहिता लोकतन्त्रको मूल आधार र नैतिक मार्गदर्शनको सशक्त साधन हो। यसले उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकारी, सुरक्षा निकाय र मतदाता सबैलाई स्पष्ट सीमारेखा तोक्छ—के गर्न सकिन्छ र के गर्न हुँदैन। आचारसंहिता पालना गर्दा उम्मेदवारहरू अनुशासित, जिम्मेवार र मर्यादित ढङ्गले चुनावी गतिविधिमा संलग्न हुन्छन्। यसले मतदाता, सञ्चार माध्यम, दल र सुरक्षा निकायबीच पारस्परिक विश्वास र सम्मानको वातावरण सिर्जना गर्छ।
सस्तो प्रचार, डर–धम्की, धनराशिको दुरुपयोग, झुटो समाचार र भ्रामक सूचना प्रसारले लोकतन्त्र कमजोर बनाउँछ। यस्ता क्रियाकलापलाई रोक्न कानुनी आधारसहितको आचारसंहिता अपरिहार्य छ। आचारसंहिता केवल उम्मेदवार वा दलका लागि होइन, सम्पूर्ण निर्वाचन प्रणालीको बलियो आधार हो। यसले मतदान, मतगणना, निर्वाचन प्रक्रिया र सार्वजनिक संचारका सबै पक्षलाई समेट्छ।मतदातालाई डर, दबाब र भ्रमबाट बचाउने माध्यम आचारसंहिता हो। जब सबै सरोकारवाला यसलाई सम्मान गर्छन्, तब मात्र निर्वाचन निष्पक्ष, पारदर्शी र विश्वासिलो बन्न सक्छ। यसरी आचारसंहिता लोकतन्त्रको रक्षा, नागरिक चेतना र राष्ट्रिय भविष्य सुनिश्चित गर्ने अभिन्न साधनको रूपमा कार्य गर्छ।
आज सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्म लोकतन्त्र र नागरिक चेतनामा निर्णायक भूमिका खेल्ने शक्तिशाली माध्यम बनेका छन्। फेसबुक, टिकटक, युट्युब, ह्वाट्सएप जस्ता प्लेटफर्ममार्फत सूचना छिटो फैलिन्छ, तर यसको गलत प्रयोगले लोकतन्त्र कमजोर पार्न सक्छ। झुठा समाचार, अफवाह, घृणात्मक टिप्पणी, डर र दबाब सिर्जना गर्ने गतिविधिहरू बढ्दै गएको देखिन्छ, जसले मतदाताको स्वतन्त्र निर्णय र समाजको शान्ति दुवैलाई असर गर्छ।
युरोपेली देशहरूमा अनलाइन प्रचारको नियमन कडा छ भने भारत र दक्षिण कोरियामा डिजिटल अनुगमन प्रभावकारी रूपमा सञ्चालन हुन्छ। नेपालले पनि डिजिटल शासन बलियो बनाउनुपर्ने आवश्यकता छ। राजनीतिक बहस सभ्य, तथ्यपरक र स्वस्थ संवादमा आधारित हुनुपर्छ। लोकतन्त्र केवल शक्ति र लोकप्रियताबाट होइन, संवाद, विवेक र सहिष्णुताबाट बलियो हुन्छ। डिजिटल माध्यमको जिम्मेवार प्रयोगले मतदातामा विश्वास जगाउँछ, पारदर्शिता सुनिश्चित गर्छ र स्वस्थ लोकतान्त्रिक संस्कारको विकास गर्छ।
पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ हो, जसले सत्ता र जनता जोड्छ, सत्य उजागर गर्छ र जनहितको रक्षा गर्दछ। यसले जनतामा सूचना, सचेतना र विश्वास सिर्जना गर्छ। तर पछिल्ला समयहरूमा सञ्चार माध्यममा पक्षपात र राजनीतिक प्रभाव बढ्दा विश्वसनीयता कमजोर भएको छ। कतिपय पत्रकार कार्यकर्ताजस्तै व्यवहार गर्न थालेका छन्, जसले लोकतन्त्रको मूल आधार कमजोर पार्छ। पत्रकारिता तटस्थ, तथ्यपरक र प्रचारबाट टाढा रहँदा मात्र लोकतन्त्र स्वस्थ, पारदर्शी र जिम्मेवार रहन सक्छ।
सफल निर्वाचन केवल उम्मेदवारको प्रयासले मात्र सम्भव हुँदैन। सरकारले सुरक्षा सुनिश्चित गर्नुपर्छ र प्रहरी निष्पक्ष रहनुपर्छ। नागरिक समाजले अनुगमन गर्नुपर्छ भने पर्यवेक्षकले सत्य र निष्पक्ष रिपोर्ट पेश गर्नुपर्छ। स्वीडेन र स्विट्जरल्यान्डमा निर्वाचन शान्त, व्यवस्थित र उत्सवजस्तै हुन्छस नेपालले पनि यही स्तर हासिल गर्नु आवश्यक छ। मतदान केवल अधिकार नभई कर्तव्य र नैतिक जिम्मेवारी हो। निर्वाचन लोकप्रियताको प्रतियोगिता होइन, भविष्यको निर्णय हो। मतदाताले सोच–विचार गरेर मतदान गर्नुपर्छ। भ्रष्टाचारी, हिंसक वा विभाजनकारी नेतृत्व अस्वीकार गर्दै इमान्दार, शिक्षित, अनुभवी र दूरदर्शी नेतृत्व रोज्नुपर्छ।
आचारसंहिता उल्लङ्घनले निर्वाचनको प्रक्रिया कमजोर बनाउँछ र लोकतन्त्रमा अविश्वास सिर्जना गर्छ। जब मतदाता डर, पैसा, दबाब, भ्रम वा प्रलोभनमा प्रभावित हुन्छन्, मतपत्रमा परेको मत जनताको स्वतन्त्र चाहना नभई कृत्रिम मत बन्न सक्छ। स्रोतसाधनको दुरुपयोग, सरकारी वा निजी साधनको प्रयोग, झुटा समाचार, चरित्र हत्या, जात, धर्म वा क्षेत्रीय आधारमा प्रचार मुख्य उल्लङ्घनका क्षेत्र हुन्। यस्ता गतिविधि रोक्न सशक्त अनुगमन, तटस्थ पर्यवेक्षण र समयमै कानुनी कारबाही आवश्यक छ। आचारसंहिता पालना गर्दा मात्र निर्वाचन निष्पक्ष, स्वच्छ र भरोसायोग्य बन्न सक्छ।
लोकतन्त्रलाई सचेत, जिम्मेवार र सक्रिय नागरिकले मात्र संरक्षण र सुदृढ बनाउँछन्। मौन वा असक्रिय नागरिकले कमजोर र भ्रष्ट नेतृत्व स्वीकार गर्छन्, जसले दीर्घकालीन रूपमा लोकतन्त्र कमजोर पार्छ। त्यसैले सार्वजनिक चेतना, विवेकपूर्ण मतदान र निर्वाचन आचारसंहिताको कडाइका साथ पालन अपरिहार्य छ। आचारसंहिताले सबैलाई समान अवसर दिन्छ र प्रलोभन, दबाब तथा अनुचित बल प्रयोग रोक्छ। चुनावको मूल उद्देश्य जनताको वास्तविक इच्छा र प्रतिनिधित्व सुनिश्चित गर्नु हो। यसले मात्र नागरिकको हित र राष्ट्रको दीर्घकालीन समृद्धि सुनिश्चित गर्न सक्छ।
नेपालमा प्रतिनिधि सभा निर्वाचन लोकतान्त्रिक चेतना, सामाजिक मूल्य र राष्ट्र निर्माणको महत्वपूर्ण अवसर हो। सफल, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि सरकार, मतदाता, राजनीतिक दल, उम्मेदवार, सञ्चार माध्यम र सुरक्षा निकाय सबै पक्ष जिम्मेवार र अनुशासित हुनुपर्छ। निर्वाचन आचारसंहिता पालन, डिजिटल प्लेटफर्मको जिम्मेवार प्रयोग, सामाजिक मूल्यको सम्मान, तटस्थ प्रशासन र सचेत नागरिक यी सबै घटकले मात्र लोकतन्त्रको वास्तविक शक्ति सुनिश्चित गर्न सक्छन्।

तपाईको प्रतिक्रिया