भुपेन्द्र थापा (माधव)
डोजरको धुलोले ढाकिएको बिहानी
फुटपाथमै उम्रिन्छन् सपना
तर राज्यका आँखामा
ती सपना अवैध ठहरिन्छन्।
सुकुम्बासी भनिन्छ उनीहरूलाई
जसको दोष केवल यति हो,
कि उनीहरूसँग
आकाश छ, तर जमिन छैन।
बिस्तारको नारा त धेरै सुनियो,
नक्सामा रंग भर्ने भाषण पनि धेरै आयो,
तर पेटको भोक र छानाको खोजीमा
मानिसले नक्सा होइन—जीवन खोज्छ।
पहिलो कुरा बिस्तार होइन,
पहिलो कुरा हो—व्यवस्थापन।
किनकि व्यवस्थापन बिना
बिस्तार त केवल विस्थापन हो।
कति पटक उजाडियो त्यो झुपडी,
कति पटक बग्यो आँसु बागमतीसँगै,
तर सत्ताको दरबारमा
ती आँसु पुछ्ने हात कहिल्यै बढेनन्।
राजनीति यदि भाषण मात्र हो भने
किन बन्यो यो संविधान?
यदि अधिकार कागज मात्र हो भने
किन उठ्यो त्यो जनआन्दोलन?
सुकुम्बासीको पीडा
केवल आँकडा होइन
त्यो इतिहासको अधूरो अध्याय हो,
जहाँ न्याय अझै लेखिन बाँकी छ।
हे राज्य!तिमीले सुन्नैपर्छ अब
डोजरको आवाजभन्दा ठूलो
भोकको चिच्याहट हुन्छ।
बिस्तार होइन,
पहिले व्यवस्थापन गर।
जहाँ गीत क्रान्तिको हुन्छ,
तर शासन दमनको
जहाँ वाचा आँसु पुछ्ने हुन्छ,
तर सत्ता आँसु बढाउने।
जमिनसंग मानवता जोड
अधिकारसंग जीवन
जब झुपडी सुरक्षित हुन्छ,
तब मात्र देश साझा हुन्छ।











तपाईको प्रतिक्रिया