‘सिन्डिकेट अन्त्य गर्छु’ भन्दै दुलालको इप्पान वरिष्ठ उपाध्यक्षमा दाबी

Bizness Post बिजनेस पोष्ट
|
२ दिन अगाडि

काठमाडौं  १६ बैशाख २०८३।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को वरिष्ठ उपाध्यक्ष पदमा ऊर्जा उद्यमी प्रकाश दुलालले उम्मेदवारी घोषणा गरेका छन् । हाल उपमहासचिव रहेका उनले जेठ २९ गते हुने साधारणसभाबाट नयाँ नेतृत्व चयनका लागि आफ्नो दाबी अघि सारेका हुन्।
इप्पानको वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले यो पद अत्यन्त प्रभावशाली मानिन्छ। महासचिव बलराम खतिवडा, उपाध्यक्षहरू उत्तम लामा ब्लोन, भरत खत्री र आनन्द चौधरी लगायतले पनि उम्मेदवारीको तयारी गरेका छन्।
दुलालले ‘सिन्डिकेट अन्त्य’ र संस्थागत सुधारलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन्। उनका अनुसार हालको संरचनाले वरिष्ठ उपाध्यक्ष बन्न झन्डै १२ वर्ष लाग्ने अवस्था बनाएको छ, जसले नयाँ र योग्य नेतृत्वलाई रोकिरहेको छ।
अघिल्लो निर्वाचनमा विधान विवादपछि भानु पोखरेलको संयोजकत्वमा बनेको कार्यदलले इप्पानलाई महासंघमा रूपान्तरण गर्ने प्रस्ताव दिएको थियो, तर नयाँ विधान अझै लागू हुन सकेको छैन। यही विषयमा अहिले पनि पुरानो विधान वा नयाँ विधानअनुसार चुनाव गर्ने भन्ने विवाद जारी छ।
दुलालले नयाँ विधानअनुसार निर्वाचन गर्नुपर्ने माग गर्दै, आवश्यक परे आफू निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्ष पद नै खारेज गर्ने घोषणा गरेका छन्।
‘म स्वतः अध्यक्ष दाबी गर्दिन, बरु खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्छ,’ उनले भने।
उनले इप्पानलाई ‘देखिने मात्र होइन, नीतिगत रूपमा सुनिने’ संस्था बनाउन संरचनात्मक सुधार, खुला प्रतिस्पर्धा र प्रदेशस्तरसम्म सक्रियता बढाउनुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया