तृष्णा खण्डकाव्यभित्र युगकवि सिद्धिचरण

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

– स्वयम्भू शाक्य
तृष्णा, प्यास हो । इच्छा र आकान्क्षा लोभलाग्दो लिप्सा हो । त्यसैले यो चैतन्य चरितामृतको आदि र अन्त्य कहिले हुने हो ? मृगतृष्णा बनेर तृप्टि कहिल्यै पाउने हो ? यो संसारमा सबै वस्तुहरु अनित्य र क्षणिक छन् भनी थाहाँ पाउँदापाउँदै पनि किन मनुष्य आफ्नो दुःखको कारण आफै बन्दो हो ? उत्तरदायी किन हुन्दो हो ? अज्ञान र मिथ्याको दृष्टिले आफ्नो स्वामी आफै किन बन्न नसकेको हो ? आत्मा विजयद्वारा सबै कुराहरू विजय प्राप्त गर्न सकिन्छ भन्ने कुरा थाहाँ पाउँदापाउँदै किन क्षणक्षणमा भूलिन्दो हो ?
यो कुरो सत्य हो, दुःख खोज्न हामी कतै जानूँ पर्देन । हामीभित्र दुःख छ । हामीभित्र सुख छ । जन्म र मृत्यु आफैमै दुःखदायी हुने भएकोले जीवनको बाटोमा आफैमै पीडा छ । त्यसैले यो मान्छेको जूनीमा आफूले चाहेको कुरा प्राप्त गर्न नसक्नु पनि दुःख हो । तृष्णा, तृप्ति हुन नसक्नु पनि दुःख हो । मन परेको कुरा चित्तमा सँधै टाँसिरहने भएकोले यो लालसा नै मृगतृष्णा हो । अपितु आफूले चाहेको कुरा लालयित हुनुनै उपदान हो । त्यसैले यो भवचक्रमा माया, मोह, रिस, राग, द्वेष, क्लेश र ईष्र्याको जन्म भएतापनि मान्छेको ज्ञानचक्षुद्वारा क्षय गर्न सकिन्छ । दुःख र चिन्तालाई हटाउन सकिन्छ । आफू खुसी भई अरुलाई पनि खुसी पार्न सकिन्छ ।


इन्द्रिय सुख प्राप्ति गर्ने चाहनानै काम तृष्णा हो । एउटा तृष्णा पुरा नहुँदै अर्को तृष्णाको जन्म हुन्छ । शारीरिक तृष्णा, प्यासको तृष्णा हो । तसर्थ तृष्णाको अपूर्णताको कारणबाट दुःख पैदा हुने भएकोले यो मानव जीवनमा शरीर धारण गर्नुनै दुःख हो । जीवनमा तृष्णा र अज्ञानताले नै दुःख पाउने भएकोले यसलाई समयमै निरोध गर्न आवश्यक छ । दुख के हो ? यसको निरोध कसरी गर्ने भन्ने कुरा हामीले बुझ्यौ भने दुःख, तृष्णा र रागको मार्ग पत्ता लगाउन सकिन्छ । शील, समाधि र प्रज्ञाको बलले भोग र तृष्णालाई त्याग्न सकिन्छ । त्यसैले चित्तलाई एकाग्र राखी कुशल विचार गर्नु आवश्यक छ । कुशल दृष्टि पु¥र्याएर यथोचित काम गर्नु नै मानव जीवन हो ।
एउटा दियोले हजारौं दियो बाल्न सकिन्छ । अरुको लागि दियो बाल्ने व्यक्तिले आफ्नो बाटो पनि उज्यालो बनाउनेछ । थोरै नै किन नहोस् आफूसँग जे छ त्यसैमै रमाउने मान्छेको जीवन शुद्ध र सरल तरिकाबाट बित्नेछ । तृष्णाले कहिल्यैे भेटाउन नसक्ने गरी नदीझैँ सलल् बग्नेछ । जीवनको अन्त्य छ । तर तृष्णाको अन्त्य कहिल्यैे हुँदैन ।
मनलाई सधै हलचल गर्ने तृष्णाको तृष्टि कहिल्यै हुने हो ? बाहिरी सुख भोगमै रमाइरहने भौतिकताको यो कस्तो रूप हो ? यो संसार दुःखमय् छ भन्ने थाहाँ पाउँदापाउँदै टाँसिरहने यो कस्तो मन हो ? नित्यबादले आत्मवादको जन्म दिएजस्तै, आत्मवादले तृष्णाबादको उत्पति गराएजस्तै यो भवचक्रमा तृष्णाको कारण राग, द्वेष र लोभको मृत्यु हुन सकिरहेको छैन । दुराचारलाई मन्थन गर्न सकिरहेको छैन । दुःखलाई निरोध गर्न सकिरहेको छैन । त्यसैले हामीले तृष्णालाई निरोध गर्न सक्यौ भने राग, द्वेष र लोभकोे अन्त्य भएर सदाचारको जन्म हुनेछ । जहाँ सुखैसुख छ, कूविचारको जन्म हुँदैन । तृष्णा, कर्म, अहंकार र दृष्टिका कारण दुःखको जन्म हुन सक्दैन । कर्मले मान्छेलाई हीन बनाउन सक्दैन ।
हामीले वर्तमानलाई राम्रोसँग ध्यान दिन सक्यौ भने अवश्य पनि भविष्यको सपना साकार हुनेछ । यो नै मानव जीवनको लागि खुसीको कुरो हो । सत्यको बाटोमा हिँड्ने हो भने मान्छे कहिल्यै पनि ओरालो लाग्नु पर्दैन । हरेक दिन नयाँ उद्देश्यको लागि काम गर्नेछ । हरेक दिन मानिसले नयाँ जन्म लिनेछ । हामी जे सोच्छौ त्यही बन्छौ । शान्त मनले दुःखलाई मोचन गरेजस्तै सत्यमार्गले मृत्युपछि पनि आनन्दको जीवन बिताउन पाउने छन् । त्यसैले हामीले खुसीलाई बाँड्न सक्नुपर्छ । जसले बाँड्छ उसैको खुसी झन् बढेर जानेछ । मन शुद्ध भएपछि खुसी पनि छायाँ बनेर तिम्रो पछिपछि लाग्नेछ ।
मान्छेले आफूसँग रहेको कुरामा कहिल्यैे पनि अवमूल्यन गर्नु हुँदैन । अर्काको ईष्र्या गर्ने मान्छेले कहिल्यैे पनि सुख र शान्ति पाउन सक्दैन । त्यसैले आत्म–सयम, सत्य र अहिंसाको पालना गरी आफ्नो बाटो आफैले बनाउन सक्नुपर्छ । आफ्नो बाटो आफैले खोज्न सक्नुपर्छ । तब पो म कहाँ जाँदैछु भन्ने कुरा थाहाँ हुनेछ । आफ्नोे गन्तव्यमा चाँडै पुग्न सकिन्छ । होइन भने यो भवचक्रमा तृष्णाको दलदलमा फसेर त्यसैत्यसै तड्पिएर मर्नेछ । जसरी तातो कोइला हातमा राख्दा जल्न सक्छ त्यस्तै प्रगतिमा बाधा अड्चन पु¥याउने मान्छेसंग नाता सम्बन्ध राख्नु भन्दा आफू एक्लै बस्नु जाती हुनेछ ।
तृष्णा खण्डकाव्य कविरत्न सिद्धिचरणद्वारा लेखिएको नेपालभाषाको प्रसिद्ध काव्य हो । यस काव्यमा कविरत्नले मानव जीवन, समाज र चेतनाको गहिरो व्याख्या गरिएको छ । आत्मज्ञान र सत्यबोधको माध्यमबाट आध्यात्मिक र जागरणको सन्तुलन खोजेको प्रस्तुत काव्य साहित्य चेतनाले भरिएको एकसुन्दर अनुपम् खण्डकाव्यको रुपमा लिन सकिन्छ ।
नेपालभाषामा लेखिएको प्रस्तुत खण्डकाव्यभित्र आँखा ओछाउने हो भने जुन कर्मले मानव जीवनलाई कल्याण गर्न सक्दैन त्यस्तो कर्ममा हामी लाग्नु हुँदैन । जसको कुनै प्रतिफल छैन । जसको कुनै अर्थ छैन । जसको कुनै महत्व छैन । जसको कुनै सन्देह छैन । त्यस्तो कर्म हामीले गर्दैमा के फलको आशा कसरी गर्न सकिन्छ र ? धानको बीउ रोपेर के गहुँको आशा गर्न सकिन्छ र ? त्यसैले यो मानव जीवनमा सत्कर्म गर्न सक्नुपर्छ । तर यथोचित बोलीे कूविचारलाई पन्छाउन सक्नुपर्छ । सत्यबोध गरी अविद्यालाई हटाउन सक्नुपर्छ । तब पो हाम्रो जीवन तृष्णामुक्त हुनेछ । नदीजस्तो कञ्चन भएर यो हृदयमा पानी बग्न सक्छ । आकाशजस्तो निर्मल अनि निलो बनेर यो मन पलाउन सक्छ । त्यसैले मानव जीवन त देवत्व र पशुत्वको बीचको संघर्षमय् जीवन हो । जहाँ हामी देवत्व प्राप्त गर्न नसके तापनि पशुत्व तिर लाग्नु हुँदैन । मन भत्किएर आफ्नो बाटो बिर्सिएपछि मान्छे कहाँकहाँ जाने हो ? कताकता पुग्ने हो ? गन्तव्यबिना हिँडिरहेको मान्छेले जीवन कसरी बिताउने हो ? निष्फल कर्मले के बनाउन खोज्ने हो ? के थाहा, यो भवचक्रमा कतै दुःखैदुःखको भूमरीमा अल्झिएर मर्ने पो हो कि ? कर्मको बाटो बिर्सिएर कतै भीरपाखाबाट खस्ने पो हो कि ? समाल्न गाह्रो छ । जीवन बिताउनु मात्र होइन साँचो अर्थमा जीवन नहुन पनि सक्छ । त्यसैले हामीले मनलाई मात्र होइन आँखालाई पनि समाल्न सक्नुपर्छ । आँखालाई मात्र होइन कान र मुखलाई पनि समाल्न सक्नुपर्छ । तब पो मान्छेले मान्छेलाई सारपूर्ण काम गर्न सकिन्छ । तब मान्छेले मान्छेलाई जीवनको बाटो देखाउन सकिन्छ । नत्र जीवन समयसँगै माटो बनेर न आफूले केही गर्न सकिन्छ न अरुलाई केही भन्न सकिन्छ । यो हाम्रो जीवनमा जो जसरी बाँचिएर पनि मानव कल्याणको निम्ति केही काम गर्न सक्नुपर्छ ।। परन्तुसम्म रहिरहने केही कुराहरु छोडेर जान सक्नुपर्छ । जसले मान्छेले मान्छेलाई सम्झिरहनेछन् । मान्छेले मान्छेलाई गुण लगाउने छन् । त्यस्तो कर्म गर्नुपर्छ, जुन कर्मले आफूलाई मात्र होइन अरुको जीवनमा पनि सुगन्ध फैलाउन सकोस् । आँखा चिम्लिदा पनि कर्मयोगी मान्छेको सम्झना झलझल आइरहोस् । यस्तो पो हुनुपर्ने हो । तर यो जीवनमा अज्ञानताले होला मान्छे किन बिग्रेको बाटो हिँड्न चाहन्छ ? मान्छे किन पूर्वजन्मको फल भन्न चाहन्छ ?
मनुष्यको जीवन अमूल्य छ । यो अमूल्य जीवनमा पलपलको हिसाब छ । कणकणमा कर्म छ । जन्म र मृत्युको त्यो बीच बाटोमा हामी सकेसम्म दियो बालेर जानूँछ । ताकि दुःखमय् जीवनमा मानव कल्याणले सुखमय् बनाउन सकोस् । हिँड्दाहिँड्दै पछाडि फर्केर पश्चातापको आगोले पोल्न नपरोस् । बस यति भए पुग्छ । मानव जीवनमा मानवीय धर्म निभाएर एउटा मानव भएर मर्न पाए पुग्छ ।
मान्छेको मन न हो, मनले चाहियो भने मान्छेलाई न घरको न घाटको बनाउन सक्दोरहेछ । त्यसैले यो मनलाई हामीले समयमै बाँडेर राख्न सकिएन भने एउटा हावासरि उडेर जान सक्छ । हुरीसरि भत्ताभुङ्ग पार्न सक्छ । मान्छेलाई अन्धकारमा छोडेर कताकता हराउन सक्छ । त्यसैले मन त यो जीवनको अर्थ हो । आफूले खोजेको नपाएपछि ऊ असन्तोषी बन्न सक्छ । वैराग्य भई हिँडेन सक्छ । जतिसुकै बलियो भए पनि जीवनलाई छियाछिया पार्न सक्छ । किनकि ऊ बलवान छ । ऊ सामथ्र्यवान छ । उसले भनेको कुरा मानेन भने ऊ भित्रभित्रै विद्रोह गर्न सक्छ । आगो बालेर मुटुलाई खरानी पार्न सक्छ । मान्छे भएरपनि मान्छेभित्रको मनले केही गर्न नसक्ने हुन्छ ।
म तिमीलाई दिनरात सम्झिरहेको छु । यो बैसले होला, तिमीसँग मात्र बसूँबसूँ लागिरहेछ । थाहाँ छैन, यो जोरीपारीको समाजमा मलाई अरुले के भन्ने हो ? कसरी हेर्ने हो ? म किन डराइरहेको छैन ? मैले किन लुकाउन सकिरहेको छैन ? आश्चर्य छ, यो लोकले मलाई जेसुकै भनूँन् । गाली गरी कर्म बिराएको मान्छे नै किन नभनूँन् । तर मलाई कसैको डर छैन । मलाई कसैको भर छैन । मलाई त्यसैको माया छ । आँखाभरि उसकै सपना छ । मैले मेरो जीवन उसलाई ठानेपछि के म पछिपछि नगई एकै ठाउँमा मात्रै कसरी बस्न सकूँ ?
कल्याण ज्वीगु मखु छुं गुगु कर्म यानाः
व कर्म याय्त मन छाय् च्वन थौं न्हाव्वानाः ?
याये मत्यो थथे लिपा पछुताय माली
धाःसा थ्व चित्त उलि हे वनि हा अचाक्लि ।
८८ ८८
चा नं हिृ नं छ जक छाय् लुमनाः जि च्वंगु
छंथाय् वयाः जक सदां च्वन्य मास्त्य वैगु
लोकं छु धाइ थन हाय जि छाय् मग्याःगु
याय् हे मत्योगु थुगु कर्मस छाय् जि न्हृाःगु ?
८८ ८८

म वयस्क भइसकँे । मलाई समाजले जिम्मेवारी र आत्मनिर्भर बनाइसकँे । आज ममा शक्ति छ । सामथ्र्य छ । जे गर्न पनि जोश र जागर छ । त्यसैले आज बसन्तको बहार आएर होला बगैंचामा रङ्गीबिरङ्गी फूलहरु फुलेर आ–आफ्नो सुगन्ध छरिरहेका छन् । सुरम्य र मनमोहक वातावरणमा मङ्गलका कार्यहरू आरम्भ भइरहेका छन् । कामदेवले मनमा बाण हानेर होला इच्छा र लालसाका थुप्रै अभिष्ट चाहनाहरूको जन्म भइरहेका छन् ।
भनिन्छ, वयस्क जीवन आफैमै सुर र ताल हो । यो धरतीलाई जसरी हराभरा बनाउन खोज्छ । त्यस्तै यो मान्छेको दिलमा पनि चित्ताकर्षणले सधैँ तान्न खोज्छ । समस्त बोट बिरुवाहरु मात्र होइन लता र वृक्षहरुले पनि नयाँ काँचुली फेर्दैछन् । मधुमय् बनाउन मृत सञ्जीवनी प्रदान गर्दैछन् । आशा छ, यो हर्ष र उल्लासको वातावरणमा नबोल्ने पन्छी को होला र ? नफूल्ने फूल को होला र ? नसुसल्ने युवक को होला र ? सबैको मन मस्तिष्कमा श्रृङ्गार रसले भरेपछि समुन्नति नहुने को हुन्छ र ? त्यसैले यो बसन्त ऋतु कामदेवको प्रवेश हो । जताततै हरियाली छाउने सुगन्ध हो । मन चोर्ने अनुरागीहरूको समय हो । त्यसैत्यसै नयनहरूको मिलन हुने संगम हो । यो अस्वस्थ चित्त होइन । यो त भवचक्रमा चलिरहने स्वभाव हो । जुन ऋतुनुसार जन्मिने गर्छ । मन चञ्चल हुन थालेपछि प्रेम मायाको सम्बन्ध गाँस्न पुग्छ । यो नै वयस्क जीवनको याम हो ।
प्रिय ! तिम्रो मुहारमा बसन्त छ । यो धरतीमा फुल्ने सबै फूलहरू तिम्रो मुहारमा ढक्कमक्क फुलेपछि मानौ तिमी त अपार हिसीको भण्डार हांै । जो जहाँ पनि भुल्न सक्छ । जो जहाँ पनि हराउन सक्छ । मन समाल्न नसकेपछि एउटा प्यासीले तिर्खा मेटाउन लाखौंलाख प्रयास गर्ने गर्छ । हो जगत् सुन्दर छ । यो सुन्दर जगत्मा उर्वशीजस्तै तिमी छौं । गुलियो मिठो जति खाँदा पनि कहिल्यै नअघाउने यो कस्तो अनुपम रूप हो ? सधैँ हेरौँहेरौँ लागिरहने, सधैँ टाँसिरहूँजस्तो भइरहने यो कस्तो मृगतृष्णा हो ? बल्सीले माछो तानेजस्तै म माछो बनिरहेको बेला तिम्रो नजरको बल्छीले मलाई तानेपछि बाध्य भएर म तिम्रै छेउमा आइपुगेँ । तिम्रो मोहनी जालले मैले नाइ भन्न नसकेपछि तिम्रो मुग्ध मोहनरूपलाई हेर्न तिमीसम्म आइपुगँे । त्यसैले म त प्रेमको अनुरागी हूँ । मेरो आँखाले तिमीलाई सधैं खोजे पछि यो मन त्यसैत्यसै पागल हुने नै भो ।
आज म नित्य र अनित्य छुट्याउन नसकेर टोलाएर बसिरहेको छु । मन छटपट भएर आगोले पोले जस्तै यता र उता भौतारीरहेको छु । यो कस्तो वयसको जीवन हो । जहाँ चाहनु र नचाहनुको कुनै सम्बन्ध छैन । यो त बसन्त ऋतुको बहार हो । फूल फुल्नै पर्छ । प्रकृति हरियाली हुनैपर्छ । बोट बिरुवा र वृक्षहरूले काँचुली फेर्नैपर्छ । कोइलीले सुमधुर स्वरले गीत गाउनै पर्छ । मन आनन्द अनि प्रफुल्ल भएको बेला एकले अर्कालाई माया प्रितिका कुराहरु गर्नैपर्छ । आँखा लोभ्याउने उर्वशीजस्ता सुन्दरीलाई एकटक्क हेराइले आफूले आफैलाई बिर्सिनै पर्छ ।
ल्याय्हृो जि ज्वी धुन, जि ला अधिकारवन्त
स्वां हृँगु गय् क्यबस वय् धुनकाः बसन्त,
अस्वस्थ चित्त मखु हृाँ थ्व स्वभाव खालि
काम प्रवृत्ति वइ आयु थ्व हृाः वसेलि ।
८८ ८८
बांलाःगुली मदु छ जो थन थौं थ्व लोकय्
धात्थेँ अपार हिसियागु धुकू दु छंके,
बल्सी समान जुल छंगु मिखा जि न्या थें
हा ! नित्य छट्पट् जुयाः मि जलाय् च्वना थें ।
८८ ८८

यौवनावस्थामा प्रेम, माया र स्नेहका कुरा मात्र होइनन्, चुम्बनका कुराहरु पनि हुने गरिन्छ । जसरी बसन्तले नव–पालुवाहरु पलाउन थाल्छ । त्यस्तै मनका प्यास र तृष्णाले सपनामै भएपनि चुम्बनका कुराहरु गर्न थाल्छ । त्यसैले यो मन तृष्णाले उम्लेपछि पोख्न नपाउँदै सेलाउनु पर्छ । हे सुन्दरी ! मेरो मनका कुरा बुझेर तिमीले आज तृप्त गराइदेऊ । ताकि मेरो मनमा उठेका हजारौं ज्वारभाटहरु शान्त हुन सकोस् । तातो भइरहेको मेरो मुटुमा शीतलता पारिदेओस् । सोच्नै नसक्ने मेरा मस्तिष्कलाई विश्राम गरिदेऊ । नत्र मेरो मन र मस्तिष्कले सधैं त्यही कुरा खोजिरहन्छ । जुन कुरा मैले अहिलेसम्म प्राप्त गर्न सकिरहेको छैन । म त्यसैमैं लालयित छु । म त्यसैमंै पछिपछि लाग्दैछु । सुनेर मात्र होइन अब त प्रिय भोग्न चाहन्छु । जीवनका थुप्रै कुराहरुको अनुभूति गर्न चाहन्छु । एउटा चुम्बनले मेरो जीवन सप्रिन्छ भने म किन त्यसको पछि नलागूँ । अस्थिर भएको यो चित्तलाई किन शान्त पार्ने प्रयास नगरौं ?
हे रुपसी ! म तिमीमा हराउन चाहन्छु । म तिमीमा डुब्न चाहन्छु । मलाई मार या काट्, तिमीले जे गरे पनि हुन्छ । जे भने पनि हुन्छ । म त तिम्रो दास हुँ । एउटा दासलाई तिमीले जे मन लाग्यो त्यस्तै गरे हुन्छ । मलाई यसैमैं आनन्द हुनेछ । जीवन स्वर्गमा त्यसै पुग्नेछ । हे रुपसी ! म तिर्खाएको प्यासी हुँ । मलाई तिमीले पानी पिलाइदिए पुग्छ । मलाई तिमीले चुम्बन गरिदिए हुन्छ । यो समाजको कुनै मतलब छैन । मलाई चाहेको बेला समाजले केही दिँदैन भने मैले समाजको लागि किन कुर्नू प¥र्यो ? यो त समाज होइन कुरौतीहरुको झुण्ड हो । जहाँ केही व्यक्तिहरु आफूलाई जे मन लाग्यो त्यही गर्न खोज्छ । आफूले जे चाहेको हो समाजको नाउँमा पाउने गर्छ । त्यसैले मलाई त्यस्तो समाजको आवश्यकता छैन । यो समाज होइन । यो त कुरौटेहरूको झुण्ड हो । जसले अग्रगामी मान्छेहरूको खुट्टामा नेल लगाउन चाहन्छ । बलिरहेको बत्तीलाई निभाई अन्धकार पार्न चाहन्छ । त्यसैले मलाई त्यस्तो समाजको कुनै डर छैन । डर त त्यस्तोसँग हुनुपर्छ, जसले न्याय दिन्छ । समानताको आवाज उठाउँछ । पीडितहरुलाई मलम लगाउँछ । निभेको बत्तीलाई फेरि बाल्न खोज्छ । मैले त त्यस्तो पो समाज खोजेको हँु । यो समाज होइन । यसको कुनै अर्थ छैन । त्यस्तो समाजसँग डराउनुपर्ने कुनै कारण छैन । त्यसैले अब म यो समाजको बन्धनमा रहन चाहन्न । मेरो जीवन तिखैंतिर्खामा मरिन्छ भने म किन यसरी बसी रहूँ । भोग र प्यासमंै तड्पीतड्पी जीवन बितोस् भनी कूविचार राख्छ भने म किन आगोको ज्वाला बन्न नसकूँ ?
हो म भित्रैभित्रंै जलिरहेको मान्छे हुँ । यो आगो निभाउन मलाई धेरै पानीको आवश्यकता छ । त्यसैले म पानी खोजिरहेको छु । हे ईश्वर ! मलाई यस्तो समस्या परेको बेला तिमीले पनि घनघोर वर्षा गरिदिए हुन्छ । आगो निभाउन हावालाई एकछिन टक्क रोकिदिए हुन्छ । ताकि मेरो जीवनमा आगो अन्ततिर फैलिन नपाओस् । आगोले भष्म भयो भनी सुन्न नपरोस् ।
हे प्रिया ! तिमी मुसुक्क हाँसेर अङ्कमाल गरे हुन्छ । म तिम्रै अङ्कमालको प्रतिक्षामा छु । मेरो इच्छा र आकांक्षाहरू सबै पूरा गरिदेऊ । मैले खोजेका कुराहरु सबै तृप्ति पारिदेऊ । यो जीवन अभावैअभावले बाँचिरहेको बेला एउटा अभाव तिमीले पुरा गरिदेऊ । मेरो मनोरथलाई तिमीले समाली देऊ । हे सुन्दरी ! मलाई अहिले व्यथा छ । यो व्यथा तिमीले मात्र निको पार्न सक्छांै । मलाई थाहा छ, मेरो लागि तिमी ईश्वर हौ । ईश्वरले कसैलाई पनि काखापाखा गर्दैन । ईश्वरले कसैलाई पनि भेदभाव गर्दैन । ईश्वरले त सबैलाई समानताको दृष्टिले हेर्ने गरिन्छ । तिमीले मेरो व्यथा निको पार्न जे जस्तो औषधि गर्नुपर्ने हो गरेर चटक्क निको पारिदेऊ । म तिम्रै शरणमा छु । शरणमा आएको मान्छेलाई मरणमा पार्ने काम तिमीले कहिल्यै गर्ने छैन ।
मलाई थाहा छ, तिम्रो दृष्टिले मात्र मेरो आगो अलि कम हुन सक्छ । तिम्रो स्पर्शले मात्र मेरो आत्मामा शीतलता पाउन सक्छ । तिम्रो चुम्बनले मात्र मेरो आगो निभ्न सक्छ भने तिमीले मलाई एकचोटी चुम्बन गर्दैमा के फरक हुने हो ? तिमीले मलाई साथ सहयोगको भावनाले एकचोटि स्पर्श गर्दैमा तिम्रो के नै जान्छ र ? मेरो त आत्मा बल्छ । शरीरले नयाँ ऊर्जा पाउँछ । त्यसैले यो काँपिरहेको शरीरमा तिमीले नजर मात्रै पुराइदेऊ । अनि के हुन्छ तिमी आफै अनुभव गर्न सक्छौ । हे सुन्दरी ! यो मन मस्तिष्कमा बलेको आगो निभेपछि यो शरीर शीतल भएर केही समयको लागि आनन्दले सुत्नेछ । जीऊ चङ्गा भएर जीवनमा फेरि काँचुली फेरेर नयाँ मान्छे बन्नेछ । त्यसैले हे सुन्दरी ! म तिमीलाई बिन्ती गर्छु । जीवनको भिख मागिरहेछु । मलाई तिमीले बचाइदेऊ । मेरो प्राणलाई तिमीले रक्षा गरिदेऊ । किनकि मैले भवचक्रमा धेरै काम गर्न बाँकी छ । मलाई अँधूरो नपार । यो मेरो प्यास मेटियो भने फेरि मैले जीवनमा नयाँ रङ्ग चढेर नव–पालुवाझै बढेर जानेछ । तृष्णा मेटियो भने म फेरि वितृष्णाको बाटोमा लाग्नेछ ।
वारी र पारी बीचमा नदीजस्तै म पनि यता र उता कताकता भइरहेको छु । मेरो कुनै ठेगाना छैन । मेरो कुनै स्थिरता छैन । किनकि म त आफै अस्थिर भएर हिँडिरहेको छु । मेरो व्यवहार मिलिरहेको छैन । सम्झनैसम्झनामा दिनरात एउटै जस्तो लागिरहेको छ । म असमर्थ छु । मनको रोगी भएपछि धेरै गाह्रो हुँदोरहेछ । न निको हुन्छ न चाँडै मर्न सकिन्छ । बीचमा परेको मान्छेलाई मान्छेहरुले पागल भन्दोरहेछ । हो, म पागल होइन । म त प्यास बुझ्न नसकेको प्यासी हुँ । तिर्खा मेटेपछि मेरो मन र मस्तिष्कले आफै काम गर्न थाल्छ ।
हे सुन्दरी ! यो मन किन हो कुन्नी सधै तिमीसगै बसूँबसूँ भन्छ । मेरो त अहिले केही काम छैन । तिमीलाई सम्झनु बाहेक अरु कुनै विकल्प छैन । त्यसैले मैले तिमीलाई सम्झिरहेको छु । रातमा पनि सुत्न सकिरहेको छैन । चन्द्रसँग मनको बह पोखेर रात बित्ने गर्छ । खै अब म के गरुँ ? अब त लाजशर्म पनि लाग्न छोडिसक्यो । मनको तर्कनाले बाटो हिँड्न पनि भुलिसक्यो । खान त खान्छु । तर मेरो शरीरमा खाएको जस्तो कहिल्यै लाग्दैन । हेर्न त हेर्छु तर आँखाले केही कुरा देख्न सक्दिन ।
हिृलाः मुसुक्क व कयाः जिगु अङ्कमाल
यानाव्यु छं जिगु मनोरथयात पूर्ण
हे सुन्दरी, जिगु व्यथा फुक लंकि लंकि
स्यंकाः नुगः व्यथित याय् मत्य बिन्ति बिन्ति ।
८८ ८८
चा नं हिृ नं छ लुमनाः व्यवहार माःगु
जिं याय् मफै वन अहो थथ्थ छाय् छु जूगु
छंथाय् वयाः च्वन्यगु ज्या जुल एक मात्र
छु धाइ लोकन धकाः तक शर्म मन्त ।
८८ ८८

रूपरङ्ग भनेको विनाशको जलप हो । यो नित्य होइन, अनित्य हो । आज छ भोलि नहुन पनि सक्छ । यो त समयचक्रले निर्धारण गर्ने कुरो हो । त्यसैले हे सुन्दरी ! तिम्रो रूपरङ्ग त केही क्षणिक मात्रै हो । जलप केही समयसम्म टिके पनि परन्तुसम्म टिक्न सक्दैन । एकदिन त यो रूपरङ्गलाई समयले पखाल्नेछ । तैपनि हामी यो रूपरङ्गको पछिपछि किन लाग्ने गर्छौं ? जलप त बाहिरी आवरण मात्रै हो भनी थाहा पाउँदापाउँदै पनि यसको पछि हामी किन लाग्छौं ? रूपरङ्गप्रति मान्छे किन लोभी र पापी बन्छौ ? सुन्दरताप्रतिको मोह र मायाको चाहना यति धेरै किन हुन्छ ? अनौठो छ, यो अनौठो संसारभित्र सबै कुराहरु अनौठा छन् । त्यसैले हामीले विनाश होइन, निर्माण खोज्नुपर्छ । संहार होइन, विषमता खोज्नुपर्छ । तब पो जीवनले खोजेको वस्तु भेटाउन सकिन्छ ।
मैले हिजो मात्रै मनका इच्छा र आकांक्षाहरु सबै फालिसके । तैपनि आज किन पलाइरहेछ ? रातो राम्रो गुलियो मिठो खाने भनी प्रतिज्ञा गरेको थिएँ । तर आज किन फेरि यो मनले मागिरहेछ ? के यो नै मानव स्वभाव हो र ? के यो नै अस्वस्थ चित्तको राग हो र ? मैले बुझ्न सकिरहेको छैन । जब मानव संघारका रूपमा रूपरङ्गहरू जन्मिन्छ भने के त्यो क्षणभरिको भनी भूल्न सकिन्न र ? हो नसक्दो रहेछ, जति बुझाए पनि नबुझ्दो रहेछ । किनकि मेरो मनमा नानारङ्गका तरङ्गहरू जन्मिरहन्छ । एउटाले किनार छोएर आउँछ । अर्कोले किनार छुन जान्छ । यसरी नै मेरा मनका नानारङ्गका तरङ्गहरू एउटा मरेर जान्छ ,अर्को सृष्टि हुन्छ । मलाई थाहा छ, यो मेरो मनभित्र चलेको तृष्णाको आँधीबेरीलाई रोक्न सकेँ म निर्मल भएर बाँच्न सक्छु । तर मैले अहिलेसम्म रोक्न सकिरहेको छैन । म त नीच,भ्रष्ट र कामुक हुँ । सुन्दरीहरूको प्यासी हुँ । रसपानगर्दै सोमरसमा भूल्ने अर्धचेतन हुँ । रसरूप राशि हुँ । त्यसैले मान्छेहरू भन्ने गरिन्छ, मान्छे चिन्न गाह्रो छ । उच्च चरित्र अनि आदर्शले बाँचेका मान्छेका रूपहरु पनि फरक फरक हुने गरिन्छ । जसरी पुतलीको खेलजस्तै भ्रष्ट अनि नीच स्वभावहरू यो नाङ्गो आँखाले देख्न सक्दैन । त्यस्तै हो म पनि । मभित्र के छ, के छैन सजिलै मान्छेले बुझ्न सक्दैनन् । यो नै कटु यथार्थ हो । समाजले मलाई जुन दृष्टिकोणले हेरिरहेका छन् , वास्तवमा त्यो म होइन । म त तृष्णाको भिख माग्ने मान्छे हुँ । एउटा प्यासीले प्यास मेटाउन तलाउ खोज्दैछु । नअधाउँन्जेलसम्म प्यास मेट्न मनभरि पिउँन चाहन्छु । एकै सासमा तृष्णालाई निल्न चाहन्छु ।
विनाशया जलप खः रङ्गरूप घैगु
धात्थेंं छ खः क्षणिकयागु किपा मदैगु
संहारयागु छ कतांमरि खः अवश्य
छं थाय् भुले जुइगु छाय् थन हा मनुष्य ?
८८ ८८
नां दंम्ह भिंम्ह अति उच्च चरित्रयुक्त
छं छुं मस्यू गुलि जि कामुक नीच भ्रष्ट
हे सुन्दरी, जि छ मदय्क मगाःहृा प्यासी
हृाः फै च्वना विव जितः रसरूपराशि ।
८८ ८८

म तृष्णाले पीडित भएको मान्छे हुँ । मलाई के थाहा, म त अर्काको नजर छलेर तिमीलाई भेट्न आएको मान्छे हुँ । मन खिन्न छ, कहिल्यै चंङ्गा हुने होला ? तिम्रो मुस्कान हेर्न समाजलाई पनि छोडेर आएको मान्छे हुँ । जसले जेसुकै भनुन् , हे सुन्दरी ! तिमीले मलाई बदमासनै किन नभन्नुन् । मेरो मनमा गहिरो घाउँ छ । तिमीले मलम लगाइदेला कि भन्ने आशाले आएको हुँ । ताकि चाँडै निको हुन सकोस् । शरीर बिरामी छ । तर मन चन्चल छ । यो चन्चल मनलाई लाखौं बिन्ती गर्दा पनि शान्त हुन सकिरहेको छैन । के गरुँ ! तिम्रो सौन्दर्यको वासनाले मेरो जीवन लट्ठ परिसकेपछि अब म कसरी होसमा आउन सक्छु र ? कर्तव्य ज्ञान भएर के गर्नु, यो मनलाई डोेरीले बाँड्ने शक्ति नभएपछि मन चञ्चल भए अब म के गरुँ ? संसार नाशवान छ भनी जति सम्झाए पनि आफ्नै बाटोतिर लाग्न थालेपछि अब म छायाँ बनेर कसरी पछिपछि गएर सम्झाउन सक्छु ? हो, मैले रोक्न सकेन । मेरो यस्तो हविगतमा अब मेरो मृत्युपछि मात्रै यो रोकिएला ।
जीवन त बगेको पानी हो । यसलाई रोकेर रोक्न सकिन्न । त्यसैले हे सुन्दरी ! तिम्रो रसपूर्ण यौवनले भरिएको जीवन त्यतिकै खेर नफाल । मजस्तो मायालुलाई तिमीले अन्यथा कहिले सोच्दै नसोच । तिमीलाई पाप लाग्नेछ । ईश्वरले तिमीलाई सराप दिनेछ । यो भौतिक संसारमा दुई दिनको जिन्दगी छ । जे छ यही दुई दिनमा गर्नु छ । पछि यस्तो मौका पाउने छैन । यश आराम त जीवनको पातो हो । त्यसलाई छोडेर जीवनलाई कहिल्यै सुन्दर बनाउन सक्दैन । त्यसैले म तृष्णा बनेर आउँछु । तिमी प्यासी बन । म वर्षा बनेर आउँदा तिमी अंकुर बन । यसैमै हाम्रो कल्याण हुनेछ । बाँच्नुको अर्थ केही हदसम्म पूरा भएको मानिनेछ ।
हे रूपवती ! मेरो कुरा एकचोटी मानी हेर । तिमीले थाहा पाउनेछौ । सुख के हो भन्ने कुरा तिमी आफैले अनुभव गर्नेछौ । त्यसैले तिमी ममा समाहित भइदेऊ । मेरो बिग्रिएको जीवनमा फेरि एकचोटि रङ्ग भरिदेऊ । काम नलाग्ने इन्द्रियहरुलाई फेरि एकचोटि नयाँ बनाइदेऊ । मेरो सोच र विचारलाई सकारात्मक भावनामा जागृत गरिदेऊ । यो मरिसकेको शरीरमा एकचोटि फेरि नयाँ काँचुली फेरिदेऊ । ताकि सुकिसकेको मनमा फेरि हराभरा हुन सकोस् । तलाऊको पानीजस्तो निर्मल अनि शुद्ध पार्न सकोस् । बाँझो अनि मरुभूमिजस्तो उजार ठाउँमा पनि वर्षाले नयाँ युगको सृष्टि गर्न सकोस् । प्राणी जगत्ले पनि अब यो मान्छे बाँचिसक्यो भन्ने सन्देश जनजनमा दिन सकोस् । तब पो म तृष्णाबाट मुक्ति पाउन सक्छु । नत्र यो जिन्दगी आशैआशमा त्यसै बित्नेछ । तिम्रो रुपरङ्गको कारण विनाश भएर जानेछ । समाजले मलाई पागल भनी नामाकरण गर्नेछ । मेरो आत्मा परलोक नगई अद्योगतितिर लाग्नेछ ।
हे सुन्दरी ! मेरो आत्माले अन्धकारतिर गएर पीडा र दुःखले भरिएको जीवन फेरि बिताउन चाहन्न । असन्तुलित कर्म बोकेर आकाशमै भड्कन म बस्न चाहन्न । यो आत्माको यात्रा त चाँडै सक्नुपर्ने हो ? खै यस्तै भयो भने कहिल्यै सकिने हो ? यो आत्मालाई कहिले परलोक पु¥र्याउन हो । मलाई चिन्ता लागिरहेको छ । त्यसैले हे सुन्दरी ! अब मेरो धेरै दिन बाँच्नु छैन । तिमी चाँडै आऊ । तिमीले मलाई समाहित गरिदेऊ । म वर्षाको पानीले रुजेजस्तो तिमीसँग निथुक्क भिज्न चाहन्छु । मेरो आत्माले जे खोज्छ त्यही गर्न चाहन्छु । तिमीसँग एकछिन भएपनि निदाएर म फेरि बिउँझिन चाहन्छु । तिमीलाई मेरा जीवनका गाथाहरु खोलि मनलाई खाली गर्न चाहन्छु । बस् तिमीले हुन्छ मात्र भन, मेरो जीवनका सारपूर्ण यहीबाट सुरु हुनेछ । त्यसैले हे सुन्दरी ! यो भवसागरको आफ्नै नियम छ । त्यो नियमलाई अहिलेसम्म कसैले तलमाथि गर्न सकेको छैन । सूर्य उदाउछ, अस्ताउन थाल्छ । दिनरातले क्रमश ऋतुहरू बदलिएर समस्त जनजनमा मात्र होइन यो भवसागरले पनि प्रकृतिको नियमसँगै हिँडिरहन्छ ।
हे सुन्दरी ! प्रेम त आत्मीय र भावनाको सम्बन्ध हो । यो अनमोल छ । जसले दया, माया, करुणा र स्नेहको विस्तार गर्छ । त्यसैले प्रिय प्रेमको व्याख्या गर्नु गाह्रो छ, यो सम्भव छैन । फूलको सुगन्धको त अनुभूति गर्न सक्छौं, तर देख्न सक्दैनौं । हावा चलेको त आत्माले बुझ्न सक्छौ, तर देख्न सक्दैनौ । त्यस्तै हो प्रेम । यो विशाल छ । अनन्त छ । तर के गर्नु मैले प्रेमलाई आकर्षणबाट सुरु गरे, यो मेरो लागि बाध्यता हो । मेले आत्माबाट सुरु गर्नुपर्ने हो । यो मेरो भूल भो प्रिय ! भनिन्छ, प्रेम अन्धो हुन्छ । अन्धो प्रेमले जे पनि गर्न सक्छ । उसलाई के थाहा, प्रेम त सृष्टिको स्रोत हो । यो कुनै वस्तु होइन । जसले आफूलाई मन पर्यो भन्दैमा खरिद बिक्री गर्न सकोस् । त्यसैले प्रिय ! तिमीले मलाई निर्धक्क प्रेम गर । मनले खोजेजस्तो भरपुर माया गर । जसरी मैले तिमीलाई गर्दैछु । तिमी प्रेमको सागरमा एकचोटी डुबेर हेर । तिमी आफ्नो मनका तृष्णाहरुलाई छताछुल्ल पारी तृप्ति गर । अनि थाहा पाउनेछौ, यो प्रेमको सागर कति गहिरो छ । कति आनन्द छ । एउटा मान्छेको लागि यो कति महत्वपूर्ण छ । हे सुन्दरी ! तिमी मलाई माया गर । माया गर्नु कुनै पाप होइन । दया गर्नु कुनै पाप होइन । यो त पुण्यफलको प्रभाव हो । उज्यालो अनि आनन्दको अनुभूति हो । यो सम्भावना हो । त्यसैले तिमीले यति मात्र बुझे हुन्छ, प्रेम आफूले दिने हो अरुबाट पाउने होइन । यो सत्यम्, शिवम् र सुन्दरम् हो । यो शक्ति हो । मान्छेले सच्चा हृदयले मात्र ईश्वर खोज्नुपर्छ, ईश्वर त आफैमा निहित छ । हो, प्रेमको कुनै गन्तव्य हुँदैन । यो त समर्पण हो । यो त चेतनालाई निर्मल पार्ने आत्मीय तत्व हो । जसले आत्मालाई अनुपम सौन्दर्य प्रदान गरी परिकृष्ट बनाउनेछ । त्यसैले प्रिय ! हामीले लुकीछिपी प्रेम गर्ने होइन । हामी कसैबाट भागेर जाने होइन । हामीले चोरलेजस्तो अभिनय गर्नुपर्ने होइन । तर के गर्नु यो समाजको डोरीले हामीलाई त्यसरी बाँधिएको छ, जसरी हामी एकआपसमा प्रेम गर्दैनौ । तर यो सम्भव छैन प्रिय ! हामीबीच सम्बन्ध छ । मैले अहिलेसम्म एउटा किनारा भएको नदी भेटाउन सकेको छैन । प्रेम त कठिन छ । धेरै कुराहरु सुन्नुपर्छ, धेरै कुराहरुको अनुभव गर्नुपर्छ । तब पो प्रेमको रूप झाँङ्गिन पुग्छ । तब पो प्रेमले न्याय पाउँछ ।
बाः वंगु जोवन छको थन वा छ हानं
भ्वाभःगु इन्द्रिय फुकं जिगु न्हूगु या छं
ईयात त्याक्यगु कला मखु अःपु रीत
संसारयागु नियमय् च्वन्यमाः समस्त ।
८८ ८८
निर्धक्क यक्व मतिना न त छन्त याय् ज्यू
यक्खंक्क छं न मतिना जिगु लागि याय् ज्यू
खुयाः मखूगु पहलं जुइ माःगु झीपिं
समाजयागु खिपतं कसिना व च्वंपिं ।
८८ ८८

खै अरुले के भन्छ, मुख थुन्न सकिन्न । तर आफूले बोल्दा धेरै पटक सोच विचार गरेर मात्रै बोल्नुपर्छ । ऊ को हो ? के गर्छ ? कुन पृष्ठभूमिबाट आएको हो ? आदि इत्यादि कुराहरूको सुक्ष्म अध्ययन गरेर मात्रै बोल्नुपर्छ । किनकि एउटा मान्छे, सबै मान्छे जस्तो नहुन सक्छ । एउटा मान्छे, सबैलाई जोख्ने तराजुमा राखी जोख्न नमिल्ने हुन्छ । यो त धर्मकाँटा हो । यो धर्मकाँटाभित्र मान्छेहरूको आ–आफ्नो तौल छ । आ–आफ्नो भाउ छ । एउटा मान्छे, मान्छे भएर पनि मान्छेहरूको बीच फरक छ । भनिन्छ, आफूले गर्ने हरेक कर्ममा आफ्नो मुख हेर्नुपर्छ । आफ्नो घाँटी बुझ्नुपर्छ । ताकि त्यो कर्मले ममा कस्तो असर पर्ने हो ? ममा कर्मको फल के हुने हो ? बहुत सोच विचार गरेर मात्रै कर्म गर्दा राम्रो हुन्छ । त्यस्तो कर्मले कहिले निष्फलता प्राप्त गर्नु पर्दैन । मन डराईडराई अरुले के भन्ला भने आतिनु पर्दैन । यो त निर्धक्कसँग बिना छलकपट गर्ने कर्म हो । त्यसैले प्रिया ! तिमीले मलाई आफ्नो मान्छे ठान्न या नठान म त यो जीवन रहुन्जेलसम्म तिमीलाई आफ्नो सम्झिरहनेछु । तिमी मलाई माया गर या नगर तर म त नमरुन्जेलसम्म तिमीलाई माया गरिरहन्छु । तिमीलाई के थाहा, यो पापैपापले भरिएको स्वार्थ समाज छ । यहाँ जे पनि हुन सक्छ, केही भयो भने कुनै आश्चर्य मान्नुपर्ने आवश्यकता छैन । त्यसैले यहाँ थुप्रै समस्या छन् । दीनदुःखीहरुको आफ्नै आवाज छन् । प्रिय ! तिमी सबैसँग जोगिएर बस्नु है, नत्र तिमीलाई तिम्रो सौन्दर्य लुटेर बेवारिसे अवस्थामा पु¥र्याउनेछन् । याहाँ माया गरेजस्तो धेरैले अभिनय गरेर तिम्रो यौवन लुटिनेछन् । प्यास मेटाउन अरुलाई दुःख दिएर भएपनि आफ्नो दुनो सोझाउने छन् । त्यसैले प्रिय ! म अरुजस्तो स्वार्थी र पापी मान्छे होइन । तिमी मलाई माया गर या नगर तर म तिमीलाई निस्वार्थ माया गरिरहेछु । तिमीलाई बन्धनमा राख्ने छैन । किनकि तिमी मेरी हौ, मेरी भएर नै यो जिन्दगी भर रहिरहनेछौ ।
तिमीले कुनै काम गर्न सक्षम हुनुपर्छ, सामथ्र्य त्यही शक्ति हो । जसको आधारमा मूल्यांकन गर्ने गरिन्छ । यो विवेक, प्रविधि र भौतिक कुराहरुसँग निर्भर भएरपनि आत्मासङ्ग पनि जोडिएको छ । त्यसैले मान्छेहरु भन्ने गरिन्छ, हामीले समाजलाई घृणा गर्यो भने समाजले पनि हामीलाई घृणा गर्नेछ । यो कुरो सत्य हो, हामीले फाइदा लिनुपर्छ भने पहिला अरुलाई फाइदा दिएर मात्रै लिनुपर्छ । जसले दःुखी होइन, खुसी बनाउनेछ । आँखामा राखे पनि नबिझाउने छ । त्यसैले सामथ्र्य आत्मा शक्ति हो । यो आत्मशक्ति कसैलाई माग्दैमा पाउने होइन । कतै खोजेर प्राप्ति गर्न सक्दैन । यो त आफूमा निहित शक्ति हो । भिख मागेपछि केही दान पाउन सकिएला तर त्यो दान सही ठाउँमा प्रयोग भएन भने त्यसको कुनै अर्थ छैन । त्यसको कुनै औचित्य छैन । प्रिय ! तिमीलाई दोष दिएर म उम्किन चाहन्न । किनकि तिम्रो हरेक पाइलापाइलामा मेरो सम्बन्ध छ । तिम्रो हरेक इच्छा र आकांक्षाहरुमा मेरो पनि सरोकार छ । त्यसैले प्रिय ! म तिमीलाई दोष दिन चाहन्न । दोष त मेरो पनि छ । सहभागिता त मेरो पनि छ । चाहे तिमीले जस्तोसुकै भुल गरे पनि, चाहे तिमीले जस्तोसुकै दोषपूर्ण कार्य गरेता पनि मेरो पनि सहमति छ । मेरो पनि त्यो अपराधमा संलग्नता छ । प्रिय ! म चाहन्छु तिमीलाई एक्लै छोडेर म जाने मान्छे होइन । चाहे तिमी दुःख र पीरले रोइरहेको होस् । चाहे कुनै दोषपूर्ण कार्य गरिरहेको होस् । म तिम्रो साथमा छु । यो भौतिक संसारमा शरीर अलग्ग भएपनि मेरो प्राण तिमी हौ । तिमी बाँच्नुपर्छ । अनि म बाँच्न सक्छु । तिमी हाँस्नुपर्छ, अनि म हाँस्न सक्छु । नत्र म त त्यसैत्यसै मरेर माटो भएर जानेछु । मेरो इच्छा र आकांक्षाहरू सबै भताभुङ्ग भएर हावासरि उड्नेछ । प्रिय ! म तिम्रो बाधाबिघ्न माथि चट्टानझैँ बस्नु छ । ताकि हलचल गरि तिमीलाई चलाउन नसकियोस् । ताकि तिमीलाई पीडा दिएर रुवाउन नसकियोस् । मेरो यही चाहना छ । मेरो यही ध्येय छ ।
प्रिय ! मेरो लागि तिमी नदीझैँ पवित्र छौ । जहाँ कहिल्यै अशुद्ध हुने छैन । जहाँ कहिल्यै असमानता पाउने छैन । त्यहाँ त समानताको न्याय छ । पवित्र गंगाजलको सेचनले मानव जगत्को कल्याण हुनेछ । त्यसैले प्रिय ! पवित्र आत्माको शक्ति विशाल छ । यो विशाल शक्तिले ठूलो काम गर्नेछ । लोभीपापीहरूको पापहरण गर्न सक्छ । फोहरलाई हटाएर सफासुग्धर पार्न सक्छ । कूविचारलाई पन्छ्याएर सद्विचारको जन्म दिन सक्छ । निर्मल अनि स्वच्छताको सृष्टिगर्दै पवित्र गंगा निरन्तर बगिरहन्छ । त्यसैले नदी कहिल्यै जूठो नभएजस्तै प्रिय ! तिमी पनि कहिल्यै अपवित्र हुन सक्दैनौ । तिमी शुद्ध छौ र पवित्र छौ । तिमी सफा छौ र शुद्ध छौ । प्रिय ! तिमी बगेको निर्मल नदी हो । अबरल बगिरहने तिमी अटुट हौ ।
मेपिन्त धाय्त गन थ्यं थ्व छक्वः लनाः स्व
धैतःगु लोमन कि छं थव ख्वाः थमं स्व
सामथ्र्य याय्त मफुम्हं छु फ्वनाः जुयेगु
व्यूसां छु याय्त थन ज्या ख्यल्य हे मफैगु ?
८८ ८८
जिं दोष बीमखु छतिं जिमि योम्ह छन्त
छं यत्थे यां तर सदां छ जितः पवित्र
न्हृानाव च्वंगु खुसिचा गथ्य पू मज्वीगु
छ नं निरन्तर जितः जुइ न्हूगु न्हूगु ।
८८ ८८

तृष्णा अनन्त छ । यो मान्छेको जूनीमा कहाँसम्म रहन्छ भन्ने कुरा अहिलेसम्म कसैले भन्न सकेको छैन । जति खायो उति स्वादिलो लाग्ने यो तृष्णा मनको भ्रान्ति मात्र हो भन्ने कुरा थाहा पाउँदापाउँदै मान्छे किन त्यसकै पछि लाग्न थाल्छ ? के तृष्णाबिना मान्छे बाँच्न सकिन्न र ? के तृष्णाबिना मान्छे रोगी हुन्छ र ? होइन भने यो कदापि हुन सक्दैन । तृष्णा त आफै मनोरोग हो । यसको अन्त्य मृत्युपछि मात्रै हुने हो कि भन्ने डर छ । त्यसैले यसको छुटकारा पाउन धेरै गाह्रो छ । धेरै प्रयास गर्नुपर्छ । धेरै घृणा गर्नुपर्छ । मनै देखिन अब त यसलाई छुन्न भनि दूरदूर छिरछिर गरेपछि मात्र यो बिस्तारै बिलाएर जानेछ । कतै यो भूतप्रेतको अंश त होइन । सूचीमुखीहरूको आफन्त त होइन । जति पन्छाए पनि कहिल्यै नपन्छिने, सधैं मागिरहने कतै यो मानव संघारको हतियार त होइन । मलाई यस्तैयस्तै लागिरहेछ । यो फोहरी मन, यो फोहरी इच्छा र आकांक्षाहरु । यो टम्म परेको धूँवा, टर्न नसकेको समुद्र । कस्तोकस्तो वारीका मान्छे पारी जान सकिरहेको छैन । पारीका मान्छे वारी आउन सकिरहेको छैन । किनकि त्यो विशाल समुद्रमा आज थुप्रै छालहरु उठिरहेका छन् । लाटो रिस छिनछिनमा देखाइरहेका छन् । त्यस्तो बेला मान्छे कहाँ वारपार गर्न सकिन्छ र ?
तृष्णा त मुटुको किल्ला हो । एकचोटी गढेपछि फुकाउन धेरै गाह्रो हुन्छ । यसैले यो मान्छेको जूनीमा लोभ लालसालाई हटाउने हो भने समयसमयमा हामीले आफ्नो मनलाई सफा गरी राख्नुपर्छ । तब पो लोभ, लालसा र तृष्णाहरू भागेर जानेछ । होइन भने यो त मान्छेको छायाँ जस्तो हो । जहाँ गएपनि पछिपछि लागेर आउनेछ । धमिराले काठ खाएजस्तो मान्छेको मुटु चालै नपाउने गरी कुटुुकुटुु टोकिरहन्छ । मनुष्यको बाटोमा नानाभाँर्ती बिध्न बाधाहरु दिएर बाटाहरु सबै भत्काउन थाल्नेछन् । यो कस्तो धमिरा हो, जसलाई युगौँयुगदेखि मार्न सकिरहेको छैन । यो कस्तो लालसा हो, जसलाई युगौँयुगदेखि जन्माइरहेकाछन् । हामीले तृष्णालाई जसरी भएपनि सही मार्गमा लग्नुपर्छ । तब पो हाम्रो मनले बोधित्व प्राप्त गर्न सकिन्छ । संसार हाम्रो भएर प्रकाशले हामीलाई युगौँयुगसम्म बाटो देखाइरहनेछ । तृष्णाले हामीलाई अहिलेसम्म कल्याण गरेको थाहा छैन । यसलाई स्थान दिएर हामीलाई अहिल्यैसम्म भलो भएको छैन । यो त मानव जीवनको लागि कलंक हो । सबै भताभुङ्ग पार्ने विनाशकारी विघ्नबाधा हो । त्यसैले यसलाई हामीले मनमा पाली राख्नु हुँदैन । यो त पीपलको रुखजस्तै जरा गाढेर मनुष्यलाई धेरै दुःख दिनेछ । जीवन के हो भनी थाहा नपाइकन आफैले आफैलाई नै निल्नेछ । त्यसैले हामीले आफ्नो जीवन झलमल पार्नुछ भने तृष्णालाई बिस्तारै चालै नपाउने गरी मनबाट हटाउन सक्नुपर्छ । भीष्म प्रतिज्ञा गरेर भएपनि हाम्रो मनमा रहेका तृष्णालाई वितृष्णातिर लाग्नु पर्छ । तब पो मान्छेले निर्माण र मुक्ति पाउनेछ । तब पो मान्छेले लोभीपापीबाट छुट्कारा पाउन सक्नेछ ।
तृष्णा त नदीजस्तै अपार छ । यसको कुनै अन्त्य छैन । जसरी नदी टर्न गाह्रो छ, त्यस्तै तृष्णालाई जरैदेखि नै उखालेर फाल्नु उत्तिकै गाह्रो छ । यो सर्जीव होइन । यो निर्जीव होइन । यो त अदृश्य काया हो । जहाँ हाम्रो नाङ्गो आँखाले हेर्न सकिन्न । यो त सुष्मचक्षुले मात्रै देख्न सकिन्छ । जसको नाश गर्नु मानव कल्याण हो । जसको विनाश गर्नु मानव विकास हो । त्यसैले यो मनुष्य जूनीमा शक्ति पाउनु छ भने हामीले आफ्नै मनभित्र शत्रुलाई पहिला मार्नुपर्छ । तब पो मनमा रहेका विकारहरु पन्छिने छ । मन स्वस्थ भएर आकाशजस्तै निर्मल हुनेछ । धरतीजस्तै जे रोप्यो त्यही फलेर सुख प्राप्त गर्नेछ ।
छटु स्याल र अमिलो अङ्गुरजस्तै हामीले पनि यही सन्देशलाई मनन गर्ने हो भने तृष्णालाई पनि बिस्तारै छोड्न सकिन्छ । बाटोमा आइपर्ने थुप्रै समस्याहरूलाई सजिलै समाधान गर्न सकिन्छ । तर किन मान्छे छटु स्याल र अमिलो अङ्गुर हुन सकिरहेको छैन । किनकि मान्छेको मनमा त्याग छैन । केवल घृणा, ईष्र्या, निराशा, तृष्णा, असन्तुष्टि, निराशा, घमण्ड र शङ्का–उपशंका जस्ता नकारात्मक सोचहरूको मात्रै जन्म भइरहेको छ । सकारात्मक सोचले विकासतर्फ होइन । आफ्नो भावना र पहिचानको प्राप्तिको लागि होइन, सही र गलत विवेकपूर्ण तरिकाबाट निर्णय गर्न होइन, तृष्णालाई सहजरुपमा आत्मसाथ गर्न होइन, हामीलाई त मन र मस्तिष्कलाई पनि आराम चाहिन्छ । ताकि शान्त र स्वस्थ भएर सृजनाका अन्य कार्यहरु गर्न सकोस् । आफू खुसी बन्न तृष्णालाई सदाका लागि बिदा दिन सकोस् । आत्माले नियन्त्रण गरी जीवनमा आइपरेका सबै उतारचढावहरू सहजरुपमा लिन सकोस् । सत्यलाई स्वीकार गरी भविष्यको चिन्ताभन्दा वर्तमानलाई नयाँ, जोश, जागर र उमङ्ग दिन सक्यो भने हाम्रो जीवन अवश्य सुनौलो बन्नेछ । जसरी माहुरीले फूल देख्छ त्यस्तै हामी पनि सुगन्ध र माधुर्य देख्न सक्नुपर्छ । मनका दुर्गन्धलाई समयमा फ्याक्न सक्यो भने हाम्रो जीवनका भविष्य अति उत्तम हुनेछ । आत्माले सुख र दुःख जीवनका दुई पाटा भन्ने कुरा बुझाउन मात्र सक्यौ भने जीवन सार्थक बन्नेछ । त्यसैले हाम्रो मन र मस्तिष्कमा अवश्य पनि सकारात्मक भावनाको विकास गर्नुपर्छ । ताकि मनमा विश्वास, श्रद्धा, निष्ठा, इमान्दार, सहिष्णुता, करुणा र सत्यको जीत हुनेछ । यही छोडेर जानुपर्ने हाम्रो देहलाई पनि हामी कच्चा रहेछ भनी आँखा खोल्नेछ ।
दथ्वी वयाः लँपुस बिध्न जुयाः थ्व च्वंगु
तृष्णा फुनाव तिनि जीवन झल्ल थीगु
निर्माण मुक्ति फुक याउँक प्राप्ति ज्वीगु
मात्सर्य लोभ मद मोह समस्त फ्वीगु ।
८८ ८८
तृष्णा अपार खुसि खः मफु छीत अःपु
तृष्णा मछीक गन शान्ति व झीत दैगु ?
अंगूर न्हृााय् मदुगुलिं उम्ह छट्टु ध्वंचां
धाःथें जि नं फुगु ध्व धायागु देह कच्चा ।
८८ ८८

आजकाल मलाई के भएर हो कुन्नी कुनै होस् हवास छैन । म कतातिर हिँडिरहेको छु, मलाई केही थाहा छैन । किनकि मैले केही सोच्न सकिरहेको छैन । केही बुझ्न सकिरहेको छैन । केवल मेरो मन र मस्तिष्कमा शून्य भएर म को हुँ भने ठम्याउन सकिरहेको छैन । यो के भएको हो ? अब मलाई के हुने हो ? उद्देश्यबिना म कतातिर जाने हो ? सबै कुराहरु शून्यशून्यमा परिणत भएपछि अरुले जे भन्छ त्यही गरेर जीविका चलाउनुपर्ने हो कि ? अरुको इशारामा नाच्नुपर्ने हो कि ? नत्र मेरो मन र मस्तिष्कमा किन केही कुराहरु खेल्न सकिरहेको छैन । आगोले पोल्छ भने कुरा थाहाँ पाउँदापाउँदै पनि फेरि किन आगोसँग खेल्न जान्दैछ ।
म काँचो मान्छे होइन । धेरै हावापानी खाइसकेको मान्छे हुँ । तैपनि किन बालकलेजस्तै मेरो मनमा केही कुरा बुझ्न सकिरहेको छैन ? कतै मलाई टुनामुना गरेको त होइन ? कतै तन्त्रमन्त्रले मोहनी लगाएको त होइन ? नत्र यो जीवनमा म किन कसैको पछिपछि लागिरहेछ ? बलिको बोकोजस्तो मलाई किन डोेरीले बाँडेर लगिरहेछ ?
आखिर मान्छेको मन न हो । मनभित्र थुप्रै चेतनाहरूको जन्म हुन्छ । तर्क वितर्क गर्छ । तार्किक कुराहरुमा विशेष ध्यान दिन्छ । अरुको कुरालाई सहजतापूर्वक ग्रहण गर्दैन । अर्काे चेतना मनलाई फुलाएर, फकाएर, लठ्ठ पार्न खोज्छ । बंशीकरण मन्त्रले तानेजस्तो मलाई हलचल नगराई अदृश्य र अज्ञात ठाउँमा लगेर राख्ने गरिन्छ । मलाई यस्तै भइरहेको छ । कसैको मिठो र आकर्षणका कुराहरुले मेरो चित्तलाई मोहनिन्द्रामा तानिरहेको छ । अब यो चित्त मेरो बसमा छैन । कसैको अनुकुलमा म हाँस्नुपर्छ । कसैको भावनामा म रुनुपर्छ । मलाई तन्त्रमन्त्र गरी मोहनी लगाइसकेको छ । समोहन गरी मानसिक शक्तिलाई उसले नियन्त्रण गरिसकेको छ । त्यसैले म त सुतिरहेको मान्छेजस्तो मलाई के थाहा ? निरन्तर मेरो चित्तमा भ्रान्ति भएर होला म अहिले उठेर हिँड्न सकिरहेको छैन । किनकि म कमजोर छु । मेरो हात खुट्टाहरु गलेर चलाउन सकिरहेको छैन । त्यस्तो मान्छेलाई तिमीले के भन्ने गरेका छौ ? कसैको मोहनीमा पछिपछि हिँड्ने मान्छेलाई कहाँ लगेर भोग दिन तरखरमा छौ ?
हो, मान्छेलाई आगोदेखि डर लाग्छ । तर त्यही मान्छे मरेपछि किन आगोमा पोल्न थाल्छ ? खरानी पार्न, रित्तो मान्छेलाई यो भवचक्रबाट बिदा दिएर पठाउन । यहाँ यस्तै चलन रहेछ । आज मर्यो भोलि दुई दिन हुने हाम्रो जीवनमा दुःखसुखका कुराहरु मात्र होइन विगतका सम्झनाहरु पनि माटोमुनि पुगिसके । मन छियाछिया भएर के गर्नु, यो त अविरल बग्ने नदी हो । जहाँ ममात्र होइन तिमीहरू पनि एकदिन जानेछौ ।
मनुष्य जीवनमा थुप्रै दुःख र पीडाले सताइरहेको हुन्छ । यो स्वाभाविक हो । यसलाई हामीले सहजरुपमा लिन सक्नुपर्छ । तर मान्छे किन समयसमयमा रुप फेर्न खोज्छ ? छिनछिनमा स्वभावहरू किन बदल्न खोज्छ ? किन मान्छे भएरपनि दानवको आत्माले न्याय दिलाउन खोज्छ ? अनौठो छ, जसरी पानीबिनाको माछो भुइँमा छटपटी रहन्छ त्यस्तै कसैको आत्मामा प्रेत चढेर होला ऊ त्यसैमै रमाइरहन्छ । उसलाई त्यसैमा आनन्द आउने गर्छ । यो मानवीय स्वभाव होइन । तर के गर्नु ऊ त मान्छे हो । मान्छे–मान्छेमा त यस्तो नहुनुपर्ने हो । तर किन भइरहेको छ ? माछा छट्पटिदा मान्छे किन खुसीले नाच्दैछ । रगत तपतप चुहिरहँदा मान्छे किन चाँटीचाँटी खान खोज्छ ? यस्तो पनि हुन्छ र ? हो, यो विचित्रको संसारमा यहाँ जे पनि हुन सक्छ । तिमी मान या नमान, मन नपरेको औषधि यो संसारमा अहिल्यैसम्म कसैले बनाउन सकेको छैन ।
हामी त मनुष्य हौ । मनुष्य भएर बाँच्नुमा नै हामीले गर्व गर्न सक्नुपर्छ । नत्र मनुष्यकाबीच ईष्र्या र कलह बढ्नेछ । एकदिन त्यही ईष्र्या र कलहले मान्छेले मान्छेलाई नरसम्हार गर्नेछ । विवाद भएर एकले अर्कालाई महाशत्रु ठान्नेछ । त्यसैले हामी मनुष्य बन्ने हो भने हाम्रा मनका ईष्र्या र बैमनस्यतालाई त्याग्नुपर्छ । मन आकाशजस्तो फराकिलो बनाई साँघुरो मनलाई हटाई दिन सक्नुपर्छ । तब पो मनलाई मन परेको कुरा तिमीलाई मन नपरे पनि कुनै विवाद हुने छैन । यो त मानवीय गुण र स्वभाव हो । यसमा कसैले यस्तै हुनुपर्छ भन्न मिल्दैन । आ–आफ्नो रुचिका कुराहरुमा विवाद नगरी स्वतन्त्रपूर्वक आफ्नो बाटोमा लाग्न सक्नुपर्छ । आ–आफ्नो रोजाईलाई स्थान दिन सक्नुपर्छ ।
यानाः व मोहनि जितः दुगुचा दयेकाः
छं भोग बीगु कि यनाः ल्हुित माजुया थाय् ?
या यत्थे या जिगु थ्व होस् हवास मन्त
खाली निरन्तर व्यथां जिगु चित्त भ्रान्त ।
८८ ८८
न्या म्वाःम्हयात पुखूलिं लिकयाः तयाः बँय्
व संगु छट्छट् जुयाः गुलि योगु छं स्वय् ?
वासः थ्व लोकस छु थःत मयोगुयात
छं नं जितः मयल का छु थुकी विवाद ?
८८ ८८

यो टिका मेरो देशको माटो हो । यो देश मेरो जन्मभूमि हो । मलाई माया छ, मेरो देशमा कतै बैरीहरुले खुट्टा टेक्न नपाओस् । भ्रष्ट, अन्याय र अत्याचारीहरूको कुनै गन्ध नहोस् । शान्तिको नाउँमा अशान्ति मचाउन नसकोस् । म नमरुन्जेलसम्म मेरो देशको मायासधैं लागिरहोेस् । किनकि मेरो देश बुद्ध जन्मेको देश हो । सेता हिमगिरिका राजा सगरमाथा हाँसेको देश हो । हजारौंहजार नदीनाला तथा झरनाहरु झरेको देश हो । साक्षात जिउँदो देवता कुमारीले संरक्षण गरेको देश हो । त्यसैले मलाई मेरो देशको सुख, शान्ति र समृद्धिले जनजनको जय होस् भन्ने मेरो चाहना छ । यो कुरो सत्य हो, नेपाल स्वर्गको टुक्रा भएपनि नेपाली जनता किन सुख, शान्ति र समृद्धि हुन सकिरहेको छैन ? बुद्धको देशमा शान्ति त हुनुपर्ने हो तर किन अशान्ति मचिरहेको छ ? भोक र प्यासले मान्छे किन दिन प्रतिदिन विदेशीदै छन् ? यो के भएको हो ? किन हामी नेपालीहरू देशको माया बोकेर सरकारप्रति वितृष्णाको आगो लगाइरहेका छन् ? गरिब– गरिब भएर, धनी– धनी बनेर हाम्रो देशको संयन्त्रमा कतै के बिग्रिरहेको छ ? त्यसैले नेपाल बनाउनु छ भने जनजनको आवाज सरकारले सुन्नुपर्छ । जनजनको मनमा सरकार पुग्नुपर्छ । तब हाम्रो देशमा सुख, शान्ति र समृद्धि आउन सक्छ । हामी वीर योद्घाका सन्तानहरुले भविष्यमा नेपाली भनी गर्व गर्न सक्छ ।
हो, हामी नेपाली खुकुरीको धारमा हिँड्न सक्ने जात हो । जतिसुकै भिरपाखा र जंगलमा पनि सजिलै उकालो ओरालो गर्न सक्ने आँटिलो मान्छे हो । उसलाई के थाहा, डर भनेको के हो ? त्रास भनेको के हो ? ऊ त नेपाली हो । नेपाली मनमा प्रेम, माया र स्नेह छ । करुणा, दया र मैत्री छ । अष्टशीलकोे धर्म छ । सनातनदेखि चलिआएको आ–आफ्नो परम्परा छ । त्यसैले ऊ नेपाली हो ।
एउटा दियोले हजारौं दियो बाल्न सकिन्छ । त्यसैले हाम्रो देश बनाउनु छ भने पहिले आफैबाट सुरु गर्नुपर्छ । आफैले नै आफ्नो दायित्व निर्वाह गर्न सक्नुपर्छ । मेरो कर्तव्य के हो भनी आफैले आफैलाई सोध्न सक्नुपर्छ । तब पो कुशल कर्म गर्न सकिन्छ । आफ्नो देशलाई समृद्धि बनाउन हामीहरु सबै एकजूट भई लाग्नुपर्छ । होइन भने देश कसरी उँभो लाग्न सक्छ र ? आफ्नो कर्तव्य आफैले बिर्सिने हो भने विवेक कहाँ रहन सक्छ र ? जसलाई जे मन लाग्यो त्यस्तै गर्ने हो भने कानुनी राज्य कहाँ हुन सक्छ र ? तसर्थ मबाट पन्छिएर हामी भन्न सक्नुपर्छ । तृष्णाबाट पन्छिएर तृष्णाबाटै उठ्न सक्नुपर्छ । म त के हो र ? एउटा सुन्दरीमा लागेको मान्छेले जीवनलाई नै तहसनहस पारेर संहारको बाटोमा लाग्दा कतै भाग्यले पनि धिकार्न खोज्छ । कतै यो दुर्लभ मानव जीवनमा बत्ती निभाई बाच्न खोजेजस्तो लाग्न थाल्छ ।
हाम्रो जीवन नेपाल आमाप्रति समर्पित हुनुपर्छ । हामी त के हो र, आज छ भोलि नहुन पनि सक्छ । तर नेपाल आमा अनन्तकालसम्म रहिरहनेछन् । आफ्नो माटो युगौंयुगसम्म रगतको पुर्खाहरुले छोइरहनेछन् । त्यसैले हामी जन्मेर हुर्के, एकदिन यही माटोमा बिलय भएर जानेछ । तसर्थ हाम्रो जन्म नेपाल आमाको निम्ति हुनुपर्छ । हाम्रो मूल्य नेपाल आमालाई सेवा गरेर मर्नुपर्छ । नत्र हाम्रो कुनै अस्तित्व रहने छैन । नेपाल आमाबिना हाम्रो कुनै पहिचान बन्न सक्दैन ।
नेपालया सुख समृद्धि थकाय्गु भारा
हा लोमना वन फुकं गथ्य छं मचाःला ?
संहार ज्वीन छ मिसा छम्हयागु निम्ति
धिक्कार खः थ्व जुनि दुर्लभ छंगु निम्ति ।
८८ ८८
नेपाल तुल्य मदु मेगु थ्व झीत छुं नं
कासेलि जन्म पुल्यमाः थुकियागु मू नं
अस्तित्व झीगु मदु छुं अतिरिक्त देश
सेवा व याय्गु मतिनां थुकिया अशेष ।
८८ ८८

हाम्रो देश धनी भएपनि हामी नेपालीहरू किन गरिब छौं ? हाम्रो संस्कृति र इतिहास पुरानो भएपनि हामी नेपालीहरु किन सभ्य हुन सकिरहेको छैन ? बहसको विषय त यसैबाट थालनी हुनुपर्ने हो । आगोको झिल्को त यसैबाट बाल्नुपर्ने हो ? तर खै, हामी नेपालीहरु आज किन दरिद्रताको आगो बलिरहेका छौं ? दुःख र पीडाले जनजनको मुटुमा किन काँडाले धोचिरहेका छन् ? न रोजगार छ न काम गर्ने वातावरण छ । दिन प्रतिदिन समस्यैसमस्याले सताइरहेको बेला न सुत्न सकिन्छ न बिउँझेर पनि केही काम गर्न सक्छ ।
हो, भोक लागेको बेला माटो खान मिल्दैन । मिल्ने भए माटो खाएर भएपनि बाँच्न सकिन्छ । यो अन्नपानीको शरीरमा हामीलाई एकमुठी अन्न चाहिन्छ । एकमुठी पानी चाहिन्छ । एकमुठी तातो चाहिन्छ । एकमुठी हावा चाहिन्छ । बस् यति भए पुग्छ, अरु केही चाहिँदैन । तर किन हाम्रो देशमा एक छाकको लागि नेपालीहरु अल्झिरहेछ ? एक गाँसको लागि जीवन गुजरा चलाउन धेरै गाह्रो भैरहेछ ? त्यसैले मलाई अरु कुरा केही थाहा छैन, यो बाँच्न पाउने मेरो अधिकार हो । यो अधिकार त राज्यले सुनिश्चित गर्नुपर्ने हो । तर किन भइरहेको छैन ? किन हामी नेपाली अर्काको देशमा गएर कमारा बन्दैछ ? किन हाम्रो देशमा रोजगारको सिर्जना गर्न नसकेको हो ? कृषिप्रधान देशमा कृषिकै लागि चाहिने मल छैन भने हामी कस्तो शासकलाई शासन गर्न दिइरहेका छौं । लाज लाग्नुपर्ने हो ।
हामीलाई के को लाज ? पाएँ जति सबै खानुपर्छ । पाएँ जति सबै लाउनुपर्छ । भोलि के होला भन्न सकिन्न, जे छ आजै छ । आजै मेरो घरमा सबै कुराहरु थुपार्नुपर्छ । नत्र म भोलि कसरी राजनीतिमा लाग्न सक्छु र ? बेमान भन्नेहरुले मलाई भनिरहुन् । मैले सबै कामहरू फत्ते गरेर हिँड्नुपर्छ । मेरो यही राजनीतिक धर्म हो । म मरेपछि मेरो परिवारलाई कसले हेर्न आउँछ र ? त्यसैले मैले पाएँ जति सबै खानुपर्छ । यो नै राजनीतिज्ञहरूको उद्देश्य भएपछि जनताहरु कसरी उँभो लाग्न सक्छ र ? जनताहरूको कसरी भलो चिताउन सक्छ र ? तसर्थ यो अपराध हो । यो भ्रष्ट लोभीपापीहरूको कूचाल हो । जसले जतिसुकै चिच्याए पनि नसुनेजस्तो गरेपछि कसको के लाग्छ र ? जनताले कहिल्यै न्याय पाउन सकिन्छ र ?
हामी त दुई दिन बाँच्न आएका हौ । तर हामीले एक गाँस खान नपाएपछि ऊ स्वदेशमा बस्नुभन्दा विदेशमा लाग्नु स्वभाविक हो । पैसाको लागि विदेशिनुपर्ने हाम्रो बाध्यता नेपालमा कसले ल्याएको हो ? यसमा मेरो के संलग्नता छ ? यसमा मेरो के दोष छ ? एउटा निर्दोष नेपालीलाई मूर्ख बनाएर सुख सयलमा नाच्नेहरुलाई मेरो अधिकार कहिले माग्ने हो ? बेथितिहरुलाई भत्काएर थिति कहिल्यै बसाल्ने हो ? छेकबारबिना आफ्नै देशमा पसिना कहिले बगाउने हो ? नेपाल आमाको मुहार कहिल्यै हँसिलो पार्ने हो ? त्यसैले म आफ्नै देशमा काम गर्न चाहन्छु । आफ्नै देशमा पसिना बगाउन चाहन्छु । मेरो जन्ममात्र होइन मेरो मरण पनि नेपाल आमाकै काखमा होस् भन्न चाहन्छु । तर खै के गर्नु, नेपालमै बसेर काम गर्छु भन्दा पनि काम गर्न नसकेर एउटा पेट पाल्न गाह्रो भएको बेला अब म के गरुँ ? विदेश जाऊँ कि आफ्नै देशमा भोक्कै मरुँ ? आमा ! तिमीनै भन यो जोरीपारीको समाजमा म कसरी जीवन व्यतित गरुँ ? परिश्रम त दिनरात गरेको थिएँ तर पसिनाको मूल्य नपाएपछि अब मैले के गरुँ ?
मान्छेलाई मान्छेको रूपमा नगनिएपछि आफ्नै देशमा बस्नुको अर्थ के हुन सक्छ र ? त्यसैले हामी नेपालीहरू विदेशीनुको आफ्नै बाध्यता छ । नेपालमा जिउँने चाहना हुँदाहुँदै पनि विदेशमा मर्नुपर्ने आफ्नै कथा छ । कुरो गहिरो छ, सुन्नुपर्नेले कुरो नसुनेपछि जिउनुको अर्थ के हुन सक्छ र ? बाँच्न त बाँचिन्छ नि ! तर के गर्नु यो अमूल्य जीवनमा मान्छेले गर्नुपर्ने सत्कर्मलाई छोडेर आफ्नै पेटको निम्ति बाँच्नुको अर्थ के हुन सक्छ र ?
होइन, यो न्याय होइन । यो त ठालूहरूले गरेको अन्याय हो । यस्तो अन्यायलाई हामी नेपालीहरुले सहेर बस्नु हुँदैन । जरैदेखि उखेलेर नफालेसम्म हाम्रो देशमा न्याय पाउने छैन । विकृति र विसंगतिलाई नपन्छाएसम्म थितिहरु बस्ने छैन । त्यसैले अब हामी चुप लागेर बस्नु हुँदैन । धोर अन्यायका विरुद्ध आवाजहरु बुलन्द पार्नुपर्छ । समाजमा राँको बालेर बेथितिका कुराहरुलाई फाल्न सबै एकजूट हुनुपर्छ । तब पो भ्रष्ट, अन्याय र अत्याचारीहरुले देश छोडेर भाग्नेछ । युगले नयाँ युगलाई बोलाएर देशमा सुख, शान्ति र समृद्धिको लहर चल्नेछ ।
दरिद्रय दन्दन छ्वया च्वन देशवासी
हा ज्वीगु कीत सरि छट्पट दाःगु खासी
यानाः नयेत मलुयाः थन रोजगार
भः भः न्हुयाः गुलि वनी परदेश दूर ।
८८ ८८
यानाव छाय् थथ्थ जितः जिगु दोष धा छं
निर्दोष भावुक जि खः जिगु मूर्खता नं
छत्ति जितः मदुगु थ्व अधिकारयात
कायेगु लागि सं जुयाः जि जुयाव भ्रष्ट ।
८८ ८८

मलाई यो कामबासनाले यति धेरै सताइरहेको छ कि अब म के गरुँ ? यातनैयातनाले यो धोर सजाय भोगिरहेको छु । अब म कति पीडा भोगौ ? कुरा काट्नेहरु मलाई के के भन्छन् अब म यो मुख कहाँ लुकाऔ ? जिउँदैछु तैपनि मरेतुल्य भइसकेको छु । अब म कसरी जिऊँ ? बासना दुर्गन्धमा परिणत भइसकेको छ । अब किन छिरछिर नगरौँ ? आँखा खोली के मात्रै हेरेको थिएँ, धिक्कार छ यो जन्म अन्धकारमै मरुँ ? हो मलाई यस्तै लागिरहेछ, यो विडम्बना के को लागि हो ? यो जीवन कसको लागि हो ? यो हाँसो र रुवाई किन भइरहेको छ ? यो दिन र रातले कसलाई बोलाइरहेको छ ? यो भवचक्रमा तृष्णाको मूल्य यति धेरै किन बढेको हो ? के थाहा, म जिउँदै भएपनि अहिल्यैसम्म कसैको मनमा पसेर हेरेको छैन । गहिरो छ, छैन अहिलेसम्म बुझेको छैन । म त बुझ्न नसक्ने अस्थिर पुञ्ज हूँ । जो जहाँ पनि अताउन सक्छ । हृदयले तृष्णाहरु मेटाइसके पनि एकछिनमै फेरि पलाउन सक्छ । यो कस्तो रूप हो ? यो कस्तो चाल हो ? यो कस्तो स्वभाव हो ? यो कस्तो भाव हो ? यो मेरो हृदयमा आजकाल के भएर हो कुन्नी आत्मा–संयमको अभाव छ । चित्तलाई समाल्न नसकेर आजकाल मलाई यति धेरै दुख भो । यो कस्तो चित्त हो जसलाई जे गर्न मन लाग्यो त्यस्तै गर्न खोज्छ । छिनछिनमा हराएर छिनछिनमै बंसमा आउने कोसिस गर्छ । भत्केर, नासेर, भाँचेर एउटा चित्त छिनछिनमा जोड्नै नसक्ने गरी टुक्रा टुक्रा हुन्छ । ऐनाझै छरपस्त भएर एउटा अनुहार हजारौं टुक्राहरूमा देखापर्छ । त्यसैले यो माया होइन, मायाको नाउँमा गरिने छल हो । डोरीको पासो हो । विनाशको बाटो हो । भूलाउने अकर्म हो । प्यासी भई मान्छेलाई निथुक्क भिजाउने त्यो पापीबाट अब म सदाका लागि अलग बस्नुपर्छ । जसले जेसुकै भने पनि छायाझैँ पछिपछि लागेर चुम्बकले टाँसेजस्तो टाँस्ने यो कस्तो पंगल हो ? लाज शरम नभएको यो कस्तो पञ्चवाण हो ?
यो कस्तो पुतली हो, जहाँ दियो बालिरहेको बेला आगोमा टाँसिन खोज्छ । हुर्रहुर्र बलिरहेको दियोमा खै के देखेर हो कुन्नी आफ्नो जीवन समाप्त पार्न खोज्छ । यो कस्तो विडम्बना ? यो कस्तो भवचक्र ? यो जीवनमा यस्तो पनि हुन सक्छ र ? बलिरहेको बत्तीमा आत्मादाह गरी के यस्तो पनि प्राणी हुन सक्छ र ? मलाई यसैमा दुःख छ । यो भवसागरमा प्राणीहरूको जिउँने आ–आफ्नो तरिका छन् । कोही आफू मरेर अर्कालाई बचाउन खोज्छन् । कोही अर्कालाई मारेर आफू बाँच्न खोज्छन् । यो नै विडम्बनाभित्रको जीवन हो । जहाँ आगोमा भष्म हुन सक्छ । जहाँ पानीले बगाउन सक्छ । जहाँ हुरीबतासले भताभूङ्ग पार्न सक्छ । जहाँ दिउँसै रात पर्न सक्छ ।
हो मरुभूमि, पानीको प्यासले बाँचिएको ठाउँ हो । जहाँ एक थोपा पानीको मूल्य अमूल्य छ । म त्यही हँु । हिजो हराभरा भई हेर्दै लोभलाग्दो थियो । आज म मरुभूमिजस्तो पानीको खोजीमा छु । सुकेर कतै हिँड्न नसकेर म जहाँ छु आजकाल त्यही छु । यो हलचलबिनाको शरीरले कतै दागवत्ती खोजेको त होइन ? मलाई चित्तामा राखेर यो लोकबाट बिदा दिन खोजेको त होइन ? मैले के गर्न सक्छु र ? सबै कुराहरु छरपस्त भई भुइँमा खसेपछि एउटाएउटा टुक्राहरू टिप्दै यो जूनी त्यसै खेर जाने त होइन ? यो समाजले मलाई पागल भनी कतै पागलखानामा राख्ने त होइन ?
मलाई यसैमा दुःख छ । समयमा मैले आँखा खोल्न नसक्दा आज मैले यो पीडा भोगिरहेको छु । न मर्न सक्छु न बाचेर पनि केही गर्न सक्छु । म त बीचमा परेर न यता जान सक्छु न उता जान सक्छु । हे दैव ! यस्तो पनि जीवन हुन्छ र ? कि मार कि मलाई पार लगाइदेऊ । होइन भने यस्तो जीवन मलाई चाहिँदैन । एउटा सास बोकेर त्यही सास त्याग्न नसकेर बाँचिरहेको छु । मृत्युले मलाई लाग्न सकिरहेको छैन । त्यसैले यो मनुष्य जीवन आफैमै गाह्रो छ । प्रत्येक पाइलापाइलामा सोच विचार गरेर हिँड्नुपर्छ । प्यास लाग्यो भन्दैमा तिर्खा मेट्ने होइन । मेरो भविष्यलाई के हुन सक्छ भनी विचार पु¥र्याउनुपर्छ ।
जितः थ्व काम वासना, जितः थ्व धोर यातना
जितः छु जूगु थय् थन जितः थ्व छाय् विडम्बना ?
जिके ग्व आत्म–संयम, नुगः चिनां चिये मफु
दुनीन नाशया ध्वपय् हरे पनां पने मफु ।
८८ ८८
पतंग थें खनाः मत जि हुर्र हुर्र छ्वैन रे
गनाः गनाः जि लःफुति गनं मदय्क स्वीन रे
व छ्वःगु बेदना दिपय् जितः उनाव छ्वैन रे
गनं मदय्क विश्वस जितः फुकाव छ्वैन रे ।
८८ ८८

यो दुई दिनको जिन्दगानीमा मलाई नचाहिने वेदना लिई बाँच्नु छैन । म त सोझो मान्छे मलाई बाङ्गोटिङ्गो बाटो हिँड्न मन पर्दैन । जो बाङ्गो छ, उसलाई सोझो बाटो हिँड्न मन नपरेजस्तै यो तृष्णाले किन मान्छेलाई बाङ्गोटिङ्गो घुमाउन खोज्दैछ । सलल् बग्ने जीवनलाई किन रोक्न खोज्दैछ ? मिठो बास्नादारको रुपमा उभिएर मान्छेलाई किन छुराले हान्न खोज्दैछ ? चाले नदिइकन किन मान्छेको मनमा राज गर्न चाहन्छ ?
थाहा छ, तृष्णा अपरम्पार छ । न यसलाई खाएर निल्न सकिन्छ, न ओक्लेर फाल्न सकिन्छ । एकचोटि जालमा फसेपछि जिन्दगीभर निस्किन गाह्रो हुने यो कस्तो विवश हो ? जानीनजानी एकचोटी अंगालो मारेपछि जिन्दगीभर टाँसिरहन्छ । अब मलाई यस्तो माया मोह चाहिँदैन । जता गएपनि अल्झाउने विदग्ध यातना भोग्न मन पर्दैन । त्यसैले मलाई त सरल जीवन बिताउन पाए हुन्थ्यो । जहाँ जे छ त्यही खाएर एक रात सुत्न पाए हुन्थ्यो । मान्छे भएर मेरो भविष्यलाई उज्वल पार्न सत्कर्म गर्न पाए हुन्थ्यो । सके उज्यालो बोकेर अरुलाई बाटो देखाउन पाए हुन्थ्यो । आखिर मान्छे त माटो न हो । हाड र छालाले बनेको यो शरीर भोलि मरेपछि पञ्चतत्वमा बिलिन भएर जानेछ । के को घमण्ड, के को तृष्णा, के को ईष्र्या, के को नैरास्यता आखिर यो सब छोडेर जाने नै हो । त्यसैले यो जीवन सारहिन भएर होइन, अर्थपूर्ण भएर बाँच्न सक्नुपर्छ । जसले जति सक्छ आफ्नो पसिना यो धरतीमातालाई चढाएर जान पाए हुन्थ्यो । ताकि नयाँ सोचको जन्म होस् । नयाँ नयाँ कुराहरूको सृष्टि होस् । यो पवित्र जलले मनुष्यको जीवनमा नयाँ आयामको सुरुवात होस् । म त त्यही चाहन्छु । तर के गर्नु, यो तृष्णाले मलाई नछोडेपछि मैले छोड्न लाखौ प्रयत्न गरिसकेको छु । मनुष्य जीवनलाई विध्वंस पार्ने यो तपभङ्गीलाई अब म छोड्दै छोपिरहेछु । जप, तप र मन सबै लगाएर आज म छुट्कारा पाउन खोजिरहेछु । नदी पारी तृष्णालाई छोडेर म त वारी आइरहेछु ।
हामीलाई थाहा छ, हाम्रो वैदिककालमा पुराण र ग्रन्थहरु पढ्न नपाएर हामी पछाडि परिरहेका छौ । चाहिने ज्ञान र बुद्धि छोडेर हामीलाई छोडेर किन सारहीन कार्यहरू गर्दैछौं ? अचम्म छ, म कसरी जिउने हो भन्ने कुरा पढ्न छोडेर अभाग्य कर्मतिर बाँचिरहेको छु । तसर्थ हामीले पुराना वैदिकग्रन्थ र पुराणहरुलाई मात्र पढ्ने हो भने त्यसभित्र ज्ञानको सागर छ । अथाह आफूले लिन नसक्ने बुद्धि र विवेक छ । कसरी जिउँने भन्ने कुरा छ । मृत्युपश्चात यो आत्मा कहाँ जान्छ भन्ने कुराको सविस्तार छ । त्यसैले हामी ज्ञानको सागरमा पुगेर अमृत जल पिउनुपर्छ । बुद्धि र विवेकको भण्डारमा गएर आफूलाई चाहिने जति लिएर आउन सक्नुपर्छ । ताकि हाम्रो जीवन धन्य होस् । कसैले कसैलाई छुन नसकोस् । सबैको उन्नति र प्रगति भएर जनजनमा खुसी छाइरहोस् । बाँच्नको सार पाएर मान्छेहरु मुक्तिको मार्गमा लागिरहोस् । म त यही चाहन्छु । त्यसैले अब तृष्णाको दलदलबाट उठेर धेरै कोश हिँडेर आइसकेको छु । ममा अब आत्मबल बढिसकेँ । ठिक बेठिक छुट्याउने विवेक जन्मिसकँे । जीवन के हो भन्ने बुझिसकँे । मेरो जन्मको अर्थ के हो भन्ने थाहा पाइसकँे । तब मेरो मन शान्त र निर्मल छ । अब यो मन पहिलाजस्तो चन्चल छैन । मैले जे भन्छ त्यही गर्न खोज्छ । मनलाई आत्मबलले बाँधेपछि सबै कुराहरु ठिक भएर जानेछ ।
मयो जितः मयो जितः थ्व म्वाःगु वेदना कयाः
ततःमतः क्यने मयो विदग्ध यातना नया ?
छु याय्गु छन्त जिं कयां न मान दान दैगु खः
बिचाल या, बिचाल या, थ्व सारहीन कार्य खः ।
८८ ८८
छजोम्ह मेम्ह दैमखु विध्वंस याय्गुली तप
दु छंक्य माःगु चातुरी क्वफाय्त तोफिकाः जप
जपी तपी अनेकपिं कटाक्ष छंगु कःगुिल
विनाश जूगु बाखनं दुजाःगु सो पुराण झी ।
८८ ८८

हे सुन्दरी ! तिमीले मलाई कहिल्यैे हाँसेर त कहिल्यै रोएर आफ्ना मनका कुराहरु नपोखेको कहाँ हो र ? सुख र दुःखका कुराहरु मनमा अटाउन नसकेर मेरो अगाडि एकएक गरी नओक्लेको कहाँ हो र ? दुःख त मलाई मात्र होइन, तिमीलाई पनि लाग्दोरहेछ । हेर्दा खुसी देखे पनि तिमीलाई पनि दुःखले सताएको रहेछ । हो म मान्छे, मान्छे भएपनि अलि धेरै लोभीपापी छु । किनकि मेरो मनले देखेका सबै कुराहरु माग्ने गर्छ । अरुलाई पुगोस्, नपुगोस् मतलब छैन आफूलाई पाए पुग्छ । त्यसैले हे सुन्दरी ! तिमी राम्री छौ, तर तिम्रो जीवनको कुनै अर्थ छैन । तिमी अरुलाई भूलाउन खोज्छौ तर तिमी आफूमा भूल्न सक्दैनौ । यो कस्तो जवानी हो ? यो कस्तो यौवन हो ? जो आफू राम्री भएर पनि आफ्नो मन कहिल्यै राम्रै हुन सकेको छैन । म देखिरहेको छु, तिम्रो रुपरंग र चित्तका तरङ्गहरु । लोभ्याउने तिम्रा ती नयनहरु । तिम्रो हाउभाउले यहाँ मोहनी नलाग्ने को छ र ? तिम्रो रूपवानले घायल नहुने को छ र ? त्यसैले हे सुन्दरी ! तिमीले मलाई सबै कुराहरु निर्धक्क बनाएपनि तिमी किन तृष्णा बनेर अर्काको मनमा उम्रिन खोज्छौ ? बाटो एउटै भएपनि तिमी किन मान्छेहरुलाई रोगी पाछौ ? यताउता सबै कुरा देखे पनि तिमीले नदेखेको जस्तो किन गछौ ? यो त मनले गर्ने विश्वास हो । विश्वासमै यो संसार अडेपछि विश्वासघात गछौ भने मनले कसरी सोच्न सक्छ र ? धागो एउटै भएपछि त्यही धागो चुँडाली कसरी हिँड्न सक्छ र ? यो त पाप हो । यो अन्धकारमा लग्ने बाटो हो । जहाँ मान्छेहरु जान चाहदैनन् । त्यही लगेर छोडिदिने हो भने कसको के लाग्छ र ?
मान्छेको मन विशाल छ, यो संसार राख्दा पनि अटाउन सकिन्छ । जब मान्छेले खोज्दैन, तब सानो कुरा पनि अटाउन गाह्रो हुन्छ । उकुसमुकुसले रिंगटा लाग्न थाल्छ । आँखा भएरपनि देख्न सक्दैन । मन भएरपनि बुझ्न सक्दैन । सोच भएरपनि सोच्न सक्दैन । होश भएरपनि भन्न सक्दैन । त्यसैले यो मनलाई समालेर राख्न सक्नुपर्छ । मनको आँखाले एकपटक मनलाई पनि हेर्न सक्नुपर्छ । नत्र के थाहा, आफ्नो मन कहाँ पुगिसकेको हुन्छ । मनले केके खोजिरहेको हुन्छ । बोलाउँदा नआएपछि आफूलाई नै पछि गाह्रो हुन्छ । के भइरहेको छ, के हुन लाग्दैछ । पापी मन न हो, कतै पापकर्म त गरिरहेको छैन । लोभी मन न हो कतै लालसामा फँसिरहेको त छैन । के थाहा, बोलाउदा नआएपछि तृष्णाले अंगालो हालिरहेको त छैन ।
भो अब यो जीवन मेरो लागि बाँच्नु छैन । मैले घरपरिवारलाई समेत त्यागेर सुनसान हिउँका अग्ला पहाडमाथि बसेर तप गर्न खोज्दैछु । मनका मयलहरू पखालेर मनमा फेरि नयाँ युगको जन्म दिँदैछु । तपस्यी ज्ञानी बनेर यो युगलाई मात्र होइन आउने भविष्यलाई पनि नयाँ मार्ग देखाउनेछु । त्यसैले हे सुन्दरी ! तिमीले अब मलाई भेटाउन सक्ने छैनौ । म भएको ठाउँमा तिमी आउन सक्ने छैनौ । अब तिम्रो र मेरो बाटो फरक भइसकेको छ । अब हाम्रो भेट कहिल्यै हुने छैन । म तृष्णाबाट मुक्त भइसकेँ । यो संसारको जञ्जालबाट अलग भइसकेँ । म मान्छे हुँ तर समाजमा बस्ने मान्छे होइन । म त एक्लो परमदृष्टिले हिँडिरहेको छु । आत्मचिन्तन गरी मनुष्यको बाटोमा फेरि अग्रजका पाइलाका डोबहरु खोजिरहेको छु ।
हिृलाः ख्वयाः, ख्वयाः हिृलाः जितः मकंगु छं छु दु ?
उलाः उलाः नुगः फुकं जितः मक्यंगु छं छु दु ?
उलाः कुलाः जिके दुगु मस्वःस्य च्वंगु छं छु दु ?
विश्वासघातिनी जुयाः परन्तु थौ थ्व जूगु छु ?
८८ ८८
बुं छेु व काय् कलाः फुकं मघास्य च्वापु ग्वीं वने
घयां थ्व पंगलः वयाः जितः न्हृापं वया च्वन
थ्व पापया खलाबला दुकाय्त आत्म–चिन्तन
थ्व याय् व याय् मज्यू धयां गज्योगु जूगु हा थन ?
८८ ८८

बसन्त याममा कोकिलले गीत गाउँन थालेपछि वनपाखा हराभरा हुन थाल्छन् । कोपिलाहरू मुस्कानले हाँस्न खोज्दा रुखपातहरुले नयाँ जन्म लिन थाल्छन् । यसरी नै हाम्रो जीवन चल्नुपर्ने हो । कोकिलले गीत नगाउने हो भने, कोपिलाहरुले मुस्कान नछाड्ने हो भने हाम्रो जीवन अन्धकारमय् हुनेछ । दिनरात भएपनि मरभूमिझैँ सुक्खा भएर बाँच्नुपर्नेछ । त्यसैले यो भवसागरमा प्राणीहरूको बाँच्ने तरिका आफ्नै छ । नदीनाला खोलाहरूको बग्ने तरिका आफ्नै छ । तर मान्छे किन आफ्नो तरिकाले बाँच्न सक्दैन ? के साँच्चै मान्छेहरु लोभीपापी भएरै हो कि ? के साँच्चै मान्छेहरु लालसामा अति भूल्ने भएर हो कि ? के साँच्चै मान्छेहरु अति स्वार्थी भएर हो कि ? के साँच्चै मान्छेहरु अति ईश्र्या पालेर बस्ने भएर हो कि ? नत्र किन मुक्तकण्ठले कोकिलले जस्तो गीत गाउन सक्दैन ? नत्र किन नदीनालाजस्तो आफ्नो बाटोमा हिँड्न सक्दैन ? के यो नै मनुष्यको जीवन हो र ? होइन भने यो हुन सक्दैन । मनुष्य त सर्वश्रेष्ठ प्राणी हो । विवेकपूर्ण सोच विचार गर्न सक्ने धरतीको गुणवान प्राणी हो । त्यसैले मनुष्यले अरुले जस्तो गर्न मिल्दैन । यो धरती उचाल्न मनुष्य बाहेक अरु कसैले गर्न सक्दैन ।
मनुष्यको आफ्नै बन्धन र सीमा छ । तर त्यो बन्धन र सीमाभन्दा पर गएर होला आजकाल मनुष्यलाई विभिन्न समस्याहरूको जन्म भइरहेको छ । एकनाश नभएर मान्छे–मान्छे बीचको व्यवहारहरु गर्दैछ । यो मर्न लागेका इन्द्रियहरु पनि नयाँ जवानी खोज्दैछ । तृष्णा मेट्न प्यासीहरुको झुण्डले प्यास बुझाउन खोज्दैछ । मन कठोर पारेर ढुंगाजस्तो साह्रो बनाउँदैछ । त्यसैले यहाँ मान्छेहरु बैरीभावले एकले अर्कालाई ईस्र्याको भावले हेर्दैछ । मौका कुरेर आफ्नो स्वार्थ पूरा गर्ने दाउमा मान्छेहरूको लाम छ । के यो नै मान्छेको स्वभाव हो र ? के यो नै मान्छेको व्यवहार हो र ? मन नपरेको मान्छेलाई जसरी भएपनि कुल्चिनु पर्ने के यो नै मान्छेको धर्म हो र ? होइन भने मनमा किन बैरीभाव राख्दैछौ ? एउटा मान्छेले अर्को मान्छेलाई पशुको व्यवहार गर्दैछौ ? अचम्म छ, मान्छेको हृदयभित्र के पलाएको हो ? मन नपरे नबोले हुन्छ नि ! किन शत्रुभावले कुल्चिन खोजेको हो ? मान्छेले मान्छेलाई मान्छे नगनेपछि मान्छे हुनुको पीडा किन नबुझेको हो ?
तृष्णा प्राणी जगत्लाई हुने रोग हो । धेरैथोरै मान्छेको आ–आफ्नो विचार हो । त्यसैले यो तृष्णालाई चटक्क चुँडालेर मान्छे कहिले जिउने हो ? तृष्णाले दास बनाएर हामी कति दिनसम्म दासी हुने हो ? हामी त मान्छे हौ । मान्छेलाई उज्ज्वल भविष्यको लागि प्रकाशको आवश्यकता छ । अन्धकारमा होइन, अपार शक्ति भएको हामी मनुष्यलाई एउटा संकल्पको खाँचो छ । यो दुःखको सागरबाट टर्न मान्छे–मान्छे हुनु जरुरी छ । हे सुन्दरी ! अब तिमीसँग मनुष्यको झगडा मृत्यु नहुन्जेलसम्म रहिरहने छ । कसको दोष हो, यो त भविष्यले निर्णय गर्नेछ । जन्मजात तिमी अजात शत्रु होइन तर किन तिमीले मान्छेलाई दुःख दिदैछौ । तिमी एक्लो भएर बाँच्नुपर्ने त्यो दिनमा अतीतलाई सम्झेर धुरुधुरु रुनेछौ । यो त मैले भन्ने कुरो होइन । समयचक्रले भन्ने कुरो हो । यो अनित्य संसारमा ममात्र होइन एकदिन तिमी पनि आफ्नो अस्तित्व छोडी सदाका लागि बिदा हुनेछन् ।
हे सुन्दरी ! तिमीले आफ्नो हृदय खोली मेरो विश्वास जिती लियौ । तिमी नजिक आएर मेरो मनमा बस्न थाल्यो । मलाई के थाहा, तिमी त सिन्धुझैँ पवित्र ठानेर मैले पनि आफ्नो ठानेँ । यही भूल भो, तिमीले बिछाएको जालमा म सजिलै परेर मैले ठुलै अपराध गरेको महसुस भो । हे सुन्दरी ! यो कस्तो चाल हो ? यो कस्तो तानाबुना हो ? मान्छेलाई फसाएर आफ्नो स्वार्थ सिद्ध गर्ने यो कस्तो तृष्णा हो ? धिक्कार छ, तिम्रो चाल र तानाबुनालाई । म आज निरह भएर तिमीले जे भन्छौ त्यही गर्दैछु । भोलि मेरो दिन आउनेछ । तिम्रो जाललाई च्यातेर टुक्राटुक्रा पारी म बाहिर निस्किनेछु । तिमीलाई मेरो समाजको अगाडि राखेर तिम्रो कर्तुसहरु सबै बताउनेछु । विश्वासघाती पापी हौ भनी सबैले तिमीलाई चिनिनेछौ । हाम्रो समाजले तिमीलाई धिक्कारेर तिमीबाट सदाका निम्ति अलग्ग भएर बस्नेछौ ।
थ्व झीगु ल्वापु ल्यं दइ थ्व झीगु जन्मकाःछि हे
सुयागु दोष खः थुकी इन्साफ खः भविष्य हे
हिृला छ्वयेगु ख्याः मखु छु जन्मया थ्व दुश्मनी
जितः छ तुल्य दुश्मन जगत्स आः सु दै थन ?
८८ ८८
नुगः उलाः उलाः क्यनाः विश्वासयागु वः बिया
छ मतिनाः जिथाय् वल, जिनं छ सिन्धु भाःपिया
थ्व छीत माः जिके बल अपार जिं धया च्वना
परन्तु जिं थ्व थौ थुल छ ला व तुच्छ धः खनी ।
८८ ८८

के भो के भो आजकाल मलाई मुटुमा पीडा छ । व्यथा चर्केर होला आजकाल मलाई बाँच्न गाह्रो भो । त्यसैले अब के गर्नुपर्ने हो ? जीवन त्यसै बित्ने त होइन भनी मलाई धेरै पीडा भो । म बाँच्न चाहन्छु । मलाई केही समय काल नआइदिए हुन्थ्यो । किनकि मैले यहाँ केही कुरा गरी जानूछ । आत्मा– बिलौना होइन, आत्मा–चिन्तन गरी मानव कल्याणका निम्ति मैले पनि एउटा इटा थप्नु छ । मेरो शक्तिले भ्याएसम्म चिप्ला बाटाहरु सफा गर्नुछ । अँध्यारो कोठामा एकमुठी उज्यालो लिएर जानुछ । तब पो म बाँचेको सार हुनेछ । मेरो जन्मले त्यान्द्रो नै किन नहोस् पन्छाएर सफा गरेको ठहरिनेछ । यो समय, यो ठाउँ, यो आत्मा–चिन्तन, यो सार कताकता सबै कुराहरु मिलेर पवित्र तीर्थजस्तै मान्छेले जे खोज्यो त्यही कुरा पाउन सक्नेछ । जसरी पारसको मणिले फलामलाई छोएपनि सुन बन्छ त्यस्तै यो अमूल्य जीवनमा पनि प्राणीका निम्ति केहि गर्नुपर्नेछ ।
समय आफ्नै तालले हिँडिरहेको छन् । पवन आफ्नै बेगमा चलिरहेको छन् । यो धरतीमाताले आफ्नै सन्तानलाई पालनपोषण गर्दैछन् । यो आकाश पिताको नाताले आफ्नै सन्तानलाई संरक्षण गर्दैछन् । कति अनौठो, हेर्दा र सुन्दा यी गहकिला कुराहरुले मन कति आनन्दले उम्लिन खोज्छ । खुसीले आजका पलहरुलाई भोलिका लागि यादगार बन्नेछ । त्यसैले यो मान्छेको जूनीमा जूनकिरी जस्तो हुन पाएँ हुन्थ्यो । हरिया रुखका पातहरूजस्तै सल्लबलाउन पाएँ हुन्थ्यो । सलल् बग्ने पानीझैँ बग्न पाए हुन्थ्यो । हर्र सुगन्ध आएजस्तै बासना भइदिए हुन्थ्यो । बस् यति भए पुगिहाल्छ नि ! अरु के चाहियो र ? मान्छेको जिन्दगीमा खोज्ने यति नै हो । अरु के खोज्नु पर्यो र ? तर आजकाल मान्छेहरुमा के भइरहेको छ । आफ्नो कुरा आफैलाई नै चित्त नबुझेर बहुलाझैँ कराउँदैछ, चिच्याउँदै छ । शुलीमा चढाएजस्तै, हजारौं बिच्छीले टोकेजस्तै, माटोले पुरेजस्तै, हुरी बतासले उडाएजस्तै खै कता के भो के भो केही भन्न नसकेर भएको विचार पनि शुन्य हुन थाल्दैछ । सबै कुराहरु कहाँ कता नमिलेर बेथितिका चाङ्गमै मान्छेहरु भूल्न थाल्दैछ । मान्छेहरु क्रमशः ओरालो लागेर को कहाँ तातिर जान लागेको हो ?
हे सुन्दर ! तिमीले मलाई जेसुकै गर तैपनि तिम्रो कल्याण होस् भनी म कामना गर्दछु । तिम्रो सद्बुद्धि चाँडै पलाओस् भनी ईश्वरसँग प्रार्थना गर्दैछु । प्रेममा तिमीले जाल ओछ्यापनि मान्छेहरु अब कोही पनि नफसियोस् भनी प्रार्थना गर्दैछु । तिमीसधैँ हाँसिरहुन् । तिम्रो मार्गमा नयाँ मार्गहरू थपिरहोस् । म त को हुँ र, एउटा मतिभ्रष्ट नीच मान्छे न हूँ । अब सबै जञ्जालहरू तोडिसकँे । आजात भएर आजदेखि खुल्ला आकाशमा उड्दैछु । इच्छा, आकांक्षा र तृष्णालाई एउटै कपडाले पोको पारेर कुनातिर फालिसकेको छु । कुशल, मङ्गल, सत्कर्म गर्न अब मैले पनि आफ्नो बाटोतिर लागिसकेको छु । एउटा मतिभ्रष्ट मान्छेले आज जूनकिरीजस्तो बाटोमा उज्यालो प्रकाश छर्ने कोसिसमा छु ।
थ्व ई, थ्व थाय् जितः दुगु, दु याय्त आत्म–चिन्तन
थ्व व्यर्थ छवय् मज्यू धयां गज्योगु जूगु हा थन ?
जुयाव शुल थांै हरे दु च्वंगु थांै जितः सुया
छु याय् छु याय् विमूढ जि विचार शून्य थें जुया ।
८८ ८८
सदैव छंगु भिंगुु स्वय्, सदैव छंगु ज्यूगुु स्वय्
सदैव छन्त न्हृूगु स्वय् छ भिंगुु लँय्् न्हृूज्याःगुु स्वय्
जिनं थ्व नीच भ्रष्टताय्, सदां दुबे मज्वीगु स्वय्
मभिंगुुयात वां छवयाः व नीगु भिंगु याय्गु स्वय् ।
८८ ८८

एउटा सुन्दरीका लागि आफ्नो ज्यान फालेर तिमीले के गर्दैछौ ? शोक र चिन्ता व्यापक लिएर आजसम्म तिमीले के पाउँदैछौ ? यस्तो त नगर्नु पर्ने हो । तर किन तिमीले मरिहत्या गर्दैछौ ? लोकलाज सबै छोडेर आज तिमीले के गर्दैछौ ? धर्मकर्म सबै बिर्सिएर प्यासी भएर किन लाग्दैछौ ? के यो अति भएन र ? आफूले आफैलाई बिर्सिएर एउटा सुन्दरीको लागि आफ्नो कर्तव्य किन फुल्दैछौ ? घरपरिवारलाई चटक्क छोडेर के सुन्दरीको पछिपछि लाग्न मिल्छ र ? के यो महाअपराध होइन र ? के यो घरघोर महापाप होइन र ? आफूले पाल्नुपर्ने घरपरिवारलाई त्यागेर आफ्नो स्वार्थको लागि लोग्नेमान्छे के साँच्चै मान्छे भन्न मिल्छ र ? त्यो त पशु हो, विवेक हराएको मान्छेलाई के मान्छे भन्न मिल्छ र ? यो त क्षम्य नहुने कर्म हो । धैर्य र साहस नभएको मान्छेलाई मनको बागले खाँदैन र ?
आफ्नो देशलाई माया नगर्ने मान्छेलाई आफ्नो भन्न सकिँदैन । त्यसैले तिमीलाई देशप्रति माया छ भने तिमी जहाँछौ त्यहीबाट उठेर हेर । म कहाँ छु, कस्तो अवस्थामा छु, आफैले आफैलाई नियालेर हेर । अनि थाहा पाउनेछौ, मैले के गर्दैछु । मेरो यो कर्मले घरपरिवार र समाजलाई के अक्सर पर्नेछ । एउटा सुन्दरीको मोहमा लागेर जिन्दगी बर्बाद गर्ने पशु भनेर समाजले किन भन्र्दैछ ? धिकार छ, यो जन्म बरु आमाकै गर्भमा मरेको भए राम्रो हुन्थ्यो । किन मेरी आमालाई कलंक लगाएँ । अब मैले के गर्ने हो ? मेरी आमालाई बेइज्जत गरेर अब म कसरी बाँच्ने हो ? हे ईश्वर ! मेरो अन्तिम इच्छा सुनिदेऊ । मैले खोजेको कुरा बुझिदेऊ । मैले जे गरे एउटा मान्छेले गर्न नहुने अपराध गरे । सबैलाई रुवाएर म एक्लै आफ्नै स्वार्थमा डुबे । त्यस्तो मान्छेलाई अब माया गर्नुपर्ने आवश्यकता छैन । त्यस्तो मान्छे मरे पनि अब रुनु पर्दैन । म त पापी हो । अत्याचारी हो । हे ईश्वर ! बरु मलाई आजै मारिदेऊ । मेरो लासलाई नदीमा बगाइदेऊ । ताकि मसानघाटमा मेरो घरपरिवारहरु आएर रुन नपरोस् । म मरे पनि मेरो परिवारले समाजका कुराहरु सुन्न नपरोस् । मर्ने त मरिसक्यो । नमर्नेहरुलाई दुःख नहोस् ।
मान्छेको जन्म सुकर्मको लागि भएको हो । कूकर्मको लागि भएको होइन । पाप र अत्याचार गर्नको लागि भएको होइन । विवेकपूर्ण न्यायको लागि भएको हो । त्यसैले यो मानव जीवनमा देशप्रति माया र ममतामात्र होइन, आफूले गर्न सक्ने कर्महरु पनि गर्न सक्नुपर्छ । ताकि देशमा उन्नति र समृद्धि होस् । नेपाल आमाको मुहार सदाका लागि हाँसिरहोस् । हाम्रो चाहना यसैमै हुनुपर्छ । आफ्नो देशको माटोलाई कसैले छुन आयो भने हामी त वीर गोर्खालीका सन्तान हौँ । हामी नेपालीहरुले आफ्नो पौरख देखाइदिनु पर्छ । हामी शान्ति चाहन्छौं, कसैसँग बैमनस्यतामा बाँच्न चाहदैन । किनकि हाम्रो देश त बुद्ध जन्मेको शान्तिको देश हो । देवदेवताहरूलाई भक्तिभावले पुजिने केन्द्र हो । अपितु यो मनुष्य जीवनमा आफ्नो देशलाई हराभरा पार्न मेरो पनि कर्तव्य छ । मेरो पनि दायित्व छ । त्यो दायित्व बिर्सने मान्छे वास्तवमा त्यो नेपाली हुन सक्दैन ।
हाम्रो देशमा गाँस, बाँस र कपासको लागि नै जीवन बिताउने हो भने जीवन कसरी उँभो लाग्न सकिन्छ ? दुःख र पीडामा मात्र बाँच्ने हो भने सुखका दिनहरु कतिन्जेलसम्म कुर्नुपर्ने हो ? त्यसैले देशमा भएका व्याप्त शोषण, अन्याय, अत्याचार र असमानतालाई हामीले जरैदेखि नफाल्ने हो भने अब कहिलेसम्म नेपाली जनताले दुख भोगिरहने हो ? बेथितिहरुलाई च्याति टुक्राटुक्रा नपार्ने हो भने कहिलेसम्म हामी थिति बसाल्ने हो ? यो सम्भव छैन । त्यसैले क्रान्तिको आगो बाल्नुपर्छ । अन्याय र अत्याचारीहरुलाई थपाउनुपर्छ ताकि देशमा सुख, शान्ति र न्यायको आभाष होस् । समानता र मैत्रीभावको विकास होस् । तब पो देशले उन्नति गर्न सक्छ । हराभरा देखेर नेपाली जनताहरु खुसी हुन सकोस् । खै तिम्रो कर्तव्य ? खै तिम्रो दायित्व ? के तिमीलाई यसैमै सन्तुष्टि छ र ? केही थाहा नपाएजस्तो, सबै कुरा ठिक भएजस्तो तिमी कसरी बस्न सकिएको हो ? यो जर्जर समाजलाई तिमीले कसरी हेर्दैछौ ? धिक्कार छ, आफूले आफैलाई घृणाको पात्र बनाउनेहरुलाई । धिक्कार छ, जसले देशको विकराल समस्या नदेख्नेहरुलाई । त्यस्तो मान्छेलाई के हामी मान्छे भन्न सकिन्छ र ? विवेक हराएपछि के मान्छे पशु बन्दैन र ? अब चुप लागेर बस्नु हुँदैन । आउने आउँछन्, नआउनेहरू सुतेर बसिरहुन् । हामीहरुले क्रान्तिको आगो बालेर आजदेखि बेथितिहरुलाई सच्याउन बाधा विरोध गर्नुपर्छ । कतै मर्नु परे पनि देशको लागि मर्नुपर्छ । अब हामी पशु बनेर बाँच्न सक्दैनौ । खानेले खाइरहेछ, लाउनेले लागिरहेछ, यो प्रथालाई हामीले निर्मूल पार्नुपर्छ । अन्याय र अत्याचारीहरुलाई हामीले आफ्नो पौरख देखाइदिनु पर्छ । चारैतिर आगो लगाइदिएपछि देशलाई अपमान गर्ने शोषक सामन्तीहरु अब एकछिनमै मर्ने छ । विजय जुलुसले देशको भविष्यलाई कतातिर लाने हो, निर्णय गर्नेछ ।
छम्ह मिसाया लागि थुकथं शोक चिन्ता कै जुया
छन्त लोकं हा, छु धाइ धर्म छंके मन्त ला ?
धैर्य साहस छंगु गन वन छन्त ल्वः ला ज्वीगु थय्
देशया प्रति याये मागु व्याक्क ज्या ल्वःमंगु गय् ?
८८ ८८
देशया अपमान शोषण जूगु प्यख्यरं खक नं
छुं मस्यू थें, छुं थ्व मखु थें, गय् छ च्वन्य फुगु थय् थन ?
पशु मनूया भेद मदु छुं यदि छ थय् हे म्वाय्गुसाः
जूगु ज्वी व्यु, बरु हुँ सिना हँु, तुच्छ पशु थे हे जुया ।
८८ ८८

यो वर्षा ऋतुमा पानी पर्नु स्वभाविक हो । एकमुठी धान रोपेर भकारी फलाउने यो याममा सबैको भ्याइनभ्याई छ । मलिलो भएर तहतह अन्नपातहरु हरियो हुँदैछ । यस्तो गुनिलो यामामा पनि कसैको दिल दुखेर रोइरहेका छन् । घरमा पानी चुहेर बस्न नसक्ने भएपछि अब भड्किन कति बेर लाग्ने हो ? घर ओसिलो भएपछि अब कति दिन टिक्ने हो ? दैवको लीला न हो कोही हाँसी खेली अन्नका लागि उत्सव मनाइरहेका छन् । कोही मजस्तो वर्षाको पानीले घरमा बस्न नसकी छेउकै सतलमा बस्न चाँजोपाँजो मिलाइरहेका छन् । हे दैव ! यो के हुँदैछ । मेरो कर्म माटोझै गलेर हिलो बन्दैछ । अब कसरी मैले समाल्ने हो ? मेरो घरपरिवारका लालाबालाहरुलाई अब कसरी ओत लगाउने हो ? भविष्यले मलाई कता लगेर छोड्ने हो ? अब मैले घर कहिले बनाउने हो ? केही थाहा छैन, किनकि मसँग घर बनाउन पैसा छैन । पेट पाल्न त गाह्रो भइरहेको बेला, घर त परको कुरो हो । सतलमा बसेर अब मेरो जीविका चलाउनुपर्ने भएपछि मैले मेरो भविष्य कस्तो देख्ने हो ?
हे दैव ! आज किन अजिङ्गर सर्पले मलाई डस्न खोज्दैछ ? म जहाँ जान्छु त्यतैतिर आएर मलाई किन मार्न खोज्दैछ ? मैले त्यस्तो के अपराध गरे ? मैले त्यो अजिङ्गर सर्पलाई के दुश्मनी गरे ? मलाई मार्न तम्सिरहेछ । कतै मलाई मारेर मेरो परिवारलाई पनि मार्ने त होइन ? कसरी विश्वास गर्ने हो ? म यस्तो संकष्टको पीडामा बाँचिरहेको छु । कि त मैले त्यो अजिङ्गर सर्पलाई मार्नु पर्यो ताकि म मरे पनि मेरो परिवारलाई मार्न नसकियोस् । के गर्ने हो, कसो गर्ने हो, दुविधैदुविधामा परेर मैले केही सोच्न सकिरहेको छैन । हे दैव ! यो कस्तो संकष्टको घडी हो जहाँ म मरेर पनि मेरो परिवारलाई पनि डसेर मार्नेछ । अब म के गरु ? मैले त मेरो परिवारको लागि संघर्ष गर्नुपर्छ । म मरे पनि मेरो परिवारलाई रक्षा गर्नै पर्छ । त्यसैले यहाँ मेरो परिवारको कुरो छ । मेरो त के कुरा हो, मैले मेरो परिवारको लागि जे पनि गर्नुपर्छ । तर किन अहिले विवश भएर त्यो सर्पलाई तुलुतुलु हेरिरहेको छु । हे ईश्वर ! हामीलाई बचाइदेऊ । मलाई बुद्धि पलाइदेऊ । ताकि सर्पबाट ममात्र होइन मेरो परिवार पनि बाँच्न सकूँन् । यो सब मेरो कारणले जन्म भएको परिस्थिति हो । हिजो म नराम्रो बाटोमा नहिडेको भए आज यो अवस्थामा पुग्ने थिएन । तर के गर्नु दैवको लिला अपरम्पार छ । अब मलाई ईश्वरले मात्रै बचाउन सक्छ । लाखौंलाख कम्पन भएको यो शरीरलाई ईश्वरले मात्र रोक्न सकिन्छ ।
प्रेम, माया स्नेह त मुटुबाट पलाउने हो । यो कसैको इच्छाले होइन । यो कसैको दयाले होइन । यो त मुटुको भावना हो । त्यसैले प्रेमका गीतहरू अक्सर वसन्त ऋतुमा गाउने गर्छन् । तर मान्छे न हो, मान्छेको मुटुमा पलाएको प्रेमले न दिन भन्छ न रात भन्छ जुनसुकै बेला पनि प्रेमका गीतहरु गाउन खोज्छन् । लवज फरक होला, हाउभाउ अर्कै होला तर प्रेमको सागरमा डुबेर मोती खोज्ने हो भने त्यहाँ छुट्टै अर्को संसार पाइन्छ । जहाँ सुखैसुख छ । त्यहाँ कसैलाई भेदभाव गरिने छैन । त्यस्तो ठाउँमा बसेर मान्छेले प्रेमको गीत गाउने हो भने यो संसारमा फेरि एकचोटि नयाँ युगको जन्म हुनेछ । तर यो जीवनमा प्रेमका गीत गाउँदागाउँदै रुनुपर्छ । आँखाले आँसु झारेर दिनहरू बिताउनुपर्छ । त्यस्तो मान्छेलाई प्रेमको गीतले छुन सक्दैन । मनचङ्गा नभएको मान्छेले बिरहको गीत गाउन खोज्छ । त्यसैले यो रूपरङ्गको कुरो होइन, यो त चेतनाको कुरो हो । जहाँ पारिलो घाम लाग्छ, त्यहाँ उध्र्वगामिनी चेतनाको विकास हुन्छ ।
हामी अज्ञानताले पछाडि हिँडिरहेका छौं । अगाडि हिँडन त सत्कर्म र ज्ञानको आवश्यकता छ । देशमा सकारात्मक सोचका आवश्यकता छ । त्यसैले देशको छातीमा लागेको त्यो धाउँ कसरी निको पार्ने हो ? जनजनलाई उँभो कसरी लाने हो ? त्यतातिर पो सोच्नुपर्छ । एउटा मान्छेले सधैँ पेटको लागि मात्रै पीडा खप्ने हो भने चेतनाको विकास कसरी हुन सक्छ र ? ज्ञानको ज्योति कहिले बाल्न सक्छ र ? पीडैपीडामा कति मान्छे मर्नुपर्ने हो ? के यो अति भएन र ? त्यसैले यो दुःखको जाललाई च्यातेर सदाका लागि सुखसँगै बस्ने बेलामा पनि मान्छेहरुमा किन सुन्दरीको चाहना बढ्दैछन् ? मान्छे–मान्छेबीच किन ईस्र्याको भावनाले हेर्दैछन् ? यो कस्तो सोच हो ? यो कस्तो तृष्णा हो ? के यस्तो कूविचारले मान्छे अगाडि बढ्न सक्छ र ? सबैले सबैलाई खुट्टामा डोरीले बाँडेपछि के साँच्चै को अगाडि हिँड्न सक्छ र ? त्यसैले यो छोटो आयु बोकेका हामीहरुले सकेसम्म चाँडै काम सकेर सुत्नु छ । अलमलमा अल्झिएर होइन, एकले अर्कालाई दिल खोलेर देखाउनु छ । ताकि मानव जीवनमा सुख, शान्ति र समृद्धि होस् । कल्याणको निम्ति बाटाहरु खुल्ला रहोस् ।
वा वया च्वन पौ ज्वया च्वन दुनिन छेँ हे भ्वस्सुक्क
चुली पिकाकां न्याय्त वै च्वन गरल जाःपि सर्पत
तर म्य मतिनायागु हालाः थन जि थौ गय् च्वं च्वना
गय् थ्व जूगु थ्व जिगु व गन वन ऊध्र्वगामिनी चेतना ।
८८ ८८
देशया छाती मि च्याःगु भोक रोग अज्ञानया
छाती दायाः ख्वैगु जनता म्वाय्त मछिना दुःख जुयाः
ह थज्योगु कठिन बेलाय् छम्ह मिसाया ध्याउना
कै च्वन छं थःगु जीवन याय्गु ला बर्बाद आः ?
८८ ८८

आफ्नो हक र अधिकार त माग्नुपर्ने हो । तर किन माग्न सकिरहेको छैन ? मान्छे बाँच्नको लागि त खानुपर्ने हो तर किन खान नपाए पनि केही बोल्न सकिरहेको छैन ? एउटा मान्छेको लागि गाँस, बाँस र कपासको हल हुँदैन भने राजनीतिक त परको कुरो हो । जहाँ जालझेलमा तानाबुना बुन्न थाल्छ । हावामा कैची चलाएर कोही कपडा काट्न थाल्छ । के यो राजनीतिक हो र ? के राजनीतिकभित्र नैतिकता छैन र ? जे मन लाग्यो त्यही गर्ने खेललाई के राजनीतिको संज्ञा दिन मिल्छ र ? होइन, यो राजनीतिक होइन । त्यसोभए आफ्नो हक र अधिकारलाई बिर्सेर मान्छे किन नैरासी जीवन बिताइरहेका छन् ? कर्मलाई त्यागेर किन भाग्यका कुराहरु गर्दैछन् । आफ्नो हक र अधिकारलाई किन मान्छेहरु बिर्सिदैछन् ? के यो आगोको झिल्कोलाई निभाउन खोजेको त होइन ? के मान्छेलाई वैराग्यको बाटोतिर लग्न लागेको त होइन ? होइन भने किन आफ्नो हक र अधिकारप्रति मान्छेहरू सजक छैनन् ? दिनलाई रात भन्न लगाउनेहरूलाई किन प्रश्न गर्न सकिरहेको छैनन् ? के मान्छेभित्र विवेक हराएकै हो त ? पशुझै जीवन अब बिताउनुपर्ने नै हो त ? यो कदापि हुन सक्दैन, किनकि मान्छे बुद्धि र विवेकशील प्राणी हो । ऊभित्र नैतिकता र इमान्दारिता छ । त्यसैले अहिलेसम्म मान्छे पशु बनिसकेको छैन । भोलि के होला त्यो त समयले बताउने छ । आ–आफ्नो हक र अधिकार सबैले खोज्नेछन् । न्यायको लागि आवाजहरु बुलन्द गर्नेछन् । बेथितिहरुलाई थितिले बसाल्दैेछन् । नैतिकता र इमान्दारिता जनजनमा पु¥र्याउदैछन् । ताकि मान्छेमा अहिलेसम्म विवेक हराएको छैन भनी देखाउनुछ । यो कुरो सत्य हो, मान्छे पशु हुनलाई विवेक हराउनै पर्छ । नैतिकता र इमान्दारितामाथि पटकपटक प्रश्नहरु उठ्नै पर्छ । म मान्छे हुँ भने बिर्सिने पर्छ । तब पो मान्छेको अस्तित्व समाप्त हुन्छ । मान्छे विवेकशील प्राणी होइन पशुमा गनिन सक्छ । त्यसैले म यो धरतीमा जन्मेर, हुर्केर मेरो अस्तित्व यही धरतीमातालाई चढाउन चाहन्छु । म जहाँसुकै घुमेर आएपनि मेरो मरण आफ्नै देशमा होस् भन्न चाहन्छु । किनकि मेरो देश मेरो अस्तित्व मात्र होइन मेरो प्राण पनि हो । मान हो । ध्यान हो । शान हो । त्यसैले मेरो देशको शीर कहिल्यै झुुकेको म हेर्न चाहन्न । जेसुकै होस् भनी म त्यसै चुपलाएर बस्न सक्दिन । बरु म मर्न सक्छु तर मेरो देशलाई कोही कसैले केही गरेको देख्न सक्दिन ।
हामी नेपालीहरू बगैंचाका फूलबारी हौँ । जहाँ थरीथरीका फूलहरू फुल्ने गर्छन् । जहाँ आ–आफ्नो भाषा, साहित्य र संस्कृतिका कुराहरू हुने गर्छन् । जहाँ धर्मप्रति सबैले आस्था राख्ने गर्छन् । जहाँ मानव कल्याणका निम्ति दया र करुणाको भाव पोख्ने गर्छन् । जहाँ आफ्नै जगमा सभ्यता निर्माण गरी मैत्रीभाव राख्ने गर्छन् । त्यसैले देशको विकासको निम्ति देश प्रेमको आवश्यकता छ । कर्मयोगी मान्छेहरूको खाँचो छ । प्रकृतिले सुन्दर हराभरा भएको हाम्रो देशमा सकारात्मक तथा ऊर्जाशीलले वेथितिहरू हराएर नयाँ युगको निर्माण गर्नुछ । रहे भएका सबै भीषण दुर्गतिहरूलाई नयाँ युगले छोडेर जानेछ ।
थःगु हक अधिकार तंकाः थन मनूत म्वाय् थव्यु
पशुत थें व्यवहार यानाः न्हृाबलें म्वाना थजु
बूगु थन हे व्वलंगु थन हे सीगु नं थन हे थजु
छं मताःला छं मचाःला धाय्गु ला न्हृागुं थजु ?
८८ ८८
थन दु थी थी भाय् व जाति अमिगु थः थः संस्कृति
ब्याक्क मुंकाः भिंगु काय्गु झीगु खः देशोन्नति
देश बांलाः जनत बांलाः किन्तु यक्व दु बेथिति
न्हुगु युग वल, तर
मचाः छुं अमिगु भीषण दुर्गति ।
८८ ८८

तिमी ज्योति बनेर निस्किनुपर्छ ताकि अन्धकारलाई चिरेर उज्यालो दिन सकोस् । आँखा भएर पनि देख्न नसक्नेहरुलाई तिमी सहारा भई बाँच्न सकोस् । भोका, नाङ्गा अनि दुःख पाएकाहरुलाई तिमीले दया राखी एकमुठी अन्न र एकपाउ कपडा दिन सकोस् । ईश्वरसँग यही प्रार्थना छ । तिम्रो मनमा कुवाझैँ पानी भरिरहोस् । बादलझैँ पानी बोकिरहोस् । कोइलीझैँ सुमधुर गीत गाइरहोस् । धरतीझैँ लाखौंलाख बोझ उठाउन सकिरहोस् । मानव कल्याणका निम्ति तिम्रा आँखाहरु प्रज्ञा र करुणा बनिरहोस् । तिम्रा वचनहरु सिद्ध भएर सत्यले बास पाइरहोस् । बस् म त यही चाहन्छु । मेरो देशमा एउटा सपूतको जन्म भएर खान, लाउन र बस्न नपाउनेहरुलाई सुदृष्टिले हेरेपछि यो मन त्यसैत्यसै हलुको हुने भो । प्रेम, माया र स्नेह गर्नेहरूले आफ्नो देशलाई पनि माया गर्नुपर्छ भनी अब सिकाउने भो । हो हामी त खान, लाउन र बस्न नपाएर उँभो लाग्न नसकेको मान्छे हौ । पीडित भएर केही सोच्न नसकेका विवेकशील मान्छे हुँ । म त के हो र, मेरो देशले मलाई रक्षा गर्नुपर्ने हो । मेरो भविष्य मेरै कर्म अनुसार पाउनुपर्ने हो । तर किन यो पाउन सकिरहेको छैन ? मेरो देशमा के भइरहेको छ ? मेरो देश चलाउने मान्छेहरूमा किन मतिभ्रष्ट हुँदैछ ? कतै मनै राज्य भन्न खोजेको त होइन ? कतै मनै सम्पूर्ण देखाउन खोजेको त होइन ? होइन भने देशले किन सही गति लिन नसकेको हो ? जनताले किन न्यायको लागि आवाज उठाउन नसकेको हो ? भोक लाग्यो भनी भन्न नजान्ने लाटो जनतालाई शासकले किन शोषण गर्न खोजेको हो ? अब यो हुन सक्दैन । सामन्ती प्रथालाई सदाका निम्ति ढालेर समानतामूलक शासन प्रणाली लागू गर्नुपर्छ । निमुखा जनतालाई आधारभूत आवश्यकता पूरा गर्न अन्याय र अत्याचारीहरूका विरुद्ध देशको झण्डा बोकेर हिँड्नुछ । केही थाहा नपाएका सोझासाझा निमुखा जनतालाई शासकले गरेको अत्याचारको भण्डाफोर गर्नुछ । अन्धकारमा राखिएका शोषकहरुलाई क्रान्तिको आगोले पोलेर सदाका लागि बिदा दिनुछ । तब पो देश उँभो लाग्न सक्छ । सोच विचारमा नयाँ ऊर्जाको जन्म हुन सक्छ । युगले काँचुली फेरिएपछि सबै कुराको नयाँ सृष्टि भएर जानेछ ।
नयाँ युगमा नयाँ कलमले सबै वेथितिहरुलाई तह लगाउँदै थितिका कुराहरु लेख्नुछ । जनताको हक र अधिकारलाई सुनिश्चितगर्दै जनताको शासन चलाउनु छ । त्यसैले हे कवि ! तिमीलाई मनका लागेका व्यथाहरू पोखे हुन्छ । आँखाले देखेका दृश्यहरु भने हुन्छ । त्यो तिम्रो नयाँ कलमले नयाँ युगमा न्याय र शान्तिका कुराहरु लेखे हुन्छ । दुःखी र पीडितहरूको पीडा पोखे हुन्छ । तिमी कवि बनेर सूर्यलेझै एकटक्कले हेरिरहुन् । आफ्नै आमाको दूध पिएर बाँचिरहेका कुराहरु सम्झिरहन् । कसैको पक्ष नलागी सत्यलाई मूलमन्त्र जपी सदासदाका लागि स्वीकार्य रहुन् । युगैयुगसम्म देख्न सक्ने सोच र विचारलाई तिमीले देखाइरहुन् ।
म देशको लागि केही होइन । म त देशको सेवा गर्न जन्मिएको मान्छे हुँ । नमरुन्जेलसम्म नेपाल आमालाई शीरमा राखेर हिँड्ने मान्छे हुँ । त्यसैले मेरो के कुरा मेरो देशको इज्जत हुनुपर्छ । मेरो देशले सम्मान पाउनुपर्छ । तब पो मैले पनि इज्जत र सम्मान पाएको ठहरिनेछ । देशको बदनाम र अपमान भयो भने मेरो पनि बदनाम र अपमान भएको मानिनेछ । मेरो देशलाई कसैले रुवाउँछ भने के मलाई पनि रुवाएको होइन र ? त्यसैले म चाहन्छु मेरो देशको इज्जत र सम्मानमा कतै कुनै दाग नलागोस् । बदनाम र अपमान कोही कसैले गर्न नपाओस् । म जिउँदै छु, म मरेको छैन । वीर युद्घाका सन्तान हौ । मेरो देशलाई कसैले केही नराम्रा काम गर्छ भने यो धरतीमाताको कसम त्यसलाई धुलोपिठो नपारी मर्ने छैन ।
नय् मखंपि, ती मखंपि, व्याक्क जनतय् सः थजु
व्यक्तिगत मतिना व छंगु ज्वीकि विस्तृत देशया
पाप शोषणया विरुद्धय् ध्वाँय् ज्वनाः न्हृाज्याँ छ हँु
छुं मस्यूगू छुं मथूगू अन्धकारय् जः छ जु ।
८८ ८८
कलम च्वय्काः खःगु खंकाः थःम्ह जनतय् कवि छ जु
थःम्ह मांया दुरु त्वनागू सार यानाःजु मनू
देशया सन्मान जूसा ज्वी छ नं सम्मानित
देशया अपमान जूसा ज्वी छ नं अपमानित ।
८८ ८८

आकाशबाट झरेको पानी न हो, झर्रझर्रगर्दै गीत गाएर झर्न थाल्छन् । सिरिसिरीगर्दै चलिरहेको पवन न हो, मस्किँएर पातहरु हल्लिन थाल्छन् । झलमलगर्दै स्वर्गको द्वारजस्तै पारिलो घाम लागेर प्राणीलाई साथ दिन्छन् । मधुर गीत गाई पन्छीहरूले पनि यो जगत्लाई जगमग पार्न खोज्छन् । कलकल नदी बगी स्वच्छन्दताले आफ्नै बाटो लाग्न थाल्छन् । न्यानो र सत्यताको पाठ जनजनले पढ्न थाल्छन् । हिमगिरिझैँ सेता माला लगाई स्वर्गमै छोएजस्तो हुन थाल्छन् । यो धरतीमा आज किन हो कुन्नी ईश्र्या र जलनलाई त्यागी सुख र शान्तिको उत्सव भैरहेछन् ।
आजकाल म वनजंगलमा फलेको फलफुल र कन्दमूल खाएर जीविका चलाइरहेको छु । मलाई मिठो र नमिठोको कुनै अन्तर छैन । जे पायो त्यही खाएर यो शरीरलाई सोधिरहेछु । तिमीलाई कस्तो छ ? मेरो आत्माले यसैमै सन्तोष मानिरहेको छु । म खुसी छु । हर्षले मेरा दिनहरु बितिरहेका छन् । झलमल झलमल बत्ती बालेझैँ चन्द्रमाको ज्योतिमा परमआनन्द लिइरहेको छु । जसरी धुनी बालेर ऋषिमुनिहरू तपस्या गर्दैछन् । त्यस्तै म पनि शशीलाई साक्षी राखेर ध्यानमा मस्त हुँदैछ । रातको समयमा सबै सुनसान र चकमक्क भएको बेला मैले आफ्नो बाटो खोजिरहेको छु । सत्यको मार्गमा हिँडिएर मैले आफ्नो गन्तव्य देखिरहेको छु । तिमीहरू मान या नमान, यो समय खेर फालेर जीवनलाई बर्बाद गर्ने हो कि भन्ने भोलि अवश्य समयले तिमीहरुलाई रुवाउने छ । मुटुभरि व्यथा दिएर पश्चातापको आगोले पोल्नेछ ।
आकाशमा ती नौलाखे ताराहरू चम्किरहेका छन् । भोलिको प्रतिक्षामा आजको रात बितिरहेका छन् । म सुत्न सकिरहेको छैन । नभलाई मैले न्यानो सिरक सम्झेर सुत्ने तरखरमा छु । धरतीका कोमल घाँसपातहरूलाई मैले बिछौना लगाएको छु । मलाई त के छ र सुत्न पाए पुगिहाल्यो नि ! आँखा खोलेपछि दिन त्यसै भइहाल्छ नि ! मैले के गर्नुपर्ने हो र, समयले सबैको चाँजोपाँजो मिलाएपछि म त त्यसैमा हिँड्ने मान्छे न हुँ । मेरो कुनै भर छैन, मेरो कुनै गुनासो छैन । दुई दिनको यात्रामा को कहाँ पर्छ भन्न सकिन्न । त्यसैले यो अमृत समान चोखो हिमगिरीबाट झरेको खोलो हो । कलकल बग्छ । आफ्नो बाटोमा हिँड्छ । कसैप्रति उसको गुनासो छैन । ऊ स्वतन्त्र र निष्पक्ष छ । कसैको पक्ष लिएर कहिल्यै बोल्दैन । आफ्नो धर्म निभाएर सत्यको पक्षमा युगौँयुगदेखि हिँडिरहेको छ । उसलाई सत्य के हो भन्ने कुरा सिकाउनु पर्दैन । यो जगत्मा सत्य बाहेक अरु कसैको भर छैन भन्ने कुरा उसलाई थाहा छ । त्यसैले हामी मनुष्य पनि नदीझैँ बगिरहेका छौं । समयसँगै हिँडिरहेका छौं । आफ्नो अगाडि उभिएको सत्यलाई खै किन हो अँगाल्न सकिरहेका छैनौँ ।
फलफुल बनयागू नय् जिनं कन्दमूल
छु लुल नय् वहे तुं साः मसाः भेद मय्ल
झलमल मत च्याकाः चन्द्रमायागु ज्योति
च्वान्य छगुु धुनि च्याकाः ध्यान यानाः सदा जि ।
८८ ८८
नगुत जडित स्वर्गः फाय्त तक्फीगु फांगा
द्यन्यत नरम धर्ती घाँय् मुना तःगु लासा
लख अमृत समान च्वापु नायव वःगु
छु मदु थन अज्यागु सत्य ल्वीकेत माःगु ?
८८ ८८

म अभय बन्न चाहन्छु । अत्यन्तै निडर, दृढ र साहसिलो बन्न चाहन्छु । निर्भयको रूपमा भयबाट मुक्त भएर आत्मविश्वासी बन्न चाहन्छु । द्घुत र ऊर्जावान भएर सकारात्मक दिशामा बग्न चाहन्छु । त्यसैले मलाई कसैसँग डर छैन । किनकि मैले त्यस्तो कुनै अपराध गरेको छैन । जसले मसधैं डराएर भाग्नु परोस् । बरु म स्वाभिमानी बनेर गंगाजलझैँ निर्मल बन्न चाहन्छु । मेरो मन पवित्र पारेर आकाशझैँ विशाल बनाउन चाहन्छु । अमर त त्यस्तो मान्छे हो, जो मरेर पनि कहिल्यै मर्दैन । ऊ अविनाशी हो । अनन्त दीर्घायु बनेर ऊ कहिल्यै समाप्त हुने छैन । सधैँ अजर र अमर बन्नेछ । जो युगौँयुगसम्म सम्झनामा रहिरहनेछ । कहिल्यै नटुट्ने कालजयी भएर मान्छेको मन र मस्तिष्कमा रहिरहनेछ । त्यसैले मान्छे इमान्दार र सत्यप्रिय बनी समान व्यवहार र दयालु हुन सक्नुपर्छ । देशको लागि आफ्नो आहुति दिएर भएपनि योगदान गर्न सक्नुपर्छ । कहिले कठीनाइमा हार नमानी सामाजिक सदाचार र व्यवहारमा सिकाउन सक्नुपर्छ । स्मृतिमा सधैं जीवित रहने प्रेरणादायी योगदान दिन सक्नुपर्छ ।
मानिसको साँचो अर्थ नै आत्मा हो । हिजो शरीरभित्र रहेर चेतनाको विकास गर्छ । त्यसैले आत्मा न शरीर हो न विचार हो । यो त परमसत्य हो । सुक्ष्मशक्ति हो । शरीरलाई ऊर्जावान गर्ने अस्तित्व हो । जन्म–मृत्युको तत्व हो । त्यसैले मलाई अभय, अमर र आत्माको संयोग चाहिन्छ । मान्छे त जन्मिन्छ, मर्छ । मर्ने बेला माटो, पानी, वायु, अग्नि र आकाशजस्ता पञ्चतत्वमा मिसिन जान्छ भन्ने कुरा थाहा हुँदाहुँदै मान्छे किन लोभ, क्रोध र अहंकारमा टाँसिन पुग्छ ? दान, सेवा र सद्भावलाई चटक्कै छोडी आत्मालाई बिर्सिन खोज्छ ? अपितु आत्मा–आत्मासँग जोडिनुपर्छ । कुशल र अकूशलकाबीच फरक हुनुपर्छ । सूर्यको प्रकाशजस्तो चम्किलो भएपछि युगयुगान्तसम्म रहिरहनेछ । पञ्चतत्व रहेसम्म जीवित रहनेछ ।
आज धर्मराज यम र धनका देवता कुँबेरले नित्यकर्म गर्दैछन् । समुद्रका देवता वरुणले पाउ धोई जल चढाउँदैछन् । विद्या र ज्ञानकी देवता वाणीकी देवीको तोत्र पढ्र्दै सरस्वतीको आराधना गर्दैछन् । रवि र शशीले दियो बाली मनभरि आरती गर्दैछन् । ऋतुहरुले भक्तिभावगर्दै श्रद्धाले नुहेर फूलका गुच्छा चढाउँदै छन् । युगौँयुगसम्म कहिल्यै नबिर्सिने आज सिद्धिदाना गणेशले सफलताको कामना गर्दैछन् । त्यसैले यो ब्रह्माण्डभित्र के छ के छैन भन्न गाह्रो छ । एउटा ईश्वरले अर्को ईश्वरलाई पुजेर किन आफू धन्य बन्न खोज्दैछन् । के यो साँचो हो र ? कतै हामीलाई भूलभलियामा पारेको त होइन ? आध्यात्मिक ज्ञानले मान्छेलाई चिन्न खोजेको त होइन ? के देवताले देवतालाई पनि पुजिन्छ र ? हो पुजिन्छ, देवताले पनि नियमित ध्यान र तपस्या गरी अनादिशक्ति उच्च परमात्मा ब्रह्मा, विष्णु र शिवलाई पुझिने गर्छ । परम देवतालाई भक्ति गरी धर्म, ज्ञान, न्याय र शक्ति मनुष्यलाई दिन खोज्छ । हे प्रभु ! हामी त मनुष्य हौ । एकचित्त भएर न तप गर्न सक्छौ न शीलमा बस्न सक्छौ । मनचञ्चल भएर हामीले इन्द्रियलाई बंसमा लिन सकिरहेका छैनौ । त्यसैले हाम्रो यही प्रार्थना छ । मनुष्य जीवनलाई अकूशल कर्ममा होइन कुशल कर्ममा लाग्न शक्ति देऊन् । भित्री आँखा खोल्न लगाएर परमात्मासँग लीन हुने बाटो देखाइ देऊन् ।
अभय अमर आत्मा काय्गु जिं स्वंगु खास
गुलि नि गुलि व तःधं श्रेयया नं प्रकाश
च्वनि यम व कुबेरं नित्य च्वामोल गाकाः
बरुण तुति सिकः वै न्हूगु लःधार हाय्काः ।
८८ ८८
व्वनि जिगु ससुमांजुं तोत्र बांलाःगु दय्काः
रवि शशि मत च्याकाः आरती याइ ब्रह्मां
ऋतु ऋतुत वयाः नं स्वां–सि तःजीगु छायाः
गुलि गुलि जिगु याइ प्रार्थनायुक्त पूजा ।
८८ ८८
सकल सफलताया सिद्धिदाता गणेद्यः
जुइ अन जिगु हृाःपा भाव पिल्हृय्त हृापा ।
८८ ८८

तृष्णा, नेपालभाषामा लेखिएको अत्यन्तै चर्चित खण्डकाव्य हो । चार सर्गमा विभाजित उक्त खण्डकाव्यमा पहिलो सर्गमा ६०, दोस्रोमा ४४, तेस्रोमा २९ र चौथौमा १३ गरी जम्मा १४६ श्लोकहरु रहेका छन् । मानवीय संवेदना, इच्छा, पीडा, प्रेम, असफल र आध्यात्मिक खोजको रुपमा रहेको प्रस्तुत काव्यको शीर्षकनै मूल आत्मा हो । प्यास, चाहना र अँधूरोपननै तृष्णाको मुख्य जरा भएकोले मानवीय तथा आत्मीय प्यासको रुपमा प्रस्तुत खण्डकाव्यमा चित्रण गरिएको छ । मानिसको जीवन तृष्णाबाट सुरु हुन्छ । तृष्णाबिना मान्छे नचल्ने भएकोले यसलाई सुख र दुःख दुवैको रुपमा लिने गरिन्छ । मानिसको मन तृष्णाबाट कहिल्यै सन्तुष्टि नहुने भएकोले यसलाई सही बाटोमा दोहो¥र्याउनुनै जीवनलाई सार्थक र सुन्दर बनाउनु हो । तृष्णा, नकारात्मकमात्र होइन यसले जीवनलाई गतिशील बनाई चलायमान गर्ने शक्ति प्रदान गर्दछ । तसर्थ मानव जीवनमा तृष्णानै बाँच्ने मूल आधार हो । यो रहुन्जेलसम्म मान्छेको जीवन चलिरहन्छ ।
खण्डकाव्यको सुरुमा प्रेम, सौन्दर्य, खुसी र भविष्यप्रतिको लालसाजस्ता व्यक्तिगत तृष्णाको उल्लेखगर्दै मानिसले सुख खोज्छ तर पूर्णरुपमा प्राप्त गर्न सक्दैन भन्ने यथार्थ भावनात्मक चित्रण गरिएको छ भने अर्काेतिर मानवीय तृष्णाको दार्शनिक रूपमा व्याख्या गरिएको छ । मानिसको भित्री तृष्णा जति अँधूरो हुन्छ त्यस्तै सामाजिक तृष्णा पनि त्यतिकै अँधूरो रहने भएकोले यसलाई काव्यत्मक शैलीमा आधुनिक अनुभूतिसँग जोड्दै मानिस बाहिरी चीजले कहिल्यै सन्तुष्टि नहुने भएकोले आत्मज्ञान र चेतनाको खोजी गर्दछ भने प्रस्तुतिकरण गरिएकोछ । प्रतीक, बिम्ब र मनोवैज्ञानिक चित्रणको उत्कृष्ट प्रस्तुति रहेको प्रस्तुत तृष्णा खण्डकाव्यमा मानव र समाजनै मुख्य पात्र हुन् । यस पात्रले तृष्णालाई अनुभूति गर्छ र काव्यलाई अगाडि बढाउछ । तृष्णा केवल विषय मात्र होइन, यो एक चरित्र पनि हो । जहाँ अन्याय, अत्याचार, आशा, विद्रोह, वर्गीय पीडा, परिवर्तनको चाहना यी सबै मानवीय तृष्णाका सामूहिक रुपलाई गहनरुपमा विश्लेषण गरिएको प्रस्तुत खण्डकाव्य नेपालभाषा साहित्यका कविरत्न तथा नेपाली भाषाका युगकविका रूपमा ख्यातिप्राप्त कवि सिद्धिचरणको अमूल्य कृति हो ।
हामीसँग शरीर छ, विचार छ, हृदय र चेतना छ । यसलाई राम्रोसँग प्रयोग गर्ने हो भने जीवनमा असंगति भन्ने कुरा केही छैन । तसर्थ तृष्णा केही होइन यो कतै पाइने कुनै कुरा पनि होइन । यो जीवनको बीचमा आउँछ र बीचमै जान्छ । तैपनि यसले अनेकौं तरिकाबाट मानिसलाई उतारचढाव गरिरहेको हुन्छ । त्यसैले यही कुरालाई बुझेर निर्लिप्त र निःसर्ग हुनु महानता हो । मान्छे जति ईश्वर हो त्यति नै पशु पनि हो । देवत्व र पशुत्वकाबीच मनुष्यत्व रहन्छ । त्यसैले यो भौतिक सुख दुःखको प्रभाव नै जीवन हो । जीवन भनेको अँपूरो कथा हो भनी कविरत्न सिद्धिचरणले आफ्नो भूमिकामा धारणा व्यक्त गर्नुभएको छ । कविरत्न सिद्धिचरणले समयको कुनै कालखण्डमा टुक्राटाक्री कागज तथा कापीमा लेखिएको पाण्डुलिपिलाई एकत्रित गरी सम्पादन गर्ने कार्यमा लाग्नुभएका नेपालभाषा साहित्यका अत्यन्तै चर्चित वरिष्ठ लेखक÷साहित्यकार फणीन्द्ररत्न बज्राचार्यले तृष्णा खण्डकाव्य नेपालभाषा साहित्यको रत्न हो भनी परिभाषित गरी नेपाल सम्वत ११११ मा प्रकाशित गर्नुभएको थियो ।
अन्तमा तृष्णा मनको यात्रा हो । जीवनको अर्थ खोज्ने प्रक्रिया हो । आत्मज्ञान र चेतनाको ढोका हो । तसर्थ प्रस्तुत खण्डकाव्यमा कविरत्नले सिँगार, नीति र वैराग्यको सजिव चित्रण गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया