बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर

बिजनेस पोष्ट

रिसव गौतम

अरू व्यवसायजस्तै बैंकिङ संस्थाहरू नाफा मात्र आर्जन गर्ने व्यवसाय होइनन् । विश्वभर बैंकिङका नयाँ-नयाँ अवधारणाहरू लागू छन् । बैंकिङले नाफा मात्र नभई सामाजिक उत्तरदायित्व, उद्यमशीलता वृद्धि, वित्तीय साक्षरता, आर्थिक विकास र वृद्धि, आर्थिक सन्तुलन र वातावरण संरक्षणसम्मलाई ध्यान दिनुपर्छ भनेर भनिन थालिएको छ । खासगरी उद्यमशीलताको विकास र प्रवर्द्धनमा त बैंकहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् नै ।

त्यसैले अन्यत्र बैंकिङलाई उच्च सम्मानपूर्वक हेरिन थालिएको छ । खासगरी अमेरिका, चीन जस्ता व्यापारको जगमा सम्पन्न भएका देशहरूमा बैंकहरूको ब्याजदर अत्यन्त न्यून छन् । तर नेपालमा केही समयअघिसम्म दोहोरो अंकको ब्याजदरको मारबाट उद्योगी–व्यवसायीले उन्मुक्ति पाएका थिएनन् । त्यसैले पनि बैंकहरूलाई आधुनिक सुदखोरी झैं व्यवसायीहरूले ठाने । जति सफाचट र प्रणालीमा चलेको भए पनि समाजमा बैंकहरूको पछिल्लो समय धेरै नै आलोचना भएको हो ।

विगतमा जे–जस्ता महामारी आए पनि बैंकहरूको नाफा वृद्धि भएकै हो । तर उद्योगी व्यवसायीहरू भने मारमा परिरहे । हालै केही वर्ष चलेको कोरोनाको महामारीको असर अहिले पनि उद्योग व्यवसायमा परिरहेको छ । एकातिर चर्को ब्याजदर र अर्कोतिर कोरोना लगायतका महामारी, आर्थिक असन्तुलन र मन्दी, युवा जनशक्तिको पलायनसँगै उपभोक्ता मागमा आएको कमीले उद्योगी व्यवसायी मारमा परे । साना तथा लघुउद्यम व्यवसाय भयंकर मारमा परे । युवा पलायन बढ्यो । उद्यमशीलता र उद्यमीय सपना भित्रभित्रै मर्यो ।

अहिले पनि अर्थतन्त्र सुस्त हिसाबको मन्दीमै छ । आन्तरिक आर्थिक गतिविधिहरू कमजोर भएकैले अर्थतन्त्र सुधार आयोग नै बनाएर अनेकन प्रयास थालेको छ । अर्थतन्त्रको बाह्य पक्ष सकारात्मक भए पनि आन्तरिक अर्थतन्त्र र उद्यमशीलताको अवस्था कमजोर छ । तर पनि बैंकहरूको मुनाफा भने बढेकै देखिन्छ। जस्तो चालु आर्थिक वर्ष ०८१/८२ को ८ महिनामा वाणिज्य बैंकहरूले ४३ अर्ब बढी नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूले २०८१ फागुन मसान्तसम्ममा ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नबिल, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यसबीच क्रमशः ४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ, ४ अर्ब ७२ करोड ९४ लाख र ४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएका छन् । अन्य वाणिज्य बैंकहरू पनि राम्रै नाफा आर्जन गरेका देखिन्छन् । यसरी बैंकहरूको मुनाफा मन्दी होस् वा कोरोना महामारी वा जस्तै विपत्तिमा पनि बढेकै देखिन्छ । तर उद्यमशीलता, आर्थिक वृद्धि र आन्तरिक आर्थिक गतिविधि, उद्योगधन्दा भने बढेको छैन । बरु कमजोर हुँदै गएको छ ।

यसले व्यावसायीक वातावरण राम्रो रहेको देखाउँदैन । जसले सामाजिक उद्यमशीलता, रोजगारी वृद्धिमा नकारात्मक प्रभाव पारेको छ । हिजोआज मानिसहरू कुन व्यवसाय गर्ने, के गर्ने भन्ने सम्बन्धमा एकचोटि सोंच्लान् तर बैंकबाट ऋण लिँदा १० चोटि सोंच्न थालेका छन् । वास्तवमा यसले दीर्घकालीन रूपमा बैंकहरूलाई बेफाइदा गर्ने हो ।

बैंकहरूले व्यवसायको दायरा पो बढाउनुपर्ने हो । तर बढी नाफा आर्जन गर्ने मात्रको सोच स्थापित हुँदैछ । उनीहरूको नाफामात्रको प्रतिस्पर्धामा उत्रिएर विगतमा घरजग्गा लगायत क्षेत्रमा धेरै नै लगानी केन्द्रित गर्दा खराब कर्जाको दर कहालीलाग्दो रूपमा बढेको छ । अहिले वाणिज्य बैंकहरूको औसत खराब कर्जाको दर ५ प्रतिशत नाघ्न थालेको छ । वास्तवमा बैंकहरू अल्पकालीन नाफामा केन्द्रित रहँदा आर्थिक वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता वृद्धिमा बैंकहरूको ध्यान जान सकेको छैन ।

उद्यमशीलता

निजी क्षेत्रका कलेज तथा बैंक-वित्तीय संस्थाले उद्यमशीलता अभिवृद्धि गर्न सशक्त भूमिका खेल्न सक्छन् । तर त्यसको प्रभावकारी पहल उनीहरूले गरेका देखिँदैन ।

राज्यले उद्यमशीलतालाई प्रोत्साहन गरेको पनि छैन । राजनीतिक दलहरूले उद्यमी व्यवसायीहरूलाई पार्टी चलाउनका लागि चन्दा उठाउने स्रोत साधन मात्रै ठानेका हुन्छन् । समाजमा उद्यमशीलता बढाउने, आर्थिक विकास गर्ने सोच उनीहरूमा कहीं कतै देखिँदैन ।

उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्यो पनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्लै इच्छा नभएको भए उसले कसरी व्यवसाय विस्तार गर्ला ? पैसा कमाउने उद्यमीको प्रकृति वा जात नै हो । उद्यमीले पैसा कमाएकोमा समाजले डाहा गर्नु कदापि हुँदैन। एउटा उद्यमीले पैसा मात्रै कमाइरहेको हुँदैन । उसले धेरैलाई रोजगारी पनि दिएको हुन्छ । बैंकहरूसँग ऋण लिएर उनीहरूको आम्दानी वृद्धि गर्न सघाएको हुन्छ । आयात तथा निर्यात व्यापारमा सघाएर राज्यको राजस्व रकम बढाएको हुन्छ । राज्यलाई आयकर तिरेर सरकारलाई आम्दानीको स्रोत जुटाएको हुन्छ । नयाँ-नयाँ उद्योग, कारखाना खोलेर मुलुकलाई आत्मनिर्भर, समृद्ध र विकसित बनाउन उद्यमीले सघाएको हुन्छ । अनि हामी तिनै उद्यमीहरू जो मौरीजस्तो खटिरहेका हुन्छन्, दिमाग खियाइरहेका हुन्छौं, तिनैलाई लखेट्छौं भने देश कसरी उभो लाग्छरु त्यसकारण उद्यमी व्यवसायी भनेका राज्यका गहना हुन् । उनीहरूलाई राज्यले, समाजले, वित्तीय संस्थाहरूले सबैले सम्मान गर्नुपर्छ, उनीहरूलाई सहयोग गर्नुपर्छ ।

उद्यमशीलता वृद्धिमा बैंकको भूमिका

धेरैजसो उद्यमीहरूलाई आफ्नै स्रोतमार्फत पूँजी पुर्याउन गाह्रो हुन्छ । किनकि उनीहरूलाई वित्तीय ज्ञान र व्यवस्थापनको अभाव पनि हुन सक्छ । त्यसकारण पूँजी विना अर्थात् ऋण विना उद्यमीहरूलाई कोष जुटाउन गाह्रो हुन्छ । उनीहरूको प्राथमिक स्रोत नै बैंकहरूबाट प्राप्त हुने ऋण नै हो ।

ऋण प्रवाह गर्नु बाहेक पनि बैंकहरूले विभिन्न तरिकाले उद्यमीहरूलाई सघाइरहेका हुन्छन् । जस्तो बैंकहरूले पैसा र सम्पत्ति सुरक्षित राख्छन् । उनीहरूले उद्यमीका बहुमूल्य सम्पत्ति र पैसा सुरक्षित राखेर सहयोग गर्छन् । त्यसैगरी ग्राहकसँगको व्यवसायिक कारोबार सहज बनाउन बैंकहरूले भुक्तानी प्रणालीलाई सहज बनाई दिएका हुन्छन् । फलस्वरूप उद्यमीहरूलाई कारोबारमा सहयोग पुग्दछ । त्यसैगरी बैंकहरू नै उद्यमीहरूका उत्कृष्ट सल्लाहकार पनि हुने गर्छन् । बैंकहरूले उद्यमीहरूलाई कर, कम्पनी तथा लगानी सम्बन्धी उचित सल्लाह पनि दिन्छन् ।

नेपालमा धेरै बैंक तथा वित्तीय संस्थाहरू छन् । उनीहरूले पूँजीको बागडोर सम्हालेर बसिरहेका छन्। उद्यमी व्यवसायी र उनीहरूको सम्बन्ध असाध्यै नरम र सहयोगी हुन जरुरी छ । बैंकहरूको अहिलेको व्यवसायको आकार बढाउन पनि उद्यमी व्यवसायी चाहिन्छ र उद्यमशीलता अभिवृद्धि भएर अघि बढ्न पनि बैंकहरू नै चाहिन्छन् । त्यसकारण मूलतः बैंकहरूले अब आफ्नै व्यवसाय बढाउने दीर्घकालीन सोच राखेर पनि उद्यमीहरु कसरी बढाउने भन्नेबारे कार्यक्रमहरू अघि ल्याउन सक्नुपर्छ । केही हदसम्म राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक, एनएमबि बैंकहरूले उद्यमशीलता अभिवृद्धिका लागि पहल सुरु गरेका देखिन्छन् । नविल बैंकले त दिगो बैंकिङको नारा नै अघि सारेको छ । उसले त्यसै नारा अन्तर्गत नयाँ उद्यमी सिर्जना गर्न र तिनैलाई लगानी गर्न वार्षिक ४० जना लाभान्वित हुनेगरी उद्यमशीलता तालिममा आधारित ‘फेलोसिप’ कार्यक्रम नै अघि सारेको छ । भलै नविलको कार्यक्रमको आकार सानै लाग्ला तर त्यो नवीनतम् सुरुवात हो । सबै बैंकहरूले त्यस्तै सुरुवात प्रतिस्पर्धात्मक रूपमा गर्न जरुरी देखिन्छ । खाली व्यवसायीक युनिटहरूको विस्तार गर्ने, भाँडो थाप्ने मात्रै होइन, भाँडो भरिदिने विइङ्सको सिर्जना गर्दै लैजानुपर्छ । बैंक वित्तीय संस्थाहरूको त्यो संस्थागत सामाजिक उत्तरदायित्व पनि हो ।

बैंक-वित्तीय संस्था, इन्स्योरेन्स, कलेज आदिले खाली मुद्राको व्यापार र विनिमय मात्रै गरेर हुँदैन। आधुनिक समयमा नवीनतम् हिसाबले पनि सोच्न जरुरी छ । (रिसव गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया