३० लाख कित्ता आइपिओ निष्कासन अन्तिम तयारीमा छः राष्ट्रिय खाद्य बैंकका अध्यक्ष किशोर प्रधान

Bizness Post बिजनेस पोष्ट
|
१० महिना अगाडि

किशोर प्रधान
अध्यक्ष राष्ट्रिय खाद्य बैंक लिमिटेड

राष्ट्रिय खाद्य बैंक लिमिटेडले के कस्ता कामहरु गर्दै आइरहेको छ ? संक्षेपमा बताइदिनुहोस् न ।
नेपाल कृषि प्रधान देश भएपनि हामी अहिलेसम्म कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्न सकेका छैनौं । कृषिको व्यवसायिकरण हुनसकेको छैन । जसकारण हाम्रो कृषिजन्य उत्पादनमाथिको परनिर्भरता बढ्दै गइरहेको छ । कृषिमा आजसम्म व्यवसायिकरूपले काम हुन नसकेकाले कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बजारीकरण गरी उपभोक्तासम्म पु¥याउनुपर्ने प्रणालीको विकास हुनुपर्ने आवश्यकता देखेर नै राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना भएको हो । राष्ट्रिय खाद्य बैंकले कृषकले उत्पादन गर्ने, कृषिजन्य वस्तुको सही मूल्यांकन गरी कृषकलाई उसले मेहेनत गरे बमोजिम उचित मूल्य पाउन सक्ने आधार बनाउन तथा बजारसम्म कृषकको राम्रो पहुँच पु¥याउने उद्देश्य राखेर काम गर्दै आएको छ ।
बैंकको स्थापना कोभिड–१९ महामारीको केही अघिको समयमा भएको थियो । सुरुवाती दिनमा यसको उद्देश्य बमोजिम काम गर्न केही कठिनाई देखिएपनि अहिले राम्रोसँग काम गरिरहेको छ । खाद्य बैंकले खेती गर्न सकिने स्थानको माटो परीक्षण गरी कृषिजन्य उत्पादन गरेर बिक्रीका लागि बजारीकरणको काम गर्दै आइरहेको छ । सरकारका केही नीतिगत अस्पष्टता, अस्थिर सरकार जस्ता विविध कारणले लक्ष्य र योजना अनुरुप काम गर्न नसकेको कुरा मैले स्वीकार्नु पर्छ ।
फेरी कृषि क्षेत्र सरकारको प्राथमिकतामा छैन । सरकारको उद्देश्य कृषिजन्य उत्पादन बढाउनेमा भएको भए यो क्षेत्रमा ठूलो लगानी हुन्थ्यो । नीतिगत सहजता हुँदा पनि निजी क्षेत्रको लगानी समेत बढ्ने थियो । बरु उल्टै कृषकका छोराहरूलाई रोजगारीका लागि विदेश पलायन हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिएको छ । देशभित्रै आय आर्जन गर्न नसकेर विदेशिएका युवालाई देशमा फर्काएर कृषि क्षेत्रमा रोजगारीको अवसर दिएर कसरी यहाँको उत्पादनलाई विश्वव्यापी रूपमा बाजारीकरण गर्न सकिन्छ कि भन्ने पाटोबाट पनि खाद्य बैंकले काम गरिरहेको छ ।


कृषकको खेतमा उत्पादन भएको स्वच्छ, ताजा र विषादी रहीत अन्नबाली, तरकारी, फलफूल कृषकको खेतदेखि उपभोक्तासम्म पु¥याउने भुमिका खाद्य बैंकको हुन्छ । यस खाद्य बैंक निजी क्षेत्रले स्थापना गरेको कृषि कम्पनी हो । तर हामी देशलाई आफ्नै कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सरकारसँग सहकार्य गरेर जान तयार छौं । सरकारसँग सहकार्य गरेर जान हाम्रो सुरुवातदेखिको पहल हो । तर, सरकारले हामीसँग जोडिएर सहकार्य गरी हातेमालो गरेर जाने कुरामा गम्भीरता देखाएको छैन । कृषि क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि जबसम्म निजी क्षेत्रसँग हातेमालो गरेर जान चासो देखाउँदैन । तबसम्म हामी एक्लैले मात्रै देशभित्रको कृषिजन्य उत्पादनलाई व्यवस्थित गरेर लैजाने सक्ने अवस्था रहँदैन । तरपनि भविश्यमा कृषि बैंकले देशभरको कृषिजन्य उत्पादन कृषकको खेतमै पुगेर संकलन गर्ने, गुणस्तरीय भण्डारणगृह निर्माण गर्ने, कृषिजन्य उत्पादनको गुणस्तर परीक्षण जाँच गर्न ‘क्वालिटी कन्ट्रोल सेक्सन राख्ने, कृषकबाट संकलन गरिएको उत्पादनको परीक्षण गरी ग्रेडिङ गर्ने र उपभोक्तामा खान योग्य कृषिजन्य उपज मात्रै पु¥याउने उद्देश्यले काम गर्ने योजना छ । विश्वका धनी देशहरूले पनि यसरी नै काम गर्दै आएका छन् । अहिले बजारमा उपलब्ध खाद्यान्नमा धेरै मिसावट देखिन्छ । तरकारीमा अधिक विषादी प्रयोग भइरहेको छ । साथै, हामीले अहिले उपभोग गरिरहेको तरकारी तथा फलफुल सबै आयातित हो । यही कुराको क्रम भंगता गर्नका लागि पनि कृषि बैंकको आवश्यकता महशुस गरी स्थापना गरिएको हो । त्यसकारण, अब सरकारले कृषकलाई कृषि क्षेत्रको उत्पादन प्रवद्र्धनमा प्रोत्साहन गर्ने तथा उपभोक्ताको भान्छामा स्वच्छ तरकारी, सागसब्जी, फलफूल पु¥याउने सम्पूर्ण जिम्मेवारी सरकारले खाद्य बैंकलाई दियोस भन्ने हाम्रो चाहाना छ । त्यसको लागि सरकारले नीतिगत सुधार गर्नुपर्छ । निजी क्षेत्रले दशकौंदेखि माग गरेपनि कानुनी प्रावधान पूरा गर्न अहिलेसम्म एकद्वार नीति बनेको छैन ।

बैंकले अहिले राजधानीमा मात्रै काम गरिरहेको छ कि बाहिर पनि ?
खाद्य बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा छ । तर, यसले देशभरमा सञ्जाल विस्तार गरी काम गर्ने गरेको छ । अहिलेसम्म पाँच वटा प्रदेशको नेटवर्किङ गर्ने काम सम्पन्न भइसकेको छ । बाँकी रहेका दुई वटा प्रदेशमा पनि नेटवर्किङ विस्तार गर्ने काम भइरहेको छ । प्रदेशसँगसँगै त्यहाँका स्थानीय तहसँग पनि सहकार्य गरेर काम गर्ने गरेका छौं । तर, अहिलेसम्म हामीले सोचेको जस्तो नतिजा भने आउन सकिरहेको छैन । स्थानीय तहदेखि संघको सरकारसम्मले कृषि क्षेत्रको उत्पादन वृद्धि तथा बजार प्रवद्र्धनको काममा सहयोग नगरेकाले यस्तो भइरहेको छ ।
राष्टिय खाद्य बैंकका लक्ष्य, उदेश्यहरू के के छन्?
कृषकलाई कृषिजन्य उत्पादन बढाउन प्रोत्साहन गरी उत्पादन तथा उत्पादकत्व बढाउनु खाद्य बैंकको मुख्य लक्ष्य रहेको छ । अर्गानिक उत्पादन बढाउन प्रोत्साहन गर्ने र कृषकहरूको उत्पादन उचित मूल्य दिएर खरिद गरी उपभोक्तासम्म पु¥याउनु नै हाम्रो लक्ष्य रहेको छ । साथै, कृषकको उत्पादन बढाउनेदेखि भण्डारण र उपभोक्तामा पु¥याउनेसम्मको काम गर्न सरकारसँग सहकार्य गरेर जाने पनि रहेको छ । हाम्रो विगतको अवस्थालाई हेर्ने हो भने करिब २५ वर्ष अगाडि मेरो परिवारले गरेको उत्पादन अर्को मुलुकमा निर्यात हुन्थ्यो । र, हाम्रो उत्पादनलाई अर्गानिक बनाउन सक्ने हो भने भविश्यमा पनि विश्वका धेरै देशमा निर्यात गरेर आय आर्जन गर्न सकिन्छ । खाद्य बैंकको लक्ष्य पनि हाम्रो कृषिजन्य उत्पादनलाई निर्यात गरी विदेशी मुद्रा देशमा भित्र्याउने रहेको छ । त्यसका लागि हाम्रो उत्पादनको उचित भण्डार गर्न आवश्यक छ । तरकारी तथा फलफूल उत्पादन हुने मौसममा बजारमा सस्तो पाइने र कृषकले सही मूल्य नपाउने समस्या व्याप्त रहेकाले यो अवस्था आउन नदिन खेर जाने अवस्थाको उत्पादन सही ढंगले भण्डार गर्न देशैभरी उच्च क्षमताको भण्डारणगृहहरू बनाउनु पर्ने आवश्यकता देखिएको छ । साथै, हाम्रो कृषिजन्य उत्पादनको गुणस्तर मापन गरी ग्रेडिङ गरी बजारसम्म पुर्याउनका लागि पनि खाद्य बैंकले काम गर्नेछ । उपभोक्ताले आजको दिनमा बजारमा पाइने कस्तो उत्पादन खाइरहेको छ भन्ने कुरा उसले पनि थाहा पाउन जरुरी हुन्छ । अहिले गुणस्तर मापन गर्ने प्रणाली सही नभएकाले पनि उपभोक्ताले बढी विषादीयुक्त उत्पादन खाइरहेका छन् । सरकारले आफैँ गर्न सक्दैन भने कृषिजन्य उत्पादनको गुणस्तर मापन गरी स्वास्थ्यकर उत्पादन मात्रै उपभोक्तासम्म पु¥याउने पूर्ण जिम्मेवारी निजी क्षेत्रलाई दिनुपर्छ ।

खाद्य बैंकको कृषिजन्य उत्पादनको संकलन, भण्डारण र वितरणको प्रक्रिया कस्तो हुन्छ ?

हामी कृषकबाट उचित मूल्य दिएर खरिद गरेको कृषिजन्य उत्पादन एउटा वेयरहाउसमा ल्याएर त्यसलाई प्याकेजिंग, प्रोसेसिङको काम गर्ने हाम्रो उद्देश्य छ । त्यहाँ प्रोसेसिङ तथा प्याकेजिंग गरेर हाम्रो ब्रान्डको गुणस्तर मापन गरिनेछ । हामीलाई यो सबै कामका लागि ल्याब बनाउनु पर्ने हुन्छ । त्यसमा सरकारको अनुमति चाहिन्छ । खाद्य बैंकसँग आजको दिनमा कृषिजन्य उपजका निर्यातकर्ताहरू पनि जोडिएका छन् । उनीहरूको विज्ञताको उपयोग गरी गुणस्तरको चेक जाँच गरेर ब्राण्डिङ तथा प्याकेजिङ गरी उपभोक्तासम्म पुग्ने गरीको नेटवर्कमा हामी आउन चाहन्छौं । अहिले देशभरमा उपभोक्ताले सबै कुरा एकै स्थानमा पाउने गरीको ठूला सुपरमार्केट तथा मार्टहरू खुलेका छन् । यी सुपर मार्केट तथा मार्टहरूसँग पनि सहकार्य गरेर कृषकको उत्पादन उपभोक्तासम्म पु¥याउने नेटवर्क विस्तार गर्ने योजनामा खाद्य बैंकले काम गर्नेछ । हामीले यसका लागि भाटभटेनी लगायत अन्य मार्टहरूसँग पनि छलफल गरेर अगाडि बढ्ने तयारी छ । यस्तै, अहिले नेपालमा पनि अनलाइन बजारबाट खरिद बिक्री गर्ने शैलीको विकास हुँदै गइरहेको छ । उपभोक्ताले बजार गएर खरिद गरेर ल्याउनुको सट्टा अनलाइनबाट खरिद गर्दा घरसम्म आइपुग्ने हुँदा खाद्य बैंकले पनि यस प्रकारको सेवा विस्तार गरेर लैजानेछ ।

खाद्य बैंकले आइपिओ निष्कासनको तयारी कहाँ पुग्यो ?
सर्वसाधारणका लागि शेयर निष्कासनको प्रक्रिया सुरु भइसकेको छ । शेयर निष्कासन तथा बाँफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकिएको छ । अब चाँडै नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि पठाउने तयारी भइरहेको छ । खाद्य बैंकको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेकोमा सर्वसाधारणलाई ३० करोड रुपैयाँ बराबरको हुन आउने ३० लाख कित्ता शेयर निष्कासन गरेर बाँडफाँड गर्नेछौ । अब चाँडै नै त्यो काम पुरा गर्नेछौ ।

प्रकासित मिति २०८२-१०-१२

तपाईको प्रतिक्रिया

Advertisement