काठमाडौं उपत्यकामा कर्फ्यू हटयो, चहलपहल बढ्यो

Bizness Post बिजनेस पोष्ट
|
१ वर्ष अगाडि

काठमाडौँ २७ भाद्र २०८२।

काठमाडौं, ललितपुर, र भक्तपुरमा आज (शुक्रबार) दिउँसो निषेधाज्ञा हटाइएको नेपाली सेनाले जनाएको छ। बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म कर्फ्यू पूर्ण रूपमा हटाइएको छ, जसले उपत्यकाका सडकहरूमा चहलपहल बढाएको छ। यद्यपि, बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म पुन: कर्फ्यू लागू हुनेछ।

सेनाका अनुसार, अत्यावश्यक कामका लागि बिहान ६ देखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न छुट दिइएको छ। यो समय दैनिक उपभोग्य वस्तुहरूको किनमेल, धार्मिक-सांस्कृतिक परम्पराको पालना, कर्मचारीहरूलाई कार्यस्थलमा पुग्न र फर्कन, तथा अत्यावश्यक कामका लागि मात्र सीमित रहेको छ।

नेपाली सेनाले जुलुस, धर्ना, र प्रदर्शनमा पूर्ण निषेध गरेको छ। कर्फ्यूको समयमा अनावश्यक आवतजावत र भीडभाडलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। बिहीबार साँझदेखि रातभर उपत्यकामा सैनिक मुख्यालयको निर्देशनमा उपत्यका पृतना र सैनिक प्रहरीले चेकजाँचमा कडाइ गरेको थियो।

सेनाले अत्यावश्यक सेवाको नाममा अनधिकृत व्यक्तिहरूको घुसपैठ हुन सक्ने सम्भावनालाई गम्भीरतापूर्वक लिएको छ। यसलाई रोक्न चेकजाँच र निगरानीमा विशेष ध्यान दिइएको छ।

आज दिनभर काठमाडौं उपत्यकामा सामान्य चहलपहल देखिए पनि नागरिकहरूलाई तोकिएको समय र नियमको पालना गर्न सेनाले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

Advertisement