युगकवि सिद्धिचरणका आत्म–विलौना खण्डकाब्य

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

स्वयम्भू शाक्य
आत्मा, शरीरको स्वामी हो । न यसको जन्म हुन्छ न मृत्यु । यो त शरीरजस्तो नाशवान होइन । यो त अपार छ । अविनाशी छ । सुख, शान्ति, प्रेम र आनन्दका लागि मात्र होइन ज्ञान, शक्ति र पवित्रताको लागि पनि आवश्यकता छ । परमात्मासँग जोड्नका लागि पनि खाँचो छ । न यसको उमेर छ न आवाज । यसको भोजन त स्वाध्याय हो । थाहा छैन, यो शरीरभित्र आत्मा कहाँ निर बस्छ होला ? वास्तविक शक्ति किन भनेको होला ? यो त ब्रह्म ज्ञानीहरुले सुक्ष्म चक्षुले हेर्ने कुरो हो । जीवात्मा बारे अध्ययन गर्ने विषय हो । तसर्थ जसरी देहभित्र प्राण रहन्छ त्यस्तै जीवत्वभित्र प्राण तत्व ।
जीवन, जन्म मात्र होइन मृत्यु पनि हो । त्यसैले यो जीवनभित्र हामीले थुप्रै कामहरु सकेर जानु छ । समय थोरै भएपनि लथालिङ्ग र भताभुङ्ग भएका सबै कुराहरुलाई तह–तह मिलाएर जानू छ । मुर्दा बन्नु अगाडि यो अविनाशी आत्मालाई परमात्माले स्याबासी पाउनु छ । त्यसैले होला आज युगकवि सिद्धिचरणको हृदयमा आत्म–विलौना भैरहेको छ । रुँदारुँदै मनका विलापहरू पोख्दैछन् । आत्मा र शरीरका गन्थनहरू गर्दैछन् । अविनाशी र अतीन्द्रियका कुराहरू उठ्दैछन् । सत्–चित्तको प्रश्न गर्दैछन् । अन्तकरणका चेैतन्य तत्वका कुरा मात्र होइन क्रिया र निक्रियाका कुराहरु चल्दैछन् ।


यो कुरो सत्य हो, मन भट्क्यो भने जीवन टुक्राटुक्रा भएर त्यसै खेर जानेछ । सबैतिर भताभुङ्ग भएर काम नलाग्ने हुनेछ । कालो अनि पीरो घुवाँले टम्म भरेपछि निसासिएर मर्नेछ । मेरो कुनै अस्तित्व हुने छैन । जसरी जन्मे त्यसरी नै मृत्यु भएर माटो हुनेछ । मलाई के थाहा, म को हूँ ? के गर्न आएको हूँ ? मैले के गर्नुपर्छ ? जीवन कसरी चलाउनु पर्छ ? बाँच्ने मात्र हो कि मरेर पनि केही पाउने हो ? यो भवसागरमा कसरी टर्ने हो ? अहँकारबाट कसरी मुक्ति पाउने हो ? आत्मतत्व कहिल्यै स्थिर हुने हो ? चिन्ताको नाश कसरी गर्ने हो ? वासनाको अन्त्य कहिले हुने हो ? रिस किन उठ्छ ? बदलाको भावना कसरी जागृत हुन्छ ? बन्धनलाई कसरी तोड्न सकिन्छ ? दुःख किन उत्पन्न हुन्छ ? सत्–कर्म कसरी गर्न सकिन्छ ? ब्रह्मज्ञान कोबाट पाउन सकिन्छ ? जीवन कालमै मोक्ष पाउन सक्छ सक्दैन, न मृत्युपछि मोक्ष पाउने हो ? ईश्वरको सान्निथ्य र संसारबाट मुक्ति कहिले हुने हो ?
सबैले बुझ्छन् , भताभुुङ्ग भएपछि सपार्न गाह्रो हुन्छ । सुझबुझ सबै लुप्त भएपछि म को हूँ भनी चिन्न पनि नसक्ने हुन्छ । धेरै गोता खाएको मान्छेको मुटु धेरै सारो हुँदो रहेछ । त्यस्तै भो आज युगकविले आफ्नो मनका बिलौना पोख्दैछन् । भत्केका कुराहरु बनाउन नसकेपछि , भताभुुङ्ग भएका कुराहरू मिलाउन नसकेपछि , टम्म भरिएको धुवाँ बाहिर पठाउन नसकेपछि , गोतौगोताले मुस्किल जीवन बिताउनु परेपछि मलाई कसरी थाहा हुन्छ र म हूँ ? किन यस धरर्तीमा जन्म लिएको हूँ ? मैले के गर्नुपर्ने हो ? कतै मेरो जन्म मर्नको लागि मात्र भएको त होइन ? छिया–छिया मुटु बोकेर बाँच्नुको अर्थ के हुन सक्छ र ? होइन भने हे ईश्वर ! मैले पूर्वजन्ममा के पाप गरे ? आज यो पापको फल भोग्दैछु । रोईरोई कति पतनको वर्णन गरुँ ? कति शिशिरको बयान गरुँ ? कति छाँगोबाट खसेको झरनाको कथा सुनाऊँ ? कति दुःखका कुराहरु सुनाऊँ ? मन पापी भएपछि कति स्वार्र्थीका कुरा गरुँ ? आँखा लोभी भएपछि देखेका जति सबै किन आफ्नो नबनाऊँ ? चाहे प्राणीलाई हिंसा गरेर होस् । चाहे झुठ्ठो बोलेर मान्छेहरुलाई ठगेर होस् । चाहे चोरेर भएपनि अर्काको सम्पति आफ्नो बनाएर होस् । चाहे ब्यभिचार गरेर भएपनि मोजमस्तीमा डुबेर होस् । मलाई त बाँच्नु छ । मलाई त सबै कुराहरुको आवश्यकता छ । भन्नेले भनिरहुन् । सुन्नेले सुनिरहुन् । यो जगत्मा म बाँचुन्जेल मेरा इच्छा र आकांक्षाहरु पूरा गर्न सकोस् ।
के मान्छेको जूनीमा लोभीपापी भएर मात्रै सधैँ बाँच्न सकिन्छ र ? यो हुनै सक्दैन । किनकि मान्छेको मन त कोमलो भएको विवेकशील प्राणी हो । उसको मनभित्र दया र माया छ । प्रेम र स्नेह छ । तैपनि किन मान्छे लोभीपापी बन्न खोज्छ ? किन अहंकारमा बाँच्न खोज्छ ? यो त समयलाई चिन्न नसकेर समय–शिशुको हत्या हो । आफूले आफैंलाई नै आगोमा होमिनु हो । पछुतोमा सम्झनाले पोल्नु हो । त्यसैले हामी त मान्छे हौ । मान्छे कहिले पशु बन्न सक्दैनौं । मान्छे कहिले विवेकहीन हुन सक्दैनौं । मान्छेले त यो जूनीमा मात्र होइन त्यो परसम्मको कुरा सोच्नु पर्ने हो । ठिक–बेठिक छुटाउनु पर्ने हो । तर किन यो हुन सकिरहेको छैन ? मलाई यसैमा पछुतो छ ।
म भत्कँे हा ! बिगँ्रे सबतिर भताभुुङ्ग हुन गो
उडी कालो पिरो विषमय् धुवाँ टम्म भरियो
म को हूँ , के हूँ को सुझबुझ सबै लुप्त हुन गो
हरे ! गोता खाएँ अब त कहनै मुस्किल पर्यो ।
अहो ! रोई रोई कति पतनको वर्णन गरुँ !
मझैँ लोभी, कामी जगत्भर को हुन्छ र अरु !
म पापी, हत्यारा समय–शिशुको निर्मम बडो
गुमे धेरै मौका अब त रहिगो मात्र पछुतो ।

मेरो जीवन सिमलको भुँवाजस्तो हलुको भएर आकाशमा फनफनी घुमेर कुन बेला खस्ने हो । हावा जता लाग्छ उतैतिर लागेर यो जीवन कति बेला अस्तव्यस्त हुने हो ? मलाई के थाहा, म त्यान्दो भएको बेला हुरी बतासले कता लाने हो ? म पागल भएको बेला मेरा बानी व्यहोराहरु त्यसैत्यसै बिग्रिने हो । त्यसैले आज म चिन्तित छु । मेरो कर्मको फल भोग्दैछु । जे रोज्छु त्यहि फलेर हिजोको रोपाईमा मेरा पछुतो छ । हो, म मान्छे तर म कहाँ गएर के हुने हो ? कता गएर मर्ने हो ? कुनै ठेगाना छैन । किनकि म त आकाशमा फनफनी घुम्ने सिमलको भँुवा हुँ । मेरो कुनै भर छैन । म त कुनै बेला दुर्घटनामा पर्न सक्छु । चुडेको चङ्गाजस्तो दिशाहीन भएर विपतमा पर्न सक्छु । क्षिणभरमै यो शरीर लासमा परिणत हुन सक्छु । त्यसैले हे ईश्वर ! मलाई शक्ति देऊँ । मलाई विवेक देऊँ । ताकि म हावाहुरीको चंगुलबाट उम्किन सकूँ । बेहोसबाट होशमा आउन सकूँ । आपत विपतबाट बच्न सकूँ । सत्कर्म गरी यो चोला पानीझै सलल् बग्न सकूँ ।
मलाई थाहा छ । यो मेरो पूर्वजन्मको फल होइन । यो त मैले रोपेको कर्मको फल हो । विवेक हराएको परिणाम हो । फोहरमा हिँडेको अवस्था हो । त्यसैले म जे छु त्यसैमा रमाउन सक्छु । मेरो गछेँ अनुसार चल्न सक्छु । इच्छा र आकांक्षाहरु त धेरै होलान् तर त्यसलाई पनि बार लगाउन सक्छु । फुल्नै नसक्ने गरेर माटोमै सुकाउन सक्छु । तब पो मनमा शान्ति हुन्छ । अँध्यारो मनमा ज्योति बन्न सक्छ । होइन भने यो मन त सदाका निम्ति लोभीपापी बनेर मान्छेको रगत पनि चुस्न सक्छ । मान्छेको मासु पनि खाऊँ खाऊँ लाग्न सक्छ । धिक्कार छ त्यस्तो मनलाई । धिक्कार छ त्यस्तो विवेकहीन मान्छेलाई । जहाँ मान्छेले मान्छेलाई नै नचिनेर मान्छे पशु बनिरहको छ । हे ईश्वर ! त्यस्तो अन्याय र अत्याचारीहरुलाई यो धरर्तीबाट उठाइदेऊ । भताभुुङ्ग हुने गरि विगार्नेहरुलाई मुटुमा भालाले रोपिदेऊ । ताकि उसलाई पनि पीडाको महसुस होस् । भल्लभल्ती रगत बगेको बेला मान्छे कति अतालिन्छ भन्ने कुरा देखाइदेऊ । चेतनाको जन्म कसरी हुन्छ भन्ने कुरा सम्झाइदेऊ । सानो झिल्कोनै किन नहोस् उसको हृदयमा पनि ज्योति बालिदेऊ । म चाहन्छु , मान्छेको जूनीमा रतिराग मात्र होइन गिर्दोरसले पनि छुन नसकोस् । नानाभाती कुराहरू जीवनमा कहिल्यै देख्न नपाओस् । म को हूँ ? के हूँ ? सच्चा अमृतरसलाई कुल्चेर दिनदिनै फोहर बिषलाई बोकी हिँड्ने मान्छे हुँ । सबै कुरा बिर्सेर मेरो मात्र सोच्ने मान्छे हुँ । इन्द्रियलाई सुख सुविधा दिई जीवनभर बाँच्नुपर्ने मान्छे हुँ । धर्मकर्म मलाई केही थाहा छैन । मलाई त मनले जे माग्यो त्यही गर्ने मान्छे हुँ । इन्द्रियलाई सुख सुविधा दिई जीवनभर बाँच्नुपर्ने मान्छे हुँ । त्यसैले मलाई चरित्रको कुनै अर्थ छैन । नैतिकताको कुनै मूल्य छैन । मान्यताको कुनै ठाउँ छैन । विवेकको कुनै ज्ञान छैन । मलाई त वर्तमानको ठुलो अर्थ छ । अहिलेसम्म भविष्य कसैले देखेको छैन । नदेखेको कुरा मैले सोच्नु आवश्यक छैन । किनकि यो संसारनै क्षणिकवादमा बाँचिएको छ । आज छ भोलि नहुन पनि सक्छ । सबै कुराहरू एक दिन भष्म भएर जानेछ । दृष्टि जतिसुकै पुप्याए पनि, सामर्थ जतिसुकै बनाए पनि, आखिर यो तृष्णौ तृष्णाको संसारिक मायामोहमा म पनि बाँच्नु छ । तिमी पनि बाँच्नु पर्छ ।
यो मनुष्य जीवनमा दुःखको मुख्य कारण तृष्णा हो । त्यसैले तृष्णालाई जति सकिन्छ त्यति हृदयबाट टाढा राख्ने हो भने अवश्य पनि दुःखको निवारण हुनेछ । कुशल कर्मले जीवन हराभरा भएर जन्मेदेखि नमरुन्जेलसम्म दुःखै दुःखको यो भवसागरमा दुःखबाट छुटकारा पाउनेछ । सदाचारणले जीवन यापन हुनेछ । हृदय एकचित्त भई वास्तविक स्वरूपको सम्बन्ध देखिनेछ । आसक्ति, द्वेष र हिंसाबाट मुक्त भएर जीवन सुखमय् हुनेछ ।
म त्यान्द्रो हावाको हुरिबीच बढी फन्फन घुमी
कहाँ गै खस्ने हूँ ? रति पनि हरे ! होश नहुने
चुँडेको धागोझैँ गगनबीच चंगासरि भएँ
हरे ! के भो ! के भो ! अतिशय विपत्को बीच परँे ।
म कस्तो ? हूँ ? के हूँ ? भुलिकन सबै आज यसरी
म गिर्दै जाँदो छू विषय रसमा हाय् कसरी
हरे ! छाडी सच्चा अमृत–रसमा हाय् कसरी
म बोकी हिँड्दैछु दिनदिन यहाँ फोहर बिष ।

बागभित्र मन लोभ्याउने थुप्रै रङ्गीबिरङ्गी फूलहरु प्रकृतिसँग हाँस्दै खेल्दै जीवन गुजारिरहेका छन् । न उसलाई तृष्णा छ न कसैप्रति माया र मोह छ । कति मिठो जीवन । धन्य, हाम्रो जीवन पनि त्यस्तै गरी बिताउन पाए हुन्थ्यो । तृष्णा भन्दा टाढा भएर आसक्ति, द्वैष र हिंसाबाट मुक्त भएर हामी पनि बागभित्रको फुलजस्तै सबैलाई लोभ्याउने हरियाली बन्न पाए हुन्थ्यो । झुुलेका, पाकेका, फलफूलजस्तै मिठो रसलाग्दो हुन पाए हुन्थ्यो । तर खै मेरो जीवन दारुण व्यथा बोकेर अहिलेसम्म बाँचिरहेको छु । कति अबुझ मूर्ख रहेछु । समय त्यतिकै खेर फालेर आफूलाई कतिको सौभाग्य ठानिरहेछु । गाढा निन्द्रा अनि विषय मदले म मस्त भएर कति सुतिरहेको छु । म को हूँ ? के हूँ ? म आफैलाई थाहा छैन । त्यसैले यो जीवन म आफूलाई नै भार भइरहेको छ । काहाँ कुन बेला यो भारी विसाएर म को हूँुँ भनी आफूले आफैलाई सोध्न मन लागिरहेको छ ।
म लाटो गोज्यांग्रो मेरी अगाडि लतरम्म फलेका फलफूलहरु पनि टिप्न नसकी आजसम्म खान सकिरहेको छैन । किनकि ममा चेतना छैन । मैले त टाढाको कुरा मात्रै देखिरहेको छु । आफ्नै अगाडिका कुराहरू बिर्सिएर म लाटो गोज्यांग्रोे अर्काको लैलैमा लागेर हो हो भन्दैछु । चटकेले हँसाएजस्तो, चटकेले रुवाएजस्तो म पनि त्यस्तै हाँस्दै रुँदैछु । मलाई के थाहा चिन्ताको ज्वाला कस्तो हुन्छ ? छटपटीले कहाँ पुर्याउँछ ? बाटो भुल्दा कसरी गन्तव्य पुग्छ ? त्यस्तै भो म सिधासादा मान्छेलाई ।
अँध्यारो, उज्यालोको शत्रु हो । त्यसैले त्यो अँध्यारो खाल्टोमा मान्छेको जीवन कति अलमल हुँदो हो । आँखा भएर पनि केही नदेखेपछि यो जीवन कहाँ गएर सकिने हो ? कता गएर ठोकिने हो ? त्यसैले त्यो अँध्यारो खाल्टोेबाट मान्छे उठ्नु पर्छ । एकमुठ्ठी उज्यालो दिएर भएपनि चिप्लाबाटाहरू देखाइदिनु पर्छ । अँध्यारो त्यो भुमरीबाट मैले पार नगरी त्यसै बस्नु हुँदैन । किनकि त्यो अँध्यारो खाल्टोेले धेरै मान्छेहरु खाइसके । कति मान्छेहरुको ज्यान गइसके । अब त्यो बाटो हिड्नु हुँदैन । उज्यालो भएको बाटोहरुमा लाग्नुपर्छ । ताकि यो आँखाले नदेखे पनि मनको आँखाले देख्न सकोस् । जीवन सुखमय् हुनका लागि निर्मल मन लिएर हिँड्न सकोस् । हो, मान्छे कसैको कठपुतली हुन सक्दैन । तर यो माया र मोहले असंख्य मान्छेलाई कठपुतली बनाइरहेका छन् । जीवनलाई नै व्याकुल बनाइरहेका छन् । आफ्नो थलो बिर्सेर अर्काको थलो किन प्रिय बन्दैछन् ?
बगैंचा यो राम्रो प्रकृति–कृतिले सज्जित अति
झुलेका, पाकेका फलफूल यहाँ छन् कति कति
म लाटो, गोज्यांग्रो तर फल कुनै टिप्न नसकी
लिई चिन्ता ज्वाला छटपट हुँदैछु नि कसरी ।
अँध्यारो खाल्टोमा कति रुमलिँदै जीवन भरी
म के यो गर्दैछु विषय–भुमरी पार नगरी
सबै मायाँको नै कठपुतलीझैँ व्याकुल भएँ
थलो आफ्नो बिर्र्सी मरु–थलमहाँ भट्कन गएँ ।

हामी मान्छे भएर जन्मिएपछि आफ्नो सुख सुविधामात्र खोज्ने होइन अरुको सुख सुविधा पनि खोजी दिनुपर्छ । मै खाउँ मै खाउँ मात्र भन्नु हुँदैन अरुलाई पनि खुवाउन पसिना बगाइदिनु पर्छ । जसरी म बाँच्न चाहन्छु त्यसरी नै अरुलाई पनि बाँच्न दिनुपर्छ । तब पो मान्छे–मान्छे भएर सह–अस्तित्वको सिद्धान्तमा रमाउन सकिन्छ । मलाई दुःख हुँदा आकाशले थिचेजस्तो हुने अरुलाई दुःख हुँदा केही मतलब नगर्ने हो भने मान्छे कसरी मान्छे भएर बाँच्न सकिन्छ ? मान्छे कसरी समाजमा अटाउँन सकिन्छ ? यो त दुःखको कुरो भो । एउटै समाज एउटै परिवेशमा बाँचेपछि हामी सबैले हाम्रो कल्याणको लागि पाइला चाल्नै पर्छ । होइन भने यो जीवन समाज भएर पनि एक्लो हुनेछ । घना जङ्गलको बीचमा डराईडराई एक्लै जीवन गुजारा चलाउनु पर्नेछ । त्यसैले मन विशाल भएर मात्र हुँदैन । त्यो विशाल मनमा घामपानी अटाउन सक्नुपर्छ । सुख र दुःखका कुराहरु बुझ्न सक्नुपर्छ । म र मेरो भन्ने कुराहरु छोड्न सक्नुपर्छ । डढेलो लाग्दा जलनका कुराहरु बुझ्न सक्नुपर्छ । होइन भने समाजमा म डर्दै जाँदा यो समाजले पनि भरथेक गर्ने छैन । प्रतिपल जलन भएर पीडित हुँदा कोही कसैले तिमीलाई हेर्न आउने छैन । यो त मान्छेको स्वभाव हो । पानीले पानीलाई तानेजस्तै मान्छेले मान्छेलाई सहयोग नगर्ने हो भने तिमीलाई भुलेर पनि फर्केर हेर्ने छैन । यो नै कट्टु सत्य हो । त्यसैले हाम्रो समाजमा दुःख छ । दुःखको कारण छ । दुखको निरोघको मार्ग पनि छ । यसलाई कसरी हेर्ने हो ? दृष्टि पुर्याउनु पर्छ । संकल्प गर्न सक्नु पर्छ । असल कर्म गरी सदाचारमा सत्य र मृत्युवाणीको प्रयोग गर्न सक्नुपर्छ । तब पो हामी मानव भएको ठहर्छ । दुःख पीडालाई पन्छाएर दुःख पीडाको अन्ततिर लान सकिन्छ । यो नै जीवन हो । के हामी यस्तो जीवन पाउन सक्दैनौ ? के हामी सह–अस्तित्वमा बाँच्न सक्दैनौ ? होइन भने दुःख पीडा बोकेर केको लागि हामी बाँचिरहेका छौं ? दुर्गन्धमै रमाएर केका लागि घृणित दहमा पौडिरहेका छौं ? थाहा छैन, कहाँ गो मेरो त्यो चिरतम थलो मङ्गल घुन ? कहाँ गो मेरो भ्रमलाई हटाउने देशनाको थलो ?
त्यो विषादी कालो दुःखलाई चात्न नसकी आज किन चौरासीमै फनफन घुमाइरहेछु ? मैले सबै कुराहरू बुझेर पनि म किन यति अबुझ भएको होला ? मेरो मात्र चाहनाले मैले यति धेरै दुःख किन पाएको होला ? धिक्कार छ मेरो जन्म ! म त मानव हुँ । मानव धर्म किन आत्मसात गर्न सकिएन ? आत्माको सम्बन्ध मनसित मात्र हुन्छ भने कुरो मलाई थाहा हुँदाहुँदै इन्द्रियलाई मैले किन स्वतन्त्र छोडियो ? यो पञ्चतत्वको शरीर नरहँदा पनि ज्ञान त रहिरहन्छ । तर यो आत्माले किन शरीरलाई नियन्त्रण गर्न सकिएन ? शास्वत धर्म, अनन्त मार्ग र अनन्त कानुनलाई हामीले किन सत्यबोध गर्न सकिएन ? त्यसैले सदाका लागि मानव भएर आनन्द पाउनुछ भने तिमीले दुःख र पीडालाई निलेर मानव कल्याणका लागि केही गर्नुपर्छ । मानवभित्रका विकृति विसंगतिहरुलाई स्वरूप परिवर्तन गरेर दुःखको सागरबाट टर्न सक्नुपर्छ । तब पो हामी मानव भएको सार हुनेछ । मान्छेले मान्छेलाई मान्छे भएर चिनिनेछ ।
मया, मोह, ईष्र्या र छलकपटले मान्छे उकालो होइन ओरालोतिर लाग्ने गरिन्छ । मन चुम्बकले खिचेजस्तै यताउता जाँदो रहेछ । किन होला, यो पापी मन सधै किन उम्लिरहन्छ ? पोख्नको लागि त होइन ? नत्र किन यति धेरै चञ्चल भएर हिँडिरहन्छ ? कतै ठक्कर खानलाई त होइन ? कतै दुर्घटना हुनलाई त होइन ? नत्र किन यति धेरै सलबलाइरहेको छ ? नदीको छाल उर्लिएको बेला मान्छे कसरी नदी टर्न सकिन्छ र ? समाउने र टेक्ने ठाउँ नभएपछि मान्छेको हुती कहाँ हुन सक्छ र ? त्यसैले हामी त जातोमुनि पिल्सिएको गहुँजस्तो फनफन घुमेर धुलोपिठो बनेर एकदिन मर्नेछ ।
कहाँ गो मेरो त्यो चिरतम थलो मङ्गल धुन
म तुच्छो दुखीभै भ्रमबीच यहाँ रिङ्दछु किन
विषादी यो कालो दुःख घनघट्टा च्यात्न नसकी
परी चौरासीमा फनफन घुमी बस्दछु कति ।
म के गर्दागर्दै किन हुन गएँ यति अबुझ ?
हरे ! यो त्यो भन्दै दुःख दहन खप्ने झनझट
चिताएकोले नै सुख दुःख न हो नत्र सकियो ?
सदा सत्आनन्दै परम पदले मिल्दछ अहो ।
हुरी, आँधी, ईष्र्या, छलकपटको मोह, मदको
छ उर्लेको यस्तो कसरी म तरुँ छाल नदिको
कुनै अड्ने मेरो हुतिबल यहाँ छैन अब क्यै
गहुँझैँ जाँतोमा फनफन घुमी जान्छु पिँल्सिदै ।

आत्मानै ब्रह्म हुन । ब्रह्मले जे देख्छ मान्छेले त्यही गर्नुपर्छ । किनकि त्यसमा छलछाम हुन सक्दैन । रिसराग र ईष्याका कुनै शेष बाँकी हुँदैन । त्यसैले मान्छेले विकृति र विसंगतिलाई आफ्नो स्वरूप सम्झनु हुँदैन । यसले त दुःखको उत्पति हुन्छ । त्यही दुःखले मान्छेले जानीनजानी कहाँ कतातिर लगेर बलीको बोकोलाईझैँ चुपीले घोचेर मार्नेछ । यो भवसागरमा अर्को एउटा दुःख थपिनेछ ।
समय आउनुपर्छ सबै कुराहरु मिलाएर जानेछ । भत्के बिग्रेका कुराहरु सप्रिएर जानेछ । बलवान कुराहरु टुक्राटुक्रा भएर जानेछ । सबैलाई पाठ पढाएर म को हूँ भनी देखाउनेछ । त्यसैले यो मेरो शरीर हिजो बलियो थियो, आज गलेर गइसके । भोलि काम नलाग्ने भई एकदिन मृत्यु हुनेछ । अस्तित्व समाप्त हुनेगरी संधाकानिम्ति आगोसँगै धुवाँ भनेर जानेछ । हामीलाई थाहा छ, मान्छे मरेपछि मोक्ष नै सर्वोच्च स्थान हो । मोक्ष यो संसारबाट मुक्ति हुने मार्ग हो । ईश्वरको सानिध्यमा पुग्ने बाटो हो । तसर्थ हामीले मुक्ति पाउनु छ भने सत्कर्म गर्नु आवश्यक छ । दीर्घकालीन सुखको लागि मन, वचन र कर्मले एउटै मार्गमा हिँड्न आवश्यक छ । तर किन यो भैरहेको छैन ? काम, क्रोघ, लोभ र मोहले किन द्रुतगति लिँदैछ ? यो त आफूले आफैलाई सोध्नुपर्ने प्रश्न हो ? म छलकपटको जाल बुनेर कसैलाई फसाउँदै छु । जसरी माछो पर्छ त्यस्तै मान्छेलाई फसाएर आफ्नो दुनो सोझाउन चाहन्छु । मलाई कसैको मतलब छैन । मलाई त मेरो मात्र मतलब छ । किनकि यो मतलबी संसारमा दयामायाले होइन छक्कापञ्जाले मान्छेलाई समात्नुपर्छ । आफ्नो स्वार्थ पूरा गरेपछि आफै रोएर देखाइदिनु पर्छ । तब पो अरुले केही भन्न सक्दैन । मेरो आँखामा आँसु छ । आँसु चुहेएपछि मान्छेले मलाई बाङ्गोटिङ्गो कुरा गर्न सक्दैन । यो नै आजको रणनीति हो । यो नै आजको मान्छेको लक्ष्य हुनुपर्ने हो । नत्र यो दुःखी संसारमा मैले मात्र कति अरुलाई कल्याण गरौं ? मलाई समस्या पर्दा के भयो भनी कोही आउँदैन भने मैले मात्र अरुलाई किन हेरौ ? यो नै घ्रुवसत्य हो । आज यसरी नै बाँच्नुपर्छ । भोलि के हुन्छ थाहा छैन, त्यो त हेर्न बाँकी छ । भोलिको कुरो हामीले अहिले सोचेर हुँदैन । आज मरिन्छ भने भोलि हामीले देख्न सक्दैन । त्यसैले यो एकबारको मोजमस्तीको जीवनमा आनन्दले बिताउनुपर्छ । चाहे अर्काको सम्पति लुटेर होस्, चाहे अर्काको सम्पति खोसेर होस् । आफ्नो बनाएपछि आफूलाई जसरी मन पर्छ त्यसरी खर्च गरेर जीवन बिताउन पाउनुपर्छ ।
मलाई थाहा छ्र,यो जालले एकदिन म आफै फँस्नेछ । हलचल गर्न नसकेर रुँदै जीवन बिताउनु पर्ने छ । कालो फन्दामा फसेर अँध्यारोमा रात बिताएको कुरा सुन्दा दुरदुरसम्म मान्छेहरुले मेरो कुरा काट्ने छ । किनकि म अहंकारी थिएँ । कसैको कुरा नसुन्ने बलवान मान्छे थिएँ । मलाई समाजले यस्तै बनायो । किनकि समाजमा थिचोमिचोको शासन थियो । एउटाले अर्कालाई कुल्चिने नियम थियो । मान्छे–मान्छेको बीच भेद थियो । मान्छेले मान्छेलाई पशुको व्यवहार गथ्र्याे । त्यसैले म अहंकारी भएँ । काम, क्रोध, लोभ र मोहलाई मैले आत्मसात गरे । यो मेरो भूल थियो । त्यसैले आज म पश्चाताप गर्दैछु । अब मसँग समय छैन । जति बाँकी रहन्छ त्यही बेलासम्म समाज सुधारका लागि लागिपर्नेछु ।
घटे मेरा सारा हुती बलहरु इन्द्रिय गले
भएँ थोत्रो बोरा तर पनि हरे गर्दछु म के
भयो काया थोत्रो तर छ अझ तृष्णा बलबती
बढेको ईष्र्याको तर छ अहिले यो द्रुत गति ।
म नै बुन्छु जालो अनि अघि सरी फँस्दछु म नै
कसोरी उम्काँैला भनिकन रुँदै बस्दछु म नै
म को कालो फन्दा बुझी नसकिने भन्दछु म नै
म भन्ने, को होस् ? जा ! तँ त अघि नआ दुरदुर मै ।

 अहँकार, आँखाले होइन मनको आँखाले मात्र देख्न सकिन्छ । यो अति सुक्ष्म छ । यसलाई आत्मतत्व नभएको मान्छेले देख्न सक्दैन । कुशल र अकुशल छुटाउन नसक्ने मान्छेले बुझ्न सक्दैन । वास्तविक स्वरूपसँग जागरुक नहुने मान्छेले थाहा हुँदैन । त्यसैले चित्त शुद्ध हुनुपर्छ । शुद्ध चित्तमा अहंकार बस्न सक्दैन । अर्काको कुभलो चिताउन सक्दैन । मानव कल्याणका लागि कुनै सीमा र बन्धन हुन सक्दैन । अलिकता त्याग चाहिन्छ, अलिकता अनुसरण चाहिन्छ कुशल कर्मले मान्छे मृत्युसँग पनि डराउँदैन । मान्छे मृत्युको भयले अन्याय सहेर बस्न सक्दैन । पुरानो पिढिको अन्त्य भएर नयाँ पिढीको जन्म हुन्छ । यो नै भवसागरको नियम हो । 
 भनिन्छ, इन्द्रिय भन्दा मन बलवान हुन्छ । मनभन्दा बुद्धि र बुद्धि भन्दा आत्मा अझ बलवान हुन्छ । तर मान्छे किन आत्मालाई बलवान ठान्न चाहन्न । इन्द्रियको सुख सयलमा किन बाँच्न चाहन्छ ? मृगतृष्ण बनेर यताउता किन भौतारिँदै हिँड्न खोज्छ ? जीवन र मृत्युको एउटै आयाममा मान्छेले किन दुई चरण देख्न थाल्छ ? हामी अमृतदहमा पुगौला नपुगौला तर हाम्रो गन्तव्य अमरपदमा हुनेछ । हामी जलनको बाटो छोडौला नछोडौला तर अकुशलताको बाटोले नरक पुग्नेछ । त्यसैले मानवताबिनाको धर्म र विवेकबिनाको सुख व्यर्थै छ । 
 क्रिया नाश भएपछि चिन्ताको नाश हुन्छ । त्यसैले होला मान्छेको बन्धन उसको क्रियाको कारण हो । कर्म र अकर्म छुट्याउन नसकेर, मुक्तिको मार्ग नशाले भुलेर, सहि र गलत छुटाउन नसकेपछि दुःखको कारण यसै जन्मिने भो । मान्छेलाई दुःखैदुःखले त्यसै लखटिने भो । पतनको बाटोसम्म, मान्छे टुक्राटुक्रा नभएसम्म, यो नश्वरतासँगै छायाँ बनेर पछिपछि लागेर हिँड्ने भो । 
 यो कुरो सत्य हो, प्रेम, माया र स्नेह मान्छेले बनाउन सक्दैन । यो हृदयबाट जन्मिने कुरो हो । त्यसैले यो भूतलमा मै खाऊँ मै लाऊँ सुखसयलमा मै बस्नु भनि हर्दम कुँडेर हिँड्ने अज्ञानी मान्छेहरुलाई कहिले ज्ञान आउने हो ? जन्मजात करुणा पलाउने हृदयमा कहिले दया भरिने हो ? यही नै अलाप र विलापको विषय हुनेछ । हृदयभरि बिलौनाको कुरो चल्ने छ ।
 मान्छेलाई अलिकता मानसम्मान चाहिँदो रहेछ । सबैले आदर गरिदिए हुन्थ्यो । एक खुड्किलो माथि चढेर मेरो आसन बनाइदिए हुन्थ्यो । मेरो कुरो सबैले सुनिदिए हुन्थ्यो । आखिर मान्छे न हो, मान्छेको जातै लोभीपापी हुन्छ । धेरैथोरै यो कुरो मात्र हो सबैैको मनमा ईष्याको भाव हुन्छ । म राम्रो छु । यसैमा कसैको जलन छ । म आर्थिक रुपमा अलि सम्पन्न छु । यसैमै कसैको ईष्या छ ।  मैले प्रगति गर्दैछु, यसैमै कसैको दाहा छ । खुट्टा तानीतानी मान्छेले मान्छेलाई पछार्न खोज्दैछ । खाल्टो खनेर छलकपटले पूर्न खोज्दैछ । यो के हुँदैछ ? यो किन चल्दैछ ? हाम्रो समाजले यसलाई किन मान्यता दिँदैछ ? 
  अनौठो छ हाम्रो समाज, समाज होइन । समाजको नाममा मान्छेको बस्ती हो । जहाँ जसले जे गरे पनि हुन्छ । अन्याय र अत्याचारले अमानवीय कार्य गरे पनि हुन्छ । त्यस्तो समाज पनि समाज हुन सक्छ र ? यो हुनै सक्दैन, समाजले त न्याय दिन सक्नुपर्छ । विभेदलाई अन्त्य गर्न सक्नुपर्छ । हामीलाई खुट्टा तान्ने समाज चाहिँदैन । उचनिच भनी भेदभाव गर्ने समाजको आवश्यकता छैन । यो त समाजको नाउँमा कलङ्क हो । छलकपट गर्नेहरूको आश्रय हो ।
  पुगौँला झैँ मेरो अमर पद नै देख्छु नजिक 
  न छोडी यो लण्ठा तर परिरहेँे घोर नरक 
  मलाई गाह्रो भो किन नरकको छोड्न जलन ?
  म जल्दै जाँन्दो छु अमृत–दहमा पुग्दिनँ किन ? 
  म यो के गर्दैछु अझ पनि नचेती कन अहो ! 
  म बढ्दै जाँदैछु पतनतिर नै हाय ! किन यो ? 
  मिठो खाऊँ लाऊँ सुख–शयलले मोज म गरुँ 
  भनि हर्दम् लागी कुमतिर बढ्छु खुरुखुरु  ।
  अरुको देख्दामा अलिकति बढी मान धन क्यै
  म तड्पी ईष्र्याले फनफन भई जल्दछु सधैँ  
  गई खुट्टा तानी उसकन पछार्ने यतनमा  
  म लागेको हुन्छु छलकपटको आश्रय महाँ ।   
 यो जिब्रोले मान्छेलाई कमारो बनाउन सक्दो रहेछ । सधैं आफ्नो अधीनमा राखेर आफुले खोजेको चीज स्वाद लिईलिई खाने भन्छ । मिठो मसिनो जिब्रोमा झुन्डिने खानेकुराहरु सधैं यो जिब्रोले माग्ने गर्छ । त्यसैले मान्छेहरु भन्ने गरिन्छ,विचार गर्नु है यो मुखमा संसार अटाउन सकिन्छ । एकचोटि मान्छेलाई बशमा पारेपछि, एकचोटी मान्छेलाई लतमा पारेपछि के चाहियो र ? कुलतमा गएर भएपनि सधैँ मिठो मसिना खाऊँखाऊँ भन्छ । चाहे चोरेर होस् ,चाहे डाँका डालेर होस् उसलाई खाने बेलामा रमाईरमाई स्वाद लिएर खानुपर्छ । हो आज पानी परिरहेको छ । समय अनुकूल छैन बहाना चाहियो । अलिकता सितनमा सोमरस पिउँदा बेग्लै मजा आउँछ । हिजो साथीहरुसँग होटलमा खाएको मिठो लागेन । आज मिठो होला । जीवन भनेको यस्तै हो । समय बित्छ एकदिन मर्नु पर्छ । त्यसैले समयमै मोजमस्ती गर्नु पर्छ । समय बितेपछि न खान पाउँछ न खाएर पचाउन सकिन्छ । त्यसैले यो अन्नपानीको जीवनमा यश, ऐश्वर्य र उपभोग गर्न जान्नु पर्छ । उपभोग छैन भने त्यो मान्छे होइन । त्यो त निरस भएर बित्नेछ । रसबिनाको फलफूलजस्तै निचोरिएर मर्ने छ । जसले जेसुकै भनुन् यो जीवन मेरो हो । मेरो जीवनमा जेसुकै गरी बाँचौं अरुलाई के मतलब ? 
 मैले लाए खाएको देखेर मान्छेहरु ईष्र्या गर्छन् । सके आफू पनि खानु न । होइन भने अरुको जीवनमा प्रश्न उठाउने उसलाई अधिकार छैन । मैले के बिगारेको छु र जसरी भएपनि आफ्नै सम्पति बेचेर खाएको छु । मलाई धेरै अर्ति नदिनु । किनकि यो संसारमा धेरै मान्छेहरु अर्ति दिन्छन् । तर आफूलाई परेको बेला रोएर बस्ने गर्छन् । त्यसैले मलाई त्यस्तो मान्छे मन पर्दैन । यो समाजमा जोसँग पैसा छ उहीसँग सबै थोक पाउने गरिन्छ । हाम्रो समाजले जसरी चलाउँछ म त्यसरी चल्ने मान्छे हुँ । किनकि म एक्लैले समाज परिवर्तन गर्न सक्दैन । समाज परिवर्तन गर्न त समाजभित्रका मान्छेहरुको विचार परिवर्तन हुनुपर्छ । खै मिलेको ? खै बुझेको ? यो समाज परिवर्तन गर्नको लागि खै कसले आवाज उठाएछ ? सबै चुपचाप र गुमनाम छन् । त्यसैले म त समाजको एउटा मान्छे मैले के गर्न सक्छु र ? मैले जति चिच्याए पनि यो समाजले नसुनेपछि बाध्य भएर मैले पनि चोर्नुपर्छ ? मैले पनि डाँका डालेर भएपनि धन कमाउनु पर्छ । यो समाज त पैसाको समाज हो । जोसँग पैसा छ उसैले मात्रै हाक्ने यो समाज हो । 
 मान्छे सदाचारी भई नदीजस्तै बग्न सक्नुपर्छ । सोझ र सरल बनेर जीवन यापन गर्न सक्नुपर्छ । तर मैले किन सकेन ? देख्दा सफा सुग्घर भएपनि मेरो भित्री मन किन फोहर छ ? यो त्यो भन्दै मनमा किन पामर भएछ ? मैले चाहेको होइन मलाई बाध्यताले लगेको हो । यो संसारमा कोही मान्छे खराब हुँदैन । खराब हुन त वातावरणको ठूलो भूमिका हुन्छ । हो, म जोगिन सकेन । जोगिन्दाजोगिन्दै मलाई त्यस्तो ठाउँमा पु‍यायो जहाँबाट फेरि अर्के मान्छे भएर जन्मे । त्यसैले अब म चाहेर पनि यो बाटोबाट निस्किन सक्दिन । समय बितिसकेको छ । साँझ पर्न लागिसक्यो । रात हुनलाई एक भित्ता मात्रै बाँकी छ । मलाई जसले जेसुकै भनुन् । हेला, निन्द्रा, मानवकै कलंकनै किन नभनुन् । अब म यो भुमरीबाट बाहिर आउन सक्दिन होला । फनफन घुमेको यो भुमरीले अब मलाई घुमाई रहनेछन् ।   
  कमारो जिब्रोको भइकन सधैँ स्वाद लिइयो
  नमिठो मीठोको दश वरिपरी खुब लडियो 
  भयो जसले गर्दा नभई नहुने भोग मदिरा
  भयो मेरो बानी विविध रसमा तत्पर सदा ।
  सदाचारी सोझो सरल नभई फोहरी बनेँ
  सधैं यो त्यो भन्दै सकल मनमा पामर भरेँ
  मिठो खाऊँ राम्रो पहिरन गरुँ मोज म गरुँ
  भनि डुल्दा–डुल्दा अति म ठगिएँ के अब गरुँ ?
  गरुँ भन्दा–भन्दा समय सब ठण्डा भइसक्यो 
  सुनी निन्दा, हेला मन र तन मन्दा हुन गयो
  लिँदा गन्दा धन्दा फनफन म फन्दा बीच परेँ
  बितण्डाको डण्डा वरिपरि म अन्धो हुन गएँ ।
 तृष्णनै दुःखको मुख्य कारण हो । ईष्र्यानै चित्तलाई बिगार्ने माध्यम हो । त्यसैले हामी यो जीवनलाई बचाएर राख्ने हो भने त्यस्ता तत्वहरुवाट पर बसी ज्ञान चक्षुले हेर्न सक्नुपर्छ । होइन भने अज्ञानले गर्दा हामी यथार्थलाई देख्न सक्दैनौ । सत्यसम्म पुग्न सक्दैनौ । आफूले आफैलाई बुझाउन नसकी मोक्षको मार्ग बिर्सिन सक्छौ । हो, हामी भक्ति मार्गमा लाग्नु हुदैन । ज्ञान मार्गमा लाग्नुपर्छ । हामी संख्या मार्गमा जानु हुँदैन । योग मार्गमा लाग्नुपर्छ । तब पो हामीले जीवन के हो बुझ्न सकिन्छ । यो छोटो जीवनमा प्रारम्भ र अन्तका कुरा थाहा पाउन सकिन्छ । अनादि र अनन्तका कुरा बुझ्न सकिन्छ । चित्तलाई एकाग्र पार्न सके चित्तनै सत्य हो भन्ने कुरा बुझ्न सकिन्छ । तसर्थ यो अज्ञानी इच्छा र सांसारिक माया मोहलाई एकछिन हामीले छोडेर मृत्युको शरणमा जानु छ । यो शरीरलाई यही छोडेर फेरि अन्त्यपछिको नयाँ यात्रा सुरु गर्नु छ । आज को मरे होला, म नजिक गएर हेरे । उसको प्राण गइसकेको छ । न आँखाले हेर्छ न मुखले बोल्छ । उसको शरीर आज लास बनिसकेको छ । लास हिँड्दैन, लास बोल्दैन । लासले त चिहान खोज्छ । दागबत्ती खान खोज्छ । हुर्रहुर्र आगोमा बलेर लासले पञ्चतत्वमा मिसिन खोज्छ ।
 खै आज उसलाई के लाग्यो ? आफ्नो शरीर त छोडेर गयो । धन सम्पति त टाढाको कुरो हो । त्यसैले मान्छेलाई बाँचुन्जेल के के चाहिन्छ तर मरेपछि केही नचाहिँदो रहेछ । चिरनिन्द्रामा कसैको कुरो पनि नसुन्दो रहेछ । मनमा कसैप्रति रिसराग र ईष्र्या पनि नहुँदो रहेछ । शान्त भएर परमात्मासँग संवाद मात्र गर्दोरहेछ । अनौठो छ,यो जीवन ! अब लासलाई नदीको किनारमा जलाउने छ । आफन्तहरु एकछिन रुने छन् । साथ दिएजस्तो परिवारजनलाई श्रद्धाञ्जली व्यक्त गरिनेछन् ।
  मरेको त्यो को हो ? अलिकति बढी हेर पर गै
  अहो ! त्यस्को सारा हुति, बल गयो छैन अब क्यै
  सधै हिड्थ्यो मेरो भनिकन सबै मान–धन यी 
  लग्यो त्यस्ले के के भन कुन कुरा सञ्चय गरी ? 
  न देख्ने, सुन्ने क्यै न त रस लिने शक्ति उसको
  हरे ! मुढो जस्तै अब लडिरह्यो जीवन गयो 
  कतै ! रुन्छन् स्वास्नी संगी सुत सबै किन्तु कसरी
  न ता बोल्ने, चल्ने फगत शब बन्दो छ कसरी ? 
 अहिले हामी बाँच्दैछु कुन बेला मर्ने हो थाहा छैन । यो त ईश्वरले पहिल्यैनै निधारमा लेखिएको हुन्छ । एउटा सीमा तोकेर पठाइएको हुन्छ । जहाँबाट हामी पर जान सक्दैनौं । त्यही नै हाम्रो अन्तिम समय हुनेछ । त्यसैले यो जन्म–मृत्युको सम्बन्ध घामछायाँजस्तो, दिनरातजस्तो आफैमा बलियो छ । यसलाई कसैले टुटाउन सक्दैन । यसलाई कसैले भत्काउन सक्दैन । यो त पहाडभन्दा मजबुत हुन्छ । एक अर्काले साथ सहयोग गरेर यो धरर्तीमा मान्छेहरु आउने जाने क्रम चलिरहन्छ । हो, जन्म आफै मृत्यु हो । तर मृत्यु आफै जन्म हो,होइन थाहा छैन । 
 यो त अनन्त अदृश्य कुरो हो । आँखाले नदेख्ने भाग्यको कुरो हो । म जे गर्छु त्यस्कोे परिणाम हो । म जे भोग्र्छु ईश्वरको वरदान हो । त्यसैले यो जीवनमा मानव कल्याणका लागि सेवा गरेर मर्नुपर्छ । किनकि म पनि मानव हुँ । मानवले मानवलाई सेवा नगरे यो धरर्तीमा को आएर सेवा गर्ने हो ? भोक लाग्यो भने मैले केही दिएर भोक मेटाउन सक्नुपर्छ । प्यास लाग्छ भने एक अञ्जुली पानी दिई तिर्खा मेटाउन सक्नुपर्छ । अरु त के गर्न सक्छु र ? मेरो हैसियतले जे गर्न सकिन्छ त्यही गर्नु नै मानव धर्म हो । 
 मान्छे मर्छ र जान्छ । यो संसारमा यही रित चल्दैछ । खरानी बनेर यहाँ असंख्य मान्छेहरूको रुप सेलाइसकेको छ । मान्छेको ईष्र्या र दाहासँगै बलका हुतीहरु पनि जलिसकेको छ । माया, काया र रहरहरू पनि शून्य–शून्यमा हराइसकेको छ । यो संसार शून्य छ । मान्छेहरु पनि शून्यबाट जन्मेर शून्यमै बिलय भएर जानेछ । आखिर जीवनमा के छ र ? समयसँगै जन्मेर समयसँगै मर्नु छ । पन्छी उडेर पिँजरा खाली भएजस्तै ,प्राण उडेर मान्छे लास बनेजस्तै,नदी सुकेर खण्डहर बालुवैबालुवा भएजस्तै, हाम्रो दशा यस्तै हुनेछ । प्राण रहेसम्म हाम्रो शरीर यताउता हिँडेर अहंकार र बेमतलबी बनेर के गर्नुपर्ने हो ? हामीले समयलाई समयमै चिन्न नसकेर समयले हामीलाई तानेर लग्नेछ । 
 आफ्नो लाश चित्तामा जलिरहेको देख्दा त्यो आत्माले के के भन्ने हो ? मान्छे पापी हो कि धर्मात्मा मान्छेहरुले कसरी छुटाउने हो ? यो त उसको व्यवहारले थाहा हुन्छ । यो त उसको आनीबानी र स्वभावले थाहा हुन्छ । आफू भोकै भएपनि दीनदुखीहरुलाई सेवा गर्छ भने त्यो उसको महानता हो । त्यसैले यो अमूल््य जीवनमा हामीले समयलाई खेर फाल्नु हुँदैन । समयसँगै हाँसीखुसी प्राणी जगत्को कल्याणको निम्ति एउटा ईटा थपी दिनुपर्छ । तब पो मान्छे भएर जन्मेको सार हुनेछ । मृत्युले पनि हाँसीहाँसी यमराजलाई बताउनेछ ।  
   खरानी नै पारी मनुजहरूको रूप र छटा 
   झिकी आगो जिब्रो लप–लप उता हाँस्दछ चिता 
   कता गो शेखी औ बल हुतिट सबै आज यसको 
   सबै काया, माया हरहर जली शून्य हुन गो ।   
   उड्यो पन्छी बाँकी अब फगत भो खाली पिँजरा 
   दशा हाम्रो यै हो सकल जनको त्रास बिचरा 
   हरे ! गछौ फुर्ति म छु आर्थिक राम्रो भनिभनी 
   खरानी पार्नेमा यतन किन यो सञ्चित–मणि । 
 मान्छेले सम्झन र बुझ्नको लागि यो मनको आँखा खोल्नु पर्ने रहेछ । पढेर मात्रै हुँदैन । बुझेर मात्रै हुँदैन । जब मन र मस्तिष्कले पढ र बुझ भन्दैन तबसम्म जति पढे पनि त्यसको कुनै औचित्य छैन । त्यसैले अब मनैदेखि सम्झेर बुझ्नुपर्छ । सिक्ने भावना जागृत गर्नुपर्छ । तब मात्रै सिक्न सक्नेछ । जीवन के हो भन्ने कुरा बुझ्नेछ । हो, अँध्यारोले जीवनलाई बिसन्चो पार्छ । त्यसैले त्यस्तो अन्धकारलाई बिस्तारैबिस्तारै चालै नपाउने गरी फालिदिनुपर्छ । ताकि उज्यालो आउन सकोस् । जीवनलाई सन्चो पार्न सकोस् । अलिअलि गाढा निन्द्रालाई पनि आँखा खोलेर भगाउन सकोस् । मान्छे बितेर गए पनि उसको आत्माले परमपदमा पुग्न सकोस् । यही नै हामीले कामना गर्नुपर्छ । जनजनमा सुख, शान्ति र समृद्धिको बाटोमा लागोस् भने ईश्वरलाई प्रार्थना गर्नुपर्छ । 
  म हिँड्दैछु । त्यहाँ पर दोबाटो आउँदैछ । अब म कुन बाटो जाने हो ? यता कि उता ? कुबाटो मलाई मन पर्दैन । छोटो बाटोमा हिलो छ भने मैले लामै बाटो रोज्नुपर्छ । किनकि यो जीवनमा कहीँ कतै फोहोर नलागोस् । दागका टाटाहरू कहीँ नपरोस् । तब पो जीवन–जीवनजस्तो हुनेछ । सरल कलकल बगेर अनन्त यात्रासम्म चैनसँग हिँड्न सकिन्छ । त्यसैले कूपथमा हिँड्नु हुँदैन । यतिको घोका खाएपछि अब सहेर मात्रै बस्नु हुँदैन । सबै कुराहरु छाडी फाली अब क्षणिक सुखमा मात्रै हामी लाग्नु हुँदैन । बिन्ती छ, यो संकष्टबाट हामीले पार टर्नु छ । अरु त के छ र यो क्षणिक शरीर न हो । आज छ भरे नहुन पनि सक्छ । अनेकौ संकष्टहरू आइपर्न पनि सक्छ । के थाहा के हुँदैछ । भाग्यको खेलमा अभागीलाई जे पनि हुन सक्छ । हिँड्दाहिँड्दै बाटो भाँसिन पनि सक्छ । हेर्दाहेर्दै प्रलयकाल आउन पनि सक्छ । यहाँ नहुने केही छैन । समयले सबैलाई केही न केही गरेर जानेछ ।
     बुझी, सम्झी सारा मन अब तिमी वढ्न सिक लौ !
     अँध्यारो यो पर्दा अलिअलि गरी च्याति तिमी द्यौ !
     अहो ! गाढा निन्द्रा अलिअलि गरी फाटी तिमी द्यौ !
     मलाई त्यो मेरो परमपदमा पुग्न तिमी द्यौ !
     नजिकै दोबाटो सुर कुपथको विस्तृत यहाँ 
     हरे ! घोकाघोका कति अब सहुँ हुन्न अब ता 
     सबै छाडूँ फालूँ क्षणिक सुखको यो कटु ब्यथा 
     छ यो बिन्ती मेरो नकन हरि !  यो संकष्ट छुटा ।
 अब त हामीले बुझ्नुपर्छ । अबुझ बनेर काम छैन । केवल तन र मनको मोहमा माया र ममता बोकी अब हामी धेरै हिँड्न सक्दैनौ । त्यसैले अलिअलि गरेर भएपनि हामीले माया र ममता मात्र होइन मनका विकृतिहरु पनि क्रमश फाल्दै जानुपर्छ । यसैमै हाम्रो कल्याण छ । मान्छेको लागि यो जूनीमा मात्र होइन अर्काे जुनीमा पनि परमपदको आवश्यकता छ । हो, मान्छेले सुख खोज्ने गरिन्छ । तब सुख खोज्ने दौडमा अमानवीय कार्य गर्नु हुँदैन । अखाद्य कुराहरु खानु हुँदैन । अकुशल तिर जानु हुँदैन । अमङ्गलतिर जानु हुँदैन । बस मान्छेको लागि त्यति भए पुग्छ । यो जूनीमा यति मात्र काम गर्ने हो भने पनि भावी पुस्ताले हामीलाई सम्झिनेछ । 
 यो किरमिर बाटो मेरो होइन । मेरो बाटो त सोझो छ । जहाँ हिँड्दा कुनै पीर छैन । दुःखको अनुभूति गर्नु पर्दैन । झुट्टा बेमानीहरुसँग भेट हुने छैन । त्यसैले तिमीहरु पनि सोचेर हेर ! यो जीवन त दुई दिनको हो । दुई दिनपछि हामी यो धरर्तीबाट बिदा हौला । तर तिम्रो सोच र विचारको कहिल्यै अन्त्य हुन सक्दैन । राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भनिदिनुपर्छ ।आज जे जति करतुतहरू छन् त्यसलाई धोई पखाली सबैको अगाडि देखाइदिनुपर्छ । 
 मन चञ्चल छ । यसलाई समाल्न धेरै गाह्रो छ । यताउता गएर कहिल्यै नफर्किन पनि सक्छ । जानीजानी रूप रङ्गमा भुलेर दुःखको बाटोमा लाग्न पनि सक्छ । के थाहा मनलाई कहिले के हुने हो । यो अथाह समुद्रमा डुबेपछि त्यहाँ भित्र के के पाउने हो ? त्यसैले यो मनलाई आत्माले समाल्न सक्नुपर्छ ।  चित शुद्ध पार्ने काममा लाग्नुपर्छ । तब पो बिस्तारै फोहरमैलाहरू हटेर जानेछ । चित शुद्ध भएपछि प्रज्ञाको ज्योतिले मानव कल्याण तिर लाग्नेछ । आजकाल मेरो मन छटपटी हुने गरिन्छ । मन आतुर छ । कराइमा माछा भुटेजस्तै मलाई पनि भुट्ने त होइन ? यो नरकतिरको चाङ्गुलमा फसेर कतै म बर्बाद हुने त होइन ? यहि नै मेरो बिलौना छ । त्यसैले मेरो मन आतुर भएर यो चंगुलबाट कसरी निस्किन सक्छौ भनी विचार गर्दैछु । मैले कसरी यो जन्जालबाट छुटकारा पाउँछु भनी ईश्वरसँग प्रार्थना गर्दैछु । मलाई धिक्कार छ । यो मेरो हिजोको कर्म थियो । म चेते अबदेखि यस्तो मार्गमा हिँडिने छैन । बिन्ती छ, अब मेरो तन र मनमा शान्ति बिसाई देऊँ । म जे छु त्यसैमै रमाएर मलाई मेरो जीवन बिताइदेऊँ । मलाई सुखमय् जीवन बिताउनु छैन । अकुशल मार्गमा हिँडेर अरुलाई दुःख दिनु छैन । मेरा इन्द्रियहरुले अब त्यस्तो सुख भोगको तृष्णा गर्ने छैन ।        
 मान्छे एकचोटी कुलतमा फसेपछि निस्किन गाह्रो हुन्छ । त्यो त्यस्तो लत हो जहाँ भुमरीले घुमाए जस्तै जताजता लग्यो त्यतैतिर मान्छे जाने गरिन्छ । मन असन्तुष्टि भएपछि मनले सधैं सन्तुष्टि खोज्छ । सन्तुष्टिको नाउँमा मान्छेले मान्छेलाई चिन्दैन । मान्छेले मान्छे भन्दैन । जेसुकै अकर्म गर्न सक्छ । सन्तुष्टिको नाउँमा नमरुन्जेलसम्म सन्तुष्टि खोजिरहन्छ । त्यसैले हामी कुलतमा फस्नु हुँदैन । बुझेर नबुझेर त्यहाँभित्र के छ भनी हेर्नु हुँदैन । डरलाग्दो छ , त्यो चंगुलको कथा जहाँ एकचोटि पसेपछि मान्छे फेरि फर्केर निस्किन गाह्रो हुन्छ । त्यसैले मनले खाऊँखाऊँ लाऊँलाऊँ भने पनि यो मनले खोजेको इच्छा पूरा गरिदिनु हुँदैन । यसलाई त आत्माले बाँड्नु पर्छ । मागे जति होइन ठिक छ छैन सोचेर खोजेको कुरा दिनुपर्छ । किनकि मन पापी छ । आत्मा कहिले पापी बन्न सक्दैन । आत्मा त ईश्वर हो । ईश्वरले कहिल्यै अर्काको कुभलो चिताउन सक्दैन । त्यसैले यो आत्माले मनलाई यताउता नजाने गरी बाँडेर राख्नुपर्छ । मन शुद्ध पार्न पञ्चशीलको नियमले बाँध्नुपर्छ । ताकि मनले खोजेजस्तो गर्न नपाओस् । मनलाई पनि बन्धनमा राखेपछि त्यो बन्धनबाट बाहिर आउन सक्दैन । त्यही सीमामा बसेर अनुशासन पालना गर्नेछ । तब पो मान्छेले मुक्तिको मार्ग पत्ता लगाउन सक्छ । तब पो मान्छेले न्याय दिलाउन सक्छ । होइन भने सामाजिक न्यायको नाउमा अत्याचारी बनेर आफूलाई ईश्वर भन्न सक्छ । मनको स्वच्छन्दताले सीमा नाघेर मनलाई समात्न धेरै गाह्रो हुन्छ । 
     म नै आऊँ भन्दो किन मन यता तान्दछ कतै !
     हरे ! जानीजानी नरकतिर नै बढ्दो म छु सधैँ 
     बिलौना यो मेरो फगत मनमा आतुर म ता 
     कराहीको माछो जलन बीचमै फँस्छु अब ता । 
     छ बिन्ती यो मेरो तन–मन सबै शान्त भइ दे
     म जे हुँ त्यो मेरो सुखमय थलो प्रान्त हुन दे
     तँ मात्रै पन्सेमा मसँग नहुने छैन अब क्यै
     हरे ! यी जानेछन् मसँग सँगमा इन्द्रिय सबै ।   
 यो मनलाई एकचोटि सम्झाएर नपुग्ने रहेछ । हरेक चोटी पटकपटक सम्झाइरहनु पर्ने रहेछ । त्यसैले यो मनलाई स्थिर बनाउन पहिला मानव धर्मले बाँड्नुपर्छ । बिस्तारैबिस्तारै यताउता जान नपाउने गरी समयसमयमा आत्माले निरीक्षण गर्नुपर्ने रहेछ । तब मात्र मनले स्थिरता पाउनेछ । मौका पाए भाग्न खोज्छ । आफ्नो इच्छानुसार गर्न खोज्छ । त्यसैले मनलाई वंशमा राख्ने हो भने इन्द्रियहरु पनि स्वत वंशमा बस्नेछ । 
 म भुलेर पनि अब अकर्मको बाटोमा लाग्न चाहन्न । त्यहाँ अलिकता भौतिक सुख होला तर त्यो सुख भन्दा कर्मको बाटोमा धेरै अदृश्य सुख छ । मान्छेले हिँड्ने बाटो छ । सद्भाव र माया ममता छ । यो जूनीमा बाचुन्जेलसम्म मान्छे–मान्छे भएर बाँच्न सक्ने अवस्था छ । त्यसैले अब म गाढा निन्द्राबाट बिउँझिनुपर्छ । यो कष्टकर जीवनबाट उठेर अर्को एउटा नयाँ जीवन जिउनुपर्छ । यो नै मेरो चाहना हो । नत्र यो दलदल र धापमा फसेर मेरो अस्तित्व यही समाप्त हुनेछ । हे ईश्वर ! अब म चाहन्न मलाई कुनै बिघ्नबाघा आई नपरोस् । मलाई धोखा दिएर लटपट गरी यो दुष्ट मनले बिगारी नदेओस् । तैले दिएको सुख सयलमा अब म बाँच्न चाहन्न । म त जाछु अमृतमय बाटोतिर । अब तिमीले मलाई बाटो छेक्न सक्दैन । किनकि मेरो मनमा रश्मी पलाइसकेको छ । उज्यालो भएर हिजो र आजका कुरा मात्र होइन भोलिका कुराहरु पनि मैले देख्न थालेको छु । त्यसैले अब मलाई सुख र दुःखको आवश्यकता पर्दैन । यो मेरो लागि बिलौना हो । जाँ अब तिमीहरु आफ्नै ठाउँमा गएर बस । मेरो नजिक कहिले नआउनु । किनकि मलाई तिमीहरुसँग घृणा छ । मेरो जीवनलाई बर्बाद पार्ने तिमीहरूको हक ममाथि छैन । यो मेरो शरीर हो । यो मेरो मन हो । मेरो शरीर र मनमा अब तिमीहरुले राज चलाउन सक्दैन । जाँ अब निस्किहाल । जहाँ जानु छ त्यही गएर बस । यो मानव बस्तीमा तिमीहरु कहिले नआउनु । दुःखको घोर भुमरीमा मान्छेहरुलाई कहिले नफसाउँनू । अलिअलि गर्दै आफ्नो बस्ती कहिले नबसाउँनू । 
    न होस् बाघा केही परम पदमा जान्छु अब म 
    मलाई धोका दि लटपट नगर दुष्ट मन तँ 
    छ ठानेको तैँले सुख जुन कुरा केन्द्र उसको
    म लाँदो हुँ अ‍ैले अमृतमय बाटो लिई बडो । 
    म ता हूँ साँच्चैको सुख–दुःख महाँ नाश नहुने 
    मलाई पाशो यो अति किन पप्र्यो यो नछुट्ने ?
    तँ जा जा हे पाजी ! मन बीच न आ व्यर्थ यसरी
    तँ नै होस् ता पार्ने मकन दुःखको घोर भुमरी । 
 मान्छेको जूनी भनेको सौभाग्यले मात्र पाउन सकिन्छ । यस्तो पुण्यले प्राप्त भएको मानव जीवनमा प्राणी जगत्को लागि केही कल्याण कार्य गरी मर्नु छ । बिग्रे भत्केका कुराहरू सकेसम्म सपार्नु पर्ने छ । समय छँदै हामीले काम गर्नुछ । साँझ परेपछि अन्धकार भएर रात पर्नेछ । रातमा काम गर्न सकिँदैन । थकाई मार्न निदाउनेछ । औषधिविना रोगलाई निको पार्नुछ । मन र मस्तिष्कलाई ताजा बनाउनुछ । त्यसैले हामीले समयलाई खेर नफाली आफूले गर्न सक्ने काम गर्नुपर्छ । नसके कसैको कुभलो नचिताई सबैको जय होस् भनि ईश्वरलाई प्रार्थनामात्र गरे हुन्छ । ताकि सबैको जय हुन सकोस् । ताकि सबैको कल्याण होस् । अमंगलहरु हटेर जनजनमा पुण्यको कार्य गर्न सकोस् ।  
  हो, आज मलाई मन भारी भइरहेको छ । हिजोका दिनहरु मैले त्यसैत्यसै फजुलमा खर्च गरेँ । आज घोर विकलमा छु । भोलि के हुने हो ? आजले भोलि नरोपे पर्सि कसरी जन्म हुने हो । त्यसैले हिजोका कुराहरु सम्झीसम्झी मन चसक्क दुखिरहेको छ । मैले हिजो के गरे आज चिन्तित भएर रुनु बाहेक मेरो विकल्प छैन । किनकि मैले हिजोका दिनहरु फेरि बोलाउन सक्दिन । केरमेर भएका कुराहरूलाई सच्याउन सक्दैन ।  हिजो त गइसक्यो । आजका दिन मात्र बाँकी छ । भोलि के हुने हो मलाई थाहा छैन । त्यसैले म आज रोइरहेको छु । अन्जानमा मैले बिताएका दिनहरु सम्झेर आज पछुतो भइरहेको छ । मैले त्यस्तो गर्न नहुने, मैले त्यस्तो सोच्न नमिल्ने तर के गर्ने भइसक्यो । खोलाले पानीलाई कताकता लगिसक्यो । अब त पश्चाताप गर्नु बाहेक मेरो विकल्प छैन । आफूले आफैलाई घिकानु बाहेक अरु विकल्प छैन । त्यसैले आज यो मनलाई बंशमा राख्दैछु । सोच विचार गरेर मात्र मनका कुराहरु मान्नेछु । अब मबाट सम्भव छैन मनका इच्छा र आकांक्षाहरू सबै पूरा हुनेछन् । बस् यति भए पुग्छ । हिजो मैले मनलाई बाँड्न सकेन । मनले मलाई बाँडेर लगिरहेको थियो । तर आज मैले मनलाई बाँधेर निर्मल तीर्थजस्तो बनाएको छु । 
 मन त स्वरूपबिनाको आकार हो । त्यसैले मान्छेले मनलाई आकार दिन गाह्रो छ । सीमा तोकेर यताउता नजानु भन्न अप्ठ्यारो छ । यस्तो अप्ठ्यारो समयमा आफ्नै मन बेरी भएपछि कसको के लाग्छ र ? पापैपापको कडा चट्टानजस्तै उभिएपछि मन तुरन्तै पग्लेर कहाँ जान सक्छ र ? यो सम्भव छैन, यसलाई बिस्तारैबिस्तारै चाल पाउन नसक्ने गरी आफ्नो मुठीमा राख्नुपर्छ । धर्मकर्ममा भुलाएर आफ्नो काबुमा राख्न सक्नुपर्छ । मानव कल्याणका कुराहरू गर्दागर्दै मैले पनि केहि गर्नुपर्छ भने भावनाको जागृत गर्नुपर्छ । राष्ट्रका निम्ति ज्यान आहुति गर्ने शहिदहरुको कुराहरु गर्दागर्दै मैले पनि राष्ट्रमाथि प्रेम गर्नुपर्छ भन्ने पाठ सिकाउनुपर्छ । नत्र यो मन कहाँ मान्छ र ? कसैले यसो गर भन्दैमा कहाँ गर्ने हो र ? बशमा छैन, एकैछिनमा कताकता बेपत्ता हुन सक्छ । एकैछिनमा फेरि भेटाउन सकिन्छ । मनलाई सधैँ दुःख देखाइरहनु पर्छ । डर, त्रास र धम्कीहरू पनि बारम्बार दिइरहनु पर्छ । मान्छे जलाएको ठाउँमा लगेर देखाइदिनु पर्छ । मृत्यु के हो भनी बारम्बार प्रश्नहरु सोधिरहनु पर्छ । ताकि मनमा अलिकता भएपनि प्रभाव परोस् । किन यस्ता प्रश्नहरु म माथि सोधिरहेका छन् भन्ने कुरा मनले सोच्न सकोस् । नत्र मन स्वतन्त्र भएर आफूले जे खोजे त्यही तपक्क टिपेर खाने छ । मान्छेलाई नर्कको बाटोमा लगेर छोडेर जानेछ । 
 मनले मात्रै खोज्नुपर्छ यो संसारमा जसले जे पनि गर्न सकिन्छ । चाहे क्रान्तिको बेला होस् या शान्तिको बेला होस् । मनले मात्र चाहनुपर्छ । यहाँ सबै कुराहरु एकै छिनमा बन्न सक्छ । हिजो अन्धकारको युग थियो । सबै मान्छेहरुको मनमा अन्धकारलाई हटाएर उज्यालो ल्याउनु थियो । कतिले आफ्नो ज्यानको आहुति दिए । कतिले यातना भोगे । तर केही मतलब नराखी सबैको मनमा उज्यालो ल्याउनु थियो । सबै जनहरू मिलेर उज्यालोको युग सृजना गरे । के यो मनको कुरो होइन र ? के यो निस्वार्थ भावनाले मान्छे लागेको होइन र ? नत्र निरंकुश शासनकालमा अन्धकारलाई चिरेर उज्यालो ल्याउनु चानचुने कुरो थिएन ।  
 नदीको किनारामा मान्छेले आफ्नो जूनी फेर्ने हो । आत्माले शरीरलाई छोडेपछि लास बनेर चिरनिन्द्रामा सुत्ने हो । यो घरतीमा एकवार जूनी फेर्न मान्छेहरु सबै त्यही गएर सुत्ने हो । पञ्चतत्वलाई साक्षी राखेर मृतलासलाई जलाउने हो । यही नै परमसत्य हो । यो सत्यलाई कसैले नकार्न सक्दैन । बेला भएपछि कोही मान्छे भाग्न सक्दैन । किन होला मान्छे त चतुर छ । चतुर मान्छेले जे पनि गर्न सक्छ । तर मृत्युको अगाडि यो संसार झुक्नुपर्छ । समयले बोलाएपछि ऊ वलिको बोको जस्तो जहाँ बोलायो त्यही गएर बस्नुपर्छ । यही नै यो संसारको रित हो । यो रितलाई अहिलेसम्म कसैले काट्न सकेको छैन । मलाई अब डर लागिरहेको छ । हिजो त बितिसके आज एक दिन बाँकी छ । आजै हामीले केही गर्न सकेनौं भने भोलि त हामी पनि नदीको किनारमा सुतिनेछ । त्यसैले समयमै आफ्नो कर्महरु गर्नुपर्छ । धर्मकर्मका कुराहरू मात्र होइन मानव जगत्का कुराहरू पनि गर्नुपर्छ । भोलि कसले देखेको छ र ? आजै अहिलेदेखिनै हामीहरुले मानव कल्याणका लागि जुट्नुपर्छ ।  
  म–नै के के गर्ने अनि पछि म–नै चिन्तित हुने 
  मनैलाई आफैसित दश गरे के छ नहुने 
  मनै हाम्रो बैरी भनिकन जिते विश्व जितियो 
  थलो आफ्नो पुग्ने सुगम पथको मार्ग हिँडियो ।   
  किनारामा आई अब त तिमी छौ फेर्न जुनि यो 
  भयो बेला भन्दै अझ पनि नचेती किन उसै 
  गरुँला भन्ने यो अब तिमीसँगै छैन समय 
  तुरुन्तै अहिले नै गर गर उडी बेर नगर ।    
 अब हामीले ढिलासुस्ती नगरिकन गन्तव्यमा पुग्नुपर्छ । नत्र घोर महाचक्रमा पर्नेछ । मङ्गलका खुसियालीहरु हाम्रो हातबाट फुस्किएर जानेछ । त्यसैले यो चित्तलाई चिन्तनमा पार । सुख र दुःख क्षणिक मात्र हो भन्ने कुरा देखाइदेऊँ । शरीरका सबै झ्याल ढोकाहरु बन्द गरी तिम्रो निर्भयको रुप देखाइदिऊँ । किनकि मान्छे आफैमा पूर्ण कलश हो । जहाँ जति दिए पनि कहिल्यै सक्दैन । जहाँ प्रेम, माया र स्नेह मात्र होइन जोस, जागर र प्रेरणाहरु कहिले मर्दैन । आफ्नो परम आनन्दको लागि मान्छेले कहिले दुख भोग्नु पर्दैन । टाँसिएर आउने ब्याधिहरूलाई तिमीले सदाकालाई फ्याँकिदेऊ । हुँदै नहुने सकसहरुलाई झन्झटमा किन तिमीले आफ्नो भन्यो ? तिमीले देखे भोगेका सबै कुराहरु मात्र होइन यो नश्वर शरीर त तिम्रो होइन भने यो भवसागरमा पुण्य बाहेक अरु सबै मिथ्या हुन् । 
 मान्छेमा धेरै माया र मोह भयो भने दुःख पाइन्छ । माया र मोह त त्यति मात्रै गर्नुपर्छ जति चाहिन्छ त्यो भन्दा बढी भयो भने माया र मोहले हामीलाई वंशमा पारेर बिगार्न सक्छ । बन्घनमा पारेर मान्छेहरूलाई नानाथरीका दुःखहरू दिन सक्छ । त्यसैले यहाँ आफ्नो भन्ने कुरा केही छैन । सबै मिथ्या हो । आफ्नो त कर्म हो । आफ्नो त मानव धर्म हो । बस् मैले यति मात्रै बुझ्न सके । यो जूनी पछि मान्छे के हुने हो ? यो निष्ठुरी संसारमा मान्छेको प्रलयकाल पछि के भएर जन्म हुने हो ? 
 ईश्वर कण कणमा व्याप्त छ । त्यही ईश्वरलाई खोज्न हामी एकाबिहानै मन्दिर धाउँछौँ । पाठपूजा गरेर व्रत लिन्छौं । तर ईश्वर त तिम्रै शरीरभित्रै छ । लुकेर बसेको हामीलाई थाहा छैन । हो, हामीले हाम्रो शरीरभित्र लुकेको ईश्वरलाई खोज्नुपर्छ । तब पो हामीले मानवयात्रामै ईश्वरलाई भेटाउन सकिन्छ । वरदानको आशामा यताउता भौतारिँदै हिँडेर होइन सदाचार र ज्ञानी भई तिमी निर्भय भई खोज्नुपर्छ । चिन्ता, भय र दुःखलाई छोडेर एकचित भई अमरपथमा हिँडनुपर्छ । हिजोका कुराहरु छोडेर आज मैले प्रतिज्ञा गर्नुपर्छ । कूनियतमा होइन, छलछाममा होइन, बिरहको गीत गाएर आज मैले कामहरू फत्ते गर्नुपर्छ । मलाई बाँध, मलाई मार, छिनछिनमा यमराजका दूतहरुले मलाई जेसुकै गर । तर मेरो मन पहाडजस्तो अटल भएर स्थिर भैसकेको छ । मेरा भावनाहरु अब ईश्वरमा लिन भैसकेको छ । त्यसैले मलाई दुःख छैन । आजसम्म मैले सुखको खोजी गरेको छैन । मन जति रोए पनि असारमा मैले धानबाली बाहेक अरु केही रोपेको छैन । मलाई डर छैन । मैले धान रोपेर गहु फल्छ भने कहिले सोचेको छैन । जे रोक्छ त्यही फल्ने यो संसारको नियम छ । यो नियम भन्दा फरक कुरा अरु केही छैन । त्यसैले म भन्छु आज मेरो कर्मको फल भोलि भोग्नेछु । छलकपट र अरुलाई दुःख दिएको भए हे ईश्वर ! मलाई पनि तातो कराईमा माछा भुटेजस्तै भुटे पनि मन्जुर छ । यो पञ्चतत्वसँग पैँचो मागी बनेको मेरो शरीर म जुन दिन मर्छु त्यही दिन पैँचो तिरेर जानेछु ।
  तिमीले खोजेको परम सुख त्यो भेट्न अहिले 
  सबै छोडी टन्टा परमपदमै लाग पहिले
  सदाचारी, ज्ञानी भइकन तिमी निर्भय हिँड
  तिमीलाई चिन्ता, भय र दुःखले सक्छ छुन र ?
  रुँदै यो छातीमा पिटिपिटि म ता के कति भनूँ ?
  गरेका ती मैले कूनियतहरू के कति गनूँ ?
  कसी बाँध्दै छन् हा ! मकन यमका दूतहरुले 
  बजार्दैछन् डन्डा सहि नसक्ने कति मनले ।   
   जीवन आफैमै बन्धन हो । यो बन्धनभित्र नातागोता, छरछिमेकी रीतिरिवाज आदि जस्ता सामाजिक परिवेशले हामीलाई बाँधिएको हुन्छ । व्यवहार मिलाउन, व्यवहार चलाउन मान्छे–मान्छेबीच प्रतिस्पर्धा चलिरहेको हुन्छ । त्यसैले यो समाजले हामीलाई जसरी चलाउन खोज्छ त्यस्तैगरी हामी पनि चल्नुपर्छ । रीतिरिवाज, चालचलन र व्यवहारहरुले मान्छेलाई उठ्नै नसक्ने गरी थिच्न सक्छ । जोरीपारीले मेरो घरमा भात नपाके पनि भान्छामा धुवाँ निकालिदिनु पर्छ । ताकि छिमेकीले फलानाको घरमा भात पाक्दैछ भन्ने कुरा थाहाँ पाओस् । घरमा बस्दा च्यातिएको लुगा लाए पनि बाहिर राम्रो पारी हिड्नुपर्छ । नत्र यो जोरीपारीमा नानाथरी कुरा काटेर तिमीलाई बस्ने स्थान दिने छैन । तिमीलाई कसैले बोल्ने छैन । भोको पेटले एकछाक मागे पनि कसैले तिमीलाई एकछाक भात खुवाउने छैनन् । बरु खिसी गरेर तिमीलाई शब्दवाणले घोच्ने छन् । चाहिनेनचाहिने आरोपहरु तिमीलाई लगाउने छन् । किनकि तिमी गरिब छौ । गरिबहरु मान्छे होइन । गरिबको कुनै मूल््य छैन । गरिबको कुनै स्थान छैन । मान्छे त धनी बन्नुपर्छ । किनकि हाम्रो समाजले हामीलाई यही सिकाउँदैछन् । 
 भो, यी बन्धनका कुराहरुले हामीलाई दुःखी बनाउँछ । मलाई त्यस्तो बन्धन मन पर्दैन । बन्धन त त्यस्तो हुनुपर्छ जसले मान्छेलाई नैतिकताको पाठ पढाओस् । राम्रो नराम्रो कुराहरु छुट्याउन सिकाऔस् । धनी र गरिबको खाल्टो पूर्न लगाऔस् । मान्छे–मान्छेमा कहिल्यै पनि विभेद नगरियोस् । मैले त त्यस्तो बन्धन खोजेको हो । तर हाम्रो समाजले त्यस्तो बन्धन कहिले दिने हो ? स्वनियममा बस्नुपर्छ भनी कहिले सिकाउने हो ? परमआनन्दको मार्गमा कहिले हिडाउने हो ? मानव कल्याणका कुरा कहिले गर्ने हो ? थाहा छैन, यो हाम्रो समाजमा अहिले के भइरहेको छ ? धनी झनझन धनी हुँदैछ । गरिब झनझन गरिब बन्दैछ । के यस्तो पनि समाज हुन सक्छ र ? अनौठो छ, यो समाज हाक्ने ठालुहरूको आफ्नै नियम छ । त्यसैले म यस्तो समाजमा हुर्केपछि मैले मेरो चरित्र कसरी असल पार्न सक्छु र ? धनका लागि दिनरात लागेपछि म कसरी नैतिकबान हुन सक्छु र ? मेरा यी पञ्चइन्द्रियहरुलाई म कसरी नियन्त्रण गर्न सक्छु र ? यो हुनैं सक्दैन । आज मलाई दुख छ । म दुखबाट मुक्त हुन चाहन्छु । मेरो समाजले मलाई जेसुकै भनुन् म समाजको निम्ति पागल बनेर मेरा दुःखका सागरहरु टर्न सकूँ । म सबैसँग नाता जोडेर पनि यो जगत्को निर्णय स्वीकार गरुँ । पलपलमा धैर्य बोकेर आँघीबेरीसित मसँगै लडिरहँु । मलाई थाहा छ, यो मान र धनबाट म कहिल्यै विचलित हुन नपरोस् । 
 मान्छेले सोचेको भन्दा लाखौं गुणा सुखको सागर ठूलो छ । चारैतिर उर्लिएको देख्दा आफुले आफैलाई सम्झाउनु पर्ने हो । तर यो भईरहेको छैन किन होला ? म ठुलो हूँ भनि अरुलाई हेप्ने काम भइरहेको छ । जथाभावी जे मन लाग्यो त्यस्तै काम गरेर अत्याचार गर्दैछ । यो सम्भव छैन । आज होला भोलि त अवश्य गिर्नेछ । कूभलो चिताउनेहरूको मन आगोले पोलेर एकदिन भष्म हुनेछ । त्यो दिन कहिले आउला ? पक्कै पनि समयले समयलाई बोलाएपछि अवश्य आउनेछ । त्यसैले हामीले त मनुष्य हौ, सबैले सबैलाई आदर गर्नुपर्छ । सबैले सबैलाई सम्मान दिनुपर्छ । ताकि हाम्रो भावी पीढिले पनि हाम्रो संस्कार सिकोस् । मानव कल्याण बाहेक कहिले पनि कुभलो नचिताओस् ।   
  सधैँ राखी आफ्नो बश चपल पञ्चेन्दियहरु   
  म जोडूँ नाता यो जगत्सितको निर्णय गरुँ
  जसो जे जे पर्ला सब सहिदेऊँ धैर्य बलले 
  नहोेऊँ कैल्यै नै विचलित कुनै मान, धनले । 
  छ उर्लेको चारैतिर त सुखको सागर ठुलो 
  कसैलाई हेप्ने चलन नलिऊँ मानि म ठूलो  
  कसैके कैल्यै क्यै पनि म नचिताऊँ त कुभलो 
  सबै नै प्राणी हुन् सबकन गरुँ आदर बडो । 
 यो भवसागरमा मान्छेहरु किन चिच्याइरहेछन् ? किन कराइरहेछन् ? दुःख, व्यथा र पीडाहरूमा किन डुबिरहेछन् ? फनफन घुमेर उम्कन नसकेपछि मान्छेहरु किन आतिरहेछन् ? यो बन्धनबाट मुक्त हुन नसकेपछि मान्छेहरु किन भयभित हुँदैछन् ? यो नै चिन्ताको विषय हो । मान्छेले छलछाम र झुठा कुराहरू गरे पनि अरुलाई त झुक्याउन सक्ला तर आफूले आफैंलाई झुक्याउन सक्दैन । जति देखे भोगेका कुराहरु छन् ती सबै मिथ्या हुन् भन्ने कुरा थाहा पाएर पनि मान्छेहरु त्यसलाई सत्यनै ठान्दछन् । भरोसामा बाँचिएको आश्रित मान्छेहरु म नरहेपछि विलाप गर्नेछन् । टेको भाँचिएर सहारा नपाए पछि भटाभुङ्ग भएर भिखारी बन्नेछन् । त्यसैले यो दुःखको सागरमा सबै कुराहरु मिलाएर जान सम्भव छैन । व्यवहारका सबै कुराहरु भनेर जान सकिँदैन । यो नै विडम्बनाको कुरा हो । जाने त गइसक्यो तर यहाँ बाँच्नेहरुलाई पार्पीहरुले सताउने छन् । छलछाम गरेर बस्तीबाट उठाउनेछन् । 
 यो पुण्यबलबाट प्राप्त भएको मनुष्य चोलामा दुःखले कति पिरोल्ने हो ? क्यारुँक्यारुँ छटपट भएको यो दिलमा शङ्काले कति रुमलिन्दो हो । थाहा छैन, यो सुख र दुःख मेरो लागि दुश्मन भएर आज हविगत भोग्दैछु । हे स्वामित ! मलाई बचाइदेऊ । यो त अति भयो मलाई भष्म नपारिदेऊ । उठेका ती श्रद्धा कलशहरुबाट सिञ्चन जलले मलाई नुहाइदेऊ । झुठामुठा रति पनि सुख छैन भने यो मनलाई सम्झाइदेऊ । बस् यति भए पुग्छ । अमृतमा चुहिने रागपथमा हिँडेपछि थकाई लाग्यो भने एकछिन भए पनि कतै चौतारामा बसी थकाई मार्नेछु । अब त मलाई कसैले पनि भुलाउन सक्दैनौ । मननै खाली भएपनि लोभ लालचहरु पनि बस्न सक्दैनौ । म निर्भययुक्त भइसकेको छु । मैले अकर्मलाई जरैदेखि चुँडाली फ्याँकिसकेको छु । त्यसैले मलाई अब यो फन्दाले पनि छुन सक्दैन । यो फजुलको दुःखले पनि रुवाउन सक्दैन । म त मृत्युदेखि नडराउने मान्छे । अब मलाई मरणको कुनै डर छैन । मेरो प्राण रहेसम्म यो धरर्तीमा कसैलाई बिलौना गर्ने ठाउँ दिने छैन ।
  बँचाऊँ हे ख्वामित् ! अब अति भयो भष्म नगर 
  उठेका ती श्रद्धाकलशहरुले सिञ्चन गर 
  सबै झुट्ठा–मुट्ठा रति पनि यहाँ छैन सुख ता
  यही जानी लागौ अमृत चुहिने राग पथमा ।
  पुग्यो भो भो धेरै मकन यसरी व्यर्थ नसता 
  चँुडाली मायाको लसपस सबै निर्मल गरा
  मलाई यो फन्दा किन ? फजुलको यो दुःख किन ?
  मलाई लौ के भो ? डर मरणको छैन अब ता ।
मान्छे लोभ लालचमा फसेपछि झनझन धापतिर लाग्नेछ । न उम्किन सक्छ न भागेर भाग्न सकिन्छ । यो त मायाको जाल हो । जहाँ एकचोटी फसेपछि उम्किन धेरै गाह्रो छ । नशाले मान्छेको जिन्दगीमा दशा बनेर हुर्मत लिनेछ । वैभवहरु सबै नष्ट पारेर मान्छेलाई मान्छेको दर्जाबाट तल झारेर संकष्टको बाटोतिर दोहोराउनेछ । विपद त्यसै आउने होइन । विपद त दलदलबाट आउन सक्छ । हावाहुरीबाट जन्मिन सक्छ । आगो सल्केर भष्म हुन सक्छ । भाग्य हराएर अभाग्यलाई पर्न सक्छ । त्यसैले यो मान्छेको जूनीमा हामीले कुनै पनि लतमा लाग्नु हुँदैन । कुनै कुभलोतिर सोच्नु हुँदैन । कुनै अहंकारतिर जानु हुँदैन । मान्छे त झरनाको पानीजस्तो मिठो हुनुपर्छ । गगनजस्तो विशाल हृदय लिएर जन्मिनुपर्छ । तब पो मान्छेलाई मान्छे भनिन्छ । तब पो मान्छेलाई मानवको संज्ञा दिन सकिन्छ । 
 अब त आशाका किरणहरू सबै डुब्न लागिसके । प्राण चुँडेर सबै मान्छेहरु मर्न लागिसके । अब के बाँकी छ र ? सब अत्तोपत्तो नभएपछि माथिबाट तल झर्नु बाहेक अरु के पो बाँकी हुन सक्छ र ? त्यसैले यो देह छोडेर जानुपर्ने चोलामा धनजनको कुरा त परको कुरा हो । मेरो भन्नु केही नभएको यो जूनीमा म त अमृतरस पिएर लठ्ठ हुँदैछु । बागमा मन लोभ्याउने बासनादार फूलहरुले यो दिल बहलाएपछि मन चङ्गा भएर त्यो क्षितिजसम्म पुगेर निहाल्न खोज्दैछु । जन्म र मृत्युलाई आफ्नो ठानेको यो शरीरले चौरासी लाख जूनी पछि फेरि यही जन्म हुने आशा राख्दैछु । जन्म र मृत्यु भइरहने यो संसारमा शरीर त नाशवान भएपनि आत्मा त अविनाशी छ ।  अमर र अजर छ । तसर्थ कलियुगमा दया र माया हराउने मान्छे धेरै छन् । तीर्थको नाउँमा व्यभिचार गर्ने मान्छेहरूको संख्या अधिक छन् । त्यसैले यो जीवन जन्म र मृत्युको बीचको बाटो भएपनि मन्दिरमा अहिलेसम्म पुजारीले ईश्वरलाई भेटाउन सकेको छैन । 
    गयो फस्दै–फस्दै झनझन यहाँ धापतिर नै 
    कसोरी टुट्ने हो ? अब विपदको हालत कठै !
    अहो ! डुब्नै लागे अब मरिसक्यो आश सकल 
    नभै अत्तोपत्तो गहन तममा झर्दछु तल । 
    सबै छाड्नै पर्ने धनजनहरू छन् जति यहाँ 
    कुनै मेरा छैनन् तर म त सधैं लठ्ठ यसमा 
    यसैको बास्नाले लिइकन सदा जन्म मरण 
    हरे चौरासीमा क्षण–क्षण यहाँ गर्छु भ्रमण ।
 सुख र दुःख त रुखका बोक्रा हुन् । रुख त निर्भय छन् । कालान्तरसम्म बाँचेर अरुलाई परमसुख दिने भीष्म प्रतिज्ञा गर्दैछन् । शिशिरमा आफू नाङ्गो भएपनि मनुष्यहरूलाई कल्याण गर्ने बाटाहरू खोज्दैछन् । सबै समय हो । बसन्त ऋतुको आगमनको पर्खाईमा रुखहरुले कहिले दुःख मानेका छैनन् ।  किनकि रुख मनुष्य होइन । मनुष्यले जस्तो चरित्र देखाउन सक्दैनन् । सजीव भएर पनि ऊ निर्जीवजस्तो कसैसँग कुरा गर्दैनन् । आत्मग्लानी त रुखलाई पनि हुनुपर्ने हो । धृणा त रुखले पनि गर्नुपर्ने हो । तर उसलाई कसैसँग लिने दिनु छैन । नाता सम्बन्ध छैन । रिसराग छैन । जसले जे गरे पनि पीडा कहिले पोख्न सक्दैन । किनकि ऊ आफ्नै नियममा बस्नेछ । आफ्नै स्वधर्म पालना गर्नेछ । त्यसैले रुखले मनुष्य जस्तो भेदभाव गर्दैन । पाप र पुण्यका कुराहरु अरुलाई कहिल्यै लागू हुँदैन । उ त ठिङ्ग उभिएर मनुष्यले भोगेका कुराहरु टुलुटुलु हेर्दै अर्ती पनि दिन सक्दैन । हो, गाह्रो छ मनुष्यलाई । तर मनुष्यले कहिले पनि सजिलो बाटोमा हिँड्न चाहेनन् । किनकि त्यहाँ आफूले खोजे जस्तो केही पाइँदैन । आफूलाई चाहिए जस्तो यश आराम पाउदैन । बाटोमा जे छ त्यही खानुपर्छ । स्वनियममा बस्नुपर्छ । मन सफा पारेर बोट बिरुवाहरू रोप्नुपर्छ । त्याग र करुणाको भावना पलाउन सक्नुपर्छ । त्यस्तो बाटो मनुष्यलाई कहिले मन पर्दैन । मनुष्यलाई त रतिराग र वासना चाहिन्छ । भोक लाग्दा मनले खोजिएको तृणा मेटिनु पर्छ । धन सम्पत्तिमा डुब्नुपर्छ । त्यसैले कुरो फरक छ । मान्छे रूख होइन । मान्छे ढुङ्गा होइन । मान्छे त दुई दिन बाँच्ने प्राणी हो । 
 मलाई आज आत्मग्लानी भइरहेको छ । किनकि आफुले आफैलाई घृणा गर्न मन लाग्दैछ । यस्तो किन भएको होला ? यो मनले आत्मासँग किन नसोधेको होला ? अब मैले के गर्नुपर्ने हो ? मैले कसरी जीवन बिताउनु पर्ने हो ? मनले आत्मासँग सम्बन्ध राखेर आफ्नो भाग्य किन नखोजेको हो ? आत्मालाई किन सम्मान गर्न छोडेको हो ? यसैमा दुःख छ । मन बरालिएर हिँड्न दिनु हुँदैन । मनलाई त पोको पारे इन्द्रियहरूले कहिले समाल्न सक्दैन । त्यसैले मनले त आत्माको अटल गरिमा राखिदिनुपर्छ । आत्माको पाऊमा बसेर शिर झुकाइदिनु पर्छ । तब पो आत्मा खुसी भएर मनलाई सत्यको बाटो देखाउने छ । अटल गरिमाको कथा सुनाउनेछ । होइन भने यो मनले फेरि अथाह आत्मग्लानी भोग्नुपर्छ । घृणौ घृणाको पोखरीमा फेरि नुहाउनु पर्नेछ । अब यो हुन सक्दैन ।  मनका लोभ, लालच र वैभवहरू पनि मेरा लागि काँडासरी हुनेछ । सधैं दुःख दिने जलनको बाटो बन्नेछ ।  त्यसैले अब म यो बाटो हिँड्न चाहन्न । जहाँ सत्यको मार्ग छ त्यही हिँडेर यो जीवन जलनबाट मुक्त हुन चाहन्छु । काँडैकाँडाबाट पन्छिन चाहन्छु । आत्माग्लानीबाट छुट्टिन चाहन्छु । चिन्ताबाट अलग्ग हुन चाहन्छु । 
 अब मलाई कुनै चिन्ता छैन । किनकि मैले सुख र दुःखलाई पराइ ठानिसकेको छु । दिनरात जागा भएर यस्ता विकृतिहरुबाट निर्भय भइसकेको छु । अब मलाई कसैले समात्न सक्दैन । पछिपछि लागेर अब कोही आउन सक्दैन । नदीको त्यो शान्त तटमा बसेको बेला चिसो हावाजस्तै शीतल बनेर छिनछिनमा मेरा गन्तव्यमा पुग्न सकूँ । मलाई अब बिदा दिए हुन्छ । यो क्षणिक संसारिक माया मोहलाई त्यागेर अब म परलोक जान चाहन्छु । मलाई यहाँ बस्नु छैन । मलाई यहाँ अल्झिनु छैन । अब म कसैलाई नसोधिकन मेरा सम्पूर्ण वैभवहरूलाई छोडेर जाँदैछु । बाटोमा कुत्सित विष पिएर सुस्तसुस्त खै म त बाटो हेरिरहेको छु । चिसो आँखा खोल्न नसकेपछि, रगतहरु बग्न छोडेपछि ,मन र मस्तिष्क शून्य भएपछि, शरीरले प्राण त्यागेपछि अब म मुर्दा बनेर चिहानमा सुत्नेछु । एक अन्जली पानी पिउन, एक थोपा आँसु चुहाउन, एक मुठी आगो पिउन म त कहिल्यै नउठ्ने गरी सुतिसकेको छु । म त आफै बाटो लागेर धर्मकाँटामा पाप र धर्म जोक्दैछु ।  
   भयो आत्मग्लानी भनिकन मलाई किन घृणा ?
   म खोज्छू आत्माको अटल गरिमा राख्न सबमा 
   यहाँ जे भन्दैछौ विषयहरूको वैभव भन 
   सबै काडा हुन् ती सबकन दिने दुख जलन । 
   बिदा देऊ सारा झलमलहरु जान्छु अब ता
   भयो साह्रै–साह्रै अलमल यहाँ फस्दिनँ म ता
   चटक्कै छाडी यो धन, जन तथा वैभव, यश
   म लागँे बाटोमा किन अब पिऊँ कुत्सित विष ?
 मन हलुको हुनुपर्छ । भारी भयो भने जीवन चलाउन गाह्रो हुन्छ । पीडा भएर मन रुनेछ । जिउँदै अँध्यारो भएर मुटु दुख्नेछ । त्यसैले यो मनलाई गाह्रो पारेर राख्नु हुँदैन । स्वतन्त्र छोडिदिनु पर्छ । जे मन लाग्यो त्यही गर्ने हो भने मन भाँसिएर जानेछ । मन मरेर जानेछ । मन सुकेर जानेछ । मन आँसुमा डुब्नेछ । हो, नजानेका कुरा साधुसन्तलाई सोघे हुन्छ । नबुझेका कुरा अनुभवीहरुलाई बुझे हुन्छ । मान्छे प्रशंसा हो कि निन्दा हो । बल हो कि धैर्य हो । केही फरक पर्दैन । मन स्वच्छ हुनुपर्छ । जसले जे भने पनि धैर्यबलले सहन सक्नुपर्छ । द्रष्टा त त्यो हो जसले सृष्टि गरी तन र धनबाट अलग हुन सिकाउनु पर्छ । 
 उठांै अब बस्नु हुँदैन । जागौ अब चुप लागेर बस्नु हुँदैन । मन त चन्चल छ । तैपनि प्यारो, राम्रो परमथलमा म पुग्नुपर्छ । जहाँबाट आए फेरि त्यही ठाउँमा जानुपर्छ । आनन्द त्यसैमा छ । जहाँ सार छ । जहाँ केन्द्र छ, त्यहाँ मान्छेको आस्था हुन्छ । त्यही मान्छेहरू पुग्ने गरिन्छ । बिमलको छविले निर्मल पारे जस्तै सबै ब्रह्माण्ड विकसित हुने गरिन्छ । सत्यसंग अँगालो हालेर अन्तिम सत्य यही हो भनेर बुझिन्छ । तसर्थ सबैलाई जोडी करयुगलप्रति आदर गरौं । म नै ठूलो हुँ भनी रति पनि फुर्ति नगरौ । ईश्वरको कामना गर्दै मन, वचन र कर्म शुद्ध पारौ । मानव कल्याणका लागि दिनरात सेवा गर्न पाऊँ । यही नै मेरो कामना हुनुपर्छ । यही नै मेरो चाहना हुनुपर्छ । तब पो मान्छे भएर बाँचेको सार हुनेछ । नत्र म ठूलो हुँ भनी कसैलाई फुर्ति गर्दैमा ठूलो हुने होइन । यो अहंकार हो । स्वाभिमानी माथि ठूलो कलङ्क हो । 
 हाम्रो जीवन जिउँनको लागि मात्र बाँचिएको होइन । जिउँन त सबै प्राणीहरू जिएकै छन । आफ्नो तहमा बसेर जीविका निर्वाह गरेकै छन्। । तर मान्छे जिउँनको लागि मात्र बाँचिएको होइन । प्रेम र करुणा दिनको लागि पनि हो । त्याग र बलिदान गर्नको लागि पनि हो । त्यसैले यो भूतलमा बसेका विवेकी मान्छेले मेरो आफ्नो होइन, मान समानमा होइन, लोभ लालचमा होइन, फुर्ति घमण्डमा होइन यो त माकुराको जालो सम्झेर हामीहरुले दिनहु मृत्युलाई सम्झिरहनु पर्छ । गाह्रो साह्रो बेला सघाई दिनुपर्छ । भरथेक बनेर यो दुनियाँलाई चलाई दिनुपर्छ । तब पो ईश्वर खुसी भएर हामीहरुमाथि कृपा हुनेछ । बुझ्नै नसक्ने यो ब्रह्माण्डभित्र पसेर एक कण भएपनि बुझ्नेछ । हाम्रो जीवन धन्य सार्थक बन्नेछ ।  
      प्रशंसा वा निन्दा जुन जति मिलोस् धैर्य बलले 
      सही सारा–सारा म बसन सकूँ स्वच्छ मनले 
      म ता द्रष्टा खाली जुन जति भयो होइन भनी
      अलगै बस्नेछु तन धन बिना बेगल बनी । 
      उठौँ, जाऔँ भैगो मन पनि उसै चन्चल भयो 
      उही प्यारो, राम्रो परम थलमा पुग्न मन भो 
      उही आनन्दैको बिमल छविको केन्द्रसरि जो 
      सबै नै ब्रह्माण्डै विकसित हुने केन्द्रथल त्यो । 
      सबैलाई जोडी करयुगल यी आदर गरुँ
      मै हूँ ठूलो भन्दै रति पनि कुनै फुर्ति नगरुँ
      सबै प्राणीलाई बुझिकन सियाराममय भै
      सबैको सेवामा दिनहरु बितून् आदरसितै । 
 यो कुरो सत्य हो, मति राम्रो भयो भने गति राम्रो हुन्छ । त्यसैले मान्छेले मतिमात्रैै राम्रो पार्नुपर्छ यो संसार हाम्रो लागि वरदान सिद्ध हुनेछ । न दुख हुन्छ न पीडा । मान्छे जिएर पनि परलोकसम्म नित्यको चर्चा चल्नेछ । सद्गुरुहरुले विवेकपूर्ण व्यवहार गर्नेछ । आदरले मान्छेलाई पनि शिर झुकाउनेछ । न्यायका निम्ति मान्छेलाई पनि धर्मकाँटा दिइनेछ । त्यो दिन कहिले आउँला जब मान्छेले मान्छेलाई मानवताको व्यवहार गर्नेछ । चोटपटक लागे मलमपट्टी लगाउनेछ । सबैको निम्ति न्याय बनेर प्राणी जगतको कल्याण हुनेछ । त्यही बेला हामीले मति राम्रो भएको मानिनेछ । होइन भने यो मति बिग्रेर तनमनमा अशान्ति पैदा हुनेछ । घाँटी रेटेको प्राणी जस्तो छटपटेर मर्नु पर्नेछ । 
 म चाहन्छु मेरो मतिसघै शान्त स्थिरपदमै मग्न भई बाँच्न पाएँ हुन्थ्यो । झमेलामा झेला अगमित भई यहाँ फोर्नु पाएँ हुन्थ्यो । मेरो अभयपदमा कतै धाप नपरे हुन्थ्यो । मलाई गाड्ने ती विविध थरिका पाप नपरे हुन्थ्यो । बस् मलाई यति भए पुग्छ । मेरो जीवन शान्तपूर्वक बाँच्न मैले अशान्तितिर हात हाल्नु हुन्न । अब म यस्तो बाटोतिर लाग्यो भने मैले अभय मार्गतिर कसरी जान सकिन्छ र ? नानाथरिका पापहरुले मलाई गाडेर जीवन कसरी उठ्न सक्छु र ? यो सम्भव छैन, यस्तो बाटोतिर लाग्ने छैन । मेरो जीवन बर्बाद पारेर म नर्कमा जानु छैन । मलाई त यही स्वर्ग देख्नु छ । पापहरु पखालेर मतिसँगै गतिको बाटो लिनुछ । जिउँदै ईश्वरलाई भेटेर मेरो आत्माले शान्ति पाउनु छ । 
 म उठ्नु पर्छ । जाग्नूँ पर्छ । समालेर फेरि अलमलको बाटोमा लाग्नु हुँदैन । मलाई छुट्कारा देऊ । अब मेरो आफ्नो घर जानू छ । अबेर नगरिकन म त्यहाँ चाँडै पुग्नुछ । किनकि मलाई पर्खेर बसेका अनन्त आत्माहरुसँग भेट्नु छ । यो लोकजस्तो त्यो लोक होइन । त्यहाँ त अमरपुर छ । पुण्य गर्नेहरु ईश्वरसँग विहार गरी आनन्दमय् जीवन बिताउनेछ । त्यसैले यो मत्स्यलोक, देवलोक होइन । मत्स्यलोकमा त पापीहरू पनि बाँच्न सकिन्छ । अन्याय र अत्याचारीहरुले पनि सुख पाउँछ । तर देवलोक त त्रिलोक्य हो । जहाँ अन्याय, अत्याचारी र पापीहरुको कुनै गन्ध हुँदैन । जहाँ पुण्य आत्माहरुले पुण्य छिण नहुन्जेलसम्म बास बस्न पाइन्छ । तसर्थ पुण्य आफैमै मोक्ष होइन । मोक्ष त अविद्याकृत प्रपञ्चबाट निर्वाण हुनु हो । जीवनको अन्तिम परिणति पाउनु हो । दिव्य पदमा जानू हो । तसर्थ अहिंसा परमधर्ममात्र होइन अहिंसा त परमज्ञान र तप पनि हो । क्षमा धर्ममात्र होइन क्षमा त यज्ञ र शास्त्र पनि हो । आशानै दुःखको जननी मात्र होइन तृष्णा र चाहना दुःखको कारण पनि हो । त्यसैले यो सुख र दुःखको जीवनमा दुःखले आफूले आफैलाई सम्झाउन खोज्छ । सुखले आफुले आफैलाई भूलाउन खोज्छ ।
 भनिन्छ, दुःख–सुखको जननी हो । सुख–दुःखको जननी । मान्छेको इच्छाले चाहनाको जन्म भएपनि हामीमा तृष्णाहरु बढेर असन्तोष बढ्दै जान्छ । तब न सुख र दुःखको अनुभूति हुन्छ । त्यसैले यो संसारमा सबै मान्छे दुःखी छन् । यस्तो दुःखलाइ निरोध गर्ने हो भने आर्यअष्टाङ्ग मार्ग अपनाउनु पर्छ । प्रेम र करुणामात्र होइन धैर्य, क्षमा, सहयोग र सद्भावलाई जन्म दिनुपर्छ । खुसी बाँडेर दुःखलाई कटाउन सकिन्छ । हरेक कुरामा सन्तोषी भएर जीवन यापन गर्न सक्नुपर्छ । त्यसैले यो विषम झन्झटहरूबाट अन्तस्करणमा राखेर हाम्रो शरीरबाट पैदा हुने अमृत र बिषलाई छुट्याउँदै कपटपूर्ण मान्छेसँग सत्यको कहिल्यै बास हुन सक्दैन भनी हामीले आफ्नै मनलाई सम्झाउन सक्नुपर्छ । अर्काको निन्दामा होइन सहनशीलताले मात्र विजय पाउन सक्छौ भनी इतिहासलाई देखाइदिनु पर्छ । धोखाले ओरालो लागेर पतनको बाटोतिर लागेको मान्छेहरूको कुरा सुनाइदिनु पर्छ । तसर्थ अरुलाई खुसी देखेर आफू दुःखी हुने होइन । सुखको कामना त हामी सबैले गर्नुपर्छ । स्वार्थले त शत्रुको जन्म हुन्छ । त्यसैले हामीले स्वार्थलाई त्यागेर आफैले आफैलाई विश्वास गर्न सक्नुपर्छ । परमशान्ति र सुखको ढूकुटीमा पसेर यो मनुजको चोलामा आफूले मात्र होइन अरुलाई पनि सुखका सागरहरु देखाइदिनु पर्छ । ताकि सागरलाई मात्र हेरेर पार गर्न सकिन्न भन्ने कुरा थाहा पाओस् । मनैदेखि भावना जागृत गरी खुसी र आनन्दको छायाँ हो भने देखाइदियोस् । तब पो श्रद्धाले शीर झुक्नेछ । सहयोग गर्ने हात र खुट्टाहरु सत्मार्गमा लाग्नेछ । प्रेमले भरिएर सबैको मुटु चल्नेछ ।  
   सधैँ आफ्नो शान्त स्थिरपद तिरै मग्न म रहूँ
   झमेलाका झेला अगमित यहाँ फार्न म सकूँ          
   म जाऊँ त्यो मेरो अभय पदमा धाप नपरुँ 
   मलाई गाड््ने ती विविध थरिका पाप नगरुँ ।
   उठूँ , जागूँ , सम्लूँ  अलमलमहाँ फेरि नपरुँ 
   म पाऊँ छुट्कारा अब अति भयो बेर नगरुँ 
   सबै फुस्सा बास्ना लिइकन कुनै दुःख नसहूँ
   म जाऊँ झट्टै नै अमरपुरमा बस्न म सकूँ ।
   सबै पाखा लागी विषयमदका झन्झटहरू 
   सधैं यस्तै अन्तस्करण बीचमा नै रमिरहूँ 
   थलो मेरो त्यो नै परम ढुकुटी शान्ति, सुखको 
   त्यसैमा नै पुग्ने मनुज जुनीको औसर छ यो ।
 जीवन जिउँन धेरै गाह्रो छ । बाटोभरि आँखा ओछ्याएर हिँड्नुपर्ने यो जीवनमा हावाहुरीले बाटाहरु भत्काउन सक्छ । प्राकृतिक प्रकोप भएर मान्छेहरुलाई अचानक बर्बाद पार्न सक्छ । हो, विषयहरु त थुप्रै होलान् तर जीवनमा यही बिघ्नबाधाले जीवन तहसनहस होला भन्न गाह्रो छ । किनकि मान्छेले सिद्धित्व प्राप्त गर्न धेरै मेहनत र परिश्रम गर्नुपर्छ । स्वमन र स्वचित्तले कणकणको साघना गर्नुपर्छ । तब पो मान्छेले सिद्धित्व प्राप्त गर्न सकिन्छ । होइन भने हावाहुरीले पनि मान्छे ढाल्न सक्छ । कहिल्यै उठ्नै नसक्ने गरी मान्छे–मान्छेबाट पनि हराउन सक्छ । हे ईश्वर ! मलाई यस्तो बिघ्नबाधाबाट जोगाइदेऊ । म को हुँ मेरो अस्तित्व जोगाइदेऊ । किनकि म, मजस्तो भए पुग्छ । मलाई अरुजस्तो बन्नु छैन । त्यो धरर्तीमा बाचुन्जेल म, मभित्र फेरि नफिरदेउ । हामी त मानव हौ । मानवले त धरर्तीजस्तै हलचल सबै सही दिनुपर्छ । जसले जे गरे पनि आँखा चिम्लेर बसिदिनुपर्छ । रोप्नेले रोक्छ । बिगार्नेले बिगार्छ । तर यो धरर्तीले रोप्ने र बिगार्नेलाई पनि केही भनिदैन । आँखा चिम्लेर सहनु धरर्तीको नियम हो । नबोल्नु धरतीको  प्रेम हो । 
 गगनको प्रेम र सद्भावले होला एकटकले हेरिरहन्छ । किन होला, धरर्तीको नयन नभएकोले हो कि ? धरर्तीको मुख नभएकोले हो कि ? धरर्तीको पीडाले गगन रोएर होला आजकाल श्रावण–भदौ चल्दैछ । छिनछिनमा अविरल वर्षा भएर मनका कुरा पोख्दैछ । यो के भएको होला ? धरर्तीका बासिन्दाहरूको मति यति चाँडै किन भ्रष्ट भएको होला ? पानीजस्तै थोपाथोपामा झरेर धरर्तीलाई किन चिराचिरा पारेको होला ? म पानीजस्तै बगिरहेको बेला मेरो जीवन आगोजस्तै घपघप बली सधैँ नित्य गर्न सकूँ । म हावाजस्तै चारैतिर फैलिएको बेला मेरो नित्यले यो धरर्तीमा सधैं साथ पाईरहूँ । मेरो यही प्रार्थना छ । मेरो यही कामना छ । त्यसैले गगनजस्तो विशाल काया बोकेर मसधैं बाँच्न सकूँ । मेरो प्यारो परमथलोलाई नै सम्झेर मसधैं रमाउन सकूँ ।              
   हुरी झञ्झा आँघी विषयहरूमा कति नपरुँ 
   म जे हूँ ,जो हूँ मा पुगिकन यता फेरि नफिरुँ 
   भई धर्र्तीजस्तो हलचल सबै नै सहि देऊँ 
   म पानीजस्तै नै क्षणक्षण यहाँ नै बसिरहूँ । 
   सधैँ आगोजस्तै धप–धप बली नित्य म रहूँ 
   हावाजस्तै बन्दै सबतिर गई नित्य म बहूँ
   असङ्गी, निद्र्घन्द्घी गगनसरि भै व्याप्त म रहूँ  
   म आफ्नो त्यै प्यारो चिरतम थलोमै रमिरहूँ ।
  म मान्छे, मेरो भन्नु कोही छैन । म त सुन्यबाट पलाएको मान्छे, सुन्नेमै हराउनेछु । हावाजस्तै चारैतिर फैलिएर नित्यमै जिउन खोज्दैछु । गगनजस्तो विशाल मन बोकेर सबै प्राणीहरुलाई बोक्न चाहन्छु । रवि र शशीसँगै खेल्दै एकदिन रवि र शशीबाटै टाढा हुन चाहन्छु । फूलका थुङ्गाहरु ईश्वरको शीरमा सजाएर मजस्तो फुक्का मान्छे पनि त्रिभुवनभरि खोजिएर भेटाउन नसक्ने बन्न चाहन्छु । हो, जीवन्त सरल मात्र होइन जिउँन धेरै गाह्रो छ । प्रत्येक पाइलामा आफ्नै व्यथा छ, कथा छ । थाहा छैन, कहिले गहिरिएर सम्झिन्छ , कहिले पातलो भई बिर्सिन्छ । आँखा धमिलो भएजस्तो, मन थोपाथोपामा चुहेजस्तो, मान्छे त दया र मायाको सागरमात्र होइन, मान्छे त पीडैपीडाको पोखरीमा नुहाउने प्राणी पनि हो । त्यसैले कहिले मन रुन्छ । कहिले मन हलुको भएर कताकता उड्न थाल्छ । भूल र प्रायश्चितको संगममा कहिलेकाहीँ निभ्न लागेको बत्तीजस्तो धपधप भएर तेजिलो पनि बन्दोरहेछ । 
 म मान्छे, प्राणी जगत्का सर्वकृष्ट विवेकशील प्राणी । त्यसैले यो संसार मेरो अधिपतिमा चल्नुपर्छ । मैले खोजेकोजस्तो, मैले सोचेकोजस्तो हुनुपर्छ । किनकि म पशुपति हूँ । प्राणीको मालिक । बन्धनमा बाँचिएका प्राणीहरुलाई उद्धार गर्नु मेरो धर्म हो । पतन हुन लागेका प्राणीहरुलाई जोगाउनु मेरो कर्म हो । त्यसैले मैले त काम, क्रोध, लोभ र मोहलाई पन्छाउनु पर्छ । भित्री कुरा बाहिरसँग दाँजेर हेर्नुपर्छ । आँखाले नदेखेका कुराहरु सुक्ष्मरुपले मनले केलाउनु पर्छ । घाटमा गएर लास जलिरहेको चित्तलाई देखाउनु पर्छ । जीवन आफैमै भजन कृतन हो । जिन्दगीभर सत्–विचारको पूजापाठ गर्नुपर्छ । समय सापेक्ष सुहाउँदो कुरोले अन्धविश्वासलाई पखाल्न सक्नुपर्छ । ढुंगालाई पनि ईश्वर मानेर सधैं पूजा गर्ने हो भने ढुंगा पनि मान्छेको लागि ईश्वर बन्नेछ । 
   मान्छेलाई सुख चाहिन्छ । तर त्यो सुख कति भए पुग्ने हो, थाहा छैन । के असीमित सुखले दुःखलाई निम्त्याउँदैन र ? त्यसैले जिन्दगीका मूर्त–अमूर्त स्वरूपहरूमा मनको बह पोख्ने ठाउँ पनि हुनुपर्छ ।  जीवन सिकाउने जीवनशास्त्र पनि पढ्नुपर्छ । म पशुपति, म अधिपति, ब्रह्माण्डकै ज्ञानी म विवेकशील प्राणी । मलाई फजुल दुःखले डाम्न सक्दैन । किनकि मलाई काम, क्रोध, लोभ र मोहले फसाउन सक्दैन ।  मेरो मन ढुङ्गा भइसकेको छ । मेरो कान नचाहिने कुरा नसुन्ने भइसकेको छ । मेरो हात माटो बाहेक अरु केही छुन सक्दैन । त्यस्तो मान्छेलाई दुःखले कहिले सताउन सक्छ र ? मायाजाललाई च्यातचूत पारेर फालिसकेको मान्छेलाई सक्कली र नक्कली के छुट्याउन आउँदैन र ?  त्यसैले म चाहन्छु मेरो आत्माले सधैं अभिचल शान्ति खोज्दैछ । मान्छेभित्र पनि एउटा विवेकशील मान्छेको जन्म दिन खोज्दैछ । 
 आजकाल किन हो कुन्नी यो माया र मोहको संसारबाट टाढा भई तीर्थस्थलमा गएर बाँकी दिनहरू बिताउँजस्तो लाग्न थाल्छ । श्रद्धाले भक्तिभावपूर्ण भजनहरु गाएर ईश्वरकै शरणमा जाऊँजाऊँ लाग्न थाल्छ । किनकि यो जीवन जिउँन मात्र होइन, जिएर पनि मान्छे बाँच्न गाह्रो छ । कतै जानीनजानी भूल गरेकै भएपनि सबैसँग माफी मागेर अस्ताचलमै गएर बसौँबसौँ लाग्न थाल्छ । मन निर्मल पारी शान्तिपूर्वक बाँच्न कतै एकान्तमा गएर हराऊँहराऊँ लाग्छ । चोखो मीठो एक गाँस जे छ त्यही टिपेर भएपनि परमपदमा जान नित्यपथमा जाऊँजाऊँ लाग्न थाल्छ । कतै मन हराएको बेला खोज्न त पर्दैन । कतै तन हराएको बेला आफन्तहरुले त भेटिदैन । 
   म हुँ ब्रह्माण्डैको अधिपति, म नै हूँ पशुपति
   मलाई डाम्ने रे फजुल दुःखले लौ कतिकति 
   सबै च्यात्चुत्् पारिकन सकल पर्दा तिमिरको 
   म च्याऊँ आत्माको अविचल सदा शान्त सुख त्यो । 
   गई टाढा तीर्थस्थल बीचमहाँ शुद्ध मनले 
   बिताउँ बाँकी ती दिनहरू सबै श्री भजनले
   अहारा चोखो ली वसन म सकूँ शान्त थलमा  
   गई नित्यै पाऊँ परम पद त्यो शान्त नभमा ।  
 म अविनाशी होइन । अनश्वर र अक्षय पनि होइन । म त अनित्य हुँ । कुनै न कुनै बेला नाश हुने क्षणभङ्गुर हुँ । कठपुतलीझैँ नाचेर दुई दिनमा बिलाएर जाने प्राणी हुँ । त्यसैले म अमरसुखको खोजीमा जीवन बर्बाद पारेर छटपटमै निशासिएको मान्छे हुँ । यो मनमा कति पीडा छ । कति चिन्ता छ । कति व्यथा छ । कति छटपटी छ । तर अमरसुखको पछिपछि लागेर आज मेरो जीवनमा तेलको अभाव हुँदैछ । पिलिक्क पिटिक्क बलेर कुनै बेला मेरो जीवन निभ्ने हो । थाहा छैन, मैले समय त खेर फालिसके । अब त्यो समय मसँग छैन । नदीझैँ बगेर कताकता गइसकेको छ । अतीत सम्झनु बाहेक ममा अरु केही छैन । किनकि त्यो बेला मैले समयलाई चिन्न सकिएन । आज समयलाई चिन्ने तर समय मेरो साथमा छैन । यही नै जीवनको दुर्भाग्य हो । यही नै जीवनको दुर्गति हो । 
 हे ईश्वर ! यो अलमल संसारमा सुख र दुःखबाट सदाका निम्ति मलाई अन्त्य गरिदेऊ । सबै कुराहरु एकछिन नासिनुपर्छ भन्ने ज्ञान मलाई सुनाइदेऊ । तेरो बाटो यही हो भनी छिटै ध्यान मलाई दिलाईदेऊ । सजिलै चिरतम थलो पु‍प्याउन मलाई आज लगिदेऊ । किनकि मान्छे हुँ तर अज्ञानी छु । लोभी–पापी छु । स्वार्थमा बाँच्ने बेमान मान्छे हुँ । मेरो भर छैन । म माया गरेजस्तो गरी कसैलाई फसाएर घाँटीे निमोठिने मान्छे हुँ । म मान्छेको नाममा जनावर हुँ । स्वरूप जेसुकै भएपनि म भित्र दानव पालेको मान्छे हुँ । मलाई मान्छेको रगत र मासु मीठो लाग्छ । मलाई अर्काको आँसु पिउँन रहर लाग्छ । मलाई अर्काको छटपटीमा हाँसो लाग्छ ।
 मलाई अमरसुख पाउँन मन लाग्छ । त्यसैले यो समय मेरो हो । म खेर फाल्न चाहन्न । मलाई जे चाहिन्छ त्यही पूरा गर्नु मेरो चाहना हो । तर आज समयले कोल्टो फेरिसक्यो । नदीनालाहरुले थुप्रै बाटाहरु फेरिसक्यो । हिजो ढुंगा थियो । आज बालुवा बनिसके । हिजो बालुवा थियो । आज पत्रे चट्टान भईसके । त्यसैले समय कसैको हुन सक्दैन । यो त बगिरहने अविरल नदी हो । आज छ भोलि छैन । यो अनित्य संसारमा मान्छे–मान्छे भएर मात्र पुग्दैन मान्छे भएको जस्तो पनि हुनुपर्छ । 
   हरे ! यस्तो दुःखी किन हुन गएँ ? जादिनँ म ता
   कहाँ गो त्यो तिम्रो अमर सुख त्यो आज अब ता ?  
   म पिल्सी चिन्ताले यति तल झरँे हय ! कसरी ?   
   कसरो वस्दोँ हूँ ? सहन नसकी छट्पट गरी । 
   तँ छाडी सारा यो दुःख सुख सबै अन्त गरि दे !
   सबै नासिन्छन् यी भनिकन नयाँ ज्ञान भरि दे 
   यही तेरो बाटो भुझिकन छिट्टै ध्यान दिइ दे
   सजीलै तँ तेरो चिरतम थलो आज पुगिदे !
 यो शरीरबाट आत्मालाई निकाल्ने हो भने मान्छे मुर्दा बन्छ । त्यसैले आत्मा शरीरलाई जीवित र क्रियाशील बनाउने अभौतिक शक्ति हो । यो अविनाशी छ । अद्वितीय छ । चैतन्यतत्वको ज्ञान दिने सत्चित आनन्द पदार्थ भएपनि आज युगकवि सिद्धिचरणको आत्मा रोहिरहेको छ । दुखैदुःख पोखिरहेको छ । विलाप भएर बिलौना गरिरहेको छ । के युगकवि सिद्धिचरणको आत्माले खोजेको कुरा नपाएर हो कि ? कतै मान्छेहरुले बाटो भुलेको कुरा देखेर रोएको हो कि ? कतै मान्छेहरु यतिसम्म नीच भएर बाँचेको कुरा देखेर हो कि ? कतै मान्छेहरु प्रति दयामाया लागेर आफ्नो आत्म–बिलौना लेखेको हो कि ? किन हो, यो कुरो त युगकवि सिद्धिचरणलाई नै थाहा होला । त्यसैले आत्म–विलौना खण्डकाब्यमा युगकविको मसी अहिलेसम्म सुकेको छैन । उहाँको दुई शब्दमा ‘ जीवन जगत् आँसुले टाँसिएको छ र आँसुले नै यसलाई छुट्याउनु पर्छ । जीवन र जगत्को केही सम्बन्ध छैन तर यी दुईको संगमनै संसार हो । त्यसैले संसार मिथ्या हो । जतिकै मिथ्या भएपनि यसलाई हाम्रो मनले ग्रहण गरिराखेकै छ । भूत, वर्तमान र भविष्यका कल्पनाहरूद्वारा संसारलाई हामी ग्रहण गर्छौं । यसरी ग्रहण गरिएको उपाधिबाट मुक्त हुनको निम्ति हामी केही चेष्टा गर्छौ । त्यो नै साधना हो । बेलाबेलाको मेरो त्यही प्रयास यो आत्म–विलौना हो । पिँजराभित्रको चराले पिँजरा बाहिरको वातावरणको झिल्काको अनुभव गर्न आवश्यक छ । पिँजरा हाम्रो शरीर हो; देह हो । कायामा बसेर माया बन्धन हो भन्ने विचार गरेर यसमा आशक्ति नलिईकन जीवन बिताउन सकिएन भने त्यो महाअन्धकारमा परिरहन्छ । यही अन्धकारबाट छुटकारा पाएर कसरी आलोक भेट्टाउने हो ?’’ “जगत्को मिथ्यापनको ज्ञान वैराग्य हो । यही वैराग्यलाई विवेकद्वारा ग्रहण गर्नु नै हाम्रो सच्चा बाटो हो या वास्तविक बाटो हो । यसैलाई सकेसम्म सम्हाल्नका निम्त मैले यो आत्म–विलौना लेखेको हुँ वा रचना गरेको हुँ ।” “टन्टलापुर घामले सताएको यो जीवनमा क्षणभरका लागि भएपनि आत्म शान्तिको कामना गरिएको यो बिलौना हो अर्थात् भन्नुस् सन्निपातको रोगले सताएको बिरामीले बर्बराएको यो निरर्थक आवाज हो । पिँजराको सुगाले वनको उन्मुक्ति वातावरणलाई सम्झन खोजेको यो क्षणिक शुभघडी हो । किन्चित मात्र मैले यो बिलौना पाठकहरूको हृदयमा पनि पार्न सकेँ भने आफ्नो प्रयत्न साकार भएको सम्झिनेछु । अस्तु ।” भनी आत्म–विलौना पोख्नु भएको छ ।  
  एकसय अठाई श्लोकको शिखरिणी छन्दमा लेखिएको प्रस्तुत आत्म–विलौना आत्मपरक खण्डकाव्य हो । जसमा भौतिक र आध्यात्मिक जीवनशैलीको द्वन्द छ । तीव्रो मायाजाललाई जसरी भएपनि च्यात्नुपर्छ भन्ने उच्च मनोबल खण्डकाव्यमा देखिन्छ । म को हूँ र के हूँ भनी प्रश्नबाट जन्म भएको प्रस्तुत खण्डकाव्यमा आफू चारैतिरबाट बिग्री सबै भताभुङ्गा हुन गएको मार्मिक भावना व्यक्त गर्नु भएको छ । जीवन आफैमै संघर्ष हो । त्यो संघर्षभित्र तृष्णा–वितृष्णाको व्यापक द्वन्द छ । संसार र परमार्थको गहिरो चर्चा छ । आस्था र मुक्तिको लामो संवाद छ । अनित्य र अविनाशीको खण्डखण्ड वर्षा छ । कर्म र अकर्मका कुरो छ । अतीत चिन्तन छ । विकृति र विसंगति मात्र होइन लौकिक र अलौकिक तथा जीवन र जगत्को लामो चर्चा छ ।     
 अन्तमा साढे सात दशकसम्म काव्य साधना गर्ने युगान्तकारी युगकवि सिद्धिचरण स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक हुन । नेपाल भाषाका कविरत्न तथा एकतन्त्र जहाँनिया राणाशासन कालमा नेपालमा पहिलो क्रान्ति र हडताल शब्द प्रयोग गरी कविता लेखे बापत सर्वस्वहरण गरी अठार वर्ष कठोर जेल सजाय भोग्न बाध्य भएका लोकप्रिय युगकविको योगदान र आदर्शलाई हामीले मननगर्दै शीर झुक्याउनु मात्र होइन गहिरो मूल्यांकन गर्नु नितान्त आवश्यक देखिन्छ ।   
प्रकासित मिति २०८२-५-४

तपाईको प्रतिक्रिया