शासन सुधारमा सकारात्मक कार्यसंस्कृतिको योगदान

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि
    तोमनाथ उप्रेती

संगठनात्मक कार्यसंस्कृति संस्थामा कार्यरत व्यक्तिहरूको साझा मूल्य, विश्वास, मान्यताहरू, आचरण र कार्यशैलीहरूको समुच्चय हो। यसले संस्थाको आन्तरिक वातावरण, कर्मचारीहरूको आपसी सम्बन्ध र कार्य गर्ने तरिकामा ठूलो प्रभाव पार्दछ। संगठनात्मक कार्यसंस्कृति संस्थाको लक्ष्य र उद्देश्य प्राप्त गर्नका लागि मार्गनिर्देशन गर्ने एक महत्वपूर्ण तत्व हो।
संगठन बहुसंस्कृतिको संगम हो, जहाँ विभिन्न पृष्ठभूमिका कर्मचारीहरू मिलेर काम गर्दछन्। संगठनात्मक संस्कृतिमा नै संगठनको प्रभावकारिता र सक्षमता निर्भर गर्दछ। संगठनात्मक समस्याहरूको व्यवस्थापन र समाधान गर्ने आधार नै संगठनात्मक संस्कृति हो। यो एउटा अमूल्य सम्पत्ति हो जसले संगठनमा गतिशीलता ल्याई सुशासन कायम गर्न मद्दत गर्छ। लामो समयदेखि स्थापित सबै प्रकारका संगठनहरूमा आफ्नै पहिचान झल्कने किसिमको संगठनात्मक संस्कृति विकास हुँदै आएको हुन्छ। तर, संगठनात्मक संस्कृति र संरचना सधैँ स्थिर हुँदैन, यो समय र वातावरणअनुसार परिवर्तन हुँदै जान्छ।
संस्कार तथा संस्कृतिले व्यक्ति, परिवार, समूह, संगठन, समाज र राष्ट्र सबैमा प्रभाव पार्दछ। व्यवस्थापनका सिद्धान्तहरूले पद्धति र प्रक्रियामा बढी जोड दिने गरेका भए तापनि पछिल्लो समयमा संगठनात्मक संस्कृति र यसको संस्थाको कार्यसम्पादन तथा प्रतिष्ठामा पर्ने प्रभावलाई बढी महत्वका साथ हेरिएको छ। संगठनात्मक कार्यसंस्कृतिले संस्थामा काम गर्ने व्यक्तिहरूलाई मार्गदर्शन गर्न र संचार प्रवर्द्धन गर्न सहयोग गर्छ। यसले कर्मचारीहरूको प्रेरणा र उत्पादकत्वमा ठूलो भूमिका खेल्छ। सकारात्मक कार्यसंस्कृतिले कर्मचारीहरूलाई जिम्मेवार, उत्साही र दक्ष बनाउँछ, जसले संस्थाको समग्र प्रगति र सफलता सुनिश्चित गर्दछ।
सकारात्मक कार्यसंस्कृतिमा सहयोग, इमानदारी, पारदर्शिता र सम्मानको वातावरण हुन्छ। यसले कर्मचारीहरूलाई व्यक्तिगत र व्यावसायिक विकासको अवसर दिन्छ, जसबाट उनीहरूको कार्यसन्तुष्टि र समर्पण बढ्छ। यसको विपरीत, नकारात्मक कार्यसंस्कृति संघर्ष, असन्तोष, कर्मचारी पलायन र तनावको कारण बन्न सक्छ। संगठनात्मक कार्यसंस्कृतिका महत्त्वपूर्ण पहलहरूमा नेतृत्व शैली, निर्णय प्रक्रिया, आन्तरिक संचार प्रणाली, मानवीय संसाधन नीतिहरू र कार्यस्थलको वातावरण समावेश हुन्छन्। राम्रो कार्यसंस्कृतिमा कर्मचारीहरूको विचार र प्रस्तावको सम्मान गरिन्छ र संस्थाले उनीहरूको कल्याण र विकासको लागि प्रोत्साहन दिन्छ।
संगठनात्मक कार्यसंस्कृति संस्थाको प्रभावशाली सञ्चालन र दीर्घकालीन सफलता सुनिश्चित गर्न अत्यन्त महत्वपूर्ण भूमिका खेल्दछ। संस्कृति भनेको मानवीय जीवन पद्धति हो जसले व्यक्तिको सोच, आचरण, परम्परा, मूल्य र विश्वासलाई आकार दिन्छ। यसमा भाषा, कला, धर्म, सामाजिक व्यवहार, खाना पकाउने तरिका, पोशाक र जीवनशैलीका विभिन्न पक्षहरू समावेश छन्। संस्कृति समाजको मौलिक आधार हो जसले व्यक्तिहरूसँग सम्बन्ध स्थापित गर्छ र सामाजिक एकता बनाइराख्छ। यसले मानिसलाई सामाजिक जिम्मेवारी र नैतिक मूल्य सिकाउँछ, जसले समाजमा सहयोग र सहिष्णुता बढाउँछ।
संस्कृति समाजका प्रत्येक सदस्यको जीवनको विविधतामा समृद्धि ल्याउने माध्यम हो जसले जीवनलाई अर्थपूर्ण र समृद्ध बनाउँछ। संस्कृति समयसँग बदलिँदछ, तर यसको महत्त्व सधैं कायम रहन्छ। यो लामो समयदेखि चल्दै आएको चलन, रीतिरिवाज, मानसिक विकास र परम्परा हो। व्यक्ति, समुदाय वा समाजमा प्रचलित विचार, व्यवहार, मूल्यमान्यता, विश्वास, आस्था, सोचाइ, चालचलन, चाँडबाँड, खानपान, पूजाआजा, कला(संगी, भाषा(साहित्य, रहनसहनलाई संस्कृति भनिन्छ। संस्कृति एकअर्कामा बाँडिन्छ र समुदायमा अवलम्बन गरिन्छ। संस्कृति एकीकृत अर्थात् एकअर्कामा अन्तरनिर्भर र अन्तरसहयोगी हुन्छ। संस्कृति गतिशील हुन्छ र समयसँगै परिवर्तन हुन्छ।
संगठनात्मक संस्कृति संगठनात्मक व्यवहारमा प्रदर्शित हुन्छ र यसले कर्मचारीको व्यवहारलाई मार्गनिर्देशन गर्दछ। संगठनका व्यक्तिहरूले साझा रूपमा अवलम्बन गरेका व्यवहार, प्रवृत्ति, मूल्यमान्यता, धारणा, आस्था र विश्वासलाई संगठनको संस्कृति भनिन्छ। व्यक्तिको पहिचान उसको व्यक्तित्व हो भने संगठनको पहिचान संगठनात्मक संस्कृति हो। संगठनात्मक संस्कृति कर्मचारीले बुझेको, विश्वास गरेको र अपनाएको साझा पद्धति हो।
यसले नागरिक र सेवाग्राहीको समाजमा संगठनलाई चिनाउँछ। कर्मचारीलाई संगठनको हितानुकूल बोल्ने, काम गर्ने र जिम्मेवारी लिने बनाउँछ। संगठनका कर्मचारीहरूलाई ज्ञानार्जन, क्षमता विकास र कार्यसम्पादनमा सहयोग पुर्‍याउन उत्प्रेरित गर्छ। परिणामतः उनीहरू संगठनमा टिकिरहन्छन्। संगठनात्मक संस्कृतिले पूरा संगठनलाई लक्ष्य हासिल गर्नका लागि सम्पूर्ण जनशक्तिलाई टिममा रूपान्तरण गर्दछ भने कर्मचारीको कार्यसम्पादन स्तर बढाएर संगठनलाई परिणाम प्राप्त गर्न क्रियाशील बनाउँछ। यो यस्तो क्रियाशील तत्व हो जुन पुस्ताबाट पुस्तामा सर्दै जान्छ। यसले संगठनको मान्यता, मूल्य, प्रथा, अभ्यास, मनोवृत्ति र अनुभवहरू समावेश गर्दछ। यसको उद्देश्य समूहका सदस्यहरू कसरी एकअर्कासँग र बाहिरी संसारसँग सम्बन्ध राख्ने अपेक्षा गरिन्छ भनेर निर्दिष्ट गर्नु हो।सकारात्मक र सुदृढ संगठनात्मक कार्यसंस्कृतिले मात्र संगठनलाई सफलताका शिखरमा पुर्‍याउन सक्छ र दीर्घकालीन विकासका लागि आधार तयार पार्दछ।
कुनैपनि व्यक्ति, समूह तथा संगठनले कस्तो सोच लिन्छ रु सोहि सोच अनुसार उसले व्यवहार देखाउँछ । त्यहि व्यवहार पटक पटक गरिरहँदा बानीमा परिणत हुन्छ । सधैं प्रयोगमा उसको त्यो बानी अन्तमा संस्कारमा रुपान्तरण बन्न पुग्दछ । त्यही संस्कार एकबाट अर्को व्यक्ति परिवार, पुस्ता, वर्ग, समुहमा सर्दै जान्छ । त्यसैले संस्कार र संस्कृति कस्तो बनाउने भन्दा पनि सोच कस्तो लिने भन्ने महत्वपूर्ण विषय हो ।संगठनात्मक संस्कृति आन्तरिक र बाह्य तत्वहरुद्वारा विकास भएको हुन्छ । आन्तरिक तत्वको रुपमा सामान्यतया संगठनात्मक संस्कृति अन्तर्गत संगठनका सदस्यले बोल्ने भाषा, सोच, व्यवहार, कार्यस्थान, कर्मचारीहरुबीचको सम्बन्ध र समन्वय, विद्यमान सूचना प्रणाली र यसको उपयोग, कार्यालयलाई प्रदान गर्ने समय, सरोकारवालाहरुप्रति गरिने व्यवहार, चाप्लूसी र चाकडी, जस्ता पक्षहरु समावेश भएका हुन्छन् त्यसैगरी बाह्रय तत्वको रुपमा संगठनात्मक सँस्कृतिलाई प्रभाव पार्ने पक्षहरुमा संगठनको संरचना, नियन्त्रण प्रक्रिया, रितिरिवाज, हावापानी, संगठनको इतिहास, कानूनी हैसियत, राजनीतिक अवस्था, आर्थिक अवस्था आदि रहेका हुन्छन् ।संगठनको उच्च तहमा आसिन कर्मचारीहरु उक्त संगठनको महत्वपूर्ण सम्पतिको रुपमा रहेका हुन्छन् । निजहरुले सम्हालेको पद, जिम्मेवारी तथा तहले निजले संगठनकालागि खेल्न सक्ने भूमिकाको स्तर निक्र्यौल गर्न सकिन्छ । व्यक्तिहरुमा वौदिक तिक्षणता, व्यवस्थापकिय कार्यकुशलता, काम सम्बन्धि विषयको ज्ञान, सिर्जनशिलता, व्यवस्थापकिय कार्यकुशलता, सिक्ने उत्सुकता, सकारात्मक सोच, स्व–निर्णय गर्ने क्षमता तथा चाप्लुसहरुको व्यवहारलाई अध्ययन गरी सत्यतथ्य जान्ने क्षमता हुनु अत्यन्त आवश्यक हुन्छ ।
असल शासनका लागि सकारात्मक संगठनात्मक संस्कृति अत्यन्तै महत्वपूर्ण छ। संगठनात्मक संस्कृति भनेको कुनै संस्था वा संगठनभित्र रहेका साझा मूल्य, विश्वास, आचार व्यवहार, र कार्यशैलीको समष्टि हो जसले काम गर्ने तरिका र वातावरणलाई निर्धारण गर्दछ। जब संगठनात्मक संस्कृति सकारात्मक हुन्छ, तब कर्मचारीहरूमा इमानदारी, निष्ठा, सहयोग र पारदर्शिताको भावना विकास हुन्छ। यसले भ्रष्टाचार कम गर्न, कार्यक्षमता बढाउन र सार्वजनिक सेवा गुणस्तर सुधार गर्न मद्दत गर्दछ।
असल शासनका लागि नेतृत्वबाट सुरू गरी कर्मचारीसम्म सबैले पारदर्शिता, जवाफदेहिता र समान व्यवहार अपनाउन आवश्यक हुन्छ। सकारात्मक संगठनात्मक संस्कृतिले कर्मचारीहरूको मनोबल उच्च राख्छ र उनीहरूलाई संस्थाको लक्ष्यप्रति प्रतिबद्ध बनाउँछ। यस्तो संस्कृतिले नवाचार र सुधारलाई प्रोत्साहन गर्ने हुँदा सरकारी सेवामा दक्षता र प्रभावकारिता वृद्धि हुन्छ।त्यसैगरी, सकारात्मक संस्कृतिले समावेशी निर्णय प्रक्रिया, खुला संवाद र सहकार्यलाई प्रवर्द्धन गर्छ जसले संगठनभित्रका द्वन्द्वलाई घटाउँछ र काममा सामूहिकता ल्याउँछ। यसले नागरिकसँगको सम्बन्धलाई पनि सुदृढ पार्छ, जसबाट जनताको शासनप्रति विश्वास बढ्छ।
समग्रमा, सकारात्मक संगठनात्मक संस्कृति निहित स्वार्थभन्दा माथि उठेर सार्वजनिक हितलाई प्राथमिकता दिन प्रेरित गर्छ र असल शासनको आधारशिला बनाउँछ। यस्तो संस्कृति विकास नगरेसम्म शासन प्रणालीमा सुधार र विकास सम्भव हुँदैन।
रबर्ट क्विन र किम क्यामरुनले चार प्रकारका संगठनात्मक संस्कृतिहरूको चर्चा गरेका छन्स् कुलगत, तदर्थतन्त्र, बजारी र पदसोपान संस्कृतिहरू। यी संस्कृतिहरू संगठनको संरचना र कार्यशैलीलाई परिभाषित गर्छन्।
ज्ञ। कुलगत संस्कृतिः यो संस्कृति सँगै काम गर्ने, सिकाउने र समन्वय गर्ने वातावरणमा आधारित छ। यसमा संगठनको प्रत्येक सदस्य बीच सहकार्य र परस्पर समर्थन प्रोत्साहित गरिन्छ।
द्द। तदर्थतन्त्र संस्कृतिः यो संस्कृति गतिशील, उद्यमी र जोखिम लिनेलगायत नयाँ सिर्जनाको सँगसँगै प्रोत्साहन गर्दछ। यसले नयाँ विचार र योजनाहरूको अन्वेषणमा मद्दत पुर्याउँछ।
घ। बजारी संस्कृतिः यो संस्कृति प्रतिस्पर्धा र परिणाममुखी हुन्छ। यसमा संगठनको ध्यान बजार र ग्राहकको माग पूरा गर्न र प्रतिस्पर्धामा अगाडि बढ्नमा केन्द्रित हुन्छ।
द्ध। पदसोपान संस्कृतिः यो संस्कृति स्थिरता, अनुशासन र प्रक्रियाहरूको पालना गर्नेमा आधारित हुन्छ। यसमा संगठनको प्रभावकारिता र सञ्चालन प्रक्रिया विशेष ध्यान दिन्छ।
संगठनात्मक संस्कृति आन्तरिक र बाह्य वातावरणसँग मेल खान्छ र विभिन्न प्रकारका संस्कृतिहरूले संगठनको कार्यशैली र प्रभावकारितामा फरक प्रभाव पार्दछन्। आधुनिक संगठनहरू परिणाममुखी, जनमुखी र प्रतिस्पर्धात्मक हुन्छन् भने प्रशासनिक संगठनहरूमा परम्परागत, प्रक्रियामुखी र केन्द्रीकृत संस्कृतिका समस्याहरू देखिन्छन्। नेतृत्वले सकारात्मक परिवर्तनका लागि इच्छाशक्ति र रणनीतिक दृष्टिकोण देखाउनु जरुरी छ।
कर्मचारीलाई सन्तुष्ट र सक्षम बनाएर मात्र सेवाग्राहीलाई राम्रो सेवा दिन सकिन्छ। निरन्तर प्रशिक्षण र प्रोत्साहनले कर्मचारीलाई लचिलो र सक्षम बनाउँछ, जसले संगठनलाई नयाँ चुनौतीहरू सामना गर्न सहयोग गर्छ। सार्वजनिक प्रशासनमा पारदर्शिता, उत्तरदायित्व र दक्षताको विकास अत्यावश्यक छ।
अन्ततः, संगठनात्मक संस्कृतिमा सुधारका लागि कर्मचारीको सोच र व्यवहार परिवर्तन गर्नुपर्ने हुन्छ, जसका लागि प्रभावकारी नेतृत्व र योजनाबद्ध रणनीति आवश्यक छन्। गतिशील र अनुकूलनशील संस्कृति निर्माण गर्दा सार्वजनिक संस्थाहरूले उत्कृष्टता र प्रभावकारिता हासिल गर्न सक्छन्।
उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।

तपाईको प्रतिक्रिया