युगकवि सिद्धिचरणको त्यो युग, ती कविता

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

रिसव गौतम
साहित्य अनुरागी, साहित्य प्रेमीलहरुलाई युगकवि चिनाइरहनु पर्ने नाम होइनन् । चाहे ति पुराना पुस्ताका हुन् या नयाँ नै । तर पठन सँस्कृतिलाई पछ्याउन थालेका नयाँ पुस्ताका लागि युगकविका युगिन कविताहरु थाहा नहुन् पनि सक्लान् । तर त्यो नयाँ पुस्तालाई पनि युगकविको आजपनि उत्तिकै रुचाइएको ‘मेरो प्यारो ओखलढुगा’ शिर्षकको गित अवश्य थाहा छ ।
कस्ता कस्ता थिए त युगकविका रचनाहरु ? युगकवि बाँचेको त्यो इतिहास कस्तो थियो ? युगकविले आफना कविताहरुमार्फत त्यो युगमा कसरी आफना भावानाहरु बुलन्द गरे ? हो, तिनै युगकविका युगकोे आवाज बेलेका कविताहरुको भावना, लय र यर्थात खोतलेका छन् ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ मार्फत साहित्यकार स्वयम्भु शाक्यले । साहित्यमा रुची राख्ने, अझ कविता विद्या रुचाउनेहरुलाई शाक्यले ल्याएको पुस्तक गुणकारी देखिन्छ ।
पुस्तक युगकवि सिद्धिचरणका रचनाहरुमाथी अध्ययन गरिएको एउटा सुन्दरतम कृति हो । लेखक शाक्यले कविका रचनाहरुमाथी समिक्षा गर्ने क्रममा कविताको गहिराइमा डुबेर भावनाहरुको जुलुस लगाएका छन् । कविता जति शसक्क्त छन् त्यही हिसावमा लेखक कविताको गहिराइमा डुब्छन् । युगकविको ‘नयाँ बषर्’ शिर्षकको कविता
‘पात पुराना झरिरहेका देख्दैनौं ती वृक्ष नयाँ
हरिया लहलह चिडिया चहचहल्याउन सरस बसन्त यहाँ’

माथी लेखक शाक्य लेख्छन् ‘पातहरु पुराना हुनु समयले पातहरु गलाउनु हो । पुराना वृक्षमा नयाँ पातहरु हुनेछन् । पुराना वृक्षमा बसन्तको आगमनसँगै नयाँ पातहरु पलाउने छन् । हेर्दै लोभलाग्दोे हरियो भएर हावाका झोक्काहरुसँगै पातहरु पनि मस्त भएर आफनै धुनहरुमा गितहरु गाउँनेछन् । लेखक शाक्यले पुस्तकमा युगकविका कविताहरुमा सुन्दर एवं सकारात्मक दृष्टिकोण राखेका छन् । युगकविकै लयलाई पछ्याउँदै प्रकृति र जीवनका यर्थातहरुको बयान गरेका छन् । युगकविको ‘जन्मने मर्छ’ शिर्षकको कविता
‘गयो जानुपर्ने म बाँचिरहेछु
फुटेको धुलो स्वप्न साँचिरहेछु
म हाँसिरहेछु म रोइरहेछु्
गएको कुनैलाई सोचिरहेछु’

माथी लेखक शाक्यले यसरी बेलीवस्तार लगाएका छन् ‘आखिर मान्छे धुलोको कण न हो । हावाले उडाएर इच्छा नभएको ठाउँमा पुर्याउन सक्छ । मन रोएर के गर्नु ? मन हाँसेर पनि के गर्नु ? रुनु र हाँस्नु जिवनको संगम हो भनि एक्लै टोलाएर बस्नुमा बरु ठुलो बुद्धिमानी रहनेछ ।’ युगकविको कविताहरुका भवनाहरुलाई पुस्तकमा उतार्दै गर्दा लेखक स्वयम्भु शाक्य भावनाका भेलहरुमा डुबुल्की मारेका छन् ।
वास्तम्बमा युगकविले कविता उर्तादाका क्षणहरु वितेर गएपनि आज पनि उनका रचनाहरु उत्तिकै यर्थातपरक छन् । जिवन र जगतको यर्थातलाई कविता मार्फत पस्कने कविले कविता मात्रै लेखेका छैनन् झणभरङ्ग निराशाहरुमा पनि डुबीरहने मानव जगतलाई बाँच्ने तरका र अभिलाषाहरु सिकाएका छन् । युगकविले स्वार्थी हुँदै गएका मानिसहरु प्रति ब्यग्य गर्दै ‘मानिस छैनन्’ कविता यसरी पस्केका छन् ।
सुन, म भन्छु त्यहाँ मानिस नै छैन, छैन, छैन ।
तिमी भनौंला ती रङ्गीचङ्गी लुगालाई
नक्कल, झक्कल गर्दै झ्यालमा देखा पर्ने को हुन ?
म भन्छु तिनीहरु त पुतली हुन् पुतली
पुतलीहरुले पनि कहीँ तिमीहरुको क्रन्दन सुन्छ ?

प्रस्तुत कवितामाथी शाक्यले पुस्तकमा आफना भावपक्तिं यसरी कोरेका छन् ‘के रहस्य होला, मान्छे विवेक भएर पनि किन आफ्नो बाटोमा हिँडन नसकेको होला ? अनौठो लाग्छ, यो अनौठो संसारभित्र अनौठो तरिकाबाटै हाम्रो जिवन लिला समाप्त हुनेछ । यो छोटो जिवनमा बुझदा बुझदै बुझन् नपाउँदै मान्छेहरु त्यसै सुत्नेछन् । हामी त बाँचेर पनि केहि गर्न नसक्ने जिउँदो मुर्दा हुनेछौं ।’
यस्ता कयन कविताहरुमाथी लेखकले जिवनको यर्थातको धरातलमा उभिएर समिक्षा गरेका छन् । जसले युगकविका कविताको ओझ बढाएको छ । कविताको भावनाहरु प्रकाश पारेको छ । कविता पढ्नलाई अझै प्रेरित गरेको छ । यति हँुदा हुँदै लेखक शाक्य कतिपय ठाउँमा दोहोरिएका छन् । कतिपय कवितामाथी बढ्तै भावनामा डुबेका छन् र समिक्षा लम्बेतान भएको छ । तरपनि यस पुस्तकले युगकविका रचनाहरुलाई असाध्यै न्याय गरेको छ ।
यस पुस्तकमा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काँइलाले मन्तब्य जाहेर गरेका छन् । पुस्तकको ऐतिहासिक महत्वबारे युगकवि सिद्धिचरणको सिर्जनाका अध्येता डा फणिन्द्रराज निरौलाले प्रकास पारेका छन् । त्यसैगरी युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले पुस्तकमाथी टिप्पणी गर्दै भनेका छन् ‘युगकवि सिद्धिचरणका कविता र खण्डकाब्यहरुको विषयमा चिन्तन र विवेचना गरी प्रकाशनमा आएको पुस्तक एक महत्वपुर्ण दस्ताबेज भएको छ ।’
लेखक शाक्यले दुइ बर्षको तयारी पछि पुस्तक बजारमा ल्याएका हुन् । ६५ वटा फुटकर कविता, युगकविको जेल संस्मरण, मंगलमान, जुनकिरी र भिमशेन थापा शीर्षकको खण्डकाब्यका बारेमा अध्ययन गरि लेखिएको पुस्तक ५४० पेजको रहेको छ । पुस्तक स्वदेश प्रकाशनले बजारमा ल्याएको हो ।

प्रकासित मिति २०८२-१-११

तपाईको प्रतिक्रिया