ट्रम्प र पुटिनको अलास्का बैठकः युक्रेन युद्धको भविष्यबारे छलफल हुने

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

एजेन्सी २४ साउन २०८२।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्धको भविष्यबारे छलफल गर्न आगामी शुक्रबार अलास्कामा भेट्ने भएका छन्।

ट्रम्पले अगस्ट १५ मा हुने यो बैठकको घोषणा सामाजिक सञ्जालमार्फत गरेका हुन्। क्रेमलिनका प्रवक्ताले पनि बैठकको पुष्टि गर्दै अलास्कालाई ‘रुसको नजिकको उपयुक्त स्थान’ भएको बताए।

साथै, प्रवक्ताले ट्रम्पलाई दोस्रो शिखर सम्मेलनका लागि रुस भ्रमणको निमन्त्रणा दिइएको उल्लेख गरे। युक्रेनले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

यो घोषणा ट्रम्पले युक्रेनले युद्ध अन्त्यका लागि केही भूभाग छोड्नुपर्ने सङ्केत दिएको केही घण्टापछि भएको हो। सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको छ।

‘यो लडाइँ तीन वर्षभन्दा बढी समयदेखि जारी छ। धेरै रुसी र युक्रेनीहरू मारिएका छन्,’ ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा भने, ‘यो जटिल मुद्दा हो। केही भूभाग फिर्ता हुनेछ, केही साटासाट हुनेछ। यो कदम दुवै पक्षको हितमा हुनेछ।’

ट्रम्पले यो प्रस्तावको विस्तृत विवरण भने खुलाएका छैनन्। एजेन्सी

तपाईको प्रतिक्रिया