काठमाण्डौ २८ बैशाख २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। सत्ता पक्षका सांसदहरूले पक्षमा मतदान गरे भने विपक्षी सांसदहरूले विपक्षमा मत दिए।
नीति तथा कार्यक्रममाथि वैशाख २२, २३, २४, २५, २६ र २८ गते छलफल भएको थियो। छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका थिए। जवाफमा चित्त नबुझेका सांसदहरूले पुनः प्रश्न राखेका थिए।
सोही दिन सांसदहरूले प्रस्तुत गरेका संशोधन प्रस्तावहरू पनि निर्णयार्थ पेस गरिएको थियो। अन्ततः नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
आइतबारकै बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)’ माथि छलफल गर्न प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावमाथि छलफल प्रारम्भ भएको छ।












तपाईको प्रतिक्रिया