काठमाडौँ २३ बैशाख २०८२ ।
चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एसिया एलायन्स-२०२५ (पिएए-२०२५) सम्मेलनको अवसरमा मङ्गलबार विश्वविख्यात परोपकारी व्यक्तित्व तथा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरूबारे गम्भीर छलफल भएको छ।
विनोद चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा “बलियो नेपाल” अभियानमार्फत गरिएको साझेदारीका लागि बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन प्रति आभार प्रकट गरे। उनले नेपालको सामाजिक क्षेत्रमा फाउन्डेसनको दशकौँदेखिको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको जानकारी दिए। सांसद चौधरीले सोसियल मिडियामार्फत बिल गेट्ससँगको साइडलाइन मिटिङको तस्बिर पोस्ट गर्दै यो जानकारी साझा गरेका हुन्।
छलफलमा गेट्स फाउन्डेसनले विश्वका अन्य मुलुकहरूमा सफलतापूर्वक सञ्चालन गरेका स्वास्थ्य र रोजगारी सम्बन्धी कार्यक्रमहरू नेपालमा पनि लागू गर्ने र तिनलाई सन्दर्भअनुसार विस्तार गर्ने विषयमा समेत कुराकानी भएको थियो।
चौधरी फाउन्डेसन ले २०७२ को भूकम्पपछि तत्कालीन उद्धार तथा राहतका लागि नेपाल सरकारको राहत कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गरेको थियो। फाउन्डेसनले भूकम्प प्रभावित जिल्लाहरूमा स्रोत–साधन प्रयोग गरी करिब तीन हजार भूकम्प प्रतिरोधी अस्थायी आवास निर्माण गरेको थियो। साथै, विद्यालय पुनर्निर्माण, खाद्यान्न र पिउने पानी वितरणमार्फत प्रभावित समुदायलाई राहत पुर्याएको थियो।
कोभिड–१९ महामारीको समयमा पनि फाउन्डेसनले स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्यायो। वीर अस्पताल मा अति सघन उपचार कक्ष (आइसियु) र अक्सिजन प्लान्ट स्थापना गर्नुका साथै धनगढी र सुर्खेत मा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो। सात वटै प्रदेशमा अक्सिजन कन्सन्ट्रेटर, व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), पीसीआर परीक्षण किट र एन–९५ मास्क वितरण गरिएको थियो।
सिङ्गापुरमा सम्पन्न फिलान्थ्रपी एसिया एलायन्स-२०२५ सम्मेलनमा विश्वका प्रतिष्ठित नेताहरू, परोपकारी संस्था प्रमुखहरू र नीति निर्माताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनमा सिङ्गापुरका राष्ट्रपति थरमन शनमुगरत्नम, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस, गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्स, इन्डोनेसियाका मानव विकास तथा सांस्कृतिक मामिलाका समन्वय मन्त्री प्रतिक्नो, डब्लुएचओका प्रमुख वैज्ञानिक सर जेरेमी फरार, र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) की सहायक महासचिव सुसान ब्राउन लगायतका विशिष्ट व्यक्तित्वहरूले सम्बोधन गरेका थिए।












तपाईको प्रतिक्रिया