काठमाडौँ ११ श्रावण २०८३ ।
सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा उल्लेखनीय सुधार भएको जनाएको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.०१ प्रतिशतले बढेर ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सञ्चालन नाफा पनि ३ अर्ब ५७ करोड रुपैयाँबाट वृद्धि भई ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ
बैंकको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी खुद शुल्क तथा कमिसन बापतको आम्दानी १ अर्ब १९ करोड रुपैयाँबाट बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।
व्यावसायिक विस्तारतर्फ बैंकको कुल निक्षेप २ खर्ब २३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। सोही अवधिमा कर्जा प्रवाह १ खर्ब ७६ अर्ब रुपैयाँबाट विस्तार भई १ खर्ब ९५ अर्ब रुपैयाँ पुग्दा कुल सम्पत्तिको आकार २ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ।
बैंकको लाभांश दिने क्षमतामा पनि राम्रो सुधार आएको छ। नियमनकारी समायोजन पश्चात् असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष २ अर्ब १० करोड रुपैयाँ मात्र थियो।
चुक्ता पुँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ ८५ पैसा कायम भएकाले शेयरधनीका लागि आकर्षक लाभांशको बलियो आधार तयार भएको छ। बैंकको चुक्ता पुँजी ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरसहित १५ अर्ब ५८ करोड १५ लाख २५ हजार ४ सय १४ रुपैयाँ रहेको छ।
जोखिम व्यवस्थापनतर्फ बैंकको खराब कर्जा ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झरेको छ भने खुद निष्क्रिय कर्जा १.०२ प्रतिशतमा सीमित भएको छ। घट्दो ब्याजदर अन्तर, व्यावसायिक सुस्तता र डिजिटल रूपान्तरणका चुनौतीका बिच बैंकले डिजिटल सेवा विस्तार, निक्षेप मिश्रणमा सुधार र प्रभावकारी असुली रणनीतिमार्फत दिगो वृद्धिको लक्ष्य लिएको छ।












तपाईको प्रतिक्रिया