इस्लामाबाद २५ चैत २०८२
लामो समयदेखि जारी तनाव र सैन्य मुठभेडका बिच इरान र संयुक्त राज्य अमेरिका दुई हप्ताको युद्धविरामका लागि सहमत भएका छन्। इरानको राष्ट्रिय सुरक्षा परिषद्ले बुधबार एक विज्ञप्ति जारी गर्दै आगामी शुक्रबारदेखि पाकिस्तानको राजधानी इस्लामावादमा वासिङ्टनसँग औपचारिक वार्ता सुरु हुने जानकारी दिएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सभ्यता नै समाप्त पारिदिने आफ्नो अघिल्लो धम्कीलाई तत्कालका लागि थाती राख्दै दुई हप्तासम्मका लागि आक्रमणहरू स्थगित गर्ने घोषणा गरेपछि यो सहमति जुटेको हो। यो युद्धविरामको मुख्य सर्तका रूपमा इरानले विश्वकै महत्त्वपूर्ण तेल मार्ग ‘स्ट्रेट अफ होर्मुज’ लाई तत्काल र पूर्ण रूपमा खुला गर्नुपर्नेछ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणपछि इरानले होर्मुज जलमार्गमा आंशिक नाकाबन्दी लगाएको थियो, जसका कारण विश्वभर इन्धनको अभाव हुनुका साथै तेलको मूल्यमा भारी वृद्धि भएको थियो। इरानको प्रतिशोधात्मक आक्रमणमा लेबनानको हिजबुल्लाह र येमेनको हुथी विद्रोहीहरू समेत संलग्न भएपछि यो द्वन्द्वले क्षेत्रीय रूप लिएको थियो।
यस्तो जटिल मोडमा राष्ट्रपति ट्रम्पले अमेरिकाले आफ्ना सबै सैन्य लक्ष्यहरू प्राप्त गरिसकेको दाबी गर्दै इरानसँग दीर्घकालीन शान्ति सम्झौताका लागि आफूहरू धेरै नजिक पुगेको बताएका छन्। उनले इरानले पठाएको १० बुँदे प्रस्तावलाई वार्ताको उपयुक्त आधार मानेका छन् र दुई हप्ताभित्रै यसलाई अन्तिम रूप दिइने विश्वास व्यक्त गरेका छन्।
इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि यदि इरानमाथिका आक्रमणहरू रोकिए आफ्ना सशस्त्र बलले रक्षात्मक कारबाहीहरू बन्द गर्ने स्पष्ट पारेका छन्। उनले ट्रम्पले इरानको १० बुँदे प्रस्तावको ढाँचा स्वीकार गरेकाले नै वार्ताको वातावरण बनेको उल्लेख गरे।
यता पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले यो युद्धविराम लेबनानसहित सबै क्षेत्रमा तत्कालै लागू हुने भन्दै दुवै देशका प्रतिनिधिमण्डललाई अप्रिल १० तारिखका दिन इस्लामावादमा स्वागत गर्न आफू आतुर रहेको बताएका छन्। पाकिस्तानले यस ऐतिहासिक वार्ताको मध्यस्थता गर्ने अवसर पाएकोमा दुवै पक्षलाई धन्यवाद समेत दिएको छ।
यद्यपि, यो वार्ता र सम्झौता निकै चुनौतीपूर्ण देखिन्छ। इरानले अघि सारेको १० बुँदे प्रस्तावमा होर्मुज जलमार्गमा इरानी प्रभुत्व कायम हुनुपर्ने, मध्यपूर्वमा रहेका सबै अमेरिकी सैन्य अखडाहरू हटाउनुपर्ने र युद्धबाट भएको क्षतिको पूर्ण क्षतिपूर्ति पाउनुपर्ने जस्ता सर्तहरू छन्। साथै इरानमाथि लगाइएका सबै अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाउनुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा हुनुपर्ने माग पनि गरिएको छ।
इरानी सुरक्षा परिषद्ले अमेरिकी पक्षप्रति आफूहरूको ‘पूर्ण अविश्वास’ रहेको भन्दै यदि शत्रुले थोरै मात्र पनि गल्ती गरेमा पूर्ण शक्तिले प्रत्याक्रमण गर्ने चेतावनी समेत दिएको छ।










तपाईको प्रतिक्रिया