सुदूरपश्चिम महोत्सवको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क

Bizness Post बिजनेस पोष्ट
|
७ मिनेट अगाडि

काठमाडौँ १३ मंसिर, २०८३। 

सुदूरपश्चिमको कला, संस्कृति, स्थानीय उत्पादन र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सवमा यस वर्ष एक्स्ट्रिम इनर्जी ड्रिंक टाइटल स्पोन्सरका रूपमा जोडिएको छ । यसका लागि आयोजक कैलाली उद्योग वाणिज्य संघ र एक्स्ट्रिम इनर्जी ड्रिंकको उत्पादक कम्पनी एग्रो थाई फुड्स प्रा.लि.बीच सम्झौता भएको छ ।

यस वर्षको महोत्सव मंसिर २२ देखि पुस ५ गतेसम्म कैलालीको धनगढी उपमहानगरपालिका–१, पशुपतिटोलमा सञ्चालन हुनेछ । ‘पर्यटन, संस्कृति, उद्योग र व्यापार, समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा स्थानीय उत्पादन, कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक गतिविधिलाई प्राथमिकता दिइनेछ ।

महोत्सवमा एक्स्ट्रिम इनर्जी ड्रिंक खरिद गर्ने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यसले दर्शकको सहभागिता बढाउनुका साथै महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा आयोजकले गरेका छन् ।

यस वर्ष मूल महोत्सवसँगै सडक महोत्सवसमेत सञ्चालन गरिनेछ । सांस्कृतिक प्रस्तुति, स्थानीय प्रतिभाको प्रदर्शन, व्यापारिक प्रदर्शनी तथा मनोरञ्जनात्मक कार्यक्रमले महोत्सवलाई थप उत्सवमय बनाउने आयोजकको अपेक्षा छ ।

खेलकुद, संगीत तथा मनोरञ्जनका कार्यक्रमसँग सहकार्य गर्दै आएको एक्स्ट्रिमको यस सहभागिताले सुदूरपश्चिमको कला, संस्कृति र व्यापार प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया