-जयराम बिडारी
काठमाण्डौ ,१२ वैशाख २०८२।
आन्तरिक तथा बाह्य पर्यटनलाई बढावा दिने उद्देश्यले वागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयसँगको सहकार्यमा गाउँ पर्यटन प्रवर्धन मञ्च(भिटोफ- नेपाल)को संयुक्त कार्यक्रम संस्थाको अध्यक्ष शकुन्तला पाण्डे देवकोटाको अगुवाईमा सम्पन्न गरिएको छ ।
आइतवार काठमाण्डौबाट पर्यटन क्षेत्रमा संलग्न व्यवसायी,विषयविज्ञ,लेखक,साहित्यकार तथा पत्रकारहरु संलग्न रहेको ३० जनाको टोली शैलुङ-दोरम्बातर्फ प्रस्थान प्रस्थान गरेको थियो । शैलुङ भ्रमण गर्दै दोरम्बातर्फ लागेको टोलीले डाँडाकटेरीस्थित वि.एस .२०६० शहीद पार्कको अवलोकन भ्रमण गरी दोरम्बा गाउँपालिकाको वडा नम्बर २ स्थित गुम्बा पुगेको टोलीलाई सामुदायिक होमस्टे व्यवस्थापन समितिद्वारा खादा लगाएर न्यानो आतिथ्यता सहित स्वागत गरिएको थियो ।
भोलीपल्ट अर्थात सोमवार आन्तरिक पर्यटनलाई प्रभावकारी रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा प्रचार प्रसार गर्ने उद्देश्यका साथ विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
सो समारोहमा वागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री माननीय बिमल ठकुरीको प्रमुख आतिथ्य तथा भिटोफ नेपालकी अध्यक्ष शकुन्तला पाण्डे देवकोटाको सभापतित्व दोरम्बा-शैलुङ गा.पा.अध्यक्ष मैनकुमार तामाङको विशेष आतिथ्यमा सम्पन्न गरिएको थियो ।
राष्ट्रिय गानबाट सुरु गरिएको उक्त कार्यक्रमलाई प्रमुख अतिथिद्वारा ब्यानर पढेर समुद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा भिटोफ नेपालका प्रथम उपाध्यक्ष हरिशरण थपलियाले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै ठकुरीले आन्तरिक पर्यटनलाई टेवा दिनका लागि भिटोफ नेपालको गन्तव्य परिचयात्मक तथा प्रवर्धनात्मक कार्यक्रमको प्रभावकारी रहने बताउँदै कार्यक्रम औपचारिक भन्दा पनि अन्तरक्रियात्मक हुनुपर्नेमा जोड दिए । नेपालको प्रकृति संस्कृति र जनजीवनको अध्ययन गर्दै रमाउनका लागि आउने पर्यटन व्यवसायका लागि अधिकांश युवाहरु शहर तथा विदेश पलायनले गर्दा वृद्ध वृद्धाहरुले धानिरहेको होमस्टेले कतिन्जेल धान्न सक्ला भन्ने कुराले घोत्लिनुपर्ने अवस्था सृजना गरेको बताउँदै युवा जनशक्तिको श्रम आफ्नै माटोमा पोखिनुपर्ने कुरा बताए ।उनले बागमती प्रदेश सरकार विकास निर्माणका लागि अत्यन्त सकारात्मक रहेको भएपनि सिमित स्रोत साधनको अधिकतम प्रयोग गर्नुपर्ने अवस्था रहेको बताउँदै शैलुङ ‘भ्यू टावर’ मर्मत गर्नुपर्ने अवस्थामा रहेकोले यथासक्य छिटो निर्माण गरेर हस्तान्तरण गर्ने वचनवद्धता व्यक्त गरे । मन्त्री ठकुरीले प्रदेश सरकार बजेट निर्माणको प्रकियामा रहेको जनाउँदै प्रदेश सरकारसँगको साझेदारीमा गर्नुपर्ने कामका योजना सहित यथाशक्य छिटो प्रस्तुत गर्न भिटोफ नेपाललाई आग्रह गरे ।
सो सामरोहमा वागमती प्रदेश संस्कृति तथा पर्यटन सचिव दीपेन्द्र सुवेदीले पर्यटन प्रवर्धनका निम्ति मन्त्रालय तथा विभागले आवश्यक नीति निर्माण गरिरहेको बताउँदै भौतिक संरचनाको निर्माण तथा प्रवर्धनमा सघाउ पुर्याउन कटिबद्ध रहेको बताए । उनले पर्यटनका साथै प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठानको स्थापना गर्न लागेको समेत बताए । उनले स्थानीय होमस्टे सञ्चालकहरुको प्रशंसा गर्दै कार्यक्रम भव्यताकासाथ सफल हुनुमा स्थानीय जनसमुदायको साथ र सहयोग समेत उल्लेखनीय रुपमा रहेको बताए । भिटोफ नेपाल सँगको नुवाकोट लगायत दोरम्बाका दुई वटै कार्यक्रममा भएको सहकार्य अत्यन्त उपलब्धिमूलक रहेको बताउँदै आवश्यक मात्रामा थप सहकार्य गर्न सकिने समेत बताए । साथै प्रदेश सरकार अझै प्रभावकारी कार्यक्रमका लागि दत्तचित्त रहेको समेत बताए।
दोरम्बा-शैलुङ गाउँपालिकका अध्यक्ष मैनकुमार तामाङले तत्कालीन राज्यपक्षले युद्धविरामको समयमा निशष्त्र रुपमा रहेका आफ्ना २१ जना सहकर्मीको विभत्स हत्या गर्दा आफू भने संयोगवश भाग्न सफल रहेको तितो यथार्थलाई स्मरण गर्दै बी.एस.(३२ साउन ) २०६० सामुदायिक होमस्टे प्रति विशेष आत्मीयता रहेको बताए । उनले दोरम्बा-शैलुङको समग्र विकास निर्माणमा आफू दत्तचित्त रहेको बताउँदै धार्मिक,सांस्कृतिक अनि प्राकृतिक हिसावले समृद्ध रहेको यहाँको सम्पदाहरुको संरक्षण र अग्लेश्वर महादेवस्थानको धार्मिक महत्व तथा शैलुङको सौन्दर्यलाई यथोचित प्रचार प्रसार हुन नसकेकोमा खिन्नता जनाए । आफूले खोलाखर्कमा व्यवस्थित रुपमा होमस्टे सञ्चालनका लागि तीन करोड बजेट छुट्याएको भए तापनि राजनैतिक खिचातानीका कारण सो बजेटलाई वडा नम्बर ४ मा स्थानांतरण गर्नुपरेकोमा दुखेसो पोखे । यसैगरी नाथमका विभागीय प्रमुख अजय ढकालले नाथमद्वारा हालसम्म ६६ हजारलाई तालीम दिई योग्य जनशक्ति निर्माण गरिसकेको सगर्व घोषणा गरे । हामीले पढाएका र तालीम दिएका थुप्रै जनशक्ति विश्वका विभिन्न विकसित मुलुकहरुमा इन्टर्न गरिरहेको समेत बताए । उनले दुई दशकयता नाथमले होमस्टेलाई व्यवस्थित गर्ने तथा स्थानीय पथप्रदर्शकलाई तालिम दिने काम समेत गर्दै आइरहेकोमा त्यस सम्बन्धी कुनै सरसहयोगको आवश्यकता परेको खण्डमा आफुलाई नि:सङ्कोच सम्पर्क गर्न सुझाए ।
उक्त अवसरमा भिटोफका पूर्व अध्यक्ष तथा तारा गाउँ विकास समितिका पूर्व सदस्य शिव लामिछानेले भिटोफ नेपालद्वार पहिचान गरी घोषणा गरिएका अन्यत्रका होमस्टेहरुले गुणात्मक रुपमा प्रगति गरिरहेको र ती क्षेत्रमा जानका लागि अग्रिमरुपमा बुकिंग गरेर जानुपर्ने अवस्थाको तुलनामा दोरम्बा चाहिं अलिक पछि परेको महसुस गरेर बागमती प्रदेश सरकारको सहकार्यमा यहि क्षेत्रमा कार्यक्रम गरिएको जानकारी गराए । यसैगरी पर्यटनविद् भरत बडालले कार्यक्रमलाई सम्बोधन गर्दै जापनानको हिरोसिमा र नागासाकीमा बम खसाइएपछिको घटनाको दृष्टान्त दिंदै जापानको गम्भीर प्रकृति नियाल्न विश्वभरीका मानिस त्यहाँ पुगेजस्तै नृशंस र बरबर हत्या गरिएका दोरम्बा घटनाका विषयमा पनि म्यूजियम बनाएर युद्ध पर्यटनको प्रचार गरिनु जरुरी रहेको तर्फ इंगित गरे ।
कार्यक्रममा भिटोफ-नेपालका पूर्व अध्यक्ष बोधराज भण्डारीले शहर केन्द्रित पर्यटकलाई ग्रामीण क्षेत्रमा समेत पुर्याउन सकेको खण्डमा गाउँ र शहरको विकासको गति समेत समान रुपमा अधि बढ्ने बताए । उनले सामुदायिक होमस्टे सञ्चलनका क्रममा स्थानीय उत्पादनका वस्तुहरुको प्रयोग बढाउँदै प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गर्न सकिएको खण्डमा प्रत्यक्ष रुपमा स्थानीय उत्पादक र मजदुर त्यसबाट लाभान्वित हुने कुरामा जोड दिए । यसैगरी जीटिनका पूर्व अध्यक्ष तथा टानका सदस्य अम्बिर गुरूङले दोरम्बालाई आलु लगायत स्थानीय उत्पादनको पकेट क्षेत्र बनाई आलुका ‘अर्ग्यानिक आलुका परिकार खानका निम्ति दोरम्बा जाऔँ ‘ भन्ने नारातय गर्न सकिने बताए । यहाँका आलुका बारेमा जब प्रचारप्रसार सुरु हुन्छ तब बोरा बोकेर बजार जानुपर्ने झन्झटबाट मुक्तिमात्र होइन यहाँ आउने पाहुनाहरूलाई त्यही उपहार दिएर पठाउन सकिन्छ र आय आर्जन गर्न सकिने गुरुङको राय थियो ।
उक्त अवसरमा प्रा.डा.प्रेम शर्माले गाउँ पर्टनका लागि करिव तीन दशक देखि अभियानका रुपमा लागिरहँदा सिटिजन अफ जुम्लाको उपमा पाएकोमा खुशी लाग्ने गरेको बताउँदै पर्यटन व्यवसायलाई व्यवस्थित गर्न २०६७ देखि कुनै नयाँ ऐन नआएको जनाए ।उनले गण्डकी प्रदेश सरकार गाउँ पर्यटनमुखी रहेको तर्फ संकेत गर्दै बागमती प्रदेश सरकारले सोही पदचाप पछ्याएकोकमा खुशी ब्यक्त गरे ।
भिटोफ-नेपालका महासचिव चोपेन्द्रबहादुर खड्काले सहजीकरण गरेको सो कार्यक्रमलाई संस्थाकी अध्यक्ष सकुन्तला पाण्डे देवकोटाले बागमती प्रदेश सरकारसंगको सहकार्यले आफूहरु उत्साहित रहेको भन्दै आभार प्रकट गरिन् । उनले गाउँ पर्यटन प्रवर्धनका लागि भिटोफ-नेपाल सदैव लागिरहने बताउँदै आगामी दिनमा पनि प्रदेश सरकार सँगको सहकार्यका लागि संस्था प्रयत्नशील रहने बताउँदै कार्यक्रमको समापन गरिन् ।












तपाईको प्रतिक्रिया