नेपाल बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध चयन हुने, उपाध्यक्षमा रामचन्द्र खनाल

Bizness Post बिजनेस पोष्ट
|
१ दिन अगाडि

काठमाडौं ११ मंसिर, २०८३

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको साझा संस्था नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा ग्लोबल आईएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मी चयन हुने भएका छन् । शुक्रबार राजधानीको होटल मर्क्युरमा हुने संघको ४०औँ वार्षिक साधारणसभाबाट हाल उपाध्यक्ष रहेका रेग्मी निर्विरोध अध्यक्ष बन्न लागेका हुन् ।

​संघसम्बद्ध स्रोतका अनुसार बैंकका सीईओहरूबीच रेग्मीलाई अध्यक्ष र कुमारी बैंकका सीईओ रामचन्द्र खनाललाई उपाध्यक्ष बनाउने सहमति जुटेको छ । विगत १३ वर्षदेखि संघमा बहालवाला उपाध्यक्षलाई नै अध्यक्षमा पदोन्नति गर्ने परम्परा रहँदै आएको छ । २०८१ पुसको ३८औँ साधारणसभामा माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र प्रभु बैंकका अशोक शेरचनबीच अध्यक्षमा दाबी परे पनि पूर्वअध्यक्षहरूको पहलमा शेरचन पछि हटेपछि कोइराला अध्यक्ष र रेग्मी उपाध्यक्ष बनेका थिए । सोही सहमतिअनुसार अहिले रेग्मीले नेतृत्व पाउन लागेका हुन् ।

​कार्यसमितिमा नयाँ अनुहार

साधारणसभासँगै संघको कार्यसमितिमा पनि हेरफेर हुने भएको छ । दुई कार्यकाल पूरा गरेका कारण एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ र बैंकको कार्यकाल सकिएका लक्ष्मी सनराइज बैंकका पूर्वसीईओ अजयविक्रम शाह कार्यसमितिबाट बाहिरिँदै छन् । उनीहरूको स्थानमा सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवन आचार्य सदस्यका रूपमा भित्रिने तय भएको छ ।

​हालको कार्यसमितिमा नबिल बैंकका मनोज ज्ञवाली, नेपाल एसबीआई बैंकका रामकुमार तिवारी, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर र नेपाल बैंकका तिलकराज पाण्डे सदस्य छन् । ब्याजदर, तरलता व्यवस्थापन तथा नीतिगत विषयमा राष्ट्र बैंक र सरकारसँग समन्वय गर्ने भूमिकामा रहेको संघको नयाँ नेतृत्वको आगामी पहललाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ ।

तपाईको प्रतिक्रिया