काठमाडौं ९ मंसिर, २०८३।
हिम पर्वत हाइड्रोपावर लिमिटेडले आगामी मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर निष्काशन तथा बाँडफाँट गरिसकेको कम्पनीले अब सर्वसाधारणका लागि शेयर बिक्री गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत बराबर अर्थात् ५९ करोड १५ लाख रुपैयाँको ५९ लाख १५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
कुल निष्काशित शेयरमध्ये १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो। यी दुवै समूहका लागि शेयर निष्काशन गरी बाँडफाँटसमेत भइसकेको छ।
त्यसैगरी, २ लाख ११ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा निष्काशन भइसकेको छ। कम्पनीले आफ्ना कर्मचारीका लागि भने १ लाख २६ हजार ७५० कित्ता शेयर सुरक्षित राखेको छ।
अब कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ३४ करोड ६४ लाख ५० हजार रुपैयाँ बराबरको ३४ लाख ६४ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आईपीओमा आवेदन दिने म्याद छिटोमा मंसिर २३ गतेसम्म र ढिलोमा पुस ३ गतेसम्म रहने कम्पनीले जनाएको छ।
कम्पनीको वित्तीय तथा दायित्व बहन क्षमताको मूल्यांकन गर्दै इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
हिम पर्वत हाइड्रोपावरले हाल दुईवटा जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीको २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत आयोजनामा कुल ३ अर्ब ६५ करोड १७ लाख ८७ हजार २५४ रुपैयाँ लगानी भएको छ। यस आयोजनाको प्रतिमेगावाट लागत १८ करोड २५ लाख ८९ हजार ३६३ रुपैयाँ रहेको छ।
आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि २८ वर्ष बाँकी रहेको छ। यसको साधारण लगानी फिर्ता हुने अवधि ६.०९ वर्ष र डिस्काउन्टमा आधारित लगानी फिर्ता हुने अवधि ९.०८ वर्ष रहेको कम्पनीले जनाएको छ। यस आयोजनाबाट २०८२ असोज २५ गतेदेखि विद्युत उत्पादन भइरहेको छ।
त्यस्तै, कम्पनीले ५.५ मेगावाट क्षमताको साँगु खोला–१ जलविद्युत आयोजना पनि सञ्चालनमा ल्याएको छ। यस आयोजनाको कुल लागत १ अर्ब १५ करोड ४ लाख ५३ हजार ८९ रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत भने २० करोड ९१ लाख ७३ हजार २८९ रुपैयाँ छ।
यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि पनि २८ वर्ष बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.२९ वर्ष र डिस्काउन्टमा आधारित लगानी फिर्ता हुने अवधि ९.५६ वर्ष रहेको छ। कम्पनीले यस आयोजनाबाट २०८२ साउन ८ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ।










तपाईको प्रतिक्रिया