काठमाडौं, १८ भाद्र २०८३
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवाको केरुङ, टिमुरे तथा आसपासका क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि १० लाख रुपैयाँ राहत सहयोग गरेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी उक्त रकमको चेक हस्तान्तरण गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने नाडाले जनाएको छ।
गत भदौ १० गते केरुङ, रसुवा, टिमुरेलगायतका क्षेत्रमा आएको आकस्मिक तथा भीषण बाढीबाट ठूलो जनधन तथा भौतिक क्षति भएको थियो। बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नाडाले उक्त रकम उपलब्ध गराएको हो।
नगद सहयोगसँगै नाडाले बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर खाद्यान्न तथा अत्यावश्यक राहत सामग्रीसमेत वितरण गरिरहेको जनाएको छ। नाडाको टोलीले प्रभावित क्षेत्रमै पुगेर तत्कालीन आवश्यकता पहिचान गरी पीडित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ।
नाडाले विपद्को कठिन समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ।
चेक हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा सहकोषाध्यक्ष निलमणि पाठकलगायतको उपस्थिति थियो।











तपाईको प्रतिक्रिया