काठमाडौं.२४ साउन २०८३।
नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी तीव्र रूपमा अन्तिम चरणमा पुगेको छ । एक्स्पो सुरु हुन दुई दिन मात्र बाँकी रहँदा स्टल निर्माण तथा व्यवस्थापनको काम ५० देखि ६० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको आयोजकले जनाएको छ । निर्धारित समयअगावै सबै तयारी पूरा गरी आगन्तुकहरूलाई स्वागत गर्न तयार हुने आयोजकको विश्वास छ ।
यसपटकको एक्स्पोको मुख्य आकर्षणमा नयाँ मोडलका गाडी तथा मोटरसाइकलहरूको प्रदर्शन रहनेछ । ५५ वटा विभिन्न ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिने यस एक्स्पोमा करिब ४० वटा नयाँ मोडलहरू सार्वजनिक तथा लन्च गरिनेछन् । आगन्तुकहरूको सुविधाका लागि यसपटक पार्किङ व्यवस्थापनमा विशेष ध्यान दिइएको छ । भृकुटीमण्डप परिसरको पार्किङका अतिरिक्त नेपाल पुलिस क्लबको भूमिगत पार्किङ क्षेत्रसमेत प्रयोगमा ल्याइएकाले पार्किङ सहज हुनेछ ।
त्यस्तै, आगन्तुकहरूले डिजिटल टिकटको माध्यमबाट ५० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ । सवारीसाधनको अवलोकन सँगसँगै खानपिन र मनोरञ्जनका लागि विशेष फुड कोर्ट तथा बेभरेज एक्सपिरियन्सको पनि व्यवस्था गरिएको छ । गत वर्षको पहिलो संस्करणको सफलताबाट उत्साहित आयोजकले यसपटक गत वर्षभन्दा बढी आगन्तुकहरू भित्र्याउने र अटोमोबाइल उद्योगसम्बन्धी ज्ञान आदानप्रदान गर्ने लक्ष्य राखेको छ ।











तपाईको प्रतिक्रिया