भन्सारबाट निस्किएका सामानमा बाटोमै अवैध वस्तु मिसाउन नदिन नयाँ व्यवस्था प्रस्ताव

Bizness Post बिजनेस पोष्ट
|
३ दिन अगाडि

काठमाडौँ ।

भन्सारबाट कानुनी प्रक्रिया पूरा गरी आयात गरिएका सामान ढुवानीका क्रममा अवैध वस्तु मिसाएर ओसारपसार गर्ने गतिविधि नियन्त्रण गर्न सरकारले भन्सार सूचना प्रणाली र सवारीसाधन अनुगमन प्रणालीलाई एकीकृत गर्ने प्रस्ताव अघि सारेको छ ।

अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा विधेयकमाथिको दफावार छलफलका क्रममा यस्तो व्यवस्था आवश्यक रहेको बताएका हुन् ।

उनका अनुसार भन्सारबाट सामान छुट्नेबित्तिकै त्यसको विवरण ढुवानी अनुगमन प्रणालीमा स्वतः अभिलेख हुने व्यवस्था गर्न सकिन्छ । यसबाट भन्सारमा घोषणा गरिएको सामान र सम्बन्धित सवारीसाधनको विवरणबीच प्रत्यक्ष सम्बन्ध कायम भई बाटोमा सामान थप्ने, हटाउने वा अवैध वस्तु मिसाउने गतिविधि निगरानी गर्न सहज हुनेछ ।

सचिव उपाध्यायले भन्सारबाट वैधानिक रूपमा सामान ल्याएका सवारीसाधनमा बीच बाटोमै चोरीपैठारीका वस्तु थपेर ढुवानी गर्ने गरेको उदाहरणसमेत प्रस्तुत गरे ।

उनले भैरहवा भन्सारबाट सामान लिएर आएको एउटा गाडीमा बुटवलमा चोरीपैठारीका जुत्ता थपिएको र काठमाडौंको थानकोटमा उक्त गाडी पक्राउ परेको घटनालाई उदाहरणका रूपमा उल्लेख गरे । यस्ता गतिविधि नियन्त्रणका लागि भन्सारबाट प्राप्त विवरणलाई ढुवानी अनुगमन प्रणालीसँग स्वचालित रूपमा जोड्नुपर्ने उनको भनाइ थियो ।

सरकारले आन्तरिक उत्पादनका सामानको ढुवानीमा भने हालकै अनुगमन प्रणालीलाई निरन्तरता दिने प्रस्ताव गरेको छ । तर विदेशबाट आयात भएका वस्तुको विवरण भन्सारको विद्युतीय सूचना प्रणालीबाटै अनुगमन प्रणालीमा पुग्ने व्यवस्था गर्नुपर्ने सचिव उपाध्यायले बताए ।

उनले भन्सारबाट वैध रूपमा आयात भएका सामानको विवरण ढुवानी अनुगमन प्रणालीमा प्रविष्ट नगर्नु र चोरीपैठारी गर्नु फरक प्रकृतिका कसुर भएको स्पष्ट पारे ।

उनका अनुसार भन्सार प्रक्रिया पूरा गरेर ल्याइएका सामानको विवरण प्रणालीमा नराखे पहिलोपटक ५० हजार रुपैयाँ र त्यसपछि एक लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ । यो प्रक्रियागत त्रुटिसँग सम्बन्धित कारबाही हो । चोरीपैठारीमा संलग्न हुनेलाई भने छुट्टै कानुनी व्यवस्थाअनुसार कारबाही गरिनेछ ।

व्यवसायीलाई पूर्वजानकारी दिएर मात्रै मापदण्ड लागू गर्नुपर्ने

सचिव उपाध्यायले ढुवानी अनुगमन प्रणालीसम्बन्धी मापदण्ड कार्यान्वयन गर्नुअघि व्यवसायी तथा सरोकारवालालाई पर्याप्त समय दिएर जानकारी गराउनुपर्ने प्रस्ताव पनि अघि सारेका छन् ।

आन्तरिक राजस्व विभागले मापदण्ड तयार गरेपछि कार्यान्वयनमा लैजानुअघि नै सार्वजनिक गर्ने व्यवस्था कानुनमै समावेश गर्नुपर्ने उनको सुझाव छ । यसबाट व्यवसायीले नयाँ व्यवस्थाबारे समयमै जानकारी पाउने र त्यसअनुसार आफ्नो कारोबार व्यवस्थापन गर्न सक्ने उनले बताए ।

यद्यपि, प्रत्येक मापदण्ड राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था गर्दा प्रशासनिक प्रक्रिया लामो हुन सक्ने भएकाले विभागमार्फत पूर्वप्रकाशन गर्ने व्यवस्था उपयुक्त हुने उनको धारणा छ ।

समितिमा छलफल भइरहेको ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ मा ढुवानी अनुगमन प्रणाली र भन्सार सूचना प्रणालीबीचको एकीकरण तथा नयाँ मापदण्ड लागू गर्नुअघि सरोकारवालालाई पूर्वजानकारी दिने व्यवस्था थप्न उनले सांसदहरूसँग आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा उक्त विधेयकमाथि दफावार छलफल भएको हो । प्रस्तावित व्यवस्था कार्यान्वयनमा आए भन्सारबाट आयात भएका सामानको आन्तरिक ढुवानीमा निगरानी बढ्नुका साथै वैध सामानको आवरणमा हुने अवैध ओसारपसार नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

Advertisement