काठमाडौं ३ मंसिर, २०८३।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले वृद्धि भई ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति २०८३ असोज मसान्तमा बढेर ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको हो।
अमेरिकी डलरमा गणना गर्दा पनि विदेशी विनिमय सञ्चितिमा उल्लेख्य वृद्धि देखिएको छ। २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड अमेरिकी डलर रहेको सञ्चिति असोज मसान्तमा ८.२ प्रतिशतले बढेर २७ अर्ब ३९ करोड अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ६.४ प्रतिशतले वृद्धि भएको छ। असार मसान्तमा ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति असोज मसान्तमा बढेर ३६ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति पनि ९.८ प्रतिशतले बढेको छ। असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति असोज मसान्तमा ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ पुगेको हो। असोज मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको छ।
विदेशी विनिमय सञ्चितिमा भएको वृद्धिसँगै मुलुकको आयात धान्न सक्ने क्षमता पनि थप बलियो बनेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ।











तपाईको प्रतिक्रिया