काठमाडौं ३ मंसिर, २०८३– जलविद्युत् आयोजना विस्तार गरिरहेको आशुतोष इनर्जी लिमिटेडले मंसिर १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा ६ करोड रुपैयाँबराबरको ६ लाख कित्ता सेयर स्थानीय बासिन्दा र ६० लाख रुपैयाँबराबरको ६० हजार कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि बिक्री गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। त्यसअन्तर्गत अहिले स्थानीय बासिन्दाका लागि ६ लाख र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ६० हजार कित्ता छुट्याइएको हो। बाँकी सेयर निष्कासनको प्रक्रिया भने आगामी चरणमा हुनेछ।
स्थानीय बासिन्दाका लागि छुट्याइएको ६ लाख कित्तामध्ये आधा अर्थात् ३ लाख कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई दिइनेछ। यसमा लमजुङको दुधपोखरी गाउँपालिका–१ र २ तथा गोरखाको अजिरकोट गाउँपालिका–२ र ३ का स्थायी बासिन्दा सहभागी हुन सक्नेछन्। बाँकी ३ लाख कित्ता दुधपोखरी, दोर्दी र अजिरकोट गाउँपालिकाका अन्य स्थायी बासिन्दाका लागि छुट्याइएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा काम गरिरहेको प्रमाणका आधारमा आवेदन दिन सक्नेछन्। उनीहरूका लागि सर्वसाधारणतर्फ छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ६० हजार कित्ता छुट्याइएको कम्पनीले जनाएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर १७ गतेसम्म आवेदन दिनुपर्नेछ। उक्त अवधिमा पर्याप्त आवेदन नपरे निष्कासन अवधि मंसिर २८ गतेसम्म थपिनेछ। स्थानीय बासिन्दाका लागि भने मंसिर २८ गतेसम्म आवेदन दिन सकिनेछ। पर्याप्त आवेदन नपरे निष्कासन अवधि पुस १४ गतेसम्म लम्बिनेछ।











तपाईको प्रतिक्रिया