मंसिरमा वाणिज्य बैंकहरूको ब्याजदर स्थिर

Bizness Post बिजनेस पोष्ट
|
१ हप्ता अगाडि

काठमाडौं ३० कार्तिक, २०८३।

​मंसिर महिनाका लागि नेपालका वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरले निक्षेप तान्ने विगतको प्रतिस्पर्धात्मक शैलीमा पूर्णविराम लगाएको छ। बैंकहरूले प्रकाशन गरेको नयाँ तालिकाअनुसार यसपटक कुनै पनि बैंकले निक्षेपको ब्याजदर बढाएका छैनन्। विगतमा निक्षेप आकर्षित गर्न दर बढाउने होडबाजी गर्ने बैंकहरू यसपालि रक्षात्मक देखिएका छन्, जसअन्तर्गत १४ वटा वाणिज्य बैंकले कात्तिककै दरलाई यथावत् राखेका छन् भने ६ वटाले मात्र ब्याजदर घटाएका छन्।

​मंसिर महिनाका लागि व्यक्तिगत र संस्थागत दुवैतर्फ सबैभन्दा धेरै ब्याज दिने बैंकको रूपमा सानिमा बैंक देखिएको छ, जसले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.५ प्रतिशत ब्याजदर तोकेको छ। त्यसपछि एनएमबि र प्रभु बैंकले ४.२५ प्रतिशत तथा नेपाल बैंकले ४.१५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्। अर्कोतर्फ, अधिकांश बैंकले एकवर्षे मुद्दती निक्षेपका लागि नेपाल राष्ट्र बैंकले तोकेको ब्याजदर करिडोरको तल्लो सीमा अर्थात् २.७५ प्रतिशतकै न्यूनतम दर कायम गरेका छन्।

​ब्याजदर घटाउने ६ बैंकमध्ये माछापुच्छ्रे बैंकले व्यक्तिगत अधिकतम दर १ प्रतिशत विन्दुले कटौती गर्दै ३.५ प्रतिशतमा झारेको छ। यस्तै, लक्ष्मी सनराइज बैंकले ३.७५ प्रतिशत, कृषि विकास र स्ट्यान्डर्ड चार्टर्ड बैंकले समान ३.६५ प्रतिशत तथा कुमारी बैंकले ३.६१ प्रतिशत अधिकतम ब्याजदर कायम गरेका छन्। संस्थागत निक्षेपतर्फ भने एनएमबि बैंकले मात्र आफ्नो दरमा सामान्य कटौती गरेको छ।

तपाईको प्रतिक्रिया