पार्वती तिवारीको संघर्षकथा ‘पुर्पुरो’ अब अंग्रेजी भाषामा पनि

Bizness Post बिजनेस पोष्ट
|
२ हप्ता अगाडि

काठमाडौँ २८ कार्तिक, २०८३

लेखिका पार्वती तिवारीको संघर्षपूर्ण जीवनकथामा आधारित पुस्तक ‘पुर्पुरो’ अंग्रेजी भाषामा समेत प्रकाशित भएको छ। नेपाली भाषामा प्रकाशित भएर पाठकमाझ पुगेको पुस्तक अब अंग्रेजी संस्करणमार्फत थप फराकिलो पाठकवर्गसम्म पुग्ने भएको छ।

बाल्यकालदेखि नै अभाव, दुःख, रोग, भोक र संघर्षसँग जुध्दै जीवनको यात्रा अघि बढाएकी तिवारीले आफ्नो आत्मकथात्मक कृतिमा भोगाइका ती कठिन दिनलाई जीवन्त रूपमा प्रस्तुत गरेकी छन्। विशेषगरी आमाको अथक संघर्ष, छोराछोरीको भविष्य निर्माणका लागि उनले गरेको त्याग र अभावबीच शिक्षा हासिल गर्नुपर्दाको कठिन यात्रालाई पुस्तकमा मार्मिक ढंगले उतारिएको छ।

सहरी जीवनको चमकधमकभित्र लुकेको गरिबी, अभाव र असमानताको यथार्थलाई ‘पुर्पुरो’ले उजागर गरेको छ। सहरमा अवसर र सुविधा मात्र छैनन्, गरिबीको कठोर चक्रमा फसेका अनेकौँ जीवन पनि छन् भन्ने यथार्थ पुस्तकले देखाउँछ। त्यस्तै, कठिन परिस्थितिमा पनि सहयोगका हात फैलाउने मानवता र सामाजिक सेवाभावले कसरी कसैको जीवनमा आशाको उज्यालो छर्न सक्छ भन्ने पक्षलाई समेत लेखिकाले आफ्नो जीवनभोगाइमार्फत प्रस्तुत गरेकी छन्।

आर्थिक तथा सामाजिक अभावबीच संघर्ष गर्दै अघि बढेकी तिवारी अहिले एक वाणिज्य बैंकको अधिकृत तहमा कार्यरत छिन्। बाल्यकालमा आमाले आफू र भाइको शिक्षाका लागि गरेको संघर्षदेखि आफ्नो वर्तमान अवस्थासम्मको यात्रालाई उनले आत्मकथात्मक शैलीमा समेटेकी छन्। यस अर्थमा ‘पुर्पुरो’ केवल एक व्यक्तिको जीवनकथा नभएर अभावसँग जुध्दै सम्भावनाको खोजी गर्ने हजारौँ नेपालीको साझा अनुभूतिसँग पनि जोडिन्छ।

नेपाली समाजमा विद्यमान वर्गीय विभेद, उचनीचको व्यवहार, सामन्ती सोच र गरिब तथा विपन्नप्रति गरिने दृष्टिकोणलाई समेत पुस्तकले प्रश्न गरेको छ। सुविधासम्पन्न वातावरणमा हुर्किएका नयाँ पुस्ताका लागि जीवनमा आउने चुनौती र अभावसँग जुध्ने प्रेरणा यस कृतिले दिन सक्छ।

पुस्तकको नेपाली संस्करण पहिलोपटक सार्वजनिक हुँदा विभिन्न क्षेत्रका अग्रज, साहित्यकार तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। विमोचन कार्यक्रममा डा. हेम भण्डारी, महर्षि ल कलेजका तत्कालीन निमित्त क्याम्पस प्रमुख दिनदयाल रेग्मीलगायतले कृतिमाथि टिप्पणी गरेका थिए।

नेपाली संस्करण सनातन प्रेस, बानेश्वरमा मुद्रण गरिएको हो। यसको मूल्य पाँच सय रुपैयाँ राखिएको छ भने वितरणको जिम्मेवारी भृकुटीमण्डपस्थित कालिन्चोक पुस्तक पसलले लिएको छ।

अंग्रेजी संस्करणको प्रकाशनसँगै ‘पुर्पुरो’को जीवनसंघर्ष, सामाजिक यथार्थ र मानवीय संवेदनाको कथा नेपाली भाषाको सीमाभन्दा बाहिरका पाठकसम्म पुर्‍याउने अवसर सिर्जना भएको छ। अभावबाट सम्भावनासम्मको यात्रालाई साहित्यिक अभिव्यक्ति दिएको यो कृति संघर्ष, आत्मविश्वास र निरन्तर प्रयासको महत्त्व बुझ्न चाहने पाठकका लागि समेत अर्थपूर्ण बन्न सक्छ।

तपाईको प्रतिक्रिया

Advertisement