काठमाडौं १५ कार्तिक, २०८३।
एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो वित्तीय अवस्थामा सुधार गर्दै १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ९१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो। यसअनुसार बैंकको नाफा २७.११ प्रतिशतले बढेको हो।
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि सुधारिएको छ। वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी २५.४२ प्रतिशतले वृद्धि भई २३ रुपैयाँ ८३ पैसा पुगेको छ। त्यस्तै, सेयरधनीलाई वितरण गर्न सकिने नाफासमेत बढेको छ। वार्षिकीकरण गरिएको प्रतिसेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले बढेर ११ रुपैयाँ ६४ पैसा पुगेको बैंकले जनाएको छ।
समीक्षा अवधिमा बैंकको कर्जा तथा निक्षेप कारोबारमा समेत विस्तार भएको छ। बैंकको कुल कर्जा प्रवाह ८ अर्ब ९ करोड रुपैयाँले वृद्धि हुँदै २ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कर्जाको वृद्धिदर बैंकिङ क्षेत्रको औसतभन्दा उच्च रहेको छ।
त्यस्तै, बैंकमा रहेको कुल निक्षेप ६ अर्ब ३ करोड रुपैयाँले बढेर ३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ।
बैंकको कर्जाको गुणस्तरमा पनि सामान्य सुधार देखिएको छ। अघिल्लो त्रैमासमा ४.९७ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.९२ प्रतिशत कायम भएको छ।
यस अवधिमा बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले वृद्धि भई १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम अर्थात् इम्पेयरमेन्ट चार्ज भने २९.६६ प्रतिशतले घटेको छ। अघिल्लो अवधिको तुलनामा घटेर यस्तो खर्च ५० करोड २१ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ।
बैंकको पुँजी कोष अनुपात १२.५३ प्रतिशत कायम रहेको छ। नाफा, कर्जा विस्तार र वितरणयोग्य आम्दानीमा देखिएको वृद्धिले बैंकको वित्तीय कार्यसम्पादनमा सकारात्मक सुधार आएको संकेत गरेको छ।










तपाईको प्रतिक्रिया