काठमाडौँ, १४ कार्तिक, २०८३,।
मल्लकालीन नेवाः सभ्यताका विषयमा अनुसन्धानात्मक कृतिका सर्जक/ साहित्यकार स्वयम्भू शाक्यलाई ‘शब्दयात्रा प्रभातमान–झरना मास्के नेवाः सभ्यता अनुसन्धान विद्वत्वृत्ति’ प्रदान गरिएको छ।
शब्दयात्रा प्रकाशनले शनिबार बनेपास्थित आफ्नै सभाकक्षमा आयोजना गरेको ‘शब्द साधना प्रस्तुतिकरण, विद्वत्वृत्ति, शब्दयात्रा सम्मान तथा पुस्तक सार्वजनिकीकरण समारोह’मा शाक्यलाई उक्त विद्वत्वृत्ति समर्पण गरेको हो। यस विद्वत्वृत्तिको कोष व्यवस्थापन लेखक तथा लेखाविद् लोकमान मास्केले गर्नुभएको हो।
कार्यक्रममा साहित्यकार डा. इन्दुल केसी, सुदीप अधिकारी, निर्मला श्रेष्ठ र नवराज दाहाल ‘उत्साही’लाई पनि विभिन्न विद्वत्वृत्ति समर्पण गरिएको थियो।
यसै अवसरमा लेखन तथा पत्रकारिताको क्षेत्रमा योगदान पुर्याएको भन्दै आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतम, पत्रकार उज्ज्वलजङ्ग पराक्रम शाह र कालोटोपी डटकमलाई ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरिएको थियो।
समारोहमा विष्णुप्रसाद आचार्य र सहदीप पलाञ्चोकेका कृति सार्वजनिक गरिनुका साथै शब्दयात्रा प्रकाशनको नयाँ गानसमेत लोकार्पण गरिएको थियो। हरि मञ्जुश्रीको रचना तथा सङ्गीत रहेको उक्त गानमा रश्मि अधिकारी हुमागाईंको स्वर रहेको छ। गान खड्गप्रसाद सापकोटाले सार्वजनिक गर्नुभएको थियो।
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता संस्थाका कार्यवाहक अध्यक्ष कृष्णमणि कुईंकेलले गर्नुभएको थियो।












तपाईको प्रतिक्रिया